सांस्कृतिक प्रतिरोध दिवस र ज्यूँदा सपनाको रक्षा

चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस हो । सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धका उदात्त क्रान्तिकारी सपनाहरूको रक्षाको एउटा उचाइ हो । ज्यूँदा सपनाहरू भर्भराउँदो अवस्थामा रहेको, ती सपनाले पुरानो सत्तासँग प्रतिरोध गरेर निर्माण गरेको नयाँ र उदात्त संस्कृतिबोध गराउने विशेष दिवस हो यो । त्यसैले प्रतिरोध सांस्कृतिक दिवस नेपालका सम्पूर्ण प्रतिरोधी सांस्कृतिक चेतना, महान् सांस्कृतिक सहिदहरू र बलिदानको संस्कृतिको समुच्च रूप हो । यो क्रान्तिकारी आदर्श हो । यो आदर्श बोकेकाहरूले त यसलाई अवलम्बन गरिरहेकै छन्, बोकेका छौँ भन्नेहरूले पनि यो त्याग, शौर्य, प्रतिरोध र बलिदानको संस्कृति अर्थात् महान् जनयुद्ध र एकीकृत जनक्रान्तिले निर्माण गरेको उच्च संस्कृतिमाथि आँच आउने काम गर्न मिल्दैन । त्याग, शौर्य र बलिदानको संस्कृतिलाई त्यागेर सत्ताभोगमा लीन भएकाहरू, क्रान्तिमार्गबाट बरालिएकाहरूलाई यी गौरवशाली पलहरूको नाम लिने अधिकार पनि रहँदैन ।

सांस्कृतिक प्रतिरोध दिवस महान् जनयुद्धले जन्माएको नयाँ जनपर्व वा जनदिवस हो । सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सचेत तप्काले फासिवादी सत्तासँग निर्भयपूर्वक लडेर बलिदान गरेको दिन हो सांस्कृतिक प्रतिरोध दिवस । जनयुद्धले जन्माएका वा स्थापना गरेका नयाँ पर्वहरूमा फागुन १ नयाँ वर्ष, फागुन १४–२१ सहिद सप्ताह, चैत ५ सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ बलिदान दिवस, साउन ३१ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, पुस १९ बेथान वीरता दिवस मुख्य छन् । यी सबै बलिदान र प्रतिरोधले निर्माण गरेका दिवसहरू हुन् । यी सबै निरन्तर क्रान्तिसँग सम्बन्धित दिवस हुन् । यी दिवस संसद्‌वादी, संशोधनवादी, आत्मसमर्पणवादी, दलाल, गद्दार र कायरहरूले होइन, क्रान्तिकारीहरूले मनाउने जनपर्वहरू हुन् । एकीकृत जनक्रान्तिले इतिहासका सबै विद्रोह, आन्दोलन, सङ्घर्ष, युद्ध र क्रान्तिहरूलाई क्रान्तिको बाँकी कार्यभार र ऊर्जाका रूपमा ग्रहण र आत्मसात गरेकाले यी पर्वहरू एकीकृत जनक्रान्तिका पर्व र दिवसहरू हुन् । त्यसैले जनपर्वहरूमाथि, महान् सहिदका सपनामाथि, श्रमिक वर्गको आशा र आकाङ्क्षामाथि तुसारापात गर्ने अधिकार कसैलाई छैन, दिनु हुँदैन । क्रान्तिकारी जनताको आशामाथि तुसारापात गर्नेहरू जनताका वैरी हुन् । तिनलाई महान् सहिदहरूको नाउँ लिने कुनै अधिकार छैन । अझ प्रतिरोध दिवस त जनताका छोराछोरीहरूले वैरीहरूसँग प्रतिरोध गरेर निर्माण गरेको पर्व हो । वर्गवैरीहरूको पाउमा लम्पसार परेर प्रतिरोध संस्कृतिलाई धुलोमा मिसाउने र त्यही ताक हेरेर बसेकाहरूलाई यो दिवस उच्चारण गर्ने अधिकार पनि राख्दैनन् ।

जनयुद्धले तीव्र गति लिँदै गरेको समयमा काभ्रेको अनेकोटमा २०५५ साल चैत ५ गते तत्कालीन आततायी सत्ताले च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठसहित सातजना जनसंस्कृतिकर्मीलाई अमानवीय, क्रूर र बीभत्स तरिकाले आगो लगाएर र गोली ठोकेर हत्या गरेको थियो । हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका अनुचरहरूले कलाकार बसेको घरमा आगो लगाए । तैपनि उनीहरूले आत्मसमर्पण गरेनन् । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । बाहिरबाट एमालेको आवरणमा प्रहरीहरूले कलाकारहरूलाई आत्मसमर्पण गर्न उर्दी जारी गरिरहे । कलाकारहरूले मानेनन्, प्रतिरोध गरिरहे । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका अनुयायीहरूले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि जनताका कलाकारले पुरानो, आततायी आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । दुस्मनको कब्जामा पर्नासाथ नसोधेको प्रश्नको पनि उत्तर दिँदै दुस्मनको पाउमा आत्मसमर्पण गर्नेहरूका गद्दारहरूका लागि यो प्रतिरोधको उदाहरण कथा वा किंवदन्ती मात्र बन्न सक्छ तर यो सत्य हो, इतिहासले निर्माण गरेको कटुसत्य । क्रान्तिकारी आन्दोलनको इतिहासमा यो सत्य मुटुका धड्कनहरूमा अमिट भएर बसेको छ ।

निःशस्त्र कलाकारहरूलाई प्रतिक्रियावादी शक्तिसँग लड्ने यो ऊर्जा महान् जनयुद्धले प्रदान गरेको थियो । जनयुद्धले उत्पीडित, श्रमिक, सर्वहारा वर्गलाई मुक्त गर्छ भन्ने अटल विश्वास थियो क्रान्तिकारी संस्कृतिकर्मीहरूमा । मालेमावाद नै मुक्तिको एक मात्र दर्शन, विचार, राजनीति र कला हो भन्नेमा विश्वस्त थिए योद्धाहरू । यही विश्वासले अनेकोटमा कलाकारहरूलाई सत्ताको बर्बर दमन, आगो र गोलीसँग लड्नसक्ने शक्ति प्रदान गरेको थियो । यही शक्तिले नै मस्त बिस्टदेखि इच्छुक, अन्जान विरही, पुष्पराज चौधरी, शारदा श्रेष्ठ, चुनु गुरुङ, शिव श्रेष्ठ, हर्षबहादुर मल्ल ‘प्रभात’, रोहित कोइराला, देवकुमार आचार्य ‘डी कौडिन्य’, कौशिला तमु, दिलमाया बम्जन, रक्तिमलगायत एक सय ६० भन्दा बढी जनताका कलाकार, स्रष्टा, संस्कृतिकर्मीहरूलाई सत्ताको हत्यासंस्कृतिका विरुद्ध लड्न, प्रतिरोध गर्न र बलिदान गर्ने जोस, जाँगर, विश्वास, शक्ति र ऊर्जा प्राप्त भएको थियो । यो ऊर्जाले देशभर क्रान्तिकारीहरूमा प्रतिरोधी रक्तसञ्चार उत्पन्न भएको थियो । त्यसैले त्यो प्रतिरोध दिवसका रूपमा स्थापित बन्न सफल भएको थियो । जनताका छोराछोरीहरूको त्याग र बलिदान नयाँ पर्वका रूपमा विकसित भएको थियो ।

संसारमै माक्र्सवादी संस्कृतिकर्मी/स्रष्टाहरूले आततायी सत्ताका विरुद्ध प्रतिरोध सङ्घर्ष गरेको गौरवशाली इतिहास छ । स्पेनका क्रिस्टोफर कड्वेल, पन्जाबका कवि पाश, चेकोस्लोभियाका लेखक जुलियस फ्युचिक, टर्कीकी हेलिन बोलेक हुँदै नेपालका सुब्बा कृष्णलाल अधिकारीदेखि कृष्ण सेन ‘इच्छुक’ सम्मका स्रष्टाहरूले तत्कालीन फासिवादी सत्ताका क्रूर यातना, दमनको प्रतिरोध गर्दै बलिदान दिएको गौरवशाली इतिहास हाम्रासामु साक्षी छ । यी उदाहरणहरू जनक्रान्तिका दस्ताबेज मात्र होइनन्, प्रेरक हुन्, पूरा गर्न बाँकी सपना र कार्यदिशा हुन् । महान् जनयुद्धका क्रममा संस्कृतिकर्मी/स्रष्टाहरूले सामूहिक प्रतिरोध गर्दागर्दै बलिदानको कीर्तिमान कायम गरेको इतिहास हाम्रासामु छ । तिनै प्रतिरोधमध्ये अग्रस्थानमा पर्छ २०५५ साल चैत ५ गते काभ्रे अनेकोटमा भएको सातजना जनकलाकारको प्रतिरोध र बलिदान । २०५९ सालमा डोल्पाको माझफालमा, २०५६ सालमा अछामको डुंगलामा, २०६० सालमा विनायकमा, २०५६ सालमा रोल्पाको भाबाङमा, २०५८ सालमा गुम्चालमा, २०५६ सालमा कालीकोटको घोडेकोटमा संस्कृतिकर्मीहरूले तत्कालीन फासिवादी सत्तासँग नझुकी प्रतिरोध गर्दागर्दै सामूहिक रूपमा बलिदानलाई स्वीकार गरेका थिए । रामेछापको बेथानमा २०५३ सालमा दिलमाया बम्जनले र २०६० सालमा दोरम्बामा रक्तिमले पनि यसैगरी दुस्मनसँगको प्रतिरोधका क्रममा बलिदान दिएका थिए । त्यसैले सांस्कृतिक प्रतिरोध दिवसको भावना, मर्म र उद्देश्यलाई आत्मसाथ गर्दै क्रान्तिकारीहरूले यो दिनमा फेरि प्रतिबद्धता व्यक्त गर्नुपरेको छ– दलाल पुँजीवादी व्यवस्थाका सबै दमन, षड्यन्त्र, सुविधा वा अवसरको प्रतिरोध गर्दै श्रमिक वर्ग र देशको मुक्ति नहोउन्जेलसम्म अर्थात् वैज्ञानिक समाजवाद– साम्यवाद स्थापना नहोउन्जेलसम्म क्रान्ति जारी रहनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :