गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलको माग

गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलको माग

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध शान्तिपूर्ण नेपाल बन्दको क्रममा रुपन्देहीमा गिरफ्तार गरेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न संयुक्त दलले अपिल गरेको छ ।

बुधबार एक वक्तव्य जारी गर्दै रूपन्देहीमा शान्तिपूर्ण नेपाल बन्दको क्रममा नेकपा (कान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य प्रेम सुवेदी, नेकपा जिल्ला सदस्य नवीन थारू, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् रूपन्देही इन्चार्ज सन्तोष सुवेदी, क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव प्रगति राना, नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश सदस्य राजु भुजेल, अखिल नेपाल अटो रिक्सा मजदुर संघका बुटवल उप–महानगर संयोजक माधव न्यौपाने, नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष रामबहादुर थारू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य शशि विक र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य तुलराज विश्वकर्मालाई यथाशीघ्र रिहा गर्न माग गरेको छ ।

नेकपाका रुपन्देही सेक्रेटरी विश्वास, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी विनोद मरासिनी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक प्रेम कार्की, नेकपा माओवादी केन्द्र समाजवादीका संयोजक श्यामबहादुर विक र देशभक्त जनगणतान्त्रिक नेपालका जिल्ला संयोजक रामप्रसाद शर्माले संयुक्त वक्तव्य जारी गर्दै हिन्द प्रशान्त रणनीति अन्तर्गत रहेको एमसीसी सम्झौतालाई देउवा सरकारले जुनसुकै बेला पनि पास गर्ने सम्भावना रहेकोले यसको खारेजीका लागि निरन्तर सङ्घर्षमा उत्रिन सम्पूर्ण देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, वामपन्थी एवम् जनसमुदायमा अपिल गरेका छन् । साथै वक्तव्यमा उनीहरूले नेपाल बन्दको शान्तिपूर्ण सङ्घर्षलाई सहयोग गर्ने जिल्लाबासी सम्पूर्ण जनसमुदायलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :