नेता कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता गर, अन्यथा क्रान्तिको झन्डा उठाइन्छ : आजाद सेन

काठमाडौँ : प्रवासी नेपाली जनसमाज, भारत केन्द्रीय समितिका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनमाथि महासचिव विप्लवले गरेको कथित कारबाही फिर्ता लिन आग्रह गरेका छन् । अन्यथा समाजको क्रान्तिकारी इतिहास कायम गर्दै क्रान्तिको झन्डा बोक्ने अध्यक्ष थापाले बताएका छन् । उनले भनेका छन्, ‘सिङ्गो पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएर समस्याको समाधान दिनुपर्छ । प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन प्रवासी नेपाली जनसमाज भारतको इतिहास तिरन्तर क्रान्तिको इतिहास रहेको छ र आगामी दिनमा पनि आफ्नो क्रान्तिकारी इतिहासलाई कायम राख्दै सहिदले देखाएको सपनालाई पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।’

थापाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

नेपाली श्रमजीवी जनता र विशेषतः युवा शक्तिहरू आज पराइ मुलुकहरूमा हेलाहोचो र अपमानित मात्र होइन, श्रमशोषण गराउन, अस्मिता लुटाउन र जीवन नै गुमाउनसमेत बाध्य र विवश छन् । लाखौँलाख स्वाभिमानी परिश्रमी इमानदार नेपालीहरूको अवस्था दिन–प्रतिदिन झन्झन् कहालीलाग्दो बन्दै गइरहेको यो अवस्थामा पनि आमूल रूपान्तरण, राष्ट्रियता, स्वाधीनता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्दै सहिदहरूले देखाएको मार्ग पछ्याउँदै अगाडि बढिरहेको सर्वविदितै छ । प्रचण्डले सिङ्गो माओवादी आन्दोलनलाई नै संसदीय व्यवस्थामा विघटन गरेपछि माओवादी आन्दोलनमा देखिएका विचलन र विसर्जनबाट विद्रोह गर्दै किरण नेतृत्वमा आइपुग्दा विचार, राजनीतिक उच्चतासहित गरेको विद्रोह गतिहीन भएको भन्ने निष्कर्षसहित एकीकृत जनक्रान्तिको कार्यदेशा निर्माण गर्दै दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको सपना बोकेर विप्लवको नेतृत्वमा नेकपा गठनसँगै प्रवासी नेपालीहरूको नेतृत्व गर्दै सिङ्गो नेतृत्व पङ्क्तिप्रति आशा र भरोसाका साथ नयाँ सङ्घर्षको आन्दोलनमा होमिएको हाम्रो प्यारो सङ्गठन प्रवासी नेपाली जनसमाज, भारत आज पार्टीको १२ औँ पूर्ण बैठकले लिएको स्थानीय चुनावको प्रयोग कार्यनीतिलाई राम्रोसँग नबुझ्दै पार्टी सचिवालयका सदस्यहरूको र केही केन्द्रीय सदस्यहरूको मिडियाबाजी, लेखरचना र अभिव्यक्तिमाथिको अनावश्यक टीकाटिप्णीबाट निराश आक्रोश र सशङ्कित बनाउँदै गएको यो विषम परिस्थितिमा हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ ।

पार्टीका सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमाथि सचिवालयले गरेको जिम्मेवारीमुक्तको कारबाही विधान र विधिगत नभएकोमा हामी स्तब्ध भएका छौँ । उक्त कदम फिर्ता लिई पार्टीको केन्द्रीय समितिको बैठक बोलाई सैद्धान्तिक, वैचारिक र राजनीतिक बहसका लागि सबै ढोकाहरू खुला राख्दै अविलम्ब पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढाउन पार्टीको मुख्य नेतृत्व महासचिवलाई हार्दिक आग्रह गर्दछौँ । सम्पूर्ण नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलनलाई एकताबद्ध बनाउने सबैको पवित्र उद्देश्य हुनुपर्छ । त्यसका निम्ति फुटलाई मलजल गर्ने गुट–उपगुटमा रमाउनेजस्ता दुस्साहसपूर्ण कार्य बन्द गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । सिङ्गो पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएर समस्याको समाधान दिनुपर्छ । प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन प्रवासी नेपाली जनसमाज भारतको इतिहास तिरन्तर क्रान्तिको इतिहास रहेको छ र आगामी दिनमा पनि आफ्नो क्रान्तिकारी इतिहासलाई कायम राख्दै सहिदले देखाएको सपनालाई पूरा गर्न प्रतिबद्धता जाहेर गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित
आजाद सेन थापा
अध्यक्ष
केन्द्रीय समिति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :