२७ औँ जनयुद्ध दिवसमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

२७ औँ जनयुद्ध दिवसमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ : मधेस प्रदेश सरकारले २७ औँ जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएर पहिलो रेकर्ड कायम गरेको छ । जनयुद्ध सकिएको घोषणा भएको १६ वर्षपछि देशका सातमध्ये एउटा प्रदेशले पहिलोपल्ट जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जनयुद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी) ले मधेसी, दलित, महिला, उपेक्षित, उत्पीडित, श्रमिक जनतालाई विद्रोहका लागि आह्वान गरेको थियो । जनयुद्धकै कारण उत्पीडित जनता आफ्नो अधिकारका लागि सामन्ती सत्ताविरुद्ध हतियारबद्ध युद्धमा लामबद्ध भएका थिए ।

जनयुद्धको जगमा २०६२–२०६३ सालमा सम्पन्न जनआन्दोलनपछि अन्तरिम सरकार, संविधानसभा हुँदै राजतन्त्र अन्त्य गरी गणतन्त्र नेपालको घोषणा भएपछि राज्यस्तरबाट कुनै पनि प्रदेशले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको पहिलो घटना हो । जनयुद्धले नयाँ जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य बोकेको भए पनि जनयुद्धको मूल नेतृत्वले धोका दिँदा जनयुद्ध असफलतामा टुङ्गिएको थियो ।

जनयुद्धले दलित, महिला, कर्णालीसँगै तराई–मधेसका उत्पीडित जनतालाई आफ्नो हकअधिकारका लागि लड्न प्रेरित गरेको थियो । जनयुद्धकै कारण तराई मधेसका जनताको चेतना अभिवृद्धि भई जनयुद्धमा लामबद्ध बनेका थिए । जनयुद्धमा कम्तीमा दस हजार योद्धाले बलिदान गरेका थिए भने हजारौँ योद्धा अझसम्म बेपत्ता अवस्थामै छन् । त्यस्तै दसौँ हजार योद्धा घाइते र अपाङ्ग बनेका थिए । यसमा तराई–मधेसको पनि उल्लेख्य सहभागिता छ ।

प्रचण्ड–बाबुरामलगायत जनयुद्धको नेतृत्वको एउटा पङ्क्तिले पुरानो विचार र सत्तासँग आत्मसमर्पण गरेपछि जनयुद्ध उद्देश्य हासिल नगरी विघटित भएको थियो । विप्लवको नेतृत्वमा नेकपाले जनयुद्धका अधुरा कार्यभार पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरी क्रान्ति अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :