अल बिदा ! कमरेड सविता सिंह ‘वन्दना’

पन्ध्र महिनाको लामो हिरासत, जेल र फेरि हिरासतको कहरबाट बाहिरी दुनियाँको खुला आकाशमा निस्किएको केही दिन मात्र भएको थियो मेरो । आठपटकको गिरफ्तारी, रिहाइ पुनः गिरफ्तारीको चक्र पार गरेर सर्वोच्च अदालतको अन्तिम आदेश र कपिलवस्तु जिल्लाका पत्रकार, मानवअधिकारवादी र वकिल मित्रहरूको सहयोगमा खुला आकाश विचरण गर्ने मौका पाएकोमा खुसीले मन पुलकित थियो । बाहिर आएको खुसीमा देश–विदेशबाट मेरा आफन्त, शुभचिन्तक साथीहरू, कमरेडहरू तथा सबै–सबै मित्रजनहरूले दिएको बधाई र स्वागतका सन्देशहरू आत्मैदेखि सधन्यवाद समाल्दै थिएँ । सबैको माया, सद्भाव, स्नेह, आशा एवम् अपेक्षाको भारीले मलाई आफ्नो कर्तव्यबाट किञ्चित विचलित नहुने प्रेरणा प्रदान गरिरहेको थियो । पन्ध्र महिनासम्म पिँजडामा कुँजिएको शरीरलाई शारीरिक र मानसिक रूपले आराम दिलाउँदै थिए ।

यहीबीचमा जेठ १३ गते राती दस बजेतिर एक्कासि फोनको घन्टी बज्यो । म बिछ्यौनामा पल्टेर निदाउनै लागेकी रहिछु । अर्धनिद्रामै फोन उठाएँ । उताबाट एकजना महिला कमरेडले खबर सुनाउनुभयो– कमरेड सविता सिंह ‘वन्दना’ अब हाम्रोमाझ रहनुभएन… । अप्रत्याशित रूपमा सुनिएको यो दुःखद् खबरले म जर्याक–जुरुक उठेँ । मन बेचैन भयो । पीडाको भारीले मुटुमा थिचेजस्तो भयो । यो अप्रत्याशित खबरको विश्वसनीयता के हो भनेर उहाँलाई प्रतिप्रश्न गरेँ । उहाँले फेसबुकको स्रोत बताउनुभयो । कहिले, कहाँ र कसरी उहाँको यस्तो अवस्था भयो ? पूरा जानकारी पाउन सकिएन । खालि खबर थाहा पाउने साथीहरूले श्रद्धाञ्जलीसहितको स्टाटस लेखेकाले मात्र जानकारी पाएको उहाँले बताउनुभयो । मसँग त त्यो सुविधा पनि थिएन र तत्काल ती खबर हेर्न पनि सकिएन । उहाँका बारेमा करिब एक घन्टा कुराकानी गर्यौँ हामीले फोनमै । पीडा सबैलाई थियो । एउटा क्रान्तिकारी योद्धाको निधनको खबरले सबैको मन संवेदित थियो । म रातभर निदाउन सकिनँ । मेरो मानसपटलमा कमरेड वन्दना को मुहार, उहाँसँग भएको चिनजान र सहकार्यका तस्बिरहरू एकपछि अर्को गर्दै प्रदर्शित भए । भोलिपल्टदेखि मैले उहाँका बारेमा थप जानकारी पाउन सम्भव भएसम्मका स्रोतहरू खोजी गरेँ । पछि थाहा भयो, उहाँको निधन भारतको दिल्लीमा बाथ रोगको उपचारकै क्रममा जेठ १२ गते दिउँसो ४ बजे भएको रहेछ । देश मात्र होइन, संसारै कोरोनाको महामारीले आक्रान्त भई लकडाउन भएको बेला पनि उहाँको अत्येष्टि नेपालमै आफ्ना परिवार, स्थानीय पार्टी र जनसमुदायका बीचमा क्रान्तिकारी सम्मानका साथ भयो भन्ने सुन्दा निकै सन्तोष लाग्यो ।

कहिलेकहीँ नाम सुनिए पनि उहाँ र मेरो पहिलो परिचय जनयुद्धकालमा २०६० सालमा रोल्पा थबाङमा भएको थियो । उहाँहरू भेरी–कर्णाली क्षेत्रबाट विशेष आधारइलाकाको अभियानमा आउनुभएको थियो । पातलो शरीर, गहुँगोरो अनुहार, टाठो बोलीचाली भएकी वन्दना एकपटक भेट हुँदा सबैसँग घुलमिल हुनसक्ने स्वभावकी हुनुहुन्थ्यो । त्यहाँ हामीले केही समय सँगै बस्ने र अन्तर्घुलन हुने मौका पाएका थियौँ । त्यसपछिका दिनमा खासगरी महिला सङ्गठनका केन्द्रीय स्तरका कार्यक्रम र बैठकहरूमा हाम्रो भेट भइरह्यो ।

तत्कालीन एमाओवादी पार्टीभित्रको अन्तरसङ्घर्ष, त्यसपछिका पार्टी विभाजन र पुनर्गठनका क्रममा हाम्रो भेटघाट, छलफल बाक्लो र घनीभूत भएको थियो । सायद यो समय नै हामीबीचमा एक–अर्कालाई चिन्ने र सहकार्य गर्ने मौकामा परिणत भइदियो ।

भेरी–कर्णाली क्षेत्रको दुर्गम जिल्ला जाजरकोटमा २०३६ साल पुस १७ गते बुबा जयबहादुर सिंह र आमा मनकुमारी सिंहकी छोरीका रूपमा जन्मनुभएकी सविताको परिवार पनि क्रान्तिकारी आन्दोलनको खम्बा नै थियो । उहाँका बुबा जयबहादुर सिंह जनयुद्धका सहिद हुनुहुन्छ । बच्चादेखि वामपन्थी आन्दोलनमा सक्रिय सविताले विद्यार्थी सङ्गठन, महिला सङ्गठन, पार्टीका विभिन्न तह मात्र होइन; जनयुद्धकालमा जनमुक्ति सेनाको महिला प्लाटुन कमिसारको भूमिकासमेत निर्वाह गर्नुभएको थियो । आन्दोलन र बलिदानको धरोहर बनेको आफ्नो पारिवारिक पृष्ठभूमिका कारणले मात्र होइन, उहाँ स्वयम् पनि जातीय विभेद र छुवाछूतजस्तो सामाजिक कुसंस्कारले जकडिएको समाजलाई अन्तरजातीय विवाह गरी चुनौती दिने एक सांस्कृतिक योद्धा पनि हुनुहुन्थ्यो । जनयुद्धको प्रवाहले निर्माण गरेको अन्तरजातीय वैवाहिक सम्बन्धले सामाजिक संस्कार र मूल्यमा ल्याएको परिवर्तनको वाहक बनेकी कमरेड सविताको निधन भएको साता दिन नबित्दै उहाँको जिल्लाका दलित युवक प्रेम–सम्बन्धकै कारण, अन्तरजातीय प्रेम सम्बन्धकै कारण, अन्य युवकसहित सामूहिक हत्याको सिकार भएको घटनाले सिङ्गो समाज र देश मात्र होइन, अन्तर्राष्ट्रिय जगत्समेत तरङ्गित भएको छ ।

कस्तो असामान्य दृश्य ! एकातिर एउटी परिवर्तनकी सांस्कृतिक योद्धाको निधन, अर्कोतिर त्यति नै बेला अन्तरजातीय प्रेम–सम्बन्धका कारण मान्छेहरूमाथिको बीभत्स हत्याको दृश्य ! के यो प्रतिक्रान्ति होइन ? के यो जनयुद्धले निर्माण गरेको सांस्कृतिक मूल्यको क्षयीकरण होइन ? आज समाजमा वन्दनाजस्ता हजारौँ परिवर्तनकारी योद्धाहरू र उनले स्थापित गरेका सामाजिक, सांस्कृतिक मूल्य र योगदानहरू ओझेल र गुमनाम पारिँदैछन् भने त्यसका विरुद्ध मौलाएको जातीय, क्षेत्रीय र लैङ्गिक संस्कृतिले कैयौँ मान्छेको ज्यान गइरहेको छ ।

विद्यार्थीकालदेखि नै क्रान्ति र परिवर्तनलाई आत्मसात् गर्दै आन्दोलनमा होमिएकी कमरेड वन्दना आन्दोलनकारी र सांस्कृतिक योद्धा मात्र होइन; वैचारिक सङ्घर्षमा पनि खरो हुनुहुन्थ्यो । निरन्तर क्रान्तिकारी विचारका पक्षमा दृढ मत राख्दै माओवादी पार्टीमा भएका विभाजन र पुनर्गठनमा उहाँले आफ्नो सर्वहारावर्गीय पक्षधरता र क्रान्तिकारी दृढता प्रकट गरिरहनुभयो । जनयुद्ध हाँक्ने माओवादी पार्टी होस् वा शान्तिप्रक्रियापछि एमाओवादी विभाजनपछिको नेकपा–माओवादी होस् वा पुनर्गठनपछिको नेपाल कम्युनिस्ट पार्टी; सबैमा उहाँले विभिन्न जिम्मेवारी र मोर्चा समाल्नुभयो । पछिल्लो चरणमा उहाँ नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा चुनिनुभयो भने त्यसअघिदेखि नै उहाँले अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको जिम्मेवारी समालिरहनुभएको थियो । आफ्नो जिम्मेवारी र काममा सधैँ क्रियाशील भइरहने उहाँलाई कहिलेदेखि जीवन नै लिने गरी प्राणघातक रोग (बाथ) ले समात्यो ? यसबारे सुरुमा कसैलाई थाहा थिएन । एकपटक पार्टीको केन्द्रीय समितिको बैठकमा सँगै बस्दा उहाँले तातोपानीको गिलासमा हात डुबाएको देखेपछि मैले ‘के भो र तातोपानीमा हात राख्नुभएको ?’ भनी सोधेकी थिएँ । उहाँले सहज रूपमा ‘कहिलेकहीँ यो हात दुख्छ । तातोपानीमा राखेपछि केही बिसेक हुन्छ’ भन्नुभएको थियो । त्यति जटिल समस्याजस्तो नलागे पनि मैले उहाँलाई ‘राम्रो डाक्टरकहाँ देखाउनुस्, यसरी त कहाँ सन्चो हुन्छ र ! एकछिनको आराम मात्र हो, मुख्य कुरा रोग पत्ता लगाउने हो’ भनेर सल्लाह दिएकी थिएँ । उहाँले हाँसेर ‘होइजान्छ दिदी, कहिलेकहीँ मात्र दुख्छ, सधैँ दुख्दैन’ भन्नुभएको थियो ।

त्यसपछिका दिनहरूमा हामी आआफ्नो जिम्मेवारी र कार्यक्षेत्रमा खटियौँ । नियमित भेटघाट पनि भएन । एकपटक फोनमा सम्पर्क हुँदा उहाँले थेरापी गराउँदै कोठामा आराम गरिरहेको कुरा गर्नुभयो । म भ्यालीबाहिर थिएँ । तत्काल भेट गर्ने स्थिति बनेन । फोनमै स्वास्थ्यलाभको कामना गरेँ । केही महिनापछि काठमाडौँमा जवस/मोर्चा प्रमुखहरूको संयुक्त बैठकमा उहाँलाई देख्दा म आश्चर्यमा परेँ । शरीर निकै दुब्लो, अनुहारको रङ उत्रेको, बोलीमा थकान देखिने स्थिति देखेपछि उहाँलाई बिरामीले अति नै गाल्दै लगेछ भन्ने अनुभूति भयो । बैठकपछि केहीबेर भलाकुसारी गर्यौँ । उहाँको स्वास्थ्य र उपचारका बारेमा थप जिज्ञासा राखेँ । उहाँले धेरै ठाउँमा परीक्षण गराई उपचार गराएको र आजभोलि अलि बिसेक भई हिँड्डुल गर्न थालेको कुरा गर्नुभएको थियो । मैले स्वास्थ्यको ख्याल राख्नुहोला भन्दै पुनः स्वास्थ्यलाभको कामना गरेँ । त्यसपछि उहाँ निरन्तर उपचारमा नै हुनुहुन्छ भन्ने सुनेकी थिएँ । हामी पार्टी र सङ्गठनका अभियानहरूमा मेची–काली कुदिरहेका हुन्थ्यौँ । बीचमा एकदुईपटक फोन सम्पर्क भएको थियो । पछिल्लोपटक उहाँले कपिलवस्तुमा आयुर्वेदिक उपचार गराइरहेको जानकारी दिनुभएको थियो । २०७५ सालको माघ महिनामा म अभियानकै क्रममा सुदूरपश्चिम लागेँ । त्यही फागुन ११ गते अछामबाट गिरफ्तारीमा परेपछि बीचमा कुनै खबर पाउने स्थिति बनेन । तर विडम्बना ! म जेल र हिरासतबाट छुट्नेबित्तिकै उहाँको निधनको खबर सुन्नुप¥यो । जवस÷मोर्चाको त्यही बैठक नै हाम्रो भेटघाटको अन्तिम दिन हुन पुग्यो ।

हामी सबैलाई थाहा छ, जन्मपछि मृत्यु अनिवार्य छ । मान्छेका लागि मृत्युले अनेक रूप लिएर आउने गर्छ । कोही उमेर पुगेर मर्छन् त कोही बाल्यकालमै । कोही दुर्घटनामा परेर मर्छन् त कोही आकस्मिक रूपमा नै । कोही भीरमा लडेर मर्छन् त कोही खोलामा बगेर । कसैको हत्या हुन्छ त कसैले आत्महत्या गर्छन् । कोही रोगले मर्छन् त कोही शोकले । कसैको बलिदान हुन्छ त कसैको सहादत । यो मृत्युको अवश्यम्भावी चक्रमा हामी मानवजाति यिनै नियति बेहोरेर आफूलाई धर्तीमा विलीन गराउँछौँ । यो प्राकृतिक चक्रमा आत्महत्याबाहेक आफ्नो चाहनाले कसैको मृत्यु हुँदैन । हामी बाँच्न चाहन्छौँ, बचाउन चाहन्छौँ । मर्नुपरे अमर मृत्यु मर्न चाहन्छौँ । तर समय र परिस्थिति हाम्रो नियन्त्रणमा कहाँ छ र हाम्रो सदिच्छाअनुसार हाम्रा लागि हाम्रो आवश्यकतामा हिँडिदिने ?

म सोच्छु, कमरेड सविता आन्दोलनकी एउटा अविचलित यात्री । उहाँले गर्नुपर्ने काम र दिनुपर्ने योगदान कति छ कति यो समाजमा । तर उहाँले मात्र ४१ वर्षको अल्पायुमै किन यो संसार छोडेर जानुपर्ने ? सबैलाई लाग्ने र निको हुने सामान्य रोगले उहाँलाई मात्र किन लानुपर्ने ? यो हाम्रो बसको कुरा थिएन । यो अकाट्य सत्यलाई सबैले स्वीकार्नु र पचाउनु नै पर्दथ्यो । जीवनको ऊर्जाशील र महत्वपूर्ण समय उहाँले देश, जनता र क्रान्तिका लागि खर्चनुभयो । आफ्नो भूमिका र योगदानले आफूलाई परिचित र स्थापित गर्नुभयो । सायद यही नै उहाँको जीवनको कर्म थियो जुन हामी सबैका लागि स्मरणयोग्य र अनुकरणीय रहेका छन् । उहाँको योगदानलाई बाँचेकाले सधैँ जोगाउन र बचाउन सके उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीले उहाँको योगदानको कदर र सम्मानस्वरूप उहाँको एक मात्र सन्तान १४ वर्षीय छोरा आजाद विक सिंहको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गरेको छ । पार्टीको यस कदमले सबै क्रान्तिकारी पङ्क्तिमा नयाँ उत्साहको रक्तसञ्चार गरेको छ । कम्युुनिस्ट पार्टी र आन्दोलनका नाममा जीवनभर योगदान दिने योद्धाहरूलाई सडकछाप बनाएर ढेडुहरूले मस्ती गर्ने कुसंस्कारविरुद्धको जेहाद पनि हो यो । यसलाई सम्पूर्ण पार्टी पङ्क्तिले कर्मद्वारा पुष्टि गर्दै समृद्ध बनाउनुपर्छ ।

अन्त्यमा, कर्मयोगी क्रान्तिकारी योद्धा जन्माउने आदरणीय आमा–बाबाप्रति हार्दिक सम्मान र नमन ! जीवनसाथी गुमाउने क. रामलाल विक, ममतामयी आमा गुमाउने छोरा आजाद विक सिंहलगायत सम्पूर्ण परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना ! कमरेड सविता सिंह ‘वन्दना’ प्रति हार्दिक श्रद्धासुमन !

अल बिदा ! कमरेड सविता सिंह ‘वन्दना’ !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :