दलाल संसदीय पुँजीवादका विरुद्ध अन्तिम सङ्घर्ष गर्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

सन्दर्भ : १३३ औँ मजदुर दिवस

दलाल संसदीय पुँजीवादका विरुद्ध अन्तिम सङ्घर्ष गर्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आह्वान

काठमाडौँ : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३३ औँ मजदुर दिवसका अवसरमा सम्पूर्ण श्रमिकहरूलाई हार्दिक अभिवादनसहित शुभकामना व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विनोद थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै मजदुरलाई अधिकारबाट वञ्चित गराउने सबैखाले विजातीय तत्व र दलाल संसदीय पुँजीवादका विरुद्ध अन्तिम सङ्घर्ष गर्न क्रान्तिकारी आन्दोलन आजको अनिवार्य आवश्यकता बन्न गएकाले सम्पूर्ण न्यायप्रेमी श्रमिक मजदुरहरूलाई यो दिशामा अगाडि बढ्न ऐतिहासिक १३३ औँ मजदुर दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

महासङ्घका अध्यक्ष थापाले जारी गरेको विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

सम्झौताहीन सङ्घर्ष र उच्च बलिदानबाट तात्कालिक फासिस्ट शासकलाई घुँडा टेकाएको दिन र श्रमिक वर्गले आफ्नो अधिकारको लडाइँमा विजय प्राप्त गरेको दिन आज १३३ औँ मजदुर दिवस संसारभरि नै श्रमिक वर्गले मनाइरहेका छन् । सन् १८८६ मा अमेरिकाको सिकागो सहरका मजदुरहरूले आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको माग राखी आन्दोलन गरेर हकअधिकार प्राप्त गरेको यो ऐतिहासिक अवसरमा सम्पूर्ण श्रमिकहरूलाई हार्दिक अभिवादनसहित शुभकामना व्यक्त गर्दछौँ ।

श्रम शोषणबाट अतिरिक्त नाफा कुम्ल्याइरहेको विश्व–पुँजीवाद विभिन्न स्वरूपमा फेरिँदै आज दलाल पुँजीवादसम्म आइपुग्दा श्रमिक वर्गलाई कार्टेल, सिन्डिकेट, आउट रिसोर्सिङ, हायर एन्ड फायर, नो वर्क नो पे, ज्यालादारी, ठेकेदारी, करार प्रथासम्मसम्मका गतिविधिले श्रमिकलाई शारीरिक, मानसिक, आर्थिक दमनको नीति लिन पुगेको छ । पुँजीवादले मानवश्रमलाई कटौती गर्दै आधुनिक विज्ञानप्रविधि प्रयोग गरी मानव श्रमलाई व्यापक कटौती गर्ने तहमा पुगेको छ भने श्रमिकहरू २१ औँ शताब्दीमा पनि नयाँनयाँ रूप र रङका अमानवीय शोषण भोग्न बाध्य छन् । सङ्गठित ट्रेड युनियनहरू पनि विभिन्न ध्रुवमा विभक्त हुँदा श्रमिक अधिकारको प्रश्न ओझेलमा पर्न गएका छन् र एनजीओमुखी श्रमिक सङ्घ–सङ्गठनहरू मजदुर हितमा भन्दा पनि आफ्नो स्वार्थमा लिप्त छन् । त्यसैले हामीलाई अधिकारबाट वञ्चित गराउने सबैखाले विजातीय तत्व र दलाल संसदीय पुँजीवादका विरुद्ध अन्तिम सङ्घर्ष गर्न क्रान्तिकारी आन्दोलन आजको अनिवार्य आवश्यक बन्न गएको छ । यसर्थ सम्पूर्ण न्यायप्रेमी श्रमिक मजदुरहरूलाई यो दिशामा अगाडि बढ्न ऐतिहासिक १३३ औँ मजदुर दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :