जनपत्रकार सङ्गठनको आधारभूत पत्रकारिता तालिम सुरु

जनपत्रकार सङ्गठनको आधारभूत पत्रकारिता तालिम सुरु

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपाल उपत्यका प्रदेशले आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ ।

आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनपत्रकार सङ्गठनका इन्चार्ज वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार भएको बताए । सूचनाका कारण विश्वमा मै हुँ भन्ने शक्ति पनि झुकेको दृष्टान्त दिँदै प्रज्वलनले पत्रकारसँग सबैभन्दा ठूलो सूचना हुने बताए । नेता प्रज्वलनले सूचनाको पहुँच भएकै कारण पत्रकार शक्तिशाली भएको बताए । कुनै वस्तुलाई बदल्नु छ भने पहिला त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्ने भन्दै उनले त्यो अध्ययन नै सबैभन्दा ठूलो हतियार भएको धारणा राखे ।

‘कुनै बस्तुलाई बदल्नु छ भने त्यसलाई बुझ्नुपर्छ । त्यसको बनोट, छनोट, आकार र वास्तविकता बुझ्न जरुरी छ’, उनले भने, ‘हामी नेपाली समाजलाई परिवर्तन गर्न चाहन्छौँ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हाम्रो लक्ष्य हो । अब हामीले संसदीय व्यवस्थाका बारेमा गहिरिएर अध्ययन गर्दै नेपालको अहिलेको समाजिक चरित्र र भूराजनीतिक अवस्थालाई गहिरोसँग केलाउन जरुरी छ ।’ अहिलेको संसदीय व्यवस्थाको चरित्रबारे बुझ्ने जिम्मेवारी पत्रकारको काँधमा आएकाले जनपत्रकारको कलम त्यता केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । पत्रकारले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनताले बुझ्ने भाषामा समाचार तयार पार्नुपर्ने पनि उनले बताए ।

समाचार सामग्रीमा समाचार मात्र नभएर दृष्टिकोण पनि आउने भएकाले पत्रकारहरूले समाचार र दृष्टिकोण दुवैतिर ध्यान दिनुपर्ने उनको भनाइ थियो । समाचारमा वर्गीय पक्षधरता र उद्देश्य पनि हुने उनले प्रस्ट पारे ।

नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर–भक्तपुर जिल्ला इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’ ले पत्रकारिता पनि एउटा युद्धमोर्चा भएको बताए । उनले यो मोर्चालाई व्यवस्थित रूपमा प्रयोग गर्न सके आधा युद्ध सजिलै जित्न सकिने धारणा राखे । जनपत्रकारहरूको काँधमा पुँजीवादी पत्रकारहरूको भन्डाफोर गर्नुपर्ने दायित्व पनि रहेको उनको भनाइ थियो । कार्यक्रममा जनपत्रकार सङ्गठनका संयोजक शेरबहादुर विश्वकर्माले जनपत्रकारिता सामाजिक उत्तरदायित्वको मूल प्रवाह भएकाले यसको रक्षाका लागि वर्गीय पक्षधरतालाई ख्याल गर्दै आवाजविहीनहरूको आवाज बनाउनुपर्ने बताए । एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाझ पु¥याउन जनपत्रकारको सशक्त भूमिका रहेको उनको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता जनपत्रकार सङ्गठन उपत्यका प्रदेश सम्मेलन आयोजक समितिका संयोजक शोभराज बराल, सञ्चालन केशव संज्याल र स्वागत सङ्गठनका केन्द्रीय सदस्य साहस भट्टले गरेका थिए । तालिम पाँच दिनसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :