नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाहीका विरुद्धमा उत्रियो अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको केन्द्रीय समिति

मुख्य नेतृत्वमै राजनीतिक, दार्शनिक समस्या देखिएकाले नसच्चिएमा विद्रोह गरौँ : विनोद थापा

नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाहीका विरुद्धमा उत्रियो अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको केन्द्रीय समिति

काठमाडौँ : नेकपा आबद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय समिति पार्टी केन्द्रीय सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनलाई महासचिव विप्लवले गरेको कथित कारबाहीका विरुद्ध उभिएको छ । महासङ्घ केन्द्रीय समितिको बैठकले पार्टीको मूल नेतृतव अर्थात् महासचिव विप्लवमा नै राजनीतिक दार्शनिक तथा वर्गीय दृष्टिकोणमा गम्भीर समस्या देखिएकाले यस्ता पात्र र प्रवृत्तिका विरुद्ध लड्नु र विद्रोह गर्नु सबैको अधिकार रहेको निष्कर्ष निकालेको छ ।

महासङ्घको केन्द्रीय समितिले बैठकपछि हस्ताक्षरसहित जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी पुनर्गठनको आठ वर्षको अनवरत सङ्घर्ष र बलिदानबाट स्थापित बन्न पुग्यो तर पछिल्लो चरणको पार्टीभित्रको विवादित विषयलाई हेर्दा राजनीतिक, दार्शनिक तथा वर्गीय दृष्टिकोणमा गम्भीर समस्या मुख्य नेतृत्वपङ्क्तिमा देखिनु श्रमिकहरूका निम्ति वडो विडम्बनाको विषय हो । यस्ता पात्र र प्रवृत्तिका विरुद्ध लड्नु र विद्रोह गर्नु हामी सबैको अधिकार हो ।’

विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

हामी श्रमिकहरूको नेतृत्वदायी सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ श्रमिक अधिकार, पूर्ण न्याय र समानताको एजेन्डासहित हकअधिकार प्राप्तिको सङ्घर्षमा जुनसुकै मूल्य चुकाउन पनि तत्पर रहेको विषय सबैमा विदितै छ । पछिल्लो चरण दलाल संसदीय व्यवस्थाले श्रमजीवी वर्गमाथि अमानवीय शोषण, दमन र अत्याचार गरिरहेको विस्मयकारी परिस्थितिमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् उद्देश्यका साथ एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित विभिन्न राजनीतिक आन्दोलन, जनसङ्घर्षहरूमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आइरहेका थियौँ । आगँमी दिनहरूमा पनि वैचारिक तथा राजनीतिक रूपमा क्रान्तिकै पक्षभन्दा अन्य विकल्प सोच्न पनि सकिने विषय रहेन । हाम्रो सङ्गठन न्यायप्रेमी श्रमिकहरूका निमित्त आशा र भरोसापूर्ण विकल्प बन्न सकेको यथार्थ पनि तथ्यमा हेर्न सकिन्छ ।

पार्टी पुनर्गठनको आठ वर्षको अनवरत सङ्घर्ष र बलिदानबाट स्थापित बन्न पुग्यो तर पछिल्लो चरणको पार्टीभित्रको विवादित विषयलाई हेर्दा राजनीतिक, दार्शनिक तथा वर्गीय दृष्टिकोणमा गम्भीर समस्या मुख्य नेतृत्वपङ्क्तिमा देखिनु श्रमिकहरूका निम्ति वडो विडम्बनाको विषय हो । यस्ता पात्र र प्रवृत्तिका विरुद्ध लड्नु र विद्रोह गर्नु हामी सबैको अधिकार हो । अनधिकृत ढङ्गबाट दुनियाँ हँसाउने गरी गालीगलौज, निर्लज्ज कारबाही गर्ने कार्य कम्युनिस्ट संस्कृतिभित्र पर्दैन र विधि–पद्धतिभन्दा बाहिर जाने छूट कसैलाई पनि हुनै सक्तैन । पार्टीको आन्तरिक समस्या मिलाउनुभन्दा पनि बल्झाउने कार्यले हामी सबै स्तब्ध भएका छौँ । यस्ता क्रियाकलाप बन्द गरी गल्तीकमजोरी सच्याउँदै एकआर्कामा रूपान्तरणसहित क्रान्तिकारी कार्यभार पूरा गर्न हाम्रो सङ्गठन नेतृत्वलाई जोडदार माग गर्दछ । अतः बलिदानको कीर्तिमान खडा गरी श्रमिक मुक्तिको स्वर्णिम प्रस्तावमा रगतको हस्ताक्षर प्रदान गरेर अघि बढिरहेको हाम्रो सङ्गठन सम्पूर्ण कमरेडहरू र सङ्गठित मित्रहरूमा आह्वान गर्दै रत्तिभर विचलित नभई क्रान्तिकारी मजदुर आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने दिशामा अघि बढ्न हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :