आमा

कविता

आमा
लेखक : अशोक सुवेदी

मध्यरातमा, अगुल्टाको उजेलोमा
तीन कोस टाढा सार्कीपँधेरामा
पानी खेप्दाखेप्दै तिनले
दासविद्रोह सिकिन् र
जन्माइन् स्पार्टाकस ।

दुई कोस टाढा चुकाहामा
मेलो गर्दागर्दै
लडिन् तिनले मजदुरयुद्ध र
जन्माइन् पेरिस कम्युन ।

तिनले उछित्तो काढिन् धामीझाँक्रीको
र धाइन् खाली पेट, नाङ्गै आङ
चिसापानी र रामेछापडाँडोका औषधालय
पुर्याइन् बोकेर चिचिभुन्टा
गुहुमूतले भिज्दै
र ती आफैँ बनिन् मदर टेरेसा ।

नाम्लो, डोको र पटुकाको मकैभटमाससँगै
गर्दै खरकान्लो र पल्लाकालापानी
चराइन् बाख्राबस्तु
लडिन् बाघ र चितुवासँग
अभाव र सङ्घर्षले
बनायो उनलाई जेनी र क्रुप्सकाया
बोक्सी भनिँदाभनिँदै नाचिन्–गाइन् दोबाटामा
र बनिन् चियाङ चिङ र क्लारा जेट्किन
लड्दालड्दै पुरुषप्रथाका विरुद्ध, सामन्ती प्रथाका विरुद्ध ।

हेर्दाहेर्दै धँगेरीघारी, देवीथान र सल्ट्यारमा बाख्राबस्तु
खेद्दाखेद्दै घट्टेपानीमा गाईगोरु
जन्माइन् तिनले पुष्पलाल, गङ्गालाल, कृष्णलाल र दिलमाया
जोतिँदाजोतिँदै नयाँघरको ढिकीजाँतोमा
भिड्दाभिड्दै खाँदबारीमा जिम्मलका लाठेसँग
चुनु बनिन्, कमला, लली र जाङ्मु बनिन् ।

कहिले करेली कसेको डोकोमा,
कहिले भुन्टाभुन्टीसहित दाउराको भारीमा
सिला खोजेका मकैका पुड्का र कट्टा अम्बासँगै
कहिले कमेरोमा, कहिले रातोमाटोमा
कहिले ठूलीभीरमा, कहिले सल्ट्यार तारेभीरमा
लडिन् असत्ती पेटहरू भर्ने लडाइँ र
लड्दालड्दै बनिन् छापामार, गुरिल्ला
जुध्दाजुध्दै बनिन् सम्झना र शारदा ।

राणाशासनमा बसिन् निर्वासन
कनक बिल्डिङ चौरङ्गीरोडमा सुसारे र भान्छे बनिन्
भूमिगत बन्ने कला सिकिन् र
लड्दालड्दै कमान्डर बनिन्, इस्पातिली मान्छे बनिन् ।

तराईका रापिला फाँट र भाबरहरूमा
हालिन् बाँध कुट्दै गिट्टी र ओसार्दै ढुङ्गाहरू
ललकारिन् जब्दी–सिसुवाका ठगहरूलाई
दच्काइन् भोर्लेनी र रानीगन्जका चाइँहरूलाई
तर्साइन् पक्काबाँधमा घुसखोर र सूदखोरहरूलाई
कहिले हिमाल, कहिले पहाड, कहिले दून
कहिले सहर, कहिले नगर, कहिले गाउँ
सुनाउँदै सङ्घर्षका कथा, गुनगुनाउँदै उत्पीडनका व्यथा
हिँडिन् ती जुटाउँदै उत्पीडितहरूलाई र
बनिन् ती दुगुर्दादुगुर्दै धावक आन्दोलनकी
बनिन् ती कुद्दाकुद्दै विजेता विद्रोहकी ।

लडाइँका मोर्चाहरूमै
कहिले जन्मिए अभावका सगरमाथाहरू
कहिले देखिए वेदनाका केचनाकवलहरू
पीडा र लाञ्छनाहरूसँग भिड्दाभिड्दै
आँसुका पाताले छाँगाहरू खसाल्दाखसाल्दै
उर्लिए चिन्ता र ग्लानिका सप्तकोसी छालहरू
काट्ताकाट्दै शोषण र अन्यायका जालहरू
ताछ्दाताछ्दै घृणा र व्यभिचारका ढिस्काढिस्की
भिज्यो जीवन, गल्यो जीवन
मासिए जालझेलका केही जिम्मल र मुखियाहरू
नासिए पाखण्ड र व्यभिचारका राणा–शाहहरू
तर अझै नासिएन नारीमाथिको नाङ्गो विभेद !
नसानसामा, धमनीधमनीमा
घोलिएर बगिरहेको पुँजीवादी पाखण्ड
कुसंस्कारका कीटाणुबाट फैलने
प्रतिक्रान्तिको विषाक्त क्यान्सर रहेछ यो
जस्तो भूमिबाट पनि जन्मने
जस्तो परिवेशबाट पनि झाङ्गिने
कुसंस्कार र कुलतको एचआईभी रहेछ यो !

म स्पार्टाकसकी आमा
म पेरिस कम्युनकी कम्युनार्ड
म जेनी, म क्रुप्सकाया, म क्लारा
म चियाङचिङ, म दिलमाया, म चुनु
लड्दालड्दै जीवनभर, युगयुगभर
अझै लडिरहेछु आज आफ्नै कोखको सन्तान, आफ्नै रक्तबीजसँग
लडिरहेछु नयाँ पुरुषवाद र साम्राज्यवादसँग
भिडिरहेछु आफ्नै छिमेकी विस्तारवादसँग
आफ्नै घरको सामन्तवादसँग
खेलिरहेछु निरन्तर सिँगौरी
जीवन सङ्घर्ष हो
नयाँ पुष्पलाल र दिलमायाहरू जन्माएर
लडिरहेछु आफ्नै कोखको कुलङ्घारसँग
लडिरहनेछु अन्तिम विजय नभएसम्म ।

२०६८_ (९९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लिखित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :