जनयुद्ध दिवसमा युवा सङ्गठन गठन

जनयुद्ध दिवसमा युवा सङ्गठन गठन

भरतपुर (चितवन) : नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुरमा २७ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा ध्रुव, विशेष अतिथि रणदीप गौतम, अतिथि हुकुम, दुर्गा सुवेदी, राजकुमार तिमिल्सिना, धर्म विश्वकर्मा, भरत न्यौपाने, हरिदत्त पौडेल, बिरु लामा, रूपक काफ्ले, कुमार विश्वकर्मा र सुमन श्रेष्ठ उपस्थित थिए ।

कार्यक्रम भरतपुर महानगर युवा सङ्गठन नेपालका अध्यक्ष अशोक लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा युवाका रमेश नेपालीले स्वागत मन्तव्य राखेका थिए भने समसामायिक राजनीतिक विषयमा प्रमुख अतिथि र विशेष अतिथिले धारणा राखेका थिए ।

जनयुद्ध दिवसकै अवसरमा युवा सङ्गठनको महानगर भेला पनि सम्पन्न भएको छ । भेलाले अध्यक्षमा अशोक लामा, उपाध्यक्षमा अमरदीप, सचिवमा रमेश नेपाली र कोषाध्यक्षमा मोनिका राजवंशीसहित ५१ सदस्यीय महानगर समिति गठन गरेको छ । सङ्गठनको प्यानल प्रस्ताव राजकुमारले गरेका थिए भने शुभकामना मन्तव्य दुर्गा सुवेदी र धर्म विश्वकर्माले राखेका थिए ।

कार्यक्रम समापनपछि भरतपुर महानगरपालिकाको कार्यालयमा स्वरोजगार मजदुर, किसान र सुकुमबासीका माग लिएर १ घन्टा महानगरपालिका घेराउ गरिएको नेकपा चितवनले जनाएको छ । कार्यक्रमप्रति स्थानीयबासी र व्यवसायीले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :