राष्ट्रघाती एमसीसीविरुद्ध देशव्यापी आन्दोलन जारी

राष्ट्रघाती एमसीसीविरुद्ध देशव्यापी आन्दोलन जारी

काठमाडौँ : संसद्‌वादी दलहरूले संसद्‌बाट राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गरे पनि जनताको व्यापक असन्तुष्टिका साथै नेकपालगायत ६ राजनीतिक पार्टी र २ मोर्चाको देशव्यापी आन्दोलनका कारण एमसीसी लागू नहुने स्पष्ट नै देखिन्छ । नेकपालगायत आन्दोलनकारी दलले चैत ६ गतेसम्म एमसीसीविरुद्ध आन्दोलन घोषणा गरिसकेका छन् । मजदुर, युवा, महिला, संस्कृतिकर्मीलगायत सङ्गठनले संयुक्त रूपमा विभिन्न किसिमको सिर्जनात्मक आन्दोलन जारी राखेका छन् ।

इतिहासमा दुर्लभजस्तै मानिने राष्ट्रिय एकता एमसीसीका विरुद्ध देखिएको छ । हुनत यसअघि भएका विभिन्न असमान र राष्ट्रघाती सन्धिसम्झौताका विरुद्ध पनि नेपाली जनताबीच एकता नदेखिएको होइन । राष्ट्रघाती टनकपुर र महाकाली सन्धिका विरुद्ध पनि नेपाली जनमत सडकमा राम्रोसँग अभिव्यक्त भएको हो । विशेषगरी जनयुद्धमा देखिएको एकता यतिबेला एमसीसीका विरुद्ध सडक सङ्घर्षमा देखियो । देशभक्त र क्रान्तिकारी जनसमुदाय एमसीसी राष्ट्रघाती छ भन्दै यसलाई संसद्मा टेबुल गर्न पनि नदिने र टेबुल भएपछि पारित गर्न पनि नदिने दृढताका साथ सडक सङ्घर्षमा उत्रियो । नेकपालगायत ६ राजनीतिक पार्टीको नेतृत्वमा सडकमा उत्रिएका नेता–कार्यकर्ता र देशभक्त जनताले राष्ट्रियताका पक्षमा गोली खाए । लाठी खाए । अश्रुग्याँस र पानीको फोहोरा पनि खाए तर दलालहरूले देश बेच्ने निर्णय गरे जनमतलाई बेवास्ता गर्दै । दलाल संसदीय व्यवस्थालाई नै जीवनमरण बनाएका र संसद्‌वादको विकल्प नै नदेखेकाहरूलाई के दम्भ थियो भने हामी जनताले मत दिएर चुनिएर आएका सांसद हौँ, नेता हौँ । पार्टी हौँ । तर यस्तो घमण्ड गर्ने दलालहरूले के कुराको हेक्का राख्न सकेनन् भने जनताले तिनलाई मत दिएर देश बेच्ने लाइसेन्स दिएका थिएनन् । त्यसैले सडकमा देशभक्तिका नारा लगाउने जनसमुदायले हाकाहाकी आफू मत दिएका पार्टी र नेतालाई पनि एमसीसी पारित नगर्न चुनौती दिएका थिए तर विडम्बना नै भनौँ जनताले सडकमा रगतको खोलो बगाउँदै गर्दा साम्राज्यवादका मतियार र दलालहरू कथित सार्वभौम संसद्‌भित्र देश, राष्ट्रियता र स्वाभिमानलाई लिलाममा चढाइरहेका थिए । त्यसैले सडकमा नारा लागे– नेपाली लेन्डुपहरू मुर्दावाद ! एमसीसी मुर्दावाद !

सिङ्गो देश, समग्र जनता, क्रान्तिकारी र देशभक्त पार्टी, जनसमुदाय विपक्षमा हुँदाहुँदै एमसीसी पारित गरेर काङ्ग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, लोसपाहरूले के सोचेका होलान् भने हामीले जनताको मतको सदुपयोग गरेका छौँ र फेरि पनि जनताले हामीलाई यसरी नै मतदान गरेर संसद्‌मा पठाउनेछन् । जनता सीधा छ, सोझो र इमानदार छ तर ऊ लाटो वा अबुझ छैन । पतनको डिलमा पुगिसकेको दलाल संसदीय व्यवस्थाका मतियारहरूले यो कुरा बुझेको देखिएन तर जनताले कुनै पनि हालतमा यो सम्झौता लगू हुन नदिने भने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :