भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

सोलुखुम्बु : शिक्षा समन्वय एकाइ सोलुखुम्बुका सबइन्जिनियर पवनकुमार यादवलाई नेकपाले कालोमोसो र जुत्ताको माला लगाएर कारवाही गरेको छ । सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको प्रमाणसहित सोमबार दिउँसो कार्यालयमा पुगेका नेकपा निकट अखिल (क्रान्तिकारी) कार्यकर्ताले यादवलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

दिउँसो १ बजे कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई कालोमोसो र जुत्ताको माला लगाइदिएको यादवले बताएका छन् । कारबाहीपछि विद्यार्थी संगठनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेको छ ।

संगठनका संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा समन्वय एकाइका सबइन्जिनियरहरु पवनकुमार यादव र नवीनकुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रका विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको उल्लेख छ ।

आफूहरुले उक्त रकम विद्यालयलाई फिर्ता गर्न पटकपटक आग्रह गरे पनि बेवास्ता गरेका कारण सांकेतिक रूपमा कारबाही गरेको विज्ञप्तिमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिइएको छ ।

दुवै सबइन्जिनियरले महाकुलुङको कैलास प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्नमाध्यमिक विद्यालयमा ३५÷३५ हजार र खिरौले निम्नमाध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :