जनपत्रकार सङ्गठन रूपन्देहीले पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

जनपत्रकार सङ्गठन रूपन्देहीले पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

काठमाडौँ : नेकपा निकट जनपत्रकार सङ्गठन नेपाल रूपन्देहीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार जनपत्रकार सङ्गठनले महासंघको कार्यालयमा पुगेर अध्यक्ष रामराज पोखरेललाई पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा जिल्लामा रहेका श्रमजीवी पत्रकारहरूको न्युनतम् पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुुनिश्चित गर्न ठोस पहल गर्न, जिल्लाभित्र रहेका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाउन, पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ ।

त्यस्तै समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गर्न, पत्रकारहरूको बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न, जिल्लाभित्र रहेका मिडियाको संस्थागत रुपमा क्षमता विकासको लागि पहल गर्न र पत्रकारको लागि निःशुल्क रुपमा कोरोना बिमा जोखिम भत्ताको लागि सम्बन्धित निकायमा पहल गर्न सङ्गठनले माग गरेको छ ।

ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा सङ्गठनका प्रदेश सहसचिव बिहानी मगर, सङ्गठनका जिल्ला संयोजक श्रीधर ज्ञवाली, पीएन न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

महासंघ अध्यक्ष रामराज पोखरेलले सङ्गठनले उठाएको बिषय महत्वपूर्ण भएको भन्दै यसको कार्यान्वयनका लागि महासंघले ठोस पहल गर्ने बताए । उनले पत्रकारहरूको सामूहिक समस्या रहेको भन्दै यसका लागि सबै सङ्गठनले महासंघलाई सहयोग गर्नुपर्ने बताए ।

जनपत्रकार सङ्गठनले देशभर ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गर्ने कार्यक्रम अन्तर्गत रुपन्देहीमा सङ्गठनले ज्ञापनपत्र बुझाएको हो । बुधबार प्रदेश अध्यक्ष दीपेश विष्टको नेतृत्वमा गएको टोलीले लुम्बिनी प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :