माइतीघरमण्डलबाट एमसीसीविरुद्ध जुलुस सुरु

आज पनि संसद् भवनसहित देशभर ८ दलको प्रदर्शन

माइतीघरमण्डलबाट एमसीसीविरुद्ध जुलुस सुरु

काठमाडौँ : एमसीसीविरुद्ध आज संसद् भवनअगाडि प्रदर्शनका लागि माइतीघरमण्डलबाट नेकपालगायत ६ दल र दुई मोर्चाको संयुक्त जुलुस १२ बजे सुरु भएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत जनसरोकारका विषयमा सङ्घर्ष गरिरहेका ६ दल र दुई मोर्चाले आज संसद् भवनका साथै देशभर प्रदर्शन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ ।

यसअघि नेकपालगायत चार राजनीतिक दल र दुई मोर्चाले चार गते एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएपछि देउवा सरकार सदनमा प्रस्तुत गर्न लागेको एमसीसी प्रस्ताव रोक्न बाध्य बनेको थियो । एमसीसीविरुद्ध उर्लिएको जनसागरमाथि सरकारले निर्मम दमन गर्दा कयौँ आन्दोलनकारी घाइते भएका थिए । अहिले पनि उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारी दमनको चौतर्फी घोर निन्दा र भत्र्सना भएको छ ।

६ राजनीतिक दल र दुई मोर्चाले बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीविरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग गरिएको थियो ।

आज पनि माइतीघरमण्डलबाट जुलुससहित संसद् भवनबाहिर प्रदर्शन गर्न र देशभर एमसीसीविरुद्ध आन्दोलन गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

एमसीसीविरुद्ध सडक सङ्घर्षले जनआन्दोलनको स्वरूप लिएपछि आन्दोलन भाँड्न सरकारले शुक्रबार बिहान काठमाडौँमा नक्कली कुकर बम आतङ्क मच्चाएको थियो । आन्दोलनकारी दलले उक्त षड्यन्त्र खारेज गरिदिएपछि एमसीसीविरोधी आन्दोलनले अझै गति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :