२४ औँ सांस्कृतिक प्रतिरोध दिवस देशभर मनाइँदै

२४ औँ सांस्कृतिक प्रतिरोध दिवस देशभर मनाइँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा यही चैत ५ गते काठमाडौँमा २४ औँ सांस्कृतिक प्रतिरोध दिवस विविध कार्यक्रमका साथ मनाइयने भएको छ । मङ्गलबार काठमाडौँमा सम्पन्न महासङ्घका उपलब्ध पदाधिकारी, आङ्गिक सङ्गठनका प्रमुख र कार्यालय सदस्यको बैठकले उक्त निर्णय गरेको जानकारी महासङ्घकी उपाध्यक्ष शोभा दुलालले दिइन् । पार्टी, विभिन्न जवस र मोर्चाहरूसहित सांस्कृतिक मोर्चाले देशैभरि सांस्कृतिक प्रतिरोध दिवस मनाउने जनाइएको छ ।

काठमाडौँमा आयोजना हुने २४ औँ सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रममा महासङ्घमा आबद्ध र प्रतिबद्धका साथै क्रान्तिकारी आन्दोलनमा लामबद्ध स्रष्टाले कविता, गीतका साथै महासङ्घको केन्द्रीय टोली सामना परिवारले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने महासङ्घले जनाएको छ । काठमाडौँमा आयोजना हुने केन्द्रीय कार्यक्रममा काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टी, जवस र मोर्चाको नेतृत्व र कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

जनयुद्धको समयमा २०५५ साल चैत ५ गते तत्कालीन सत्ताले काभ्रेको अनेकोटमा निहत्था अवस्थामा रहेका जनसंस्कृतिकर्मी/जनकलाकार च्याङ्बा लामा, गुम्बसिंह तामाङ, मञ्जु कुँवर, निर्मला देवकोटा, चिनीमाया तामाङ, सुभद्रा सापकोटा र डम्बर श्रेष्ठको अमानवीय, क्रूूर र बीभत्स तरिकाले हत्या गरेको र जनकलाकारले विचार र वाद्यवादनका साधनले प्रतिरोध गर्दागर्दै बलिदान गरेको दिनलाई युद्धरत नेकपा (माओवादी) ले सांस्कृतिक प्रतिरोध दिवस घोषणा गरेको थियो । त्यसपछि चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउन आरम्भ गरिएको थियो । हाल नेपाल कम्युनिस्ट पार्टी र उसका जनवर्गीय सङ्गठनहरूले यो दिवस विविध कार्यक्रमसहित नियमित मनाउँदै आएका छन् ।

जनयुद्धले फागुन १ लाई नयाँ वर्ष, फागुन १४–२१ सहिद सप्ताह, चैत ५ सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ बलिदान दिवस, साउन ३१ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, पुस १९ बेथान वीरता दिवसका रूपमा स्थापित गरेको थियो ।

महासङ्घले भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनका रूपमा यो दिवस निरन्तर मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :