स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त सङ्घर्ष गर्ने उद्घोषका साथ भोलि भव्यतापूर्वक ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त सङ्घर्ष गर्ने उद्घोषका साथ भोलि भव्यतापूर्वक ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौँ : नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ६ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चा ‘संयुक्त महिला सङ्घर्ष समिति’ ले ‘स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त सङ्घर्ष गर्ने उद्घोषका साथ भोलि मङ्गलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) भव्यतापूर्वक मनाउने भएका छन् ।

भोलि मध्याह्न काठमाडौँ रत्नपार्क शान्तिबाटिकाबाट संयुक्त रूपमा र्याली सुरु हुने र सहर परिक्रमापछि शान्तिवाटिकामै सभा आयोजना गरिने जानकारी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी नेत्री उषाले दिइन् ।

समितिले तय गरी सार्वजनिक गरेको १० बुँदे नारा ‘महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर !, महिला बेचविखन बन्द गर !, बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारबाही गर !, सम्पूर्ण श्रमजीवी तथा उत्पीडित महिलाहरू एकजुट होऔँ !, ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सफल पारौँ !, समान कामको समान ज्याला लागू गर !, वैदेशिक हस्तक्षेप बन्द गर !, राष्ट्रघाती दलालहरू खबरदार !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ ! र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर !’ रहेका छन् ।

समितिद्वारा जारी पर्चामा भनिएको छ, ‘महिलामाथि भइरहेका चरम शोषण, दमन, उत्पीडन र अन्यायबाट विद्रोह गर्दै समानता, स्वतन्त्रता, न्याय र मुक्तिका लागि सङ्घर्ष गर्दै गर्दा स्थापित भएको ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभरका मुक्तिकामी महिलाहरूका लागि सङ्घर्ष र उत्सवको दिन हो । हामीले हरेक वर्ष यो दिनलाई तत्कालीन परिस्थिति र समयसन्दर्भअनुसार कहिले सङ्घर्ष त कहिले उत्सवका रूपमा मनाउँदै आइरहेका छौँ । यो बर्ष यस दिनलाई (२०७८ फागुन २४, ८ मार्च २०२२) ‘स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त सङ्घर्ष गरौँ, ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ’ मूल नाराका साथ क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चा संयुक्त महिला सङ्घर्ष समितिका तर्फबाट सङ्घर्षकै रूपमा मनाउँदैछौँ ।’

समितिले जारी गरेको पर्चामा अगाडि भनिएको छ, ‘विद्यमान दलाल संसदीय व्यवस्था र यसले पैदा गरेका जनविरोधी क्रियाकलापका विरुद्ध सङ्घर्ष गर्दै गर्दा देश यतिबेला राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा केन्द्रित भएको छ । क्रान्तिकारी वामपन्थी राजनीतिक शक्ति, विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक तप्का, देशभक्तहरू र आमजनताको व्यापक विरोध र सशक्त सङ्घर्षका बाबजुद राष्ट्रिय आत्मसमर्पणकारी दलाल शेरबहादुर देउवा र कथित वाम पार्टीहरूको गठबन्धन सरकारले संसद्‌बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको छ । यसले नेपालको राजनीतिमा गुलामी र दलाली प्रवृत्तिलाई वैधानिक हिसाबले नै प्रवेश गराएको छ । देश र जनताको स्वाभिमान र स्वाधीनतामाथि साम्राज्यवादको ठाडो हस्तक्षेप र उसका दलालहरूबाट खुलेआम घात भएको यस समयमा नालापानीको वीरतापूर्ण र देशभक्तिपूर्ण लडाइँ लड्ने नेपाली महिलाहरू र वर्गीय तथा लैङ्गिक मुक्ति आन्दोलनमा बलिदानीपूर्ण सङ्घर्ष गर्ने महिलाहरूको साहस, वीरता र देशभक्तिपूर्ण भावनाहरूको स्मरण गर्दै सम्पूर्ण महिलाहरू प्रतिक्रियावादी संसदीय व्यवस्था र राष्ट्रघाती दलालहरूका विरुद्ध सङ्घर्षमा उत्रनु अहिलेको ज्वलन्त आवश्यकता हो ।’

पर्चामा भनिएको छ, ‘देशमा दलाल पुँजीवाद र दलाल नेताहरू सत्तामा हाबी भएपछि नेपाली महिलाहरूको जनजीवन दिनप्रतिदिन निरीह र कष्टकर बन्दै गएको छ । महिला हिंसाले सीमा नाघेको छ । बेरोजगारी, भ्रष्टाचार, बेचबिखन, युवा पलायन, देहव्यापार मौलाउँदो छ । हिजोका बलिदानीपूर्ण सङ्घर्षले स्थापित गरेका सीमित अधिकार पनि दिन–प्रतिदिन खोसिँदैछन् । दलाल पुँजीवादले खडा गरेको चरम शोषण र उपभोक्तावादी संस्कृतिका कारण पैदा भएको अराजकताले सामाजिक न्याय र समानताको कुरा हराउँदै गएको छ । यी सबै कुराको प्रत्यक्ष मारमा सबैभन्दा बढी महिलाहरू नै पर्ने गरेका छन् । यसैले हामीले ८ मार्चको यस ऐतिहासिक र गौरवपूर्ण दिनमा नेपाललगायत संसारभरका श्रमजीवी तथा उत्पीडित महिलाहरूलाई छाडा लोकतन्त्रको दुहाइ दिएर पितृसत्ताको बर्बरता लाद्ने साम्राज्यवाद र त्यसका दलालहरूविरुद्ध आआफ्नो ठाउँबाट सशक्त सङ्घर्ष गर्दै महिला समानता र मुक्तिका लागि जनवाद, समाजवाद र साम्यवादको महान् यात्रामा लामवद्ध हुन आह्वान गर्दछौँ । साथै नेपालमा चलिरहेको स्वाधीनता, समानता र मुक्तिको सङ्घर्षमा सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :