नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता गरी पार्टीलाई एक ढिक्का बनाउन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को आह्वान

नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता गरी पार्टीलाई एक ढिक्का बनाउन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को आह्वान

काठमाडौँ : नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले प्रेस विज्ञप्ति जारी गरी पार्टी महासचिवले गरेको पार्टी सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता गरी पार्टीलाई एक ढिक्का बनाउन आह्वान गरेको छ । महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, उपाध्यक्षहरू कालीबहादुर शाही र कर्ण सेन, महासचिव सागर अर्याल, सचिवहरू सागर तामाङ, दावा हेम्बो र कोषाध्यक्ष दिनेश निरौलाले संयुक्त विज्ञप्ति जारी गरी निषेधात्मकवाद, दक्षिणपन्थी अवसरवाद, आत्मसुरक्षावाद, नवसंशोधनवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोहको झन्डा उठाउन आह्वान गरेका हुन् ।

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) किसानका समस्या, आमूल परिवर्तन, राष्ट्रियता, जनजीविकाको आन्दोलनका पक्षमा अगाडि बढेको सर्वविदित नै छ । जनतन्त्र र आत्मनिर्भरताका सवालमा सहिदका सपना पूरा गर्न, किसान आन्दोलनलाई अगाडि बढाउन किसानको अग्रीम भूमिका रहेको छ । विश्व–कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका निषेधात्मकवाद, दक्षिणपन्थी अवसरवाद, आत्मसुरक्षावाद, नवसंशोधनवाद, दक्षिणपन्थी अवसरवादले आन्दोलनलाई धोका दिँदै आएको कुरा हामीलाई जानकारी नै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बाह्रौँ बैठकको निर्णयलाई लिएर आज पार्टीभित्र बहस चुलिएको छ । केन्द्रीय समितिको बैठकले दलाल संसदीय व्यवस्था नमान्ने, पार्टी निर्वाचनमा भाग नलिने देशभक्त, बुद्धिजीवी, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी जाने निर्णयलाई कार्यान्वयन गर्ने विषयलाई लिएर पार्टीभित्र विवाद मच्चिएको छ । यही विषयलाई लिएर नेतृत्वभित्र आरोप–प्रत्यारोप गर्दै सचिवालय सदस्य कञ्चन र सुदर्शनलाई कथित कारबाहीसमेत भएको छ । संसदीय दलदलमा नफस्न, यस्ता गतिविधिलाई मिलाएर लैजान र कारबाही फिर्ता गरी बैठक, भेला आयोजना गरेर समस्याको हल खोज्नु र एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यदिशा पूरा गर्नु आजको आवश्यकता हो । यस्ता समस्या हल गरी पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) अनुरोध गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :