एमसीसीविरुद्ध अखिल क्रान्तिकारी सुदूर-पश्चिम प्रदेशद्वारा विरोध प्रदर्शन

एमसीसीविरुद्ध अखिल क्रान्तिकारी सुदूर-पश्चिम प्रदेशद्वारा विरोध प्रदर्शन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर-पश्चिम प्रदेश समितिद्वारा राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली निकालिएको छ । संगठनले उक्त सम्झौता देशको राष्ट्रियता, स्वाभिमान, स्वाधीनता, सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै विरोध प्रदर्शन गरेको हाे।

सो विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले यो देशका संसदवादी दलालहरूले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन, पार्टीले यो सम्झौता खारेज नगर्दासम्म निरन्तर संघर्स गर्ने बताए । नेता शाहले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा काँग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले एमसीसी सम्झौता लागू गर्नमा पनि काँग्रेस पार्टी मुख्य भूमिका रहेको छ । हामीले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने उनले बताए । त्यसैगरी संगठनका सुदूर-पश्चिम प्रदेश इन्चार्ज प्रकाश जप्रेलले देश जनताको हित विपरीत रहेको अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित परियोजना एमसीसी नेपाल लागू गर्न नदिने बताए । अमेरिकाले विकाशको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्यसहित नेपाल भित्रिने योजना बनाएको छ हामी यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरूले उक्त सम्झौता खारेज गर्नुपर्ने छ र यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको इन्चार्ज जप्रेलले बताए ।

उक्त विरोध जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, गो ब्याक अमेरिका, दलालहरू होसियार, संसदीय व्यवस्था मुर्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए । विभिन्न स्कूल, कलेजहरूबाट आएका विद्यार्थी र संगठनका नेताहरूको सहभागितासहित नाराबाजी गर्दै जुलुस अन्तिममा महेन्द्रनगर बजारको मदन चोकमा कोणसभामा परिणत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :