सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

उदयपुर : नेकपा उदयपुरले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाई सम्मानपत्र वितरण गरेर सम्मान गरेको छ ।

सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर–ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले देश सङ्कट्मा परेको बेला सहिद परिवारलाई सम्मान गरेको बताए ।

जनयुद्ध, एकीकृत जनक्रान्ति र सुखानीको जङ्गलमा बलिदान गर्ने सहिद तथा बेपत्ता योद्धाहरूलाई सम्झिँदै उनले सहिदको योगदान अतुलनीय रहेको बताए । सहिदका सपना पूरा गर्न सहिदको रगतको टीका लगाएको पनि उनले बताए ।

सहिदहरूको ठूलो बलिदानका कारण आज देशमा परिवर्तन भएको र सहिदका अधुरा सपना पूरा गर्न परिवारले कुन पार्टी सही हो, कुन पार्टी गलत हो भन्ने थाहा पाएर क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए ।

उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले नेपालको राजनीतिमा विशिष्ट परिवेशमा सहिद सप्ताह मनाउँदै गरेको स्मरण गराउँदै सहिद परिवारले जनक्रान्तिप्रति पूरा विश्वास गर्नुपर्ने बताए ।

देशमा जनताले अधिकार नपाएसम्म आफूहरू लडिरहने उद्घोष गर्दै उनले प्रचण्ड–बाबुरामले जनतालाई धोका दिँदै आफ्नै टाउकाको मूल्य तोक्नेहरूसँग घाँटी जोड्न पुगेको बताए । सहिदको रगत त्यसै खेर जान नदिन पनि सबै सहिद परिवार क्रान्तिको यात्रामा लामबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

सहिद सप्ताहका अवासरमा नेकपा उदयपुरले दुर्गा तामाङको अध्यक्षतामा ९ सदस्यीय जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपाल गठन गरेको छ ।

कार्यक्रमको अध्यक्षता नेकपाका कार्यालय सचिव तथा सहिद परिवार समाज नेपालका जिल्ला संयोजक दुर्गा तामाङले र सञ्चालन उदयपुर त्रियुगा नपाका इन्चार्ज मीनप्रसाद पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :