एमसीसीविरुद्ध भोलि पनि संसद् भवन र देशभर ८ दलको प्रदर्शन

घाइतेहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई तत्काल रिहा गर्न माग

एमसीसीविरुद्ध भोलि पनि संसद् भवन र देशभर ८ दलको प्रदर्शन

काठमाडौँ : एमसीसीविरुद्ध सङ्घर्ष गरिरहेका नेकपालगायत ६ दल र दुई मोर्चाले भोलि शुक्रबार पनि देशभर प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
आन्दोलनकारी दलले भोलि काठमाडौँमा माइतीघरदेखि नयाँबानेश्वर संसद् भवनअगाडिसम्म प्रदर्शन गर्ने भएका छन् ।

६ राजनीतिक दल र दुई मोर्चाका तर्फबाट बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीविरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक आज २०७८ फागुन ५ गते नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बस्यो । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसद्वादी दलहरू एमसीसी संसद्बाट अनुमोदन गर्न निर्णायक तयारी गर्दैछन् भने अर्कोतिर राष्ट्रिय स्वाधीनताको रक्षाको देशभक्तिपूर्ण सङ्घर्षमा देशभक्त जनसमुदायको तीव्र ध्रुवीकरण भइरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यही क्रममा फागुन ४ को नेपाल बन्दमा काठमाडौँमा घाइते भएका साथीहरू सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, वसन्त बुढाथोकी, शारदा महत, शिलु न्यौपाने, सुनिता बुढाथोकी र निर्ग नवीनको सम्पूर्ण उपचार निःशुल्क गर्न हामी राज्यसँग गम्भीर अपिल गर्दछौँ । साथै फागुन ४ को नेपाल बन्दकै क्रममा कोटेश्वरबाट गिरफ्तार गरी हालसम्म पनि हिरासतमा राखिएका मङ्गल तामाङलाई बिनासर्त तुरुन्त रिहा गर्न गम्भीर अपिल गर्दछौँ ।’

संयुक्त विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादले जबर्जस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आमदेशभक्त जनसमुदायसँग गहिरो अपिलसहित थप कार्यक्रमहरू तय गरेका छौँ ।’

संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् । संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :