नेता कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता गर : नेपाली जनप्रगतिशील मोर्चा साउदी

नेता कञ्चन र सुदर्शनमाथिको कारबाही फिर्ता गर : नेपाली जनप्रगतिशील मोर्चा साउदी

काठमाडौँ : नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा साउदी अरबले विज्ञप्ति प्रकाशित गर्दै पार्टी महासचिव विप्लवले हचुवामा पार्टी सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनलाई जिम्मेवारी मुक्त गरेको भन्दै जारी गरेको विज्ञप्ति फिर्ता लिई पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमाथि सचिवालयले गरेको जिम्मेवारी मुक्तको कारबाही विधान र विधिगत नभएकाले उक्त कदम तत्काल फिर्ता लिई टुटफुट, गुटबन्दी, छलछामको राजनीति बन्द गरी पार्टीको नीति, विधि, विधानसम्मत सैद्धान्तिक, वैचारिक, राजनीतिक, आर्थिक, नैतिक, भौतिक, सामाजिक सबै कुरा स्पष्ट र पारदर्शी बनाउँदै अविलम्ब पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढाउन जिम्मेवार पार्टी नेतृत्व महासचिवलाई नेपाली जनप्रगतिशील मोर्चा साउदी अरब हार्दिक अपिल गर्दछ ।’

मोर्चाका अध्यक्ष टीकाराम ओली ‘दर्शन’ र महासचिव विपीन शर्मा निरौला र विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकले गरेको निर्णय नै पार्टीको आधिकारिक निर्णय हुने भएको हुँदा संस्थापन पक्षले पार्टीको निर्णयविपरीत आफूखुसी पार्टीकै सदस्य रहेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदीय व्यवस्थाको स्थानीय निकायको चुनावमा प्रत्यक्ष पार्टीका केन्द्रीय सदस्यहरूले चुनावका लागि दिएको उम्मेदवारी पार्टीको १२ औँ पूर्ण बैठकले गरेको निर्णयविपरीत भएको हँुदा सबैले पार्टीको निर्णय मान्नुपर्ने हुन्छ तर संस्थापन पक्षबाटै पार्टीको निर्णयलाई लत्याएको, पार्टीभन्दा व्यक्ति माथि भएर आफूखुसी गरेको प्रति नेतृत्वलाई खबरदारी गरेकै कारण नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरू कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र सुदर्शनलाई एकतर्फी रूपमा पदमुक्त गरिएकोमा हाम्रो ध्यानाकर्षण भएको छ । त्यस्ता खालका कारबाहीले आमपार्टीप्रति आस्था राख्ने पार्टीभित्र र बाहिरका नेता–कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर असर पर्ने उक्त कारबाही हाम्रा लागि आपत्तिजनक छ किनकि लाखौँलाख स्वाभिमानी, परिश्रमी, इमानदार नेपालीहरूको अवस्था दिन–प्रतिदिन झन्–झन् कहालीलाग्दो बन्दै गइरहेको अवस्थामा पनि आमूल रूपान्तरण, राष्ट्रियता, स्वाधीनता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्दै सहिदहरूले देखाएको मार्ग पछ्याउँदै अगाडि बढिरहेको पार्टीभित्र यस्तो खालको प्रवृत्ति देखापर्नु देश र जनताको हितविपरीत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :