सहिद र बेपत्ता योद्धाका परिवारहरू जनक्रान्तिको शक्तिमा बदलिनुपर्छ : विप्लव

महासचिव विप्लवद्वारा सहिद सप्ताहमा सहिद तथा बेपत्ता योद्धाका परिवारलाई अभिनन्दन

सहिद र बेपत्ता योद्धाका परिवारहरू जनक्रान्तिको शक्तिमा बदलिनुपर्छ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद र बेपत्ता योद्धाका परिवार जनक्रान्तिको नेतृत्व गरिरहेको नेकपाको शक्ति दिने ऊर्जा भएकाले देश र जनता मुक्त नहुँदासम्म त्यही ऊर्जाले लडिरहने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ, ललितपुर र भक्तपुरको आयोजनामा सहिद सप्ताह २०७८ समापनका सन्दर्भमा काठमाडौँको वनस्थलीमा भएको सहिद तथा बेपत्ता योद्धा परिवारजन सम्मान कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

महासचिव विप्लवले भने, ‘सहिद र बेपत्ता परिवार हाम्रो शक्तिमा बदलिनुपर्छ । तपाईंहरू हामीलाई केही नगर्नुस्, विश्वास गर्नुस् र भन्नुस्– तिमीहरू लड । जस्तोसुकै अवस्थामा पनि हामी साथ दिन्छौँ । दुःख पर्दा पानी मात्र दिए पनि हामी ठूलो ऊर्जा दिएको ठान्नेछौँ । हामीलाई विश्वास छ यो देशलाई मुक्त र स्वाधिन बनाउनेछौँ । नेपाली जनतालाई वैज्ञानिक समाजवादमा पुर्याउने सङ्कल्प पूरा गर्नेछौँ ।’

जनयुद्धमा दिलबहादुर रम्तेलदेखि सुरु भएको बलिदान नरोकिएको भन्दै महासचिव विप्लवले अहिलेसम्म कुमार पौडेल, जगत पुनलगायत १२ जनाको रगत थपिएको र वीरजङ्गको मृत्यु पनि जेलकै कारण भएको बताए । एकीकृत जनक्रान्ति आफूहरूको आवेग र रहर नभएर यो आफूहरूको जिम्मेवारीको कुरा भएको महासचिव विप्लवले बताए ।

अहिले आफूहरूले आफ्नो कुरा नगरेको र ३ करोड नेपाली जनताको जीवनसँग जोडिएको विषय उठाएको उनको भनाइ थियो । संसदीय व्यवस्था सिद्धान्तमा मात्र नभएर व्यवहारमा पनि असफल भएको बताउँदै महासचिव विप्लवले अब संसदीय पुँजीवादी व्यवस्था असफल भइसकेकाले त्यसको नभएर वैज्ञानिक समाजवादी व्यवस्था चुन्न पाउने जनमतसङ्ग्रहको अधिकार जनतालाई दिनुपर्नेमा जोड दिए ।

महासचिव विप्लवले भने, ‘आज दलाल पुँजीवादको संसद्‌बाट एकदम अल्पसङ्ख्यक मान्छेहरूले जनतालाई फेरि पनि धोका दिएका छन् र एमसीसी पारित गरेका छन् । हामी एमसीसीविरुद्ध सङ्घर्ष गरिराखेका छौँ । लगातार लडिराखेका छौँ तर संसद् त फेरि पनि असफल भयो नि ! फेरि पनि धोकाको अखडामा बदलियो नि ! संसद् भनेको जनता देखाएर जनतालाई नै धोका दिने अखडा बन्यो नेपालमा । देशलाई देखाएर देश बेच्ने अखडा बन्यो नेपालमा ।’

आफूहरू सबै त्यागेर यो लडाइँमा होमिएको र निरन्तर होमिइरहने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘यो हाम्रो लडाइँ कुनै मन्त्रीका लागि होइन । यो पार्टी कुनै मन्त्री पदको दलाली गर्नलाई बनेको पार्टी होइन । यो पार्टी केही करोड पैसा जम्मा गर्नका लागि बनेको होइन । यो पार्टी केही चन्दा उठाई खानका लागि खडा गरिएको पार्टी होइन । यो नेपाल र नेपाली जनताको अधुरो चाहनालाई पूरा गर्नका लागि खडा गरिएको सम्भावनाको अग्रदस्ता हो । यो नेपालका सहिद र बेपत्ता योद्धाहरूको सपनालाई पूरा गर्नका लागि दृढतापूर्वक उभिएको पार्टी हो । हामी आफ्नो वर्गको मुक्तिका लागि अन्तिमसम्म लडिरहन्छौँ ।’

सहिद–बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका सचिवालय सदस्य कञ्चनले जुन राज्यप्रणाली ल्याउन सहिदहरूले बलिदान गरे त्यो राज्यप्रणाली स्थापना नभएकाले सहिदका सपना पूरा गर्नका लागि सङ्घर्ष गरिरहेको बताए । प्रतिक्रियावादीहरूले जुन उद्देश्यले जनयुद्ध लडेको थियो त्यो पूरा गर्न यो पार्टीले कुनै कसुर बाँकी राख्नेछैन भन्ने बुझेकाले समयसमयमा दमन गरिरहेको पनि नेता कञ्चनले प्रस्ट पारे ।

जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले हिजोका सहिदहरू सालिक भएको तर धोका दिने दलाल नेताहरू मालिक बनेको बताइन् । उनले भनिन्, ‘यो पार्टीले सहिद तथा बेपत्ता परिवारहरूलाई धोका नदेओस् । जस्तोसुकै परिस्थितिमा पनि सहिद–बेपत्ता परिवारले साथ दिइरहनेछन् ।’ राष्ट्रिय स्वाधीनताका लागि फेरि एकचोटि बलिदान आवश्यक रहेको उनको भनाइ थियो ।

राज्यबाट बेपत्ता पारिएकाहरुको परिवारका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अन्य पार्टी र सरकारले सहिद सप्ताहलाई मान्यता नदिएको र सहिदहरूलाई नसम्झिएको भए पनि नेकपाले मान्यता दिएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिइराखोस् भन्ने शुभेच्छा प्रकट गरे । सहिद तथा बेपत्ता परिवार विचार भएकाले नेतृत्वलाई निरन्तर घचघच्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा महासचिव विप्लवले सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । उक्त कार्यक्रममा एक दर्जनभन्दा बढी माओवादी केन्द्र परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।

यसै कार्यक्रमको सन्दर्भ पारेर पार्टीको केन्द्रीय कार्यालयमा श्रम गर्न गएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी एमसीसीविरुद्धको आन्दोलनमा सक्रियतापूर्वक मैदानमा खट्ने युवा सङ्गठन नेपालका पदाधिकारी र अभियान टिमलाई महासचिव विप्लवले टीका लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले गरेका थिए भने सञ्चालन ललितपुर जिल्ला इन्चार्ज नवीनले गरेका थिए । स्वागत मन्तव्य नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष तथा घाइते योद्धा सुरेन्द्र महर्जनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :