प्रहरी र प्रदर्शनकारीबीच झडप: एमसीसी विरोधी प्रदर्शनकारीप्रति सरकार असहिष्णु, प्रदर्शनकारीमाथि सरकारको नाङ्गो दमन

प्रहरी र प्रदर्शनकारीबीच झडप: एमसीसी विरोधी प्रदर्शनकारीप्रति सरकार असहिष्णु, प्रदर्शनकारीमाथि सरकारको नाङ्गो दमन

नयाँबानेश्वर (काठमाडौँ): राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नयाँबानेश्वरस्थित संसद् भवनबाहिर प्रदर्शन गर्न आइपुगेका राजनीतिक दलका नेता–कार्यकर्तामाथि सरकार असहिष्णु बन्दै नाङ्गो दमनमा उत्रिएको छ । एमसीसीविरुद्ध आज नेपाल बन्द आह्वान गरिएको थियो । नेपाल बन्दका बीच माइतीघरबाट नाराजुलुससहित नयाँबानेश्वर आइपुगेका प्रदर्शनकारीमाथि प्रहरीले नाङ्गो दमन गर्दा झडप भएको छ । प्रहरीले अश्रुग्याँस र लाठीको प्रयोग गरी कयौँ प्रदर्शनकारीलाई घाइते बनाए पनि आन्दोनकारीहरूले संयम गुमाएका छैनन् ।
नेकपालगायत एमसीसीका विरुद्ध सङ्घर्षरत ६ दल र मोर्चाले आज पनि संसद् भवनबाहिर प्रदर्शन गरिरहेका छन् । नेपाल बन्द र जनताको सङ्घर्षका कारण आज शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संसद्मा एमसीसी सम्झौता टेबुल गर्न सकेन । सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले गठबन्धन दलहरूसँग थप सहमति गरेर ६ गते सम्झौता टेबुल गरिने बताए पनि जनताको व्यापक आक्रोश र आदोलनका कारण एमसीसी पक्षधरहरू क्रमशः गल्दै गएको देखिन्छ ।
आज माइतीघरदेखि नाराजुलुससहित सङ्घीय संसद् भवन नयाँबानेश्वरतर्फ आएका एमसीसीविरोधी प्रदर्शनकारीलाई प्रहरीले सङ्घीय संसद् भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटेलनजिकै रोकेको थियो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ लागेपछि झडप भएको थियो । 
प्रहरीले प्रदर्शनकारीमाथि दमन गर्दै अश्रुग्याँस, पानीको फोहोरा र लाठी प्रहार गरेको छ । झडपका क्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य लोकेश जोशी र अखिल (क्रान्तिकारी) पशुपति क्याम्पसका सदस्य चिरायु भेडुवालसहित दर्जनौं घाइते भएका छन् । 
उता सिभिल अस्पताल नजिकैबाट प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर सङ्घीय संसद् भवनको दक्षिण गेटसम्म पुगी प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रघाती एमसीसी र दलाल सरकारका विरुद्ध चर्को नाराबाजी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :