एमसीसीमा राष्ट्रघात र प्रचण्डको हस्ताक्षर

नेपाली जनताले जे नहोस् भन्ने चाहेका थिए र क्रान्तिकारी तथा देशभक्तहरूले जुन कुराको आँकलन गरेका थिए दलाल संसद्‌वादीहरूको अखडाका रूपमा रहेको नेपालको संसद्ले आखिर त्यही गर्यो, राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गर्यो र फागुन १५ लाई कालो दिनका रूपमा चित्रित गर्यो । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध जनताले चार वर्षदेखि लगातार सङ्घर्ष गरे । एमसीसीको राष्ट्रघाती चरित्र र परिणामका बारेमा प्रत्येक जनता जानकार भए । जनताले दिन–दिनभर सडक आन्दोलनमा टाउको फुटाए, रगत बगाए, अस्पताल भर्ना भए । कतिपय आन्दोलनकारीहरूलाई क्रूरतापूर्वक दमन गर्दै हिरासतमा लगियो । देशभक्त, क्रान्तिकारी योद्धा र जनतालाई घाइते बनाएर, अश्रुग्याँस प्रहार गरी आँसु बगाएर, रगत बगाएर, गोली हानेर, हिरासतमा थुनेर रातविरात संसद्‌वादीहरूले संसद्‌बाट राष्ट्रघात गरे, एमसीसी पारित गरे र नेपाललाई साम्राज्यवादी अमेरिकाको पोल्टामा सुम्पिने कुख्यात र निर्घृणी निर्णय गरे । राष्ट्रघात त भयो नै, यो मुलुकका लागि अपूरणीय क्षति भयो । यो क्षतिको पूर्तिका लागि नेपाली जनताले धेरै ठूलो मूल्य चुक्ता गर्नुपर्नेछ भन्ने विषय अमेरिकी साम्राज्यवादले संसारका स्वाभिमानी राष्ट्रहरूमाथि गरेको क्रूर दमनले प्रमाणित गरिसकेको छ ।

कहिलेकहीँ गम्भीर नकारात्मक घटनाको सकारात्मक परिणाम पनि निस्किने गर्छ, क्रान्तिकारीहरूले प्रतिकूलतालाई अनुकूलतामा बदल्नुपर्छ । कोरोना महामारीले साम्राज्यवादलाई नाङ्गेझार पारेर वैज्ञानिक समाजवादको अपरिहार्यता प्रमाणित गरेझैँ एमसीसी पारित भएपछि नेपाली जनताले संसद् वा संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखाना हो भन्ने कुरा बुझ्न पाएका छन् । देशभक्त र क्रान्तिकारीहरूले अझ जनताको घरघरमा गएर यो विषय बुझाउनुपर्छ र संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न आह्वान गर्नुपर्छ । दुनियाँमा कहीँ र कहिल्यै पनि संसदीय व्यवस्थाले देश र जनताको भलो गर्दैन भन्ने कुरा एमसीसी पारित गरेर नेपालका दलाल र संसद्‌वादी दलहरूले राम्ररी पुष्टि गरिदिएका छन् । संसद् जनताको मत व्यक्त गर्ने थलो हो र संसदीय व्यवस्था दुनियाँकै एक नम्बर प्रजातान्त्रिक व्यवस्था हो भनेर जसरी संसद्वादीहरूले दुनियाँलाई झुक्याउँदै आएका थिए, नेपाली जनता पनि केही भ्रममा परेका थिए । अब उनीहरूले पनि प्रस्ट थाहा पाएका छन्– संसद्, संसदीय व्यवस्था र संसद्‌वादी नेताहरूले भाषणमा, घोषणापत्रमा, अरू बाह्य समयमा जे भने पनि आखिरमा गद्दारी गरे । नेपाल र नेपाली जनतामाथि राष्ट्रघात गरे । गम्भीर धोका दिए । नेपालका सम्पूर्ण संसद्‌वादी दलहरू लेन्डुपपथमा गएर समाप्त भए । नेपाललाई साम्राज्यवादी युद्धमैदान बनाउन उनीहरूले जनताको मतको घोर दुरुपयोग गरे । नेपाली जनताले यो राष्ट्रघातको बदला राम्रोसँग लिनेछन् किनकि सडकमा राष्ट्रियताको रक्षाका लागि नेकपाको नेतृत्वमा सङ्घर्ष जारी छ र यो सङ्घर्ष एकीकृत जनक्रान्तिको एउटा महत्वपूर्ण अङ्ग बन्दैछ । ६ कम्युनिस्ट पार्टीहरू सडकमा छन् र अझ जनतामा जाने सङ्घर्षका नयाँ कार्यक्रम घोषणा गरिसकेका छन् । राष्ट्रियताका लागि, एमसीसीका विरुद्धको आन्दोलनमा सडकमा क्रान्तिकारी र देशभक्तहरूको रगत बगेको छ । त्यसैले दलालहरूको राष्ट्रघातको परिणाम र सजाय अवश्य यो सङ्घर्ष र जारी क्रान्तिले दिनेछ ।

कम्युनिस्ट मतदाता र विशेषगरी माओवादी आन्दोलनको माध्यमबाट आएर माओवादी केन्द्र नाउँको पार्टीप्रति केही आस्था राख्ने मानिसहरू पनि अब द्विविधामुक्त भएका छन् किनकि राष्ट्रघाती एमसीसी जनयुद्धको नेतृत्व गरेका प्रचण्डको हातबाटै पारित भयो । उनले मत नदिएको भए सत्ता गठबन्धन टुट्थ्यो र माधव नेपाल समूह पनि सत्ताबाट बाहिरिन्थ्यो । एमालेको सहारामा देउवाले एमसीसी पारित गर्ने प्रयास गर्थे । त्यहाँ फेरि विभाजन हुन्थ्यो । अर्थात् राष्ट्रघातको समय केही लम्बिन्थ्यो । जनताको आन्दोलन जुझारु रूपमा अघि बढिसकेको थियो । त्यसले बलिदानको स्वरूप नै लिइसकेको थियो । त्यसले एमसीसी टर्न र टार्न सक्थ्यो तर सत्ता गठबन्धनको मोहमा, सत्तालिप्सामा, जनतामा विश्वास गुमाइसकेका प्रचण्डले काङ्ग्रेस र अमेरिकी साम्राज्यवादको फेरो समाउँदा नेपालको राष्ट्रियतामाथि गम्भीर आघात भयो । जनयुद्धका कथित नायक प्रचण्डले संसदीय सत्तामोहमा, केही थान मन्त्री, केही पैसा, केही सुखसुविधा, केही थान सांसदमा राष्ट्रघातको पगरी गुथे । नेपाली जनताले यस्तो अपशकुनपूर्ण घटनाको कहिल्यै अपेक्षा गरेका थिएनन् । देउवा, बाबुराम, वली, नेपाल वा ठाकुरहरूले राष्ट्रघात गर्नु कुनै अनौठो विषय थिएन । केपी वलीको पार्टीले त संसद्मा अरू बहाना बनाएर राष्ट्रघाती एमसीसी पारित गर्न अरू लेन्डुपहरूलाई सजिलो बनाइदियो र राष्ट्रघात गर्यो । उनीहरू इतिहासमा पनि बारम्बार यो वा ऊ घटनामा राष्ट्रघातमा मुछिइसकेका पटके पात्र र पार्टीहरू थिए तर प्रचण्ड त इतिहासमा नेपाल आमाका दसौँ हजार सुन्दर छोरोछोरीको त्याग र बलिदानबाट जन्मिएका पात्र थिए । नेपाली माटोले उनलाई यति धेरै कृतघ्न बन्ने र महापतनको पनि पराकाष्टामा पुग्ने गरी जन्माएको थिएन भन्ने मानिसहरूलाई लागिरहेको थियो । तर उनले देश र जनताका विरुद्धको घातको नेतृत्व गरे । नेपालको इतिहासले प्रचण्डलगायत उनी नेतृत्वको राष्ट्रघाती जत्थालाई कहिल्यै माफ गर्नेछैन । जसरी स्वतन्त्र सिक्किमलाई भारतीय साम्राज्यवादको हिस्सा बनाउने राष्ट्रघाती लेन्डुपको मृत्यु भुस्याहा कुकुरको जस्तो घृणित र निन्दित तरिकाले भयो, नेपालका राष्ट्रघातीहरूको मृत्यु पनि त्योभन्दा कुनै हिसाबले सम्मानजनक तरिकाले हुनेछैन भन्ने ठोकुवा गर्न सकिन्छ ।

नेपालका नवलेन्डुपहरूले संसद्‌बाट राष्ट्रघाती एमसीसी पारित गर्ने समयमा कथित व्याख्यात्मक टिप्पणी गर्ने भनी नेपाली जनतालाई उल्लू बनाउने धृष्टता गरेका छन् । लेन्डुपले सिक्किमलाई भारतीय साम्राज्यवादको पाउमा सुम्पिने समयमा जतिसुकै व्याख्यात्मक टिप्पणी गरेको भए पनि स्वतन्त्र सिक्किमको राष्ट्रियता गुमिसकेपछि ती व्याख्या र टिप्पणी मुलुकलाई पराधीन बनाउने सहायक सामग्रीभन्दा बढ्ता केही साबित भएनन् । नेपालका नवलेन्डुपहरू पनि त्यही पथमा गएर समाप्त भए । अरू परिणाम त देशभक्त र क्रान्तिकारीहरूको हतमा छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :