कमसल काम गर्ने निर्माण कम्पनीलाई कञ्चनपुर नेकपाको काम बन्द गर्न आह्वान

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरद्वारा महाकाली पुल परियोजना अन्तर्गत निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी गरिरहेको कामलाई तत्काल बन्द गर्न आह्वान सहितको चेतावनी दिएको छ । बिहीबार जिल्लाका सचिव रमेश परियार अन्य नेताकार्यकर्ता सहितको उपस्थितिमा निर्माण कार्य भइरहेको कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १२ स्थित निर्माण कार्य भइरहेको महाकाली पुल नजिक ब्यानर गाडेर काम रोक्न आह्वान गरेका हुन् ।

उक्त परियोजनाको ठेक्का पाएको सी एफईसी जेभि सो काम विगतमा पनि गुणस्तरिय नगर्दा नै बाढीले त्यस क्षेत्रमा लगाएको तटबन्ध बगाएर क्षतिग्रस्त बनाएको नेकपाले आरोप लगाएको छ । सडकमा मापदण्ड अनुसारको सामग्री प्रयोग नगरेको, निर्माणस्थल क्षेत्रबाट अवैध उत्खनन् गरेको, काममा ढिलासुस्ती गरी स्थानीयलाई दुःख दिएको, भीमदत्त नगरपालिकालाई तिर्नुपर्ने १८ करोड कर नतिरेको लगायतका अमर्यादित काम गरेको नेकपाले बताएको छ । मापदण्ड विपरीत भएको कामले गर्दा स्थानीयलाई हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय र निर्माण कम्पनीले नै लिनुपर्ने नेकपाले बताएको छ । यो कामलाई प्रशासनिक निकायहरूले नियमन र नियन्त्रण नगरे आफूहरूले जनकारवाही गर्ने नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।

महाकाली पुल परियोजना अन्तर्गत निर्माण कम्पनीबाट सडकको काम हेर्ने जिम्मा पाएका हिक्मत ठगुन्नाले भने आफूहरूले कम्पनीले दिएको मापदण्ड अनुसार काम गरिरहेको र जनताको जनदबाब अनुरूप नै हामीले काम छिटो अगाडि बढाइएको र कम्पनीले सीमा मापदण्ड नदिँदा केही कमसल काम भइरहेको बताए । उनले भने,”आफूहरूलाई सबैतिरबाट दबाब रहेको र बाध्यात्मक अवस्थामा काम गरिरहेका छु ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :