एक धूमिल बिहानमा महासचिव कमरेडसँग

निदाएर देखिने सपना होइन, सपना त ती हुन् जसले निदाउन दिँदैनन्

एक धूमिल बिहानमा महासचिव कमरेडसँग

रिपोर्ताज

‘तपाईंहरू आउँदै गरेको कुरा बिहान मात्र थाहा भयो । त्यस्तो विशेष परिस्थिति निर्माण भएको कुनै अनुभूति गर्नुभएको छ कि ?’, महासचिव कमरेड विप्लवले राष्ट्रिय राजनीतितर्फ इङ्गित गर्दै भन्नुभयो, ‘तराईमा हुस्सु बढेको छ । दलाल पुँजीवादी सत्तामा पनि यस्तै, योभन्दा बाक्लो हुस्सु छ ।’

तराईको हुस्सुको प्रभाव हटाउन हामी एकापसमा भलाकुसारी गर्दै काठका मुढा जोतिरहेका थियौँ अगेनामा । दलाल संसद्वादी व्यवस्थाको बाक्लो हुस्सु हटाउन महासचिव कमरेड क्रान्तिको दस्ताबेज तयार पारिरहनुभएको थियो । मेरो साथमा एकातिर महासचिवसहित पार्टी एचक्यूका असल, विजयलगायत कमरेडहरू र अर्कोतिर जनपत्रकार सङ्गठन लुम्बिनीका अध्यक्ष दीपेश बिष्ट र कोषाध्यक्ष मुक्ति गैरे हुनुहुन्छ यतिबेला । हामी आज कपिलवस्तुको शिवराजमा छौँ । माघेहुस्सुले धूमिल बनाइरहेको बिहानमा महासचिव कमरेडसँगको भेटघाट र छलफलले ऊर्जा दिइरहेको छ । हाम्रो छलफलको चाप थेग्न नसकेर हुस्सु भागिरहेझैँ लाग्छ । अर्को अर्थमा हुस्सु अर्थात् दलाल पुँजीवादी सत्ता । १४ असोजमा चितवनमा सम्पन्न पार्टीकेन्द्रको विशेष प्रशिक्षण भेलामा महासचिव कमरेडको उद्घोष थियो– आदर्श, विचार, राजनीति, व्यवहार, उत्पादन सँगसँगै । उत्पादनमा सहभागी नभएको कम्युनिस्टले क्रान्ति गर्न सक्तैन । पुरानोलाई गाली मात्र गरेर खाने संस्कार अन्त्य गरौँ । उत्पादन बढाऔँ । कम्युनिस्ट पार्टी सबै समस्याको समाधान हो, समस्या होइन भन्ने महासचिव कमरेडको चितवन उद्घोषले मलाई थप उद्वेलित र उत्प्रेरित बनाएको थियो । उहाँले सबै नेता–कार्यकर्ता श्रममा जानुपर्छ, व्यापार र उद्योगमा सहभागी हुनुपर्छ, कृषिलाई माथि उठाउनुपर्छ, श्रम नगर्ने, अनुत्तरदायी हुने संस्कार अन्त्य गर्नुपर्छ भन्नुभएको थियो । यसको व्यावहारिक पाटो हेर्ने भित्री इच्छा पनि पूरा हुँदै थियो मेरो ।

लेखक : अशोक सुवेदी

हामी तीन पत्रकार सँगै थियौँ अस्ति बिहानसम्म पाल्पाको तानसेनमा पनि । त्यहीँ सल्लाह गरेथ्यौँ कपिलवस्तुयात्राको । त्यहाँ ३१ जना क्रान्तिकारी योद्धा पत्रकार तयार पारेर तल झरेका हौँ हामी । दीपेशजी सङ्गठनको कामले एक दिनअघि बुटवल झर्नुभयो । कमरेड मुक्ति र म नेपाल पत्रकार महासङ्घ पाल्पाको कार्यालयको इन्टरनेट र कम्प्युटर प्रयोग गरेर रातो खबर साप्ताहिकको यो अङ्क प्रकाशन व्यवस्था मिलाई हिजो अर्थात् माघ चार गते बुधबार बुटवल झरेपछि सँगसँगै शिवराज नगरपालिकातिर सोझिएका थियौँ ।

हिजो साँझ पार्टी केन्द्रीय सदस्य एवम् नमुना निर्माण हेरिरहनुभएका कमरेड सञ्जीव र सहयोद्धा सङ्घर्ष (योद्धा) का पाहुना बन्यौँ तीनैजना । आज बिहान महासचिव कमरेडको संरक्षकत्व र कमरेड सञ्जीवको रेखदेखमा निर्माणाधीन जनसङ्ग्रहालय, पार्टी कार्यालय, पार्टी शीर्ष कमरेडहरूको निवास, सेमिनार र बैठक कक्ष, उद्यान, प्राकृतिक माछापोखरीलगायत संरचना अवलोकन गर्दै महासचिव कमरेडसँग भेटघाटका लागि उहाँको अस्थायी निवासमा पुगेका छौँ । रूपमा केही नदेखिए पनि सारमा यो महत्वपूर्ण भेटघाट र वैचारिक छलफलको संयोग हो । यसका लागि पार्टी एचक्यूका सबै कमरेडहरू धन्यवादका पात्र हुनुहुन्छ ।

शिवगढीका पुराना बासिन्दा तराईका भूमिपुत्र, आदिवासी थारू समुदायका कमरेड खुसी जनयुद्धकालमा आफूले कसरी कमरेडहरूलाई फासिवादी शाही सत्ताको मुखबाट बचाएँ भन्ने इतिहास सुनाउँदैछन् त्यहाँ पुग्ने हामीजस्ता नयाँ पाहुनालाई । महासचिव कमरेडले डगडग कामिरहेका खुसीलाई पनि अगेनानजिकै बस्ने व्यवस्था मिलाइदिनुभएको छ ।

‘यहाँ आइपुग्न धेरै समस्या त झेल्नु परेन नि ?’, जनशैलीमा महासचिव कमरेडले राखेको जिज्ञासा टुङ्गिन नपाउँदै वातावरण सहज बनाएर मैले थपिहालेँ– त्यस्तो कुनै समस्या परेन कमरेड । केन्द्रीय सदस्य कमरेड सञ्जीव सम्पर्कमै हुनुहुन्थ्यो । उहाँलाई पछ्याउँदै सजिलै आइपुग्यौँ । पाल्पामा जनपत्रकार सङ्गठनको तीनदिने तालिम सकिएपछि पार्टी केन्द्रको नमुना निर्माण अवलोकनको अधुरो इच्छा पूरा गर्न यता झरेका हौँ । यही अवसर पारेर महासचिव कमरेडसँगको भेट महत्वपूर्ण र ऐतिहासिक हुने ठानेर हो कमरेड, त्यस्तो अन्य विशेष परिस्थिति केही छैन । एकडेढ महिनाभित्रै तीनवटा बैठक महासचिव कमरेडकै प्रमुख आतिथ्यमा बसिसकेका छौँ…पार्टी केन्द्रीय प्रकाशन र सांस्कृतिक आन्दोलनका विषयमा महासचिव आफैँ विज्ञ हुनुहुन्छ । बरु केही नयाँ निर्देशन छ भने पाऊँ… ।

अँगेनामा अलि बल्ने दाउरा थप्दै र आधाआधी बलिसकेको पुरानो दाउरो ठोस्दै महासचिवले भन्नुभयो, ‘कोरोनाले गतिविधि अलि प्रभावित पार्लाजस्तो छ । तर पनि धेरै दिन कुर्न सकिने अवस्था छैन । मुलुकको परिस्थित थप जटिल बन्दै गएको छ…।’ दाउराजस्तै परिस्थिति पनि ठोस्नुपर्नेतर्फ महासचिव कमरेडको सङ्केत थियो । दलाल पुँजीवादका मतियारहरूले नेकपासँग भएको तीनबुँदे सहमतिलाई अटेर गर्दै स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरेको भर्खरै सार्वजनिक भएको थियो । हाम्रो सामूहिक चासो यतातिर थियो । केही पूर्वसहकर्मी र मित्रहरू धैर्य तोडेर कोही वैद्य र कोही आहुती समूहतिर ढुन्मुनिँदै थिए । कोही भने फेरि प्रचण्ड समूह अर्थात् दलाल पुँजीवादमै मुख जोतिरहेका थिए । यिनै बीभत्स दृश्यहरूबीच हामी महासचिवनिकट पुगेका थियौँ । राजनीतिकर्मी–संस्कृतिकर्मी–सञ्चारकर्मीका नाताले महासचिव कमरेडसँग यी विषयमा छलफल नहुने कुरै भएन ।

पार्टी केन्द्रीय समितिको बैठक र देशभर चलिरहेको सङ्गठन सुदृढीकरण अभियानप्रति पनि लक्षित थियो महासचिवको भनाइ । सत्ताको दुरुपयोग गरिरहेका दलाल पुँजीवादका भद्दा चाकरहरू जाडो भगाउन जनताको रगतपसिनाबाट जम्मा भएको करमा तर मारिरहेका थिए तर सिङ्गो जीवन क्रान्तिमा लगाएर कुनै सत्तास्वादमा नलोभिएका क्रान्तिका आशालाग्दा अगुवा जनताको बस्तीमा क्रान्तिको दस्ताबेज तयार पार्दै, सिँगाने शिशुहरू स्याहार्दै र उनीहरूमा देशको भविष्य खोज्दै भनिरहनुभएको थियो– अब यो अन्योल धेरै लामो समय जाँदैन । दलाल पुँजीवाद अब डुङ्डुङ्ती गनाउने गरी गलिसकेको छ…।

महासचिवको सङ्केत दलाल संसदीय चुनावको विकल्पमा पार्टीले अघि सारेको जनमतसङ्ग्रहको चुनावतर्फ पनि लक्षित थियो । सत्ता साझेदार पाँच संसद्वादी समूहले आगामी वैशाखमै स्थानीय निकायको चुनाव गराउने सहमति निकालेको सन्दर्भमा हामी अनौपचारिक छलफल गरिरहेका थियौँ ।

जनताले हाम्रो निर्णय र कार्यक्रमको प्रतीक्षा गरिरहेको छ कमरेड, दलालहरू त यो व्यवस्थालाई अन्तिम टेको लगाउन चुनावको ध्वाँस दिइरहेका छन्– सत्ता घटक पाँच समूहको निर्णयतर्फ सङ्केत गर्दै मैले विषय उठाएको थिएँ । ‘तिनको त्यो दिवास्वप्न हो’– पार्टीसँग गरेको सहमति कार्यान्वयन नगरी चुनाव घोषणा गरे भने सकिनेतर्फ सङ्केत गर्दै महासचिव कमरेडले साङ्केतिक रूपमा भनिसक्नुभएको थियो– दलाल पुँजीवादी सत्तास्वार्थकै टकरावमा उनीहरू मिल्नेतिर होइन, सकिने दिशातिर अग्रसर छन् ।

समयका बारेमा जानकारी लिइसकेपछि महासचिव कमरेडले भन्नुभयो, लः उसो भए सबैले खेतबारीमा गएर श्रम गर्नुपर्छ है…।
हुन्छ, हामी त तयार भएरै आएका हौँ– आगन्तुक टिमको नेतृत्व गर्दै मैले भनेँ ।

यतिबेला खेतबारीमा श्रम गर्ने ठाउँ बाँकी थिएन अर्थात् कतै गहुँ बयेलि खेलिरहेको थियो, कतै तोरी फुलिरहेको थियो । लसुन, प्याज, मुसुरो केही न केहीले जमिन हराभरा देखिइरहेको थियो । बङ्गुर, हाँस र कुखुरालाई दाना–चारा हाल्ने काम मात्र देखिन्थ्यो अघिल्तिर । त्यही कामको भाग एचक्यूका कमरेडहरूलाई नपुगिरहेझैँ देखिन्थ्यो ।

‘हामी त एक छिन पनि खाली बस्दैनौँ, श्रमबाट कटेको जीवन निर्जीव हुन्छ भन्ने महासचिव कमरेडको सुझाव र निर्देश छ’, पार्टी हेडक्वार्टरका सचिव कमरेड असल आफूहरूको दैनिकी सुनाइरहनुभएको थियो, ‘यही श्रम र उत्पादनका कारण हामी प्रतिबन्धको कठोर समयमा पनि जनताका बीच वैचारिक बहस र उत्पादनमै रमाएर बाँच्यौँ ।’

महासचिव कमरेडले उत्पादनमा जोड दिइरहेको र आफैँ श्रममा खटिएर हातमा ठेला उठाएका विषय भर्खरै चर्चामा आइरहेका थिए । यो त अनिवार्य श्रम र समयको सदुपयोग गर्ने विषय हो– उहाँ भनिरहनुभएको थियो– विचार, राजनीति र व्यवहार अर्थात् श्रमलाई एकअर्काबाट कटाउनु हुँदैन ।

ल हुन्छ, हामी त श्रमका लागि तयार नै छौँ– मैले भनेँ ।

कमरेडहरू आगो ताप्दै तातोपानी पिउनुस् । त्यसपछि हामी खेततिर जाउँला…उहाँ आफैँ अघि सरेर तातोपानीको प्रबन्ध गर्नुभएको थियो ।

त्यसपछि हामी उत्पादनस्थलतिर लागेका थियौँ महासचिव कमरेडको नेतृत्वमा । यो तराईको कम्युन थियो । महान् जनयुद्धको कम्युनको हाडखोरसमेत पचाइसकेका थिए जनयुद्धको उपलब्धि र सपना विघटन गराउने वर्तमान सत्ताधारीहरूले । त्यसैले कम्युन नयाँ पुस्ताका लागि अध्ययन सामग्री बनिरहेको महसुस भयो मलाई । सामूहिकतामा रमाउने वाचा गर्दै रगतको ल्याप्चे लगाएर पार्टी सदस्यता लिएका कम्युनिस्टहरू वर्गस्वार्थ र सत्तास्वार्थमा टकराएर चूणचूर्ण बनिरहेको समयमा महासचिवकै नेतृत्व र संरक्षकत्वमा कपिलवस्तुलगायत देशभर जारी सामूहिक उत्पादन र नमुना निर्माण खोज–अनुसन्धान र अनुकरणको रहरलाग्दो विषय बनेको थियो ।
केन्द्रीय कार्यालयका कमरेड सगरमाथा हुस्सुले आलु बिगार्न लाग्यो भन्दै औषधी सिँचन गरिरहेका थिए ।

‘यसरी अलि माथिबाट सरर्र फोहोरा बनाएर छर्कनुस् त औषधी…’, महासचिव आफैँ औषधी सिञ्चन गर्न सिकाइरहनुभएको थियो कमरेड सगरमाथालाई ।

आलुलाई हुस्सुले बिगार्ने चिन्ता र मुलुकलाई दलाल पुँजीवादले बिगारिरहेको चिन्ता एकैसाथ गरिरहनुभएको थियो महासचिव । सुब्बा कृष्णलालले देश र जनता खाने धमिराजस्ता निरङ्कुश राणा शासकहरूलाई मकैमा लाग्ने राता र काला टाउके कीराको संज्ञा दिएजस्तै र कमरेड सगरमाथाले छरेको विषादीले आलु बिगार्ने कीरा मार्न कीटनाशक विषादी हालेजस्तै यो दलाल पुँजीवाद नास्ने विषादी एकीकृत जनक्रान्तिले सिँचिरहेको थियो ।

हामी महासचिव कमरेडलाई पछ्याउँदै कमरेडहरूको श्रम पोखिएको खेतबारीतिर लागिरहेका थियौँ डिलैडिल ।

‘यी हाँस, यो माछापोखरी, यो गहुँ, यो तोरी, यो लसुन र प्याज…’, आफ्नै पौरखमा पार्टीको हेडक्वार्टरले गरेको उब्जनी देखाउँदै महासचिवले भन्नुभयो, ‘हेडक्वार्टर उत्पादनले आत्मनिर्भर बनिसकेको छ । पार्टीको उत्पादन नीति यही गतिमा अघि बढ्दा कुनै पनि पूर्णकालीन कार्यकर्ताले पेट भर्नका लागि हात पसार्नु पर्दैन । योसँगै एकीकृत जनक्रान्तिको सफलता गाँसिएको छ ।’

यो हाम्रा लागि पनि निर्देश थियो । रातो खबर र जनपत्रकारको टोली मिलाएर श्रममा सहभागी बन्नेछौँ– मैले महासचिव कमरेडसँग प्रतिबद्धता व्यक्त गरेँ– एक महिनाका लागि तयारी गरौँ कि पन्ध्र दिनको ?

अहिले त्यति लामो श्रम आवश्यक पर्दैन, तपाईंहरू एक साताको तयारी गर्नुहोला । हेडक्वार्टरबाट खबर आउनेछ– महासचिवको यो सन्देशपछि मैले ‘हुन्छ नि ?’ भनेर सहयात्री दीपेश र मुक्ति कमरेडसँग सहमति लिएँ । उहाँहरूले ‘हुन्छ’ को भाव देखाउनुभएपछि हामीले एचक्यूको सन्देशको प्रतीक्षामा रहने प्रतिक्रिया दियौँ । मैले थपेँ– हाम्रो हातमा कोदालो, कुटोलगायत औजारका साथै इन्टरनेट र कम्प्युटर पनि आवश्यक छ कमरेड, अनलाइन र पत्रिका त सँगसँगै जानुपर्छ, रोक्न मिल्दैन…।
त्यसको उचित प्रबन्ध मिलाइनेछ– महासचिव कमरेडले आश्वस्त पार्नुभयो ।

एउटा हातमा ल्यापटप, अर्को हातमा कुटो–कोदालो…एकीकृत जनक्रान्तिको एउटा स्वरूप हो यो– म मनमनै कल्पना गर्दै थिएँँ, माओले बुद्धिजीवीहरूलाई खेतखलिहानमा र किसान मजदुरहरूलाई विश्वविद्यालयमा लग्न भन्नुभएको यही कारणले होला ! पार्टी एचक्यूका सचिव एवम् पार्टी केन्द्रीय सदस्य असलले थप्नुभयो– राज्यको कठोर प्रतिबन्धमा पनि केन्द्रीय कार्यालयको टिमले आफ्ना लागि आफैँ श्रम गरेर उत्पादन ग¥यो । हामीले कहिल्यै मागेनौँ । आफ्नै पौरखले बाँच्यौँ हामी । कुनै दिन भोकै बस्नु परेन ।
उहाँ हामीलाई पनि श्रमप्रति थप आकर्षित गराइरहनुभएको छ भन्ने सहजै बुझ्न सकिन्थ्यो ।

कमरेड सुन्दरले भन्नुभयो– हामी आफूले उब्जाएर खाँदा पनि बढी भएको केही क्विन्टल अदुवाको बजार खोजिरहेका छौँ ।

‘कमरेड असल, पत्रकार कमरेडहरूलाई माथिल्लो र पल्लो खेतबारीको उत्पादन पनि देखाइदिनुस् त’, काउलीको पातमा लागेको ‘लाई’ कोट्ट्याएर फाल्दै महासचिव कमरेडले भन्नुभयो । महासचिवको निर्देशन भुइँमा खस्न नपाउँदै कमरेड असल नेतृत्वको हाम्रो टोली एचक्यूले गरेको थप उत्पादन हेर्न अगाडि बढ्यो– यो गहुँभित्रको मुसुरो, यो रहर, यो मौलाएर कालो देखिएको गहुँदेखि आँखाले भ्याएसम्मको सबैभन्दा परको तोरीसम्मको उत्पादन हामीले गरेका हौँ । हामीले अरू पनि केही जमिन थपेका छौँ उत्पादनका लागि । कुनै किनिएको छ, कुनै लिजमा । मौसमले धोका दिएन भने हामी बजारमा बिक्रीका लागि पनि लग्न सक्ने हुन्छौँ अर्को सालदेखि– असलले उत्पादनतिर औँल्याउँदै भन्नुभयो, गत साल फागुनमा पार्टीमाथिको प्रतिबन्ध हटेपछि यो बाँझो जमिन फुटाइएको हो । त्यसपछिका करिब ११ महिनामा हामीले यो जमिनलाई खेर जान दिएका छैनौँ । दर्शन, सिद्धान्त र राजनीतिमा जस्तै श्रमको नेतृत्व पनि महासचिव कमरेड आफैँले गर्नुहुन्छ – कमरेड असलले प्रस्ट्याउनुभयो ।
गत साल फागुन २१ गते पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि मात्र करिब चार बिघा जमिनमा पार्टी हेडक्वार्टरमा रहेका केही केन्द्रीय सदस्यसहितको ३९ जनाको समूहलाई दाल, चामल, तरकारी, माछा, मासु, सागपात तेललगायत केही किन्नु परेको छैन । खेतमा झाङ्गिँदै गरेको गहुँ देखाउँदै महासचिवले भन्नुभयो– यो गहँु उठ्दैन कि भन्ने लागेको थियो तर झाङ्गिाएर खेतको गरो ढाकिसक्न लागेछ ! यो पोखरीमा चार हजार माछा हालिएको छ । यस्तो पोखरी ऊः माथि पनि छ । त्यता तल पनि छ । सबैतिर हेरेर हामीलाई आवश्यक सुझाव दिनुहोला ।

बङ्गुरको खोर देखाउँदै महासचिवले भन्नुभयो– हेडवाक्वार्टरले श्रम गरेर हुर्काएको यो खोरको बङ्गुरको मासु आज पत्रकारहरूलाई चखाएर पठाउने हो ।

निर्माण सम्पन्न हुँदै गरेको महासचिव निवासको भुइँतलाको खाली जमिनको एकातिर जाली हालेर राखिएका हाँस र स्थानीय जातका कुखुराका चल्लाहरू चारो टिपिरहेका थिए ।

महासचिवका लागि निर्माणाधीन निवासको तलामाथि उभिएर पूर्वतिरको पोखरीतिर औँल्याउँदै कमरेड असलले भन्नुभयो– यो पोखरीको यतापट्टिको भागमा सेन्ट्री पोस्टसहित केही आकर्षक कटेजहरू बन्नेछन् । तपाईंहरू फेरि अवलोकनका लागि आउँदा ती कटेजमा बसेर हाम्रो श्रमको थप परख गरौँला…।

के माछा तारेर ख्वाउने विचार छ र कमरेड हामीलाई ?– मैले अलि ठट्यौलो पाराले सोधेँ ।
माछा, बङ्गुर, खसी, तरकारी जे पनि हुन सक्छ– कमरेड असलले उत्पादनहरू अझै बढ्नेतिर सङ्केत गर्नुभयो ।

उत्पादनकार्य देशैभर भइरहेको र पार्टीका पूर्णकालीन कार्यकर्ताहरू पार्टीको उत्पादनबाटै टिक्ने अवस्था उत्पन्न हुन लागेको कार्यालय सचिव असलले बताउनुभयो । कमरेड विजय, असल, सन्तोषी, सुन्दर, सञ्जीवलगायतको बलियो टिम महासचिव विप्लवको प्रत्यक्ष निर्देशन र नेतृत्वमा वैचारिक–राजनीतिक गतिविधिका साथै उत्पादन र निर्माणमा पनि व्यस्त छ । यो शिवराज नगरपालिका वडा नं. ९ हो । प्रतापपुर यहीँ नजिकै छ जहाँ जनसङ्ग्रहालय निर्माणाधीन छ र डीपीआर तयार हुँदैछ ।

हुस्सुले कुन दिशा कता हो भन्ने ठम्याउन दिएको छैन तर आठ वर्षअघि वैद्य समूहसँग विद्रोहको भ्रूण तयार भएको अन्तरक्रियात्मक भेलास्थल शिवगढी जङ्गल यहीँबाट उत्तरतिर हो भन्ने अनुमान लगाएको छु मैले । एउटा शरीरले दुईपटक लगातार ठूल्ठूला अप्रेसन झेलेजस्तो प्रचण्ड र वैद्य समूहसँग लगातार विद्रोहको धावा बोलेको समय थियो त्यो । हामी जनक्रान्तिलाई हृदय र मस्तिष्क दुवैको केन्द्रमा राखेर उत्साहित बन्दै आएका थियौँ २०७१ सालमा शिवगढी जङ्गलमा । रातदिन बहस गरेर निकालिएको थियो क्रान्तिको नयाँ र विकसित मोडेल एकीकृत जनक्रान्तिको निष्कर्ष त्यही भेलाबाट । त्यसपछि पहिलोपटक आएको हुँ म शिवगढी । त्यतिबेला शिवगढी गाउँपालिका थियो यो ठाउँ, अहिले शिवराज नगरपालिकाको वडा नम्बर नौ भएको रहेछ ।

स्वास्थ्यकेन्द्र ऊः त्यहाँ निर्माण हुँदैछ– महासचिवले बाक्लो हुस्सुतिर औँल्याउँदै इशारा गर्नुभयो– त्यो पनि हेरेर सुझाव दिनुहोला है ?
त्यहाँ पुग्न कति समय लाग्छ कमरेड ? मैले सोधेँ ।
२–३ मिनेट लाग्छ होला बढीमा– कमरेड सुन्दरले भन्नुभयो ।

खानापछि त्यो पनि हेरेर जानुहोला आएको समयमा– महासचिव कमरेडले भन्नुभयो । केही लेखिहाल्नुभयो भने नबढाईकन लेख्नुहोला है– उहाँले सावधान गराउँदै भन्नुभयो ।

असोजमा आयोजित पार्टी प्रशिक्षणमा रिपोर्टिङका क्रममा मैले पार्टीको केन्द्रीय भेलामा पार्टीलाई आवश्यक कुराको प्रचारमा दख्खल राख्ने क्रान्तिकारी गोयबल्स क्याडरहरू चाहिएको कुरा उठाएको थिएँ । महासचिवले सायद त्यसैतर्फ सङ्केत गर्नुभएको हो कि भन्ने भान प¥यो मलाई । क्रान्तिकारी वैचारिक–राजनीतिक आन्दोलनको नेतृत्व गरिरहेको पार्टीको महासचिव कमरेड आफैँ श्रम, उत्पादन र निर्माणको पनि नेतृत्व गरिरहनुभएको छ । यो कुनै बढाइचढाइ गर्नुपर्ने विषय नै होइन कमरेड– मैले उहाँको आशङ्का चिर्दै भनेँ– श्रमिक जनताको नेताले श्रम गरेको विषय उसै स्थापित छ । तपाईंको यो सामान्य जीवनशैली र श्रमप्रतिको अतिमोह क्रान्तिकारी युवाहरूका लागि उसै सन्देशमूलक छ । ढुक्क हुनुहोला, यसमा केही पनि थपिनेछैन । यसमा केही थप्नै पर्दैन, बरु तपाईंको नेतृत्वमा जति सङ्घर्ष, श्रम र उत्पादन भएको छ, यसका बारेमा कुनै पनि चर्चा भएको छैन । यसलाई प्रचार गरेर जनतामा पु¥याउनु आवश्यक छ । दलालहरूलाई झापड दिनेछ यस विषयले । श्रमचोरहरूलाई यसले राम्रो पाठ सिकाउनेछ । दलाल पुँजीवादले यो पुस्तालाई श्रमप्रति अविश्वास र घृणा फैलाएको छ । यस किसिमका सन्देशले मानिसलाई श्रमप्रति अगाध आस्था र निष्ठा जगाउनेछ ।

मनका कुरा निर्धक्क राख्दै मैले महासचिवकी जीवनसँगिनी कमरेड शोभाले बाँड्दै गरेको केराको कोसातिर हात लम्काएँ ।

यी केराका कोसाहरू सबै केटाकेटीको मुखमा परून्– महासचिव कमरेडले पाकेको केराका कोसाहरू काटेर भाग लगाइदिँदा मैले उहाँमा पाको कमरेड माओको जनशैली अवतरण भएको देखेँ । यो कुनै बढाइचढाइ थिएन । महासचिवका वरिपरि थुप्रै केटाकेटीहरू झुम्मिएका थिए । केही पाका मानिसहरू पनि थिए । युवाहरूको त भीड नै थियो । केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैलाई एकैसाथ उस्तै माया गर्न जान्ने अनि विचार र व्यवहारबीच तालमेल मिलाउन सक्ने कस्तो प्रतिभा होला महासचिवभित्र…म अलि ईष्र्यालु बन्दै महासचिवका गतिविधि नियालिरहेको थिएँ ।

‘कति मसिना कुरामा पनि उत्तिकै ध्यान दिन भ्याउनुभएको होला, हगि महासचिव कमरेडले ?’, मुक्तिले मलाई यसो कोट्ट्याएर खुसुक्क भन्न भ्याइहाल्नुभयो । म जुन कुरा मनमा खेलाइरहेको थिएँ, मुक्तिलाई पनि त्यही कुराले प्रभाव पारेको रहेछ ! जनशैली एक अद्भुत कला पनि हो भन्ने मलाई लाग्यो । त्यसमा कुनै बनावटीपन थिएन । हृदयदेखिकै कुरा थियो । झीरमा मासुका ससाना टुक्राहरू ओर्काफर्काई पोलेर दामासाही भाग लगाउनुभयो महासचिवले । आफूले एउटा सानो टुक्रा मात्र लिनुभयो र सबै नेता–कार्यकर्ता, बालबालिका र आगन्तुकहरूलाई पनि थपीथपी पुर्याउनुभयो ।

‘आठ वर्षपछि भेट भयो नि ?’, महासचिव कमरेडकी जीवनसँगिनी शोभाले २०७१ सालमा बुद्धनगरको कोठामा खाना खाएको घटनातिर फर्काउनुभयो समयलाई । यसबीचमा नदी र खोलाहरूमा कयौँ योद्धाहरूको रगत बगिसकेको छ । अलि पाको उमेरकी देखिइरहनुभएको थियो कमरेड शोभा तर व्यवहार उस्तै नम्र थियो र झन् बढी जिम्मेवारीबोधले होला आँखा र गालाका बीचमा चाउरीका अलि बढी धर्साहरू देखिएका थिए । समय त फुत्तै कट्यो– नातिनीलाई लालसलाम गर्न लगाउँदै हुनुहुन्थ्यो उहाँ । यस्तै लालसलाम एकछिन अघि महासचिवले पनि फर्काउन सिकाउनुभएको थियो नातिनीलाई । वर्षदिनजतिकी नातिनी हातमा हँसिया बोकेर साथीभाइहरूलाई लखेटिरहेकी थिइन् ।

उहाँले पकाएको खाना यसैगरी खएका थियौँ हामीले सँगै बसेर । महासचिवले उहाँ, आफू र मलाई पालैपालो खाना पस्किनुभएको थियो बुद्धनगरमा । आज पनि त्यसै गर्नुभयो । त्यतिबेला एचक्यूमा अलि थोरै मानिस थिए, अहिले अलि बढी छन् । तर मुख्य मानिसको स्वभाव, क्रियाकलाप र विश्वासमा कतै परिवर्तन देखिँदैन ।

नेताहरू धेरै हुन्छन् तर स्रष्टा र नेता व्यक्तित्व एउटैमा फेलापार्न कि लेनिनलाई कि त माओलाई हेर्नुपर्छ । कहिले बालकजस्तो, कहिले वयस्कजस्तो, कहिले वृद्धजस्तो, जसले जताबाट हेर्यो उस्तै व्यक्तित्व सबैको हुँदैन । स्रष्टासहितको परिपक्व नेतृत्वहरूमा मात्र त्यस्तो विलक्षण प्रतिभा हुन्छ ।

विशाल याङ्त्से नदीको भेलमा पौडी खेल्ने माओ र विप्लवलाई तुलना गर्ने प्रयास गरेँ मैले । यो अतिशयोक्ति थिएन । यत्तिको भेल त अब सजिलै तर्न सकिन्छ– भेलमा पौडी खेलिसकेपछि कमरेड माओले सहयोद्धाहरूलाई भन्नुभएको थियो । त्यो चीनमा क्रान्ति जारी रहेकै सन्दर्भको कुरा थियो । क्रान्ति सम्भव छैन भन्दै दलाल पुँजीवादको पाउमा लम्पसार परेका प्रचण्ड–बाबुरामहरूबाट विद्रोह गर्दै र क्रान्ति हुने भए लेनिन र माओले भने र गरेजस्तै प्रक्रियाबाट हुन्छ, नत्र हुँदैन भन्दै अकर्मण्यतामा फसेका वैद्यहरूलाई चुनौती दिँदै क्रान्तिको कार्यदिशा विकास गरेका विप्लवमा माओको त्यही शैली र व्यवहार देख्छु म ।

‘निर्माणाधीन पार्टी केन्द्रीय सम्पर्क कार्यालयको अवलोकन गर्न भ्याउनुभयो कि भएन ?’, महासचिवले सोध्नुभयो, ‘रातो खबरको केन्द्रीय कार्यालय पनि त्यहीँ हुनेछ…।’ महासचिवको पछिल्लो वाक्क सुनेपछि म अवाक् भएँ !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :