सांस्कृतिक प्रतिरोध दिवस र प्रतिरोध संस्कृति

सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धले जन्माएको नयाँ जनपर्व वा जनदिवस हो । सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सचेत तप्काले फासिवादी सत्तासँग निर्भयपूर्वक लडेर बलिदान गरेको दिन हो सांस्कृतिक प्रतिरोध दिवस ।

जनयुद्धले जन्माएका वा स्थापना गरेका नयाँ पर्वहरूमा फागुन १ नयाँ वर्ष, फागुन १४–२१ सहिद सप्ताह, चैत ५ सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ बलिदान दिवस, साउन ३१ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, पुस १९ बेथान वीरता दिवस मुख्य छन् । यी सबै बलिदान र प्रतिरोधले निर्माण गरेका दिवसहरू हुन् । यी सबै निरन्तर क्रान्तिसँग सम्बन्धित दिवस हुन् । यी दिवस आत्मसमर्पणवादी, दलाल, गद्दार र कायरहरूले होइन, क्रान्तिकारीहरूले मनाउने जनपर्वहरू हुन् । एकीकृत जनक्रान्तिले इतिहासका सबै विद्रोह, आन्दोलन, सङ्घर्ष, युद्ध र क्रान्तिहरूलाई क्रान्तिको बाँकी कार्यभार र ऊर्जाका रूपमा ग्रहण र आत्मसात गरेकाले यी पर्वहरू एकीकृत जनक्रान्तिका पर्व र दिवसहरू हुन् ।

जनयुद्धले तीव्र गति लिँदै गरेको समयमा काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन आततायी सत्ताले च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना जनसंस्कृतिकर्मीलाई अमानवीय, क्रूर र बीभत्स तरिकाले हत्या गर्यो । हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका अनुचरहरूले कलाकार बसेको घरमा आगो लगाए । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । बाहिरबाट एमालेको आवरणमा प्रहरीहरूले कलाकारहरूलाई आत्मसमर्पण गर्न उर्दी जारी गरिरहे । कलाकारहरूले मानेनन्, प्रतिरोध गरिरहे । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका अनुयायीहरूले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि कलाकारहरूले आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । दुस्मनको कब्जामा पर्नासाथ नसोधेको प्रश्नको पनि उत्तर दिँदै दुस्मनको पाउमा आत्मसमर्पण गर्नेहरूका गद्दारहरूका लागि यो प्रतिरोधको उदाहरण कथा वा किंवदन्ती मात्र बन्न सक्छ तर यो सत्य हो, इतिहासले निर्माण गरेको कटुसत्य । क्रान्तिकारी आन्दोलनको इतिहासमा यो सत्य मुटुका धड्कनहरूमा अमिट भएर बसेको छ ।

निःशस्त्र कलाकारहरूलाई प्रतिक्रियावादी शक्तिसँग लड्ने यो ऊर्जा महान् जनयुद्धले प्रदान गरेको थियो । जनयुद्धले उत्पीडित, श्रमिक, सर्वहारा वर्गलाई मुक्त गर्छ भन्ने अटल विश्वास थियो क्रान्तिकारी संस्कृतिकर्मीहरूमा । मालेमावाद नै मुक्तिको एक मात्र दर्शन, विचार, राजनीति र कला हो भन्नेमा विश्वस्त थिए योद्धाहरू । यही विश्वासले अनेकोटमा कलाकारहरूलाई सत्ताको बर्बर दमन, आगो र गोलीसँग लड्नसक्ने शक्ति प्रदान गरेको थियो । यही शक्तिले नै मस्त बिस्टदेखि इच्छुक, अन्जान विरही, पुष्पराज चौधरी, शारदा श्रेष्ठ, चुनु गुरुङ, शिव श्रेष्ठ, हर्षबहादुर मल्ल ‘प्रभात’, रोहित कोइराला, देवकुमार आचार्य ‘डी कौडिन्य’, कौशिला तमु, दिलमाया बम्जन, रक्तिमलगायत एक सय ६० भन्दा बढी जनताका कलाकार, स्रष्टा, संस्कृतिकर्मीहरूलाई सत्ताको हत्यासंस्कृतिका विरुद्ध लड्न, प्रतिरोध गर्न र बलिदान गर्ने जोस, जाँगर, विश्वास, शक्ति र ऊर्जा प्राप्त भएको थियो । यो ऊर्जाले देशभर क्रान्तिकारीहरूमा प्रतिरोधी रक्तसञ्चार उत्पन्न भएको थियो । त्यसैले त्यो प्रतिरोध दिवसका रूपमा स्थापित बन्न सफल भएको थियो । जनताका छोराछोरीहरूको त्याग र बलिदान नयाँ पर्वका रूपमा विकसित भएको थियो ।

संसारमै माक्र्सवादी संस्कृतिकर्मी/स्रष्टाहरूले आततायी सत्ताका विरुद्ध प्रतिरोध सङ्घर्ष गरेको गौरवशाली इतिहास छ । स्पेनका क्रिस्टोफर कड्वेल, पन्जाबका कवि पाश, चेकोस्लाभियाका लेखक जुलियस फ्युचिक, सुब्बा कृष्णलाल अधिकारीदेखि इच्छुकसम्मका स्रष्टाहरूले तत्कालीन फासिवादी सत्ताका क्रूर यातना, दमनको प्रतिरोध गर्दै बलिदान दिएको गौरवशाली इतिहास हाम्रासामु साक्षी छ । यी उदाहरणहरू जनक्रान्तिका दस्ताबेज मात्र होइनन्, प्रेरक हुन्, पूरा गर्न बाँकी सपना र कार्यदिशा हुन् ।

महान् जनयुद्धका क्रममा संस्कृतिकर्मी/स्रष्टाहरूले सामूहिक प्रतिरोध गर्दागर्दै बलिदानको कीर्तिमान कायम गरेको इतिहास हाम्रासामु छ । तिनै प्रतिरोधमध्ये अग्रस्थानमा पर्छ २०५५ साल चैत ५ गते काभ्रे अनेकोटमा भएको सातजना जनकलाकारको प्रतिरोध र बलिदान । २०५९ सालमा डोल्पाको माझफालमा, २०५६ सालमा अछामको डुंगलामा, २०६० सालमा विनायकमा, २०५६ सालमा रोल्पाको भाबाङमा र २०५८ सालमा गुम्चालमा, २०५६ सालमा कालीकोटको घोडेकोटमा संस्कृतिकर्मीहरूले तत्कालीन फासिवादी सत्तासँग नझुकी प्रतिरोध गर्दागर्दै सामूहिक रूपमा बलिदानलाई स्वीकार गरेका थिए । रामेछापको बेथानमा २०५३ सालमा दिलमाया बम्जनले र २०६० सालमा दोरम्बामा रक्तिमले पनि यसैगरी दुस्मनसँगको प्रतिरोधका क्रममा बलिदान दिएका थिए ।

भाबाङमा २०५६ साल असार ८ गते जलजला सांस्कृतिक परिवारका जनकलाकारहरू मङ्गलबहादुर बुढामगर, सुन्दर घर्तीमगर, दुर्गाबहादुर घर्तीमगर, दीपेन्द्र घर्तीमगर, शुकप्रसाद घर्तीमगर, लालबहादुर सार्की, कुमारी घर्तीमगर, गोविन्द घर्तीमगर र दिलकुमार बुढामगरले प्रतिरोध गर्दागर्दै बलिदान गरेका छन् । त्यसैगरी २०५६ सालमा डुङ्ला सामूहिक हत्याकाण्डमा गुम्बासिंह चलाउने, अम्मरबहादुर चलाउने, मदनबहादुर चलाउने, रामबहादुर चलाउने, टेके कामी, पदमबहादुर ढोली, ढाक्रे दमाई, भक्त बुढा र मानबहादुरले प्रतिरोधकै क्रममा बलिदान गरेका छन् । २०५६ सालमा कालीकोटको घोडेकोट हत्याकाण्डमा चुली सांस्कृतिक परिवारका मीनबहादुर बिस्टलगायत चारजना जनकलाकारले बलिदानको बाटो रोजेका छन् भने २०५७ साल साउनमा कालीकोटकै ओदानकुमा काञ्जिरोवा जनसांस्कृतिक परिवार जुम्लाका रमेश भट्टराई र तिलाकन्या खत्रीले प्रतिरोध गर्दागर्दै बलिदानलाई आत्मसात गरेका हुन् ।

२०५८ साल चैत ४ गते रोल्पाको गुमचाल हत्याकाण्डमा लिस्ने सांस्कृतिक परिवारका पार्वती परियार, बालसरी रोका, कृष्णे घर्तीमगर र दुर्गी बाँठामगरले बलिदानको बाटो रोजे । २०५९ साल भदौ ९ गते माझफाल हत्याकाण्डमा जुनी जनसांस्कृतिक परिवार जाजरकोटका जयन्ता घर्ती ‘रमा’, यामकुमारी खड्का ‘शिशिर’, नारायण शर्मा ‘संदिप्त’, सुनिल, नमुना, ललिता, प्रमोद र भिजनले सहादत प्राप्त गरे । २०६० साल मङ्सिर १८ गते अछामको विनायकमा नौरता चलाउने, नरबहादुर नेपाली, नेत्रबहादुर कठायत र प्रभुनाथ धिमालले प्रतिरोध गर्दागर्दै बलिदान गरे । बलिदानको शृङ्खला लामो छ, दस हजारभन्दा बढी । त्यस्तै बेपत्ताको शृङ्खला र घाइते–अपाङ्गताको शृङ्खला पनि लामो छ ।

यिनै प्रतिरोध र बलिदानको जगमा उभिएको छ नेकपाले सञ्चालन गरेको एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्तिकै क्रममा पनि ११ जना योद्धाहरूले बलिदानको बाटो रोजिसकेका छन् । मार्क्सवादी स्रष्टा एवम् चिन्तक सुदर्शन, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, नेत्रीहरू बन्धु चन्द, भृकुटीलगायत स्रष्टाहरू यतिबेला केपी वली–प्रचण्ड सरकारको जेल र हिरासतमा बन्दी जीवन बिताइरहेका छन् । सहिदका शव र रगतमा टेकेर आएका प्रचण्ड, बाबुराम र रामहादुर थापाहरू आलोपालो सत्ता सञ्चालन गरिरहेका छन् तर उनीहरूले यो गौरवशाली इतिहास भुलेर इतिहासप्रति मात्र होइन, वर्तमान र भविष्यप्रति पनि गद्दारी गरेका छन् । प्रतिरोध दिवस र प्रतिरोध संस्कृतिले नै सहिद–बेपत्ता योद्धाहरूको प्रतिरोध चेतना र सपनालाई साकार पार्नेछ । त्यसका लागि एक मात्र विकल्प हो एकीकृत जनक्रान्ति । आउनुहोस् प्रतिरोधी चेतनाका वाहकहरू, फेरि प्रतिरोध गर्नु नपर्ने गरी अन्तिमपटक लडौँ यो फासिवादी सत्तासँग ।

सम्झनाका तरेलीमा ती सुन्दर अनुहार

राजु

जनयुद्धमा बलिदान गर्ने परिचित असङ्ख्य अनुहारहरूमध्ये २०५५ साल चैत ५ गते अनेकोटमा जिउँदै डढाइएका अनुहारहरूको सम्झनामा र सम्मानमा लेख्न लागिरहेको छु । ‘काभ्रेको अनेकोटमा ७ जना संदिग्ध माओवादीहरूको दोहोरो भिडन्तमा हत्या‘’, चैत ५ गते राति पौने ९ बजे बीबीसी नेपाली सेवाले समाचार प्रसारण गर्यो । मृत्युको खबरले मुटुलाई बारम्बार गिजोलिरहेको बेला बीबीसीको समाचारले मुटुलाई झन् नराम्रोसँग चपायो । स्तब्ध भएँ म । ‘दोहोरो भिडन्त’ नाटक, केवल नाटक, यस्तै लाग्यो मलाई । दोहोरो भिडन्तमा माओवादीतर्फ सातसातजना मारिनु तर प्रहरीतर्फ भने एकजना पनि नमारिनु, के यस्तो घटना पनि सम्भव छ ? कसरी पत्याउने दोहोरो भिडन्त भनेर ? रक्तपिपासु बगरेहरूले जब निर्दोष जीवनहरूलाई जथाभाबी चपाउन थाल्छन्, तब लाज ढाक्नका लागि ‘दोहोरो भिडन्त’ को नाटक प्रहसन गर्छन् तर वास्तविक भिडन्त हुँदाचाहिँ बगरेहरू चुँसम्म बोल्दैनन् । बोल्ने हिम्मत नै गर्दैनन् । बबुराहरूले हिम्मत गरून् नै कसरी ? जब वास्तविक भिडन्तहरूको इतिहासमा आजसम्म शर्मनाक हार खाँदै आइरहेका छन् । आततायीहरूप्रति मभित्र आक्रोश र जुगुप्सा एकैचोटि जागेर आयो । सहयात्रीहरूका असङ्ख्य अनुहारहरू मानसपटलमा छाल बनेर तरङ्गिन थाले । सोच्दासोच्दै सोचाइमै चुर्लुम्म डुबेँ म । असङ्ख्य जीवनहरूका साथमा थुप्रै बस्तीहरू रक्तमुच्छेल भएको देखेँ मैले, घायलघायल भएको पाएँ मैले । असङ्ख्य परिचित–अपरिचित अनुहारहरूको भीडमा हराएँ म । अहँ, किनारामा उत्रिन सक्दैसकिनँ । नाइल नदीजस्तै लामो रातमा रातको आयुले थिच्दै जाँदा प्रतीक्षा कति धेरै पीडादायी हुन्छ होला सोच्नुस् त एकपटक ! साँच्चै पीडादायी हुँदोरै’छ प्रतीक्षा । रातको आयु त समाप्त भयो नै तर मभित्र छट्पटी भने जस्ताको तस्तै रहिरह्यो । आतुर थिएँ म अनेकोटमा जिउँदै पोलिएका सातजना अनुहार चिन्नलाई । करिब १० बजेतिर पर्खालभित्र अखबारहरू आइपुगे । अखबारको पानाभरि हुत्याएँ दुवै आँखाहरू । आँखाहरू अखबारका पानाभरि पैmलिए । एकाएक धमिला भए आँखा । अखबारका अक्षरहरू आगो बनेर उडे, ज्वाला बनेर छातीभरि फैलियो । म ह्वारह्वार्ती बल्न थालेँ आक्रोशले । ‘ एमालेको सुराकीमा सातसातजना जनकलाकारहरूको दिनदहाडै बीभत्स सामूहिक हत्या‘!’ ओहो ! कति भयानक यथार्थ, कति तीतो सत्य ! पत्याउन मन नलाग्दानलाग्दै पनि जबर्जस्ती पत्याउनैपर्ने, विश्वास नगरूँ भन्दाभन्दै पनि विश्वास गर्नैपर्ने । कति प्यारा थिए ती नामहरू, कति सुन्दर थिए ती जीवनहरू । ती सुन्दर जीवनहरू, लालुपातेझैँ भर्भराउँदा ती अनुहारहरू पोले आततायीहरूले, जिउँदै पोले । भत्कँदै नभत्कने पहरे छातीहरूमा विषालु गोलीहरू दागे । समवेदनाले भरिएका कोमल मुटुहरू क्षतविक्षत पारे । च्याङ्बा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमायाँ लामा, गुम्बासिंह लामा, डम्बर श्रेष्ठ, मञ्जु कुँवर‘। ती प्यारा नामहरू आज झन्झन् प्यारा बनेका छन् । प्यारा मात्रै होइन, सदासदाका लागि इतिहासमा मेटिँदैनमेटिने गरी कुँदिएका छन् । शब्दश्रद्धा ती प्यारा नामहरूलाई, ती प्यारा जीवनहरूलाई, ती अमर जीवनहरूलाई । च्याङ्बा लामा काभ्रेली जनताको मुटुको धड्कन, जनताको गीत गाउने एउटा रातो गायक, जनताको गीत लेख्ने एउटा प्यारो लेखक, सुतेका बस्तीहरूलाई ब्युँझाउने एउटा जनवादी कलाकार, समरको एउटा भरोसायोग्य सिपाही, मेरो प्यारो साथी, यात्राको एउटा सहयात्री । छैन, आज यस धर्तीमा भौतिक रूपमा छैन । हामीभन्दा धेरै टाढा, क्षितिजभन्दा पनि टाढा, खै कता हो कता हराएका छन् । प्यारो साथी ! भन तिमी कहाँ छौ ? हामी तिमीलाई नै धुइँधुइँती खोजिरहेका छौँ । तिम्रो अनुपस्थितिमा हामी घाइते बाघ भएका छौँ साथी, घाइते बाघ भएका छौँ । हाम्रो घाइते मनलाई थुम्थुम्याउन तिमी आउँदैनौ त ? हिजो सिन्धुलीका बस्तीहरूमा, काभ्रेका गाउँहरूमा महान् उद्देश्य बोकेर सँसगै यात्रा नापेका ती क्षणहरूलाई कसरी भुल्न सक्छु र प्यारो साथी म ! तिमालका चौँरीका बथानसँगै कस्तरी रमाएका थियौँ हामी । सिन्धुलीको महाभारतमा पाखैभरि राताम्मे फुलेका राता गुराँसहरूसँगै हामीले पनि बैँसालु लालीगुराँसजस्तै सपनाहरू कस्तरी आँखाभरिभरि फुलाएका थियौँ । शिशिरको कठ्याङ्ग्रिँदो जाडोमा एउटै सिरक ओडेर, एउटै थालमा खाएर केन्द्रीय कारागार, वीरगन्जमा लडाइँ लडेका ती सङ्गीन पलहरूलाई बिर्सन खोज्दा बिर्सन सकिन्छ र ? सकिँदैन साथी, सकिँदैन । बिर्सन खोजेर पनि बिर्सन सकिने कुरा पनि त होइन । यतिखेर म मेरो अर्को प्यारो साथी कान्छा लामालाई पनि झल्झली सम्झिरहेको छु । पर्खालभित्र कैद हुनुअघि कान्छा लामा मेरा एक अजनबी साथी थिए । जब म रूपान्तरण भई केन्द्रीय कारागार

काठमाडौँमा आएँ, तब ती अजनबी सहयात्रीसँग परिचय भयो । सधैँ हँसमुख रहने, अत्यन्तै अनुशासित, लगनशील, होचो कद, कलिला तर झर्झराउँदो गोलो अनुहार भएका ती व्यक्ति आज हामीसँग छैनन् । छ त केवल सम्झना छ, स्मृतिको छाया छ । पर्खालभित्र पनि कति सक्रिय थिए च्याङ्बा र कान्छा । उनीहरू दुवैलाई यात्राप्रति पूरापूर विश्वास थियो । प्रायजसो राति अबेरसम्म थाङ्काहरू कोर्थे । दुवैजना कविताहरू लेख्थे, गीतहरू लेख्थे । लेखिसकेपछि हतारहतार मलाई देखाउँथे । म मेरा प्रिय साथीहरूलाई नयाँनयाँ कुराहरू लेख्न प्रोत्साहित गर्थें । कमजोरीहरू बिनाहिचकिचाहट औँल्याइदिन्थेँ । कान्छा लामाका एक दर्जनभन्दा बढी गीतहरू र कविताहरू ताजै छन् आजतक । प्यारा साथीहरूले लेखेका ती कविता र गीतहरू सुरक्षित छन् कि छैनन् ? मलाई अहिले थाहा छैन । मीठामीठा कविता र गीत लेख्ने मेरा प्यारा साथीहरू आज आफैँ सुन्दर कविता बनेका छन्, मीठा गीतमा रूपान्तरण भएका छन् । कविहरू आज साथीहरूको सम्झनामा निरन्तर कविता जन्माइरहेका छन्, गीतहरू साथीहरूको सम्मानमा सुन्दर गीतहरू लेखिरहेका छन् । बेथान कारबाहीमा सहादत प्राप्त गर्ने सहिद तीर्थ गौतम र सहिद दिलमाया बम्जनको सुन्दर तस्बिरहरू कोर्ने कान्छा लामा आज स्वयम् सहिदमा अनुवाद भएका छन् । ती कल्कलाउँदा परिश्रमी हातहरूले थुप्रै सहिदहरूका तस्बिरहरू कोर्न बाँकी नै थिए तर यो आततायी सरकारलाई यो सह्य भएन । त्यसैले कान्छा लामाहरूको कलम भाँच्यो, कुची र ब्रस खोस्यो । च्याङ्बा लामाहरूको सारङ्गीको तार चुँडायो, बाँसुरी र मादल फुटायो । आततायीहरूलाई यत्तिले मात्र चित्त बुझेन र कान्छा लामाहरूमाथि गोली बर्सायो, च्याङ्बा लामाहरूलाई जिउँदै डढायो । म थुक्छु यो कायर, आततायी सरकारलाई, खुबसँग थुक्छु– थुः, थुः थुः, थुः । प्यारो साथी कान्छा, मसँग तिम्रो तस्बिर कोर्ने सुन्दर कला त छैन तैपनि तिम्रो तस्बिर मृत्युपर्यन्त छातीको देब्रे कुनामा मुटुसँगै सजाइराख्नेछु । प्यारो साथी च्याङ्बा, मसँग तिम्रोजस्तो कला र गला त छैन तर पनि तिमीले छाडेर गएका गीतहरू गुन्गुनाइरहनेछु– जीवनभरि । तिमीहरूको अनुपस्थितिमा कति विक्षिप्त छु, म । आऊ, साथीहरू आऊ, मलाई हेर्न आऊ । मेरा आँखाको साउने झरी हेर्न आऊ । मेरो छातीमा दन्किरहेको आगो हेर्न आऊ । निर्मला देवकोटा सिन्धुलीकी छोरी, रातो गीत गाउने राती गायिका, जनताकी प्यारी कलाकार । जवानीमा पाइला टेक्दै गरेकी एक सम्भ्रमी, मेरी आँखाकी नानी । हो, उनीसँग अब मेरो भेट कहिल्यै हुँदैन । मेरो आँखाकी नानीको त्यो जूनभन्दा पनि शीतल अनुहार स्मृतिको छायामा मात्रै बाँचिरहेको छ अब तर मेरी प्यारी बहिनीको त्यो घामभन्दा पनि तातो विचार, मरुभूमिमा दुबो फैलिएझैँ फैलिरहनेछ– युगयुगान्तर । प्यारी बहिनी ! तिम्रो सहादतको खबरले गुराँसैगुराँस फुल्ने मेरा आँखा आँसु बनेर बिजाइरहेछ । कोसीको पानीजस्तो सपना काँडाको झ्याङमा अल्मल्लिएको चराझैँ रङ्भङ्गिएको छ । मन पनि भँगालाले खाएजस्तै अनुभूत भइरहेछ । यो मन फुल्याउन साह्रै गाह्रो परेको छ बैनी, साह्रै गाह्रो ! अमलेको सिम्लेकिनारमा तिमी जुन घरमा जन्मियौ, त्यसले नै तिमीलाई आगोसँग खेल्न सिकायो, ज्वालामुखीमा यात्रा गर्न उत्साहित गरायो । प्यारी बहिनी, यति सानो उमेरमा तिमीले जति लामो यात्रा गर्न सफल भयौ, त्यसले नै तिमीलाई युगयुगान्तरका लागि जिउँदो बनायो । जुन बेला तिमी सानी थियौ, त्यतिबबेला पनि कति आँटिला कुरा गथ्र्यौ तिमी, कति साहसिला कुरा गथ्र्यौ तिमी । साँच्चै तिमी भरासिली थियौ बैनी । त्यही बेलादेखि नै हामीले तिमीमाथि एउटा जिउँदो सपना हुर्काएका थियौँ । हाम्रो त्यो जिउँदो सपना आफू जिउँदै डढेर आज पूरा गराएकी छ्यौ । धन्य छ्यौ बैनी, तिमी धन्य छ्यौ । तिमीसँग हामी नतमस्तक छौँ । हाम्रो प्यारो बस्ती उजाड छ रे आजकल । सिम्ले र खानीखोला विरहलाग्दो भएका छन् रे । भ्वाँसेडाँडामा पनि एकतार हावा चलिरहन्छ रे, झल्कने पाखोमा बस्ने न्याउली र कोइलीले गाउँ छोडेर गएका गाउँलेहरूलाई ‘गाउँ फर्क‘, गाउँ फर्क‘’ भन्दै आह्वान गरिरहेका छन् रे । छर्छरेको चुचुरो पनि श्रद्धाले इन्द्रेणीझैँ नुहेका छन् रे । बस्तीभरि हूलका हूल बगरे मात्रै भेटिन्छन् रे । हाम्रो सिम्लेकिनारको छाप्रो पनि खरानी बनायो रे बैनी, खरानी । तिमी गयौ, कहिल्यै नफर्किने गरेर गयौ । हामीलाई धरधरी रुवाएर गयौ । यस्तो वियोगमा पनि हामीले अघाउन्जेल रुन पाएका छैनौँ । मेरी आँखाकी रानी ! हाम्रो बस्तीमा बगरेहरूले चिहानको पहाड नै किन नबनाऊन्, तैपनि आततायीहरूको बन्दुकले वीर हरूको छाती भेदन गर्न सक्नेछैन, सुनौलो बिहानीको आयु कालो रातले लुट्न सक्नेछैन । प्यारी बहिनी ! कहिलेकहिले म ‘माइली’ भनेर बोलाउँथेँ तिमीलाई । कति मन पर्दैनथ्यो है तिमीलाई ‘माइली’ भनेर बोलाएको । अनुहारमा हल्का रिस पोत्दै तत्कालै प्रतिवाद गथ्र्यौ– ‘मलाई माइली हैन, साइँली भन्नुस् ।’ मैले एक दिन तिमीलाई सोधेको थिएँ– किन तिमीलाई माइली भनेको मन पर्दैन र ? मेरो प्रश्नको उत्तरमा तिमीले कति दह्रो तर्क पेस गरेकी थियौ– माइली शब्द मन नपरेर साइँली भन्नुस् भनेकी हैन मैले । मलाई माइली शब्द पनि मनपर्छ, रोलक्रमअनुसार म माइली होइन, साइँली हो । मभन्दा माथि एउटी दिदी र एउटा दाजु भएपछि म कसरी माइली हुन्छु ? नारी–पुरुष बराबरी पनि भन्ने अनि फेरि यति सानो कुरामा पनि पक्षपात गर्ने ? यो त सामन्ती चिन्तन भयो नि दाइ । साँच्चै बहिनी तिमीले कति गजबसँग चुकुल ठोकिदिएकी थियौ मेरो मुखमा । तिम्रो तर्कलाई धेरै दिनसम्म चिन्तनमनन गरेँ मैले । तर्क त सानै थियो तर यो सानै तर्कबाट पनि म खुब प्रभावित भएँ र ‘माइली’ भनेर तिम्रो चित्त दुखाउने काम कहिल्यै गरिनँ । अब म बहिनी, तिम्रो चित्त दुखाउँछु भनेर पनि पाउँदिनँ । साइँली बैनी ! करिब एक वर्षअघि तिम्रो र मेरो भेट सिन्धुली कारागारमा भएको थियो । गेटअगाडिको किलामा उभिएर ‘अब त म पनि ठूली भइसकेँ दाइ’ भन्दा तिम्रो कुरामा पटक्कै विश्वास लागेको थिएन मलाई । त्यतिखेर तिमीले हामीलाई चाँडै लिन आउने वचन पनि दिएकी थियौ तर बैनी, तिम्रो त्यो सपना पूरा गराउन दिएनन् दुष्टहरूले । तिम्रो त्यो सपनाको सुन्दर संसारमा आततायीहरूले एकाएक आगो झोसिदिए । जिउँदै पोलियौ तिमी दुष्टहरूको हातबाट । तिमीले आफू ठूली भएको जानकारी गराउँदा मैले पत्याएको थिइनँ तर बैनी, तिमी त साँच्चै ठूली भइसकेकी रहिछ्यौ । तिम्रो उचाइ त सगरमाथाभन्दा उच्च भइसकेको रहेछ । सगरमाथाभन्दा उच्च तिम्रो उचाइलाई मेरो रातो सलाम ! ‘आइपुग्यो छापामार खुकुरी भिरेर‘’ जस्ता रगत उमाल्ने गीतहरू जेलका गेटहरूमा पनि कति निर्धक्कसँग गाएकी थियौ तिमीले । त्यतिखेर कति खुसी भएका थियाैँ हामी ! त्यो खुसीलाई हाम्राबीचबाट आततायीहरूले सदासदाका लागि खोसेका छन् । हामी अझ प्यारी बहिनीले गाएका धेरैधेरै गीतहरू सुन्न चाहन्थ्यौँ । धेरैधेरै खुसीमा रमाउन चाहन्थ्यौँ तर आततायीहरू तिम्रो गीतदेखि डराए, तिम्रा आवाजदेखि डराए र डराए तिमीदेखि नै र जिउँदै सुतायो दन्कँदो चितामाथि तिमीलाई । तिमी चितामाथि जलेको खबर सुन्दा कति विक्षिप्त भएँ म, खै कसरी अभिव्यक्त गरौँ र यहाँ ? साँच्चै बहिनी, तिम्रो अनुपस्थितिमा म पागल बनेको छु, पागल । नपत्याए हेर्न आऊ मलाई । मेरी प्यारी

बहिनी । मेरो आँखाको साउने झरी हेर्न आऊ, मेरो छातीभित्र दन्केको आगो हेर्न आऊ । आऊ, बहिनी आऊ, मलाई हेर्न आऊ । चौध वर्षीया मञ्जु कुँवरको कलिलो मुहार स्मृतिमा धमिलो भएर प्रतिबिम्बित भइरहेको छ । मञ्जुको घरमा धेरैचोटि गएको छु म, दर्जनौँपटक घरको आँगन कुल्चिएर ओहोरदोहोर गरेको छु तैपनि किशोरी मञ्जुको तस्बिर प्रस्ट भइरहेको छैन । सुभद्रा सापकोटा, चिनीमाया लामा, डम्बर श्रेष्ठ र गुम्बासिंह लामालाई व्यक्तिगत रूपमा म चिन्दिनँ । यसको मतलब ती आदरणीय नामहरूप्रति, ती राता यात्रीहरूप्रति, ती झर्झराउँदा जीवनहरूप्रति मेरो श्रद्धा छैन भन्ने हैन । ती आदरणीय नामहरूप्रति, यात्रीहरूप्रति, ती झर्झराउँदा जीवनहरूप्रति मेरो असीम श्रद्धा छ, लाखौँ रातो सलाम छ । यतिखेर हामी हाँस्दाहाँस्दै रोएका छौँ र रुँदारुँदै हाँसेका छौँ । आफन्तजनहरूको र वर्गीयजनहरूको बीभत्स मृत्युले हामी हतप्रभ भएका छौँ । सुखद भविष्यको कल्पना हामीले मस्तिष्कमा सजाएका पनि छौँ । काभ्रेको इतिहासमा मात्रै हैन, सिङ्गो नेपालको इतिहासमा नयाँ र अत्यन्तै दुःखद् घटनाका रूपमा चैत ५ को अनेकोटको हत्याकाण्ड नेपाली इतिहासमा जीवित रहनेछ । जब सरकार जनताबाट एक्लिन्छ, निरङ्कुश, फासिस्ट र आततायी सत्ता रङदेखि डराउँछ, सारङ्गी र बाँसुरीदेखि डराउँछ, मादल र हार्मोनियमदेखि डराउँछ, डराउँदाडराउँदा ऊ हाम्रो हातदेखि डराउँछ, हाम्रो आवाजदेखि डराउँछ । अन्ततः ऊ आज सुत्केरी आमादेखि डराएको छ । कोक्रामा मुस्कुराइरहेका अबोध नानीहरूको निश्छल मुस्कानदेखि डराएको छ । यो आततायी सरकारलाई आजकाल डराउने रोग लागेको छ । त्यसैले जताततै मृत्यु रोप्दै हिँडेको छ । आततायीहरूलाई के थाहा, चिहानबाट अजस्र जीवनहरू पलाउँदै गएको कुरा ! हिजो रुकुममा मस्त ढले, सिन्धुलीमा जयाहरू ढले, काभ्रेमा कान्छा लामाहरू ढले तर के ती राता मान्छेहरूले गाउने गीत उनीहरूसँगै चिहानमा पुरिए त ? पुरिएनन् । अझ ती राता गीतहरू झन् सिम्रिक बन्दै, लालुपाते र लालीगुराँस बन्दै गाउँबस्तीमा फैलिए । चौध वर्षीया किशोरी मञ्जुले समेत बस्तीमा ढलेका आफन्तहरूको जीवन खोज्दै गीत गाए । चिहानको पहाडमाथि रोइरहेका गाउँहरू खोज्दै सङ्गीत सुनाए । पर्खालभित्र जन्जिरले कसिएका आफन्तहरूका हातहरू माग्दै आफ्ना कलिला हातहरू आततायीहरूले टुक्राटुक्रा पारेर छप्काएका छन् । कलकलाउँदा जीवनहरूलाई जिउँदै डढाएका छन् तर किशोरी मञ्जुका कलिला एकजोर हात लाखौँ हात बनेर उठिसकेका छन् । ती जिउँदै पोलिएका कलकलाउँदा जीवनहरू लाखौँ जीवन बनेर यात्रामा जुटिसकेका छन् । आततायीहरूको इतिहास भनेको हत्या, बलात्कार र लुटपाटको इतिहास हो । अमेरिकी आततायीहरूले जनताका प्यारा गायक पल रब्सनलाई, जनताका प्यारा लेखक अबु जमाललाई चपाउन खोजेको इतिहास हाम्रासामु ताजै छ । तसलिमा नसरिन र सलमान रुस्दीले आजसम्म भोगिरहेको नियतिबाट हामी अपरिचित छैनौँ । फासिस्ट राणाहरूले सुब्बा कृष्णलाललाई जेलभित्र नै कुहाएको इतिहास पनि हाम्रासामु चिसिएको छैन । आततायीहरूले इतिहासलाई अझ कठोर र अझ तीव्र बनाएका छन् । बनाओ आततायीहरू, जतिसक्दो कठोर बनाओ । जतिसक्दो तीव्र बनाओ तर हामी हाम्रो गीत गाइरहनेछौँ, हाम्रो सङ्गीत बजाइरहनेछौँ, हामी हाम्रो यात्रामा अघि बढिरहनेछौँ, निरन्तर‘निरन्तर‘ ।

(रातो युद्धले जन्माएका राता सहिदहरू, पहिलो संस्करण २०६० बाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :