उपत्यकाका तीन जिल्लाले संयुक्त रुपमा मनाए २७ औँ जनयुद्ध दिवस

उपत्यकाका तीन जिल्लाले संयुक्त रुपमा मनाए २७ औँ जनयुद्ध दिवस

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले २७ औँ जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । नेकपाले देशभर विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । काठमाडौँ, भक्तपुर र ललितरपुर जिल्ला पार्टीले पनि संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । काठमाडौँमा तीन जिल्लाकै जिल्ला पार्टीले भव्य समारोहबीच जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा विभिन्न पार्टीका केन्द्रीय सदस्यहरु, जनवर्गिय संगठनका अध्यक्ष तथा पदाधिकारी, पार्टीका जिल्ला कमिटीका सदस्य तथा जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा अभियानबाट फर्किएका युवा संगठनका नेताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्न एकले अर्कालाई अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका बेपत्ता परिवार तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले पार्टीको विचार जनतासम्म लिनका लागि केही मौलिकता आवश्यक भएको बताए ।

जनयुद्धमा भएका विभिन्न घटनाहरुलाई अनुभूतिका रुपमा राख्दै उनले विश्वविद्यालयमा नपाइने ज्ञान जनतासँगको सामिप्यतामा पाइने बताए । जनतासँग घुलमिल हुने नेताको चरित्र भएकाले त्यसलाई विर्सन नहुने उनको सुझाव थियो ।

देशमा फेरि पनि क्रान्तिको आवश्यक भएको भन्दै क्रान्तिका लागि वातावरण बन्दै गएको बताए । उपस्थित सबैलाई जनयुद्ध दिवसको शुभकामना व्यक्त गरे ।  

कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले प्रचण्डका कारण जनयुद्ध असफल भएकाले यसलाई आफूहरुले निरन्तरता दिएको बताए । ‘हामीले जनयुद्ध सुरु गर्दा केही सपनाहरु थिए । नौलो जनवाद, जनगणतन्त्र र समाजवाद हाम्रा मुख्य एजेण्डा थिए । पछि नेतृत्वका कारण पार्टीले ठूलो हार व्यहोर्यो ।’ उनले भने, ‘यसको निरन्तरताका लागि विप्लवको नेतृत्वमा फेरि संघर्ष सुरु भएको छ । हामी हाम्रो यो सपना एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत पूरा गरेरै छोड्छौँ ।’

उनले उपस्थिति सबैलाई जनयुद्ध दिवसको शुभकामना दिदै पार्टीको कार्यदिशामा लामबद्ध भएर लाग्न सबैलाई अपिल गरे । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य, जनपत्रकार संगठन नेपालका इन्चार्ज तथा रातो खबरका निर्देशक बसन्त श्रेष्ठ प्रज्वलन ले जनयुद्ध दिवसको अवसरमा सबैलाई शुभकामना दिदै जनयुद्ध जुन उदेश्यका साथ सुरु भएको थियो, त्यो उदेश्य पूरा नहुँदासम्म अन्तिमसम्म लागि पर्नका लागि प्रतिबद्ध हुन सबैलाई आग्रह गरे ।

उनले जनयुद्धका क्रममा बेपत्ता भएका करिव तीन हजार यौद्धाहरुको सार्वजनिक गर्नका लागि जोडदार रुपमा आवाज उठाउन पर्ने बताए । पार्टी शान्तिप्रक्रियामा आएको लामो समय भइसक्दा पनि बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु आश्चर्यजनक भएको भन्दै यसका लागि पार्टीपंतिले संघर्ष गर्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा ललितपुर–भक्तपुर जिल्ला इन्चार्ज नविन विश्वकर्मा हितमान, केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय कार्यालयमा कार्यारत चुँडामणी ओली आदर्श, केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विप्लव, केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्द, केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा सहिद परिवार समाजकी अध्यक्ष खुमा सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, युवा संगठनका अध्यक्ष पाटन जंगली, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले शुभकामना मन्तव्य राख्दै पार्टीले छिटो भन्दा छिटो क्रान्तिकारी धार समात्नु पर्ने धारणा राखेका थिए । सामना सांस्कृतिक परिवारले आफ्ना प्रस्तुतिले कार्यक्रममा शोभा बढेको थियो । कार्यक्रममा हास्य कलाकार तथा पूर्वजनमुक्ती सेना सुबोध गौतमले पेट मिचिमिची हँसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :