विद्रोही नायक र जेल

विद्रोही नायक र जेल

वरिपरि अग्ला पर्खाल र पर्खालमाथि करेन्ट कुदेका काँडेतार । माघ महिनाको कठ्याङ्ग्रिँदो चिसो । अग्ला पर्खालमा सटेका चारवटै बुर्जामा उभिएका सशस्त्र पहरेदार । म बन्द रहेको जेलको पारिपट्टि लमतन्न परेका भोजपुरका पहाडहरू तेर्सिएका छन् । ट्याम्के आफ्नै उचाइमा अग्लिएको छ । हाम्राबीचमा अरुण आफ्नै वेगमा समुद्र भेट्न दौडिरहेको छ । आफ्ना मधुर पहेँला किरण छाडेर घाम भोजपुरको पाखामुनि डुब्दैछ । मेरो आँखा एकटकले त्यतै केन्द्रित छ, मन उतै एकोहोरिएको छ जहाँ आजभन्दा १५ वर्षअघि एउटा सुखद समयले एक विद्रोहीलाई स्वागत गरेको थियो ।

क्रान्तिले समयलाई आफ्नो लपेटामा यसरी बेरेको थियो कि ऊ लडाइँको घेराभन्दा बाहिर थिएन । भूगोलको हरकुनामा गहिरो जरा गाडेको, जीवनको हरक्षेत्रमा गहिरो प्रभाव थियो । लाग्थ्यो क्रान्ति नै समय र समय नै क्रान्ति भएको थियो । राज्यको सुरक्षार्थ लडिरहेका हजारौँ सेना–प्रहरी जागिरबाट राजीनामा दिएर स्वतन्त्र जीवनमा फर्किरहेका थिए, क्रान्तिको आह्वानमा । अन्य कैयौँले हतियारसहित विद्रोह गरेका थिए क्रान्तिकै प्रभावमा र यो क्रम बढिरहेको थियो । सेना, प्रहरीका जवान र एक तहसम्मका अधिकृत माओवादीमा आबद्ध हुने क्रम बढेको थियो ।

२०६३ साल साउन महिनाको एक बिहान १६ औँ बटालियन ‘बी’ कम्पनीका ‘ओपी’ मा निस्केका जनमुक्ति सेनाका एक जवानसँग शाहीसेनाका एक जवानको भेट भयो । उनी अत्याधुनिक गलिल र इन्सास दुई राइफल बोकेर जनसेनाका जवानतिरै लमकलमक अघि बढ्दै थिए । उनी थकित र अनिँदो थिए तर चालमा फुर्ती कम थिएन । एकछिन त ती माओवादी युवक अक्क न बक्क परे र कम्मरमा भिरेको ग्रिनेटतिर हात बढाए । त्यतिबेलासम्म ढिला भइसकेको थियो र सेनाका जवानसँग अरू कोही नदेखेपछि माओवादी युवक अलि ढुक्क भए र ग्रिनेटतिर लम्किएको हात गोजीमा हाले । ‘कमरेड, लालसलाम !’ दुई राइफल, झोलाभरि म्यागजिन र गोलीले भरिएर ठिङ्ग उभिएका युवकले भने । अकमक्क परेका माओवादी युवकले पनि अभिवादन फर्काए र सोधे – तपाईं … किन एक्लै यसरी ? अर्को प्रश्न भुइँमा खस्न नपाउँदै राइफलधारी युवकले एकै सासमा जबाफ दिए, ‘म माओवादी खोज्दै आएको, नेपाली सेनाबाट विद्रोह गरेर । टाढैबाट तपाईं माओवादी हो भनेर ठम्याएपछि यता आएको । कृपया मलाई पार्टी वा जनसेनाको जिम्मेवार मान्छे वा पत्रकारसँग भेटाउनुहोस् ।’ केही हतास नभई उनलाई आफ्नो पछिपछि आउन भने र भोजपुरको श्यामशिलास्थित एक घरमा रहेको आफ्नो कम्पनी हेडक्वार्टरतिर लगे ।

साउनको महिना, निरन्तरको वर्षा तर त्यस दिन आकाश खुलेको थियो । वरिपरि चारैतिर मनमोहक हरियाली । बारीमा घोगा लागेका मकैका बोटहरू लहरै उभिएका छन् त्यस दिनलाई स्वागत गर्न । एउटा घरको आँगनको एक छेउमा सानो मञ्च छ झन्डा र ब्यानरले सिँगारिएको । दायाँबायाँ चारैतिर बन्दुकधारी माओवादी जनसेना, कमान्डर र जवानहरूको बाक्लो उपस्थिति छ । कोही पिँढीको डिलमा त कोही आँगनको वरिपरि दुई फिटजति उठाइएको पर्खालमा चकटी, गुन्द्री आदि बिछ्याएर बसेका छन् । कोही उभिएका छन् स्थानीय जनता र युवकयुवती । उनीहरूको दृष्टिमा कौतूहल दौडिएको छ । कोही चुरोट त कोही सुल्पाको धुवाँ उडाइरहेका छन् पाका मानिसहरू । मञ्चजस्तो देखिने ठाउँपट्टि लौरोमा घुसारेर फूलका मालाहरू आगन्तुकको स्वागतका निम्ति तयार राखिएका छन् र नजिकै एक सानो अबिरको पोको पनि छ । वरपर गोरेटो बाटो र डाँडामा सतर्कतापूर्वक जनसेनाका जवानहरू पहरा दिइरहेका छन् ।

‘जनमुक्ति सेनाका आदरणीय कमिसार, कमान्डर र जवान कमरेडहरू, हाम्रो गौरवशाली पार्टीका आदरणीय र सहयोद्धा कमरेडहरू, श्यामाशिला गाविसका तपाईं आदरणीय जनमुदायमा म न्यानो अभिवादन गर्दै आजको यो विशेष समारोह सुरु भएको जानकारी गराउँछु ।’ एउटा जोसिलो युवा आवाजले कार्यक्रम स्थलको मौनता भङ्ग गर्दै कस्सिएको मुट्ठी उचालेर अभिवादन गरेपछि तालीको गड्गडाहटले वातावरणमा रौनकता थप्यो । यतिबेलासम्म अतिथिहरूले मञ्चतिरको बस्ने ठाउँ भरिइसकेको थियो । वरपरबाट आइरहेका जनता कार्यक्रमस्थलतिर हानिँदै थिए । सञ्चालक युवकले अतिथिहरूलाई आसनग्रहण गराइसकेपछि ओजस्वी आवाजमा जनमनको धैर्यको बाँध तोड्दै भने, ‘अब म शाही नेपाली सेना विष्णु दल गुल्मबाट विद्रोह गरी यो महान् जनयुद्धमा लामबद्ध हुन आइपुग्नुभएका एक होनहार, साहसी र क्रान्तिकारी युवा सलक चौधरीलाई मञ्चमा आमन्त्रण गर्दछु । साथै उहाँले साथमा ल्याउनुभएको गलील एक थान, त्यसको म्यागजिन ठूलो दुई थान, सानो ३ थान, गोली ३०० राउन्ड भन्दा बढी, इन्सास राइफल एक थान, म्यागजिन तीन थान, गोलीहरू, दुई थान, एम ३६ ग्रिनेड हाम्रो बटालियन कमिसार क. दीपेशलाई हस्तान्तरण गर्न अनुरोध गर्दछु । करतल ध्वनि र भावमय वातावरणका बीच नौजवान युवा चौधरीले आफूसँग रहेका युद्धसामग्रीहरू कमिसार दीपेशलाई हस्तान्तरण गरे । फोटाहरू खिचिए, अङ्कमाल गरिए र न्यानो वर्गीय प्रेम साटासाट भयो । जनसेनामा स्वागत गर्दै कमिसार दीपेशलगायत कमान्डरहरूले कस्सिलो मुठी र आलिङ्गनमा बेरे झलकलाई । उनी र कार्यक्रममा सहभागी जनसमुदायमा खुसीको सीमा थिएन । रातो अबिर र गलाभरि मालाले सजिएको चौधरीको सुन्दरता र साहस अतुलनीय प्रतीत हुन्थ्यो । उनीबाट भर्खरै हस्तान्तरित राइफलबाट पाँचपाँच राउन्ड हवाईफायर गरियो । बन्दुकबाट निस्केको बारुदको गन्धले वातावरणलाई युद्धमय बनायो र विजयको आभास दिलायो ।

नेपाली सेनाले उनलाई आफ्नो कब्जामा मात्रै लिएन, भगौडा र विश्वासघाती भन्दै अमानवीय यातना दियो । सारा विद्रोहीहरूको मनोबल गिराउने मनसायसहित सैन्य कोर्टमा मुद्दा चलायो । षड्यन्त्र र पूर्वाग्रहजडित मानसिकताबाट उनीउपर छानबिन थालियो, जन्मकैदको फैसला सुनाइयो र भीमफेदी कारागारमा बन्दी जीवन झेल्न बाध्य बनाइयो । ती विद्रोही नायक केही वर्षयता अग्लो फलामे पर्खालभित्र कैद छन् । ती विद्रोही सबैखाले उत्पीडनका विरुद्ध विद्रोह गर्दै समानताको दुनियाँ बसाउन हिँडेका थिए । विद्रोही आखिर विद्रोही नै हुन्छ । जेलका पर्खालभित्र बन्धक बनाउन सकिन्छ तर विद्रोही चेत बन्दी बनाउन असम्भव छ ।

२०६२ साउन १५ गतेको त्यो दिनले झलक चौधरीको जीवनमा नयाँ मोड ल्याइदियो । सायद उनले जीवनमा यस्तो खुसी, माया र सम्मान विरलै पाएका थिए होलान् । उनी अब शाहीसेना रहेनन् । जनताका निम्ति लड्ने जनसेना भए, जनमुक्ति सेना । त्यस दिनको कार्यक्रममा उनी नायक थिए, एक विद्रोही नायक ।

त्यो समय क. बादल पूर्वी कमान्डका इन्चार्ज थिए । उनले सुखद भावमा विद्रोही युवा झलकलाई न्यानो स्वागत र गहिरो वर्गीय प्रेम पठाए अनि पठाए पार्टीले उनको उच्च मूल्याङ्कन गर्दै उचित जिम्मेवारी दिने खबर पनि । त्यही समयका पूर्वी डिभिजन कमान्डर क. अनन्तले ब्रिगेडलाई बधाई दिँदै ‘गलिल’ डिभिजन हेडक्वार्टरमा दर्ता गराउन निर्देशन पठाए जुन बादलको सेक्युरिटी कम्पनीमा पठाउने जानकारी थियो । झलक चौधरी एक मात्र त्यस्ता विद्रोही सेना हुन् जसले ब्यारेकबाट निस्किँदा २ वटा अत्याधुनिक राइफल साथैमा ल्याएका थिए । उनीसँगै मिल्ने अर्को संयोग के छ भने नेपाली काङ्ग्रेसले तत्कालीन पञ्चायतका विरुद्ध विद्रोह गर्दा काङ्ग्रेसको मुक्तिसेनामा आबद्ध भएर सशस्त्र सङ्घर्षमा सहभागी बन्ने क्याप्टेन यज्ञबहादुर थापा पनि विष्णु दल गुल्मकै थिए ।

२०७४ जेठ एक बिहान मोरङ सिप्राहास्थित एक सानो घरमा प्रहरीको सशस्त्र टोलीले घेरा हाल्यो । गाउँका मानिसहरू सखारै आआफ्नो काममा लाग्ने तयारी गर्दै थिए । कोही कलबाट पानी तान्दै थिए कोही बिहानको घरधन्धामा व्यस्त थिए । सुनसान चौधरी बस्तीमा एकाएक हल्लीखल्ली मच्चियो । प्रहरीको यो कारबाही एकदमै आकस्मिक थियो । गाउँका मानिसहरू मुखामुख गर्दै प्रहरी घेरामा परेको घरवरपर एकत्रित हुन थाले । प्रहरीमध्येबाट रूखो र चर्को स्वरमा आवाज आयो ‘ए झलक, बाहिर निस्की । हामी तँलाई लिन आएको ।’ अब रहस्य खुल्यो उनीहरू उनी विद्रोही नायक, जनसेनाका एक योद्धा झलक चौधरीलाई गिरफ्तार गर्न आएका रहेछन् । अन्ततः प्रहरी छापामारीमा परेर उनी पक्राउ परे र आफूले विद्रोह गरेको नेपाली सेनाको नियन्त्रणमा पुगे ।

नेपाली सेनाले उनलाई आफ्नो कब्जामा मात्रै लिएन, भगौडा र विश्वासघाती भन्दै अमानवीय यातना दियो । सारा विद्रोहीहरूको मनोबल गिराउने मनसायसहित सैन्य कोर्टमा मुद्दा चलायो । षड्यन्त्र र पूर्वाग्रहजडित मानसिकताबाट उनीउपर छानबिन थालियो, जन्मकैदको फैसला सुनाइयो र भीमफेदी कारागारमा बन्दी जीवन झेल्न बाध्य बनाइयो । ती विद्रोही नायक केही वर्षयता अग्लो फलामे पर्खालभित्र कैद छन् । ती विद्रोही सबैखाले उत्पीडनका विरुद्ध विद्रोह गर्दै समानताको दुनियाँ बसाउन हिँडेका थिए । विद्रोही आखिर विद्रोही नै हुन्छ । जेलका पर्खालभित्र बन्धक बनाउन सकिन्छ तर विद्रोही चेत बन्दी बनाउन असम्भव छ ।

यहाँनेर अचम्मको विडम्बनाको सिकार भएका छन्– झलक चौधरी । उनी र उनीजस्ता हजारौँ सेना र प्रहरीलाई विद्रोहको आह्वान गर्ने माओवादी सेनाका सर्वोच्च कमान्डर प्रचण्ड आज सरकारी नेकपाको एक अध्यक्ष छन् र पार्टीबाट सरकारको नेतृत्व गरिरहेका छन् । झलकले आफूसँगै ल्याएको बन्दुकको घेरामा सुरक्षित बस्ने बादल आज गृहमन्त्री छन् । झलकलाई भव्य कार्यक्रमका बीच स्वागत र सम्मान गर्नू भनेर ब्रिगेडलाई आदेश दिने अनन्त ऊर्जामन्त्री छन् । यो कस्तो अनौठो ! आदेशकर्ताहरू सरकारको नेतृत्व गर्ने, आदेशपालकहरू जेलमा कैद हुने । नेपाली सेनालाई परास्त गरेर क्रान्ति जित्न आदेश दिने प्रचण्ड–बाबुरामहरू प्रधानमन्त्री बन्ने, तिनको आदेशमा विद्रोह गरी जनसेनामा भर्ती भएर क्रान्ति लड्नेहरू जन्मकैदमा कारागार जाने ? के यो न्यायोचित छ ? कोही पनि विवेकी मानिसले भन्न सक्दैन– यो युक्तिसंगत छ भनेर ।

जब नायकहरू नै सपनाको हत्या गर्दै कुबाटोमा पाइला चाल्छन् तब विद्रोहीहरूको यो बेहाल हुन्छ । जब नेताहरू तुच्छ स्वार्थका लागि विद्रोहीहरूको बलि चढाउँछन्, विद्रोहीको यो दुर्दशा हुन्छ । जब क्रान्ति पराजित हुन्छ र प्रतिक्रान्ति विजयी हुन्छ, विद्रोहको आवाज दबाउने हर्कत हुन्छ । तर के सधैँ यस्तो हुन्छ ? अहँ, हुँदैन, हुँदै–हुँदैन । क्रान्तिले चपरी पल्टाएझैँ अत्याचारी राजा पल्टाउँदा झलकहरू खुला आकाशमुनि र शासकहरू जनताको जेलमा । सहिदका सपना साकार भएर क्रान्ति विजयी बन्दा विद्रोही नायकहरू नायक नै रहन्छन् तर शासकहरू खलपात्र बन्छन् र अँध्यारो कोठामा अपराधको आगोमा जल्छन् ।

२८ माघ, २०७७ (सङ्खुवासभा कारागार)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :