सहिद सप्ताहमा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

सहिद सप्ताहमा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद सप्ताह २०७८ को अन्तिम दिन सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन, सहिद स्मृति प्रतीक्षालय उद्घाटन र सहिद स्मृति चोक नामकरण एकैसाथ गरेको छ । माई नगरपालिकाको मुख्य स्थानमा सहिद स्मृति प्रतीक्षालय निर्माण भएपछि स्थानीय पनि खुसी देखिन्छन् ।

इलामको माई नगरपालिका शितलीस्थित चियाबारीमा रहेको खाली जग्गामा निर्माणाधीन प्रतीक्षालयको उद्घाटनपछि सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा शुभकामनापत्र प्रदान गरी कार्यक्रममा उपस्थित १६ जना सहिद परिवारका सदस्यहरूलाई खादा ओडाएर अभिनन्दन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपाका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले प्रतीक्षालय र सहिद स्मृति चोकले अनवरत क्रान्तिका पक्षमा बोलिरहने बताए । उनले भने, ‘यो समय चरम राष्ट्रघात र जनघात भएको छ । यो बेला सहिदहरू चिहानबाट निस्कने समय हो’, उनले भने । उनले सहिदहरूलाई चिहानबाट बाहिर निकाल्ने उद्घोष पनि गरे ।

पुँजीवादीहरूले सहिद र बलिदानको अपमान गरेको उनले बताए । सहिद परिवारको व्यवस्थापन नगर्ने र उनीहरूलाई दुःख दिनेका काम जानाजान गरिएको उनको भनाइ थियो । यसो गरेपछि क्रान्तिप्रति वितृष्णा पैदा हुन्छ भन्ने आसयले यस्तो गरिएको पनि सिंहले बताए । उनले सहिद परिवारलाई आफ्नो परिवारको बलिदानप्रति गर्व गर्न पनि आग्रह गरे । देशमा सबैतिर अत्याचार हुँदा सहिदको सपनाले नै लडिरहेको पनि उनले बताए ।

सहिद तथा बेपत्ता समाज इलामका संयोजक विमल आचार्यले सहिदको बलिदान खेर जान नदिने बताए । उनले इलामका ८४ जना सहिद र २ जना बेपत्ता योद्धाको त्याग र बलिदानको चर्चा गरे । कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी मौसमले गरेका थिए भने सञ्चालन जिल्ला सदस्य विनोद मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :