महिला आन्दोलनबारे महिला साथीहरूसँग छलफल

गत वर्ष बाजुरा जिल्लाको रुमिन गाउँकी विपन्न परिवारकी दलित महिला सप्पा नेपालीले गरिबी र भोकमरीकै कारण आफ्ना चार सन्तानसहित कवाडी खोलामा हामफालेर ज्यान गुमाएको घटना र दैलेख राकमकी सुबी बडुवालले घरेलु हिंसाको पीडा सहन नसकी आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेर ज्यान गुमाएको घटना स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकामा निकै चर्चाका विषय बने ।

महोत्तरी जिल्लामा भर्खरै झवसी ठाकुर र सनैतादेवी ठाकुरलाई धामी र बोक्सी भन्दै मलमूत्र खुवाई कुटपिट गर्दै गाउँ निकाला गरेको खबर छ ।
निर्मला र भागीरथीजस्ता सयौँ चेलीको बलात्कार र हत्याको चित्कार करिब दिनप्रतिदिन गुन्जिरहन्छन् ।

म कैलाली कारागारमा राजबन्दीका रूपमा रहँदा त्यहाँ कैदीबन्दीका रूपमा रहेका महिलाहरूलाई बन्दी हुनुको कारण सोध्दा एकजना ६० वर्ष आसपासकी दिदीले भक्कानिँदै आफ्नो पीडा सुनाइन्, ‘मानसिक रोगी आफ्नी बुहारीले आत्महत्या गर्न लागेको देखेर पासो लगाएको डोरी काटिदिएँ बचाउनलाई तर बुहारी बाँचिन । उसका माइतीले मेरो कसुर ठानी मलाई जेल हाले । १० वर्ष भयो, मुद्दा सर्वोच्चमा पेसी छ । न फैसला हुन्छ, न त मेरो मुद्दा लडिदिने कोही छ । मैले कहाँ गएर न्याय पाउने ?’

सार्वजनिक गाडीहरूमा यात्रा गर्दा महिला सिट लेखिएको ठाउँमा बसेको पुरुषलाई उठाउन खोज्दा वरपरका पुरुषहरूको समेत एकमुष्ठ आवाज घन्किन्छ, ‘बराबरी अधिकार खोज्नेले किन छुट्टै सिट र विशेष सुविधा खोज्ने ?’

एउटा सार्वजनिक कार्यक्रममा सहभागी एकजना महिलाले मञ्चतिर हेर्दै टिप्पणी गरिन्, ‘मञ्चमा त एकजना महिला पनि छैनन् ए ।’
एक दिन एकजना शिक्षित महिला साथीले फोनमा जिज्ञासा र प्रश्न गर्दै भनिन्, ‘दिदी तपाईं त महिला सङ्गठनकी अध्यक्ष । राजनीतिक पार्टी वा तिनका आङ्गिक वा जनवर्गीय सङ्गठनहरूको प्रमुखमा महिलाहरू किन पुग्न सक्दैनन् ?’

महिला साथीहरू यी प्रतिनिधिमूलक घटना, पीडा, आक्रोश, जिज्ञासा र प्रश्नहरू तपाईंहाम्रा व्यक्तिगत अनुभव र अनुभूति मात्र होइनन्, यी त वर्तमान समाजका ऐना हुन् । तपाईंहाम्रो जीवन मात्र होइन, लाखौँकरोडौँ महिलाहरूको जीवनका सूची हुन् । जब अखबारका पानामा यस्ता सूची दैनिक रूपमा पढ्नुपर्छ, टेलिभिजनका पर्दा र सामाजिक सञ्जालका भित्ताहरू यिनै कुराले सधैँ रङ्गिएको देख्नुपर्छ । हाम्रो मनमस्तिष्कमा ठूल्ठूला भोल्टका करेन्ट लाग्न थाल्छन् । आफैँले निर्माण गरेका आदर्श, मूल्य–मान्यताहरू भत्किएर आफैँले खनेको राजनीतिक गोरेटोमा पहिरो गई त्यही पहिरोमा थिचिएको अनुभूति हुन्छ कहिलेकहीँ । महिला हुनुको नाताले महिलाको जीवन बदल्नुपर्छ भन्ने मान्यता राख्नुका कारण यस्ता विषयप्रति संवेदना जाग्नु अन्यथा पनि होइन । तर हाम्रो समाजको अर्को पाटो पनि छ सुन्दरताको उज्यालो पाटो । हामीले हाम्रो जीवनको, समाजको र राजनीतिक व्यवस्थाको दुवै पाटोलाई केलाएर हेर्नुपर्छ, समीक्षा गर्नुपर्छ, सहीलाई सही र गलतलाई गलत भन्ने, नराम्रोको विरोध गर्ने, राम्रोको अनुसरण गर्ने ल्याकत पनि राख्नुपर्छ । आज म तपाईंहरू सङ्गठनका साथीहरू र महिलासम्बन्धी सरोकार राख्ने साथीहरूसँग केही विषयमा छलफल गर्न खोज्दैछु ।

साथीहरू, हामी समाज बदल्ने सुन्दर सपना बोकेर सङ्घर्षको मैदानमा निःस्वार्थ हामफालेका मान्छे हौँ । हामफाल्नुभन्दा पहिले नै हामीले देखेका र अनुभूति गरेका थियौँ, विद्यमान समाजमा हाम्रो (महिलाको) अवस्था सामाजिक संरचनाको सतहमा छैन । पिँधमा छ । पिँधको विशेषता सबै भार थेग्ने हो अर्थात् सबै सहने हो । विज्ञानको नियम यस्तो छ, जब सतहको भारलाई पिँधले थेग्न सक्तैन त्यतिबेला भूकम्प जान्छ, ज्वालामुखी फुट्छ अनि सतहको स्वरूप बदलिन्छ । मानव समाजमा बेलाबेला आउने भूकम्प वा ज्वालामुखी नै आन्दोलन र क्रान्ति हुन् जसले सामाजिक संरचनामा परिवर्तन ल्याइदिन्छ र नयाँ मान्यतासहितको संरचना स्थापित हुन्छ ।

मानव समाजमा जति बेलादेखि महिलाहरूले पिँधको भूमिकामा रहनुपर्यो त्यति बेलादेखि नै विभिन्न खालका भूकम्प अर्थात् आन्दोलनहरू पनि हुँदै आएका छन् । ज्वालामुखी फुट्ने अर्थात् सतह बदल्ने क्रान्ति भने कहिलेकहीँ मात्र हुने गर्छन् । त्यस्ता क्रान्तिले युग नै बदल्ने गरेका छन् ।

हामीले बुझ्नुपर्छ, महिलामाथिको शोषण, दमन, उत्पीडन, विभेद, अन्याय, अत्याचार नै महिला आन्दोलनका आधार हुन् । समाजमा त्यसो हुँदैनथ्यो भने आन्दोलनको आवश्यकता पनि पर्ने थिएन । मानव हुनुको नाताले एउटै विशेषताका प्राणीहरूमा जुन खालको विभेदको रेखा कोरियो त्यसले नै महिलाहरूलाई समानता, स्वतन्त्रता र मुक्तिको खोजी गर्ने चेतनाको विकास गर्यो । आजपर्यन्त त्यो चाहनाको खोजी गर्ने सङ्घर्ष जारी छ । इतिहासतिर फर्केर हेर्ने हो भने के कुरा प्रमाणित हुन्छ भने समयसमयमा बदलिएको मानव समाजको संरचनामा महिला उत्पीडनका रूपहरू बदलिएका छन् तर सार उस्तै छ– शोषण र दमनकारी । यही बुझेर नै हामी आन्दोलनमा समाहित छाैँ ।

हामी अहिले २१ औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा छौँ । यो युगसम्म आइपुग्दा मान्छेले हिजो कल्पनै गर्न नसक्ने चिजको विकास गरेको छ । विज्ञानको विकासले एकातिर मान्छेले जीवनलाई कल्पनै गर्न नसक्ने गरी सरल र सुलभ बनाइदिएको छ भने अर्कोतिर विज्ञान र प्रविधिको पहुँचबाट टाढा रहेका मानिसहरू एक छाक खान नपाएर, शरीर ढाक्ने कपडा नपाएर मरिरहेका छन् । त्यति मात्र होइन, मङ्गलग्रह र चन्द्रमामा बस्ती बसाल्ने सोचाइमा पुगेको मान्छेको चेतना एकातिर छ भने अर्कोतिर नरबली दिएर धर्म कमाउने अचेतना पनि छ । एउटै पृथ्वीमा बसेका मानिसहरूको अवस्था र चेतनामा किन यति ठूलो खाडल छ ? हामीले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्दछ । त्यसका पछाडि धेरै कारणहरू छन् तर सबैभन्दा महत्वपूर्ण कारण भनेको मान्छेले गरेको सङ्घर्ष र मेहनत हो । जहाँका मानिसहरूले कडा मेहनत र सङ्घर्ष गरे त्यहाँ विकासले फड्को मार्यो । विज्ञानको आविष्कार भयो । जहाँका जनताले मेहनत र सङ्घर्ष गर्न सकेनन्, त्यहाँको समाज पछि पर्यो र अन्धविश्वास अनि रूढिग्रस्त बन्दै पछाडि पर्यो ।

नेपाल विज्ञानप्रविधि र विकासको हिसाबले पछि परेको देश हो । त्यसको प्रत्यक्ष प्रभाव हाम्रो समाज र महिलाहरूको जीवनमा परेको छ । त्यसैले त हामी उन्नत चेतना निर्माण गर्ने आफ्नो समाज र देशलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ।

हामी गाउँसहर पुग्दा डुल्दा वा दिदीबहिनीहरूसँग भलाकुसारी गर्दा थुप्रै प्रश्नहरू आउँछन् । कसैले समस्याको पोको फुकाउँछन् त कसैले पीडाको । कसैले न्याय माग्छन् त कसैले सहयोग । कसैले आक्रोश पोख्छन्, अहिलेसम्म लडेर के पायौ ? पटकपटकको आन्दोलनले नेपाललाई के दियो ? त्यत्रा मान्छे मरेर के उपलब्धि भयो ?

हामीले धैर्यपूर्वक आमदिदीबहिनीको कुरा सुन्नुपर्छ, दुःख बुझ्नुपर्छ र इतिहासबारे सत्यतथ्य बताइदिनुपर्छ ।

नेपालमा विगत लामो समयदेखि विभिन्न खालका आन्दोलनहरू हुँदै आएका छन् । खासगरी राजनीतिक आन्दोलन नेपालको सामाजिक आर्थिक आन्दोलनको अगुवा हो समाजका हरेक समस्याहरू राजनीतिक व्यवस्थासँग जोडिएका हुन्छन् । त्यसैले समाजको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन हुनुपर्छ । त्यसैका लागि मान्छेहरू राजनीतिक आन्दोलनमा लाग्छन् ।

यो कुरा सत्य हो– हरेक आन्दोलन वा क्रान्ति उथलपुथलपूर्ण हुन्छन् । क्रान्तिमा आँट, साहस वीरता र विवेकको खाँचो हुन्छ । त्यसले त्याग, समर्पण र बलिदानको माग गर्दछ । यो सबै प्रक्रिया पूरा गरेर मात्र क्रान्तिले सार्थकता पाउँछ । क्रान्तिमा वा आन्दोलनमा कायम गरिएका कीर्तिमानहरू उत्सर्ग र बलिदानको प्रेरणाले नै क्रान्तिपछिको समाज निर्देशित र प्रेरित हुन्छ ।

हामीले इतिहास भुल्नु हुँदैन । २००७ सालको क्रान्तिले एकदलीय जहाँनियाँ रणा शासनको अन्त्य गर्यो र प्रजातन्त्रको स्थापना गर्यो । त्यो क्रान्तिमा महिलाहरूले पनि सहभागिता जनाएका थिए । पढ्ने, लेख्ने, बोल्ने र दल खोल्ने अधिकार पाएको त्यो समयमा महिलाहरूले भोट हाल्ने अधिकार पाएका थिए ।

३० बर्से पञ्चायतकाल एकदलीय निरङ्कुश शासन व्यवस्था थियो । त्यो व्यवस्थामा नागरिक अधिकारमाथि प्रतिबन्ध लगाइएको थियो । जनताले त्यो व्यवस्था रुचाएनन् र आन्दोलन गरे । त्यसको परिणामस्वरूप २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भयो । २०४६ सालको आन्दोलनमा पनि महिलाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेनन्, बलिदानसम्म दिए । यो आन्दोलनको .उपलब्धिस्वरूप स्थापना भएको संसदीय व्यवस्थाले महिलालाई भोट हाल्ने मात्र होइन, जनप्रतिनिधि चुन्न–चुनिन पाउने अधिकारको सुनिश्चितता गर्यो । २०४७ सालको संविधानले चुनावमा भाग लिने पार्टीहरूले कम्तीमा ५% महिला उम्मेदवार उठाउनुपर्ने प्रावधान राख्नु यसैको उपज थियो । तर तत्कालको परिस्थितिमा यो उपलब्धिमूलक भए पनि यसको प्रभाव आममहिलाहरूमा पुग्न सकेन । सीमित उच्च वर्गका महिलाहरू मात्र यो अधिकार प्रयोग गर्ने तहमा थिए ।

२०५२ सालमा सुरु भएको जनयुद्ध मात्र यस्तो आन्दोलन हो जसले सहरका गल्ली गल्लीदेखि गाउँका दूरदराज बस्तीहरूमा रहेका महिलाहरूलाई नेपाली महिलाहरूको वास्तविक स्थिति बोध गराउँदै आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्यो । समाजका विद्यमान लैङ्गिक विभेद, आर्थिक असमानता, सामाजिक, सांस्कृतिक उत्पीडनजस्ता अन्यायका विरुद्ध सशक्त सङ्घर्ष मात्र होइन, ती विभेदहरूलाई संरक्षण गर्ने राज्यसत्ताविरुद्ध बन्दुक बोकेर लड्ने साहससमेत प्रदान गर्यो । त्यो आन्दोलनले नेपालको राजनीतिमा महिलाको भूमिकालाई जबर्जस्ती स्थापित मात्र गरेन, राज्यसत्ताका हरेक अङ्गमा महिलाको अनिवार्य उपस्थिति वा सहभागिताको सुनिश्चितता गर्यो । राष्ट्रपति र उपराष्ट्रपतिमा एकजना महिला हुनुपर्ने, गाउँपालिका, नगरपालिकाहरूमा प्रमुख–उपप्रमुखमा १ जना महिला हुनुपर्ने, सदनमा ३३% महिला हुनुपर्ने, सेना, प्रहरी र कर्मचारी संयन्त्रमा महिला कोटा निर्धारण आदि यो आन्दोलनको उपलब्धि हो ।

महिला आन्दोलनमा लागेर के पाएँ वा के पायौँ भन्नेहरूलाई यो आन्दोलनको सापेक्षित उपलब्धि हो भनेर राम्ररी बुझाउनुपर्छ हामीले र हामी आफैँले पनि आफूले गरेको कर्मप्रति गर्व गर्नुपर्छ । इतिहासका यी कुराहरूलाई बुझ्न–बुझाउन र मनन गर्न सकेनौँ भने हामी आफैँ पछि पर्छौंँ, कसैले पछि पार्नै पर्दैन ।

यी उपलब्धि हुँदाहुँदै पनि हामी निरन्तर आन्दोलन र क्रान्तिमै छौँ । कतिपयले कुरा उठाउँछन्, त्यत्रो जनयुद्ध लडेर पुगेन, अझै कति आन्दोलन गर्ने हो ? देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, महिला प्रतिनिधित्वका कुरा आए, अब अरू के चाहियो ?

महिला साथीहरू, हामीहरू अब विगतबाट वर्तमानमा फर्कनुपर्छ हाम्रो समाजको जमिनी यथार्थमा टेक्दै आधार र उपरिसंरचनाको अवस्थालाई नियाल्दै प्रश्नका जबाफ खोज्ने र यथास्थितिमा प्रश्न गर्ने आँट गर्नुपर्दछ ।

हामीले भन्न सक्नुपर्छ, हो हामीले जनयुद्ध लड्यौँ, जनआन्दोलन गर्यौँ । त्यसले नेपालमा राजतन्त्र ढाल्यो तर सामन्तवाद ढाल्न सकेन । त्यसले दलालहरूको लोकतन्त्र ल्यायो, जनताको जनवाद ल्याउन सकेन । त्यसले सम्भ्रान्तहरूको पुँजीवाद ल्यायो, श्रमिकहरूको समाजवाद ल्याउन सकेन । त्यसले जातीय विभाजन ल्यायो, राष्ट्रिय एकता ल्याउन सकेन । त्यसैले यो बदल्नका लागि हामी आन्दोलनमा छाैँ, क्रान्तिमा छौँँ । हाम्रो लक्ष्य पूरा नहुन्जेल हामी निरन्तर अघि बढिरहन्छौँ ।

जहाँसम्म महिला अधिकार र प्रतिनिधित्वको कुरा छ, राज्यको उपरिसंरचनामा केही नीतिगत सम्बोधन भए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । आधारभूत वर्गका महिलाको त कुरै छोडौँ । त्यसो हुँदो हो त माथिका घटना, पीडा, जिज्ञासा, प्रश्न र गुनासा उठ्ने नै थिएनन् ।

हामीले यतिचाहिँ भन्न सक्छौँँ– हामीले ल्याएको लोकतन्त्रले, गणतन्त्रले हामीलाई बोल्ने र प्रश्न गर्ने अधिकार दिएको छ, त्यसैले हामीले जबाफदेही निकाय (जो आन्दोलनका उपलब्धिलाई कार्यान्वयन गर्ने ठाउँमा छन्) लाई बारम्बार प्रश्न गरेका छौँ, गाँस, बास, कपास र खाद्य सम्प्रभुताको ग्यारेन्टी भएको देशमा सच्चा नेपालीहरू कहिलेसम्म भोकै मर्नुपर्ने हो ? सुकी बडुवालहरूले कहिलेसम्म कर्णालीमा हामफालेर मर्नुपर्ने हो ? नागरिक सुरक्षा र सुशासन कायम गर्ने भनिएको देशमा निर्मला र भागीरथीहरूले कहिलेसम्म न्याय पाउने हुन् ? बोक्सी, दाइजो र एसिडका कारण कतिले ज्यान गुमाइरहनुपर्ने हो ? पेट पाल्नकै लागि र दैनिक गुजारा टार्नकै लागि देहव्यापार र विदेशका कोठी र गल्लीहरूमा हाम्रा दिदीबहिनीहरूले कहिलेसम्म बेचिनुपर्ने हो ? ठूलाबडा र पैसावालहरू जस्तोसुकै अपराधमा पनि उन्मुक्ति पाउने तर निर्दोष, निमुखाहरूले सजायको भागीदार बनिरहनुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ?

त्यस्तै हाम्रासामु खडा भएका प्रश्नहरू महिलाको नेतृत्व विकास र समानुपातिक प्रतिनिधित्वको कुराप्रति हाम्रा गम्भीर बन्नै पर्दछ र उत्तर दिने अवस्था सिर्जना गर्नै पर्दछ । यी प्रश्नहरू हाम्रा मात्र प्रश्न होइनन्, आम महिला र जनताका प्रश्न हुन् । यी प्रश्न ओठे जबाफका लागि पनि होइनन् । यी त समाधानका लागि हुन्, घटना नदोहोर्याउनका लागि हुन् । हामीले बुझ्नुपर्दछ, प्रश्न आफैँमा आन्दोलन पनि हो । जब जबाफदेही निकायले प्रश्नको बेवास्ता गर्छ वा जबाफ दिने ल्याकत राख्दैन तब त्यो ठूलो आवाजका साथ सडकमा पोखिन्छ अनि बृहत् अन्दोलनका रूपमा बदलिन्छ । आन्दोलन त्यस्तो चीज हो जो सुरुमा प्रश्न बोकेर उभिन्छ, जबाफ खोज्छ, जबाफ नपाए विद्रोह गर्छ अनि विकल्प बोकेर आउँछ । विकल्पले समाज परिवर्तन गर्छ ।

हामीले पनि प्रश्नहरूलाई आन्दोलनमा बदल्नुपर्छ र बदलिरहेका पनि छौँ । तर जबाफदेही निकाय चुपचाप छ मानौँ केही भएकै छैन । यो अवस्थाले आमजनताको चेतना जबाफ खोज्ने होइन विकल्प सोच्ने स्तरमा पुगेको छ ।

आजदेखि महिला साथीहरूले जिज्ञासा राख्नुहुन्छ, यो अत्याचारको विकल्प के हो ? अब हामीले के गर्नुपर्छ ?

यस सन्दर्भमा लेनिनको भनाइ निकै महत्वपूर्ण छ, ‘राज्य व्यवस्था जति धेरै जनवादी हुनेछ, मजदुरले त्यति नै अवधि स्पष्टताका साथ देख्न सक्नेछन् कि खराबको जड अधिकारको अभाव होइन, पुँजीवाद हो ।’ अहिलेको हाम्रो राज्य व्यवस्था र हाम्रो जीवनपद्धतिले ठ्याक्कै यही कुराको बोध गराएको छ । हिजो सामन्तवादले महिलालाई घरेलु दास बनायो । त्यसबाट छुट्कारा पाउन विद्रोह गरेका महिलालाई दलाल पुँजीवादले सडकमा बेवारिस छोडिदिएको छ । अहिले महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार, श्रमशोषण, विभेदजस्ता अत्याचार यही परिस्थितिका उपज हुन् । दलाल पुँजीवादको रूपमा ठूल्ठूला अधिकार र स्वतन्त्रताको कुरा गर्छ सारमा नयाँ भेषको गुलाम र खेलौना बनाउँछ । त्यसैले अहिलेको आवश्यकता महिलाहरूको दासत्वपूर्ण जीवनको अन्त्य, स्वाधीन, आत्मसम्मान र आत्मनिर्भरतासहितको स्वतन्त्रता हो । पुँजीवादी व्यवस्थाबाट यो सम्भव हुँदैन ।

हामीले सम्पूर्ण दिदीबहिनीहरूलाई भन्नुपर्छ, तपाईंको समस्याको कारण तपाईं मात्र होइन, तपाईंहाम्रो जीवनलाई निर्देशित गर्ने दलाल पुँजीवादी राज्य व्यवस्था हो । उसलाई मानवीय मूल्यको केही अर्थ लाग्दैन, फगत पैसाको लागि जे पनि गर्छ । यही दुष्चक्रमा परेर कयौँ महिलाहरूको जीवनलीला समाप्त भइरहेको छ ।

यी सबै समस्याको एक मात्र विकल्प भनेको दलाल राज्यव्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना हो । वैज्ञानिक समाजवाद त्यस्तो प्रणाली हो जहाँ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र सञ्चार जनताको मौलिक अधिकारभित्र पर्दछ र त्यसलाई राज्यले ग्यारेन्टी गरेको हुन्छ । यो व्यवस्थाको मुख्य उद्देश्य न्याय, शान्ति, स्वतन्त्रता र समानताको प्रत्याभूतिसहितको मानव समाज निर्माण गर्ने हुँदा अहिलेका विकृति विसंगतिहरू क्रमशः हट्दै जानेछन् र सुन्दर सभ्य मानव समाजको निर्माण हुँदै जानेछ । त्यही व्यवस्थामा मात्र महिलाहरूले आफ्नो वास्तविक अधिकार र स्वतन्त्रताको प्रयोग गर्न सक्नेछन् ।

साथीहरू, हामीले आम महिलाहरूलाई वा श्रमजीवी जनताहरूलाई समाजवादको सपना देखाउने मात्र होइन, त्यसलाई प्राप्त गर्न हामीले के गर्नुपर्छ भन्ने कुरा पनि बुझ्नु, बुझाउनु र सिकाउनुपर्छ । त्यसका लागि निम्न कुरा महत्वपूर्ण छन् :

पहिलो, समाजमा महिलाविरुद्ध हुने हर प्रकारका विभेद, उत्पीडन, शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै महिला र पुरुषबीचको विभेदको अन्त्य गर्दै समानताको मूल्य स्थापित गर्ने ।

दोस्रो, महिलाहरूले आफ्नो राजनीतिक अधिकारको प्रयोग भन्दै महिलालाई नै दास बनाउने दलाल संसदीय व्यवस्था र तिनका दलाल प्रतिनिधि चुन्ने चुनावमा मत दिने गल्ती नगर्ने, बरु व्यवस्था चुन्ने जनमतसङ्ग्रहमा आफ्नो मताधिकारलाई प्रयोग गर्ने र आफ्नो अधिकार सुनिश्चित हुने वैज्ञानिक समाजवादमा मत जाहेर गर्ने ।

तेस्रो, समाजवाद निर्माणका लागि उत्पादन कार्यमा सहभागी भई श्रम र सिर्जनाको विकास गर्ने, समयलाई अधिकतम सदुपयोग गर्दै अध्ययन, लेखन, अनुसन्धान, सङ्गठन र सङ्घर्षमा नियमित क्रियाशील हुने ।

हाम्रो लगन, मेहनत र कर्मले मात्र समाजवादको ढोका खोल्न सकिन्छ । उन्नत र वैज्ञानिक समाजवादले मात्र महिलाहरू स्वतन्त्रता र मुक्तिको प्रत्याभूति दिन सक्छ ।

अन्त्यमा, समाजवादी नेत्री क्लारा जेट्किनको यो भनाइ निकै सान्दर्भिक छ, ‘सामन्तवादमा महिलाहरू पुरुषको दास हुन्छन् भने पुँजीवादमा रोजगार प्रबन्धकको दास हुन्छन् । वास्तवमा पुँजीवादको अन्त्य र समाजवादको उदयबिना नारी जातिको मुक्ति सम्भव छैन ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :