खै त अधिकार ?

कविता


साथी तिमी र ममा हेर त के फरक छ !?
आखिर हामी उस्ताउस्तै छौँ त
मेरो घरमा भोज हुँदा
तिमीलाई मेरो घरको दलान सारा तिम्रो हुने
तिम्रो घरमा भोज हुँदा
आज मेरो एउटा भौतिक शरीर तिम्रो दलानमा
नअट्ने
आखिर मान्छे–मान्छेमा कति दिन गर्छौ यस्तो
अपराध ?
तिम्रो शुभकार्यमा
त्यही एउटा श्रमिक दाइले बनाएको घण्ट र
दियो चल्छ
दौरासुरुवाल, फरिया र चोली चल्छ
तर आज मेरो भौतिक शरीर तिम्रो दलानमा
नअट्ने
चुनाव आउँदा त्यही श्रमिकहरुको औँठाछाप
चल्छ
तिम्रो घरमा भोज हुँदा
तिनै श्रमिकहरु अछुत हुन्छन्
जहाँ तिम्रो सम्मान हुँदैन तिमी नजाऊ त्यहाँ
अरूले बोलेको भरमा ताली पिट्ने हैन
आफैँ बोल्ने कोसिस गर ।
सामाजिक संस्कारलाई तोड्नु छ भने
तिमीले खुट्टा कमाउने हैन
साहस र आँट गरेर
समाज रूपान्तरणमा अघि बढ्नुपर्छ ।
भोट माग्न आउँदा प्रश्न गर–
समाज रूपान्तरणका नाममा
कयौँपटक जित्यौ मेरै हातले
तिमीले झुपडी त्यागेर महल बनायौ
खै त हाम्रो यहाँ
मान्छे भएर मान्छेसरह बाँच्ने अधिकार ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :