दलालहरूको नौटङ्कीको भन्डाफोर गरौँ

यो स्वयम्सिद्ध तथ्य हो– संसदीय व्यवस्था वा पुँजीवादी व्यवस्था झूट र ठगहरूको व्यवस्था हो । पुँजीवादी व्यवस्थामा कोही खाएको खायै र कोही हेरेको हेर्यै हुन्छन् । कोही अजीर्णताले मर्छन् भने कोही भोक, रोग र शोकले । प्रत्येक चुनावमा धनाढ्य, ठग र जालीहरूका लागि फेरि अर्को अवधिका लागि झूट्टा आश्वासनका पोकाहरू बाँड्ने, ढाँट्ने र फेरि एउटा सीमित वर्ग र तप्का राज्यको सम्पत्ति दोहन गर्दै नवधनाढ्य वर्गमा फेरिने दुष्चक्र दोहोरिन्छ । श्रमिक र विपन्न वर्ग कथित चुनावको समय पारेर गरिएको आकाश छुने मूल्यवृद्धिको मारमा पर्छन् र कालोबजारियाहरू चुनावी दलहरूलाई दिएको चन्दा यस्तै चुनावको समय पारेर महँगी थोपर्दै जनताबाट असुल गर्छन् । हरेक चुनावहरू जनता भुक्याउने, जनता लुट्ने, जनता ठग्ने अस्त्रहरू बन्ने गर्छन् र बनिरहेका छन् । दलाल पुँजीवाद अर्थात् संसदीय प्रणालीको यो कहिल्यै अन्त्य नहुने चक्र हो ।

यतिबेला आमश्रमिक जनता महँगीको मारमा छन् । गरिबीको मार त जनताको सधैँको नियतिजस्तै हो । आफ्नो मुलुकमा श्रम बेच्न नपाएका अदक्ष, अर्धदक्ष वा दक्ष कामदारसमेत सस्तो मूल्यमा अर्काको देशमा श्रम बेच्न विवश छन् । अर्काको देशको उत्पादनमाथि दलाली गरेर चलेको राज्यसत्ताले आफ्नो देशका नागरिकहरूलाई आफ्नै देशमा श्रम गर्ने ठाउँ दिने, राष्ट्रिय पुँजीको विकास गर्नेतिर कहिल्यै ध्यान दिएन र दिँदैन पनि । नेपाली काङ्ग्रेसको तत्कालीन सरकारको समयमा नेपालका दुई दर्जन हाराहारी उद्योग, कलकारखानाहरू कौडीको मूल्यमा बिक्री गरियो, ती उद्योगका कलपुर्जासमेत बिक्री गरेर भारत पुर्याइयो र निर्बाध भारतीय उत्पादन भित्र्याएर स्वदेशी उत्पादनमाथि अङ्कुश लगाइयो, निरुत्साहित गरियो । अहिलेको सरकार पनि बाँकी रहेका उद्योगहरू कौडीको मूल्यमा बेचेर पूर्ण रूपमा अर्काको भर पर्ने दलालीको बाटो रोजिरहेको नराम्रो सन्देश प्रवाह भइरहेको छ । दलाल पुँजीवादी पार्टीहरू विगतमा कुनै गल्ती नै नगरेझैँ दूधले नुहाएझैँ गरेर फेरि चुनावी घोषणापत्र नाउँका झूट, बेइमानी र ठगीका पुलिन्दा बोकेर कुखुरा चोरझैँ गाउँ पसेका छन् । यो व्यवस्थामा हुने चुनाव जसले जे बहाना बनाएर लडे पनि जनताका पक्षमा कुनै पनि उपलब्धि हुनेछैन । कसैले म चोखो छु, पवित्र छु, देशभक्त छु, क्रान्तिकारी छु, इमानदार छु वा यस्तै केही भन्छ भने ऊ नयाँ ठग हो, पित्तलको गहनालाई सुनको गहना हो भनेर गाउँ पसेको देसी ठगझैँ । व्यवस्था नै ठगी, बेइमानी, धूत्र्याइँ, बदमासी, झेली, तस्करीमा टिकेको छ भने त्यही व्यवस्थाले गराउने, त्यही व्यवस्था टिकाउन गरिने चुनावमा म यस्तो र उस्तो गर्छु भनेर भ्रम छर्नु भनेको अर्को ठगी नै हो । दलाल पुँजीवाद विषालु फल फल्ने वृक्ष हो । त्यस व्यवस्थाभित्र फल्ने सबै फलहरू उस्तै विषालु हुन्छन् । रूखको गुण नै विषालु छ भने त्यसको कुनै फल अमृत र कुनै फल मात्र विष हुने हुन सक्तैन । त्यसैले जनताको घरघरमा गएर यो दलाल, लुटेरा संसदीय व्यवस्थाको भन्डाफोर गर्नुपर्छ । यो व्यवस्था ढालेर यसको चिहानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सकिने र त्यसका लागि संसदीय बाटो होइन, क्रान्तिको बाटो एक मात्र विकल्प हो भनेर जनतालाई बुझाउनुपर्छ । दलालहरूभन्दा जनता धेरै सचेत र महान् छन् ।

दलाल संसद्‌वादी र त्यसबाट प्रभावित पार्टी, गुट, व्यक्ति, समूहका त कुरै छोडिदिऊँ, उनीहरूको ध्याउन्न भनेको जसरी भए पनि, साम, दाम, दण्ड, भेद गरेर भए पनि चुनाव जित्ने र चुनावमा भएको लगानीको ब्याजको स्याजसम्म लुट्ने नै हो । दलाल पुँजीवादी व्यवस्थामा कोही पनि सामाजिक सेवाको भावले चुनाव लड्न गएको हुँदैन । दलालको काम नै दलाली गर्ने हो । दलाल व्यवस्थाको प्रतिनिधि दलाल पुँजीवादको पनि दलाल हो र ऊ आफ्नो राज्यसत्ताभित्र सबै किसिमका दलाली गर्न योग्य हुन्छ । त्यसैले कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले जनताको घरमा पुगेर सबैभन्दा पहिले दलाल पुँजीवाद र त्यसको संरक्षण गर्ने जरा, हाँगा, पातका रूपमा तयार हुँदै गरेका कथित प्रतिनिधिका दुष्कर्मका बारेमा भन्डाफोर गर्नुपर्छ । दलाल व्यवस्था र दलाल प्रतिनिधि वा दलाल उम्मेदवार यी सबै एक सिक्काका दुई पाटा हुन् । त्यसैले परजीवी दलाल पुँजीवादी व्यवस्था र त्यसका अवयवहरू दुवै क्रान्तिका बाधक हुन् । यो कुरा जनतालाई राम्ररी बुझाउनुपर्छ । जनताले के कुरा पनि बुझ्नु आवश्यक छ भने दलाल संसदीय व्यवस्थामा विभिन्न नाउँ र चिह्न भएका नौरङ्गी चुनावी दलहरूबीच पार्टीको नाउँ र झन्डाबाहेक कुनै पनि तात्विक भिन्नता देखिँदैन । विचार, कार्यशैली सबै एउटै छ । गर्ने काम एउटै छ । राज्यको दोहन सबैले उसरी नै गरेका छन् । राष्ट्रघात र जनघातमा कुनै अन्तर छैन । तिनले जनतालाई एकताबद्ध हुनबाट वञ्चित गराउने षड्यन्त्रस्वरूप दलको नाउँ र झन्डा मात्र फरकफरक बोकेका हुन्छन् र यो काम पनि योजनामै हुने गर्छ । अन्यथा कम्युनिस्ट नाउँ गरेका पार्टीले राजावादी, गणतन्त्रविरोधी वा काङ्ग्रेसजस्ता असली प्रतिक्रियावादीहरूसँग गठबन्धन गर्ने त कुरै हुँदैन । कुनै समयमा विचार, राजनीति, सिद्धान्त र आदर्शका कुरा गर्ने ती दलहरू चुनाव वा सत्तारोहण गर्ने विषयमा भने पार्टी मिलाएर, चुनावचिह्न साटेर वा सापट लिएर चुनाव लडरिहका देखिन्छन् । यो व्यवस्था स्वीकारेर चुनावमा जाने सबै दलाल, अवसरवादी, पुँजीवादीहरू हुन् । संसद्‌वादी राजनीतिक दलहरूका यस्ता हर्कत बेलैमा बुझेर जनताले भने सबै संसद्‌वादी, पुँजीवादी शक्तिहरूको भन्डाफोर र विद्रोह गरेर आमूल परिवर्तनका लागि क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुनु आवश्यक भइसकेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :