रामेछापमा र्याली र अबिरजात्रासहित २७ औँ जनयुद्ध दिवस मनाइयो

रामेछापमा र्याली र अबिरजात्रासहित २७ औँ जनयुद्ध दिवस मनाइयो

मन्थली : नेकपा रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा र्याली र प्रदर्शन गर्दै २७ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालयबाट निस्केको नेकपा रामेछापका नेता–कार्यकर्ता, जवस र मोर्चा सम्बद्ध ५० भन्दा बढी क्रान्तिकारीहरूको जुलुस २७ औँ जनयुद्ध दिवस सफल पारौँ, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसीसी मुर्दावाद, दलाल पुँजीवादी संसदीय व्यवस्था मुर्दावादलगायत नारा लगाउँदै जिविसचोक, नगरपालिकाचोक, प्रशासनचोक, देवकोटाचोकलगायत क्षेत्रको परिक्रमापछि पुनः पार्टी कार्यालयमा फर्केर सभामा परिणत भएएको थियो ।

मन्थलीमै आयोजित २७ औँ जनयुद्ध दिवसलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली इन्चार्ज भरत बम ‘रणवीर’ ले जनयुद्ध जारी रहेको बताए । प्रमुख अतिथि रणवीरले भने, ‘प्रतिक्रियावादी राज्यसत्ता अन्त्य गर्ने उद्देश्य लिएर २७ वर्षअघि सुरु भएको जनयुद्धलाई केही अगुवाहरूले धोका दिए पनि कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिका रूपमा यो जारी छ ।’

अमेरिकी साम्राज्यवादले लाद्ने षड्यन्त्र गरेको राष्ट्रघाती परियोजना एमसीसीले सङ्कट ल्याउने निष्कर्ष प्रस्तुत गर्दै नेता रणवीरले भने, ‘एमसीसी लादियो भने तेस्रो राष्ट्रिय मुक्तियुद्ध सुरु हुन्छ । त्यसको नेतृत्व नेकपाले गर्छ । देशभक्त र क्रान्तिकारी शक्ति नेकपाको नेतृत्वमा लडिने मुक्तियुद्धमा सामेल हुन्छन् । त्यसपछि वैज्ञानिक समाजवाद स्थापना हुन्छ ।’

एमसीसी पक्षधर दलालहरूको नामावली टिपेर राख्न र तिनीहरूका विरुद्ध जनकारबाही गर्नका लागि तयार रहन पनि नेता रणवीरले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन गरे । एमसीसी राष्ट्रघाती सम्झौता हो भन्ने जान्दाजान्दै पारित गर्न लागेका राष्ट्रघातीहरूलाई जनकारबाही गर्दा त्यो राष्ट्रियता र समाजवादका पक्षमा हुने नेता रणवीरले बताए ।

कार्यक्रमका अतिथि अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले नेपालका हरेक जनक्रान्तिमा अगुवाहरूले धोका दिएका उदाहरण प्रस्तुत गर्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद स्थापनाका लागि जारी एकीकृत जनक्रान्तिमा त्यस्तो नहुने विश्वास व्यक्त गरे । उनले दलाल पुँजीवादी राज्य व्यवस्थाविरुद्ध विस्फोट हुन पनि आह्वान गरे । महान् जनयुद्धले सम्पूर्ण उपेक्षित–उत्पीडित वर्ग र समुदायका साथै राष्ट्रको पनि मुक्तिको सपना देखाएको तर प्रचण्ड–बाबुरामलगायत केही धोकेबाजहरूले क्रान्तिको झन्डा बीचैमा फलेर भागे पनि विप्लवले त्यसलाई एकीकृत जनक्रान्तिका पक्षमा उठाएको र विजयको निकट पुर्याएको प्रस्ट पारे ।

नेकपा रोमछापका सेक्रेटरी इन्द्र श्रेष्ठको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कार्यालय सदस्य एवम् लोककलाकार सङ्घका संयोजक ढुण्डीराज अधिकारीले क्रान्तिकारी गीतले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा रामेछापका जनपरिषद् प्रमुख जितबहादुर मगर, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी रामेछापकी संयोजक सीता गौतम, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् रामेछाप अध्यक्ष शङ्कर भुजेल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् सिन्धुली–काभ्रे इन्चार्ज मिमबहादुर ऐडी, शिक्षक सङ्गठनका केन्द्रीय सदस्य विनोद सुवेदीलगायतले जनयुद्धका सपनाहरू अलपत्र पारेर छोड्ने गद्दारदेखि प्रतिक्रियावादी कित्तामा गएका सबै शक्तिका विरुद्ध देश र श्रमिक जनताका पक्षधर शक्तिहरू लागिपर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :