अन्तरविरोध

कविता

जब भयो मेरो आगमन
चल्लीका नसा तन्किन थालेका छन् उनीहरूका
भन्छन्–
बरबाद हुने भयो, सर्वनाश हुने भयो र
अब फेरि हुने भयो उल्कापात !

हो, मैले हिजो पनि–
छिःछिः र दुरदुर गरिएका थुपुहरूलाई
हुलेकै हो घरभित्र र गरेकै हो सम्मान
त्यसपछि उनीहरूले
मलाई पनि गरेकै हुन् छिःछिः र दुरदुर
मेरो घरमा मैले प्रिय थुपुलाई भित्र बोलाएँ,
पिरा ओछ्याइदिएँ र
‘मेरी भान्जी’ भनेँ त कसको के बिगारेँ ?!
देखेको छु मैले
थुपुले कलिला दाँतले टोकेर भाँचेका सिन्काले
गाँसेका टपरीमा तिनले मन्दिरमा पूजासमग्री लगेको
‘पितृ’ लाई प्रसाद ओसारेको
र थुपुका बाजेले बनाइदिएका घण्ट बजाएर
ढुङ्गालाई ‘देउता’ भन्दै पुजेको
थुपुको थुक चल्ने
तिनका बाजेले बनाएका घण्ट–त्रिशूल
घरभित्रैको पूजाथान र मन्दिरसम्म चल्ने
निर्जीव ढुङ्गा देउता भनेर चल्ने तर थुपु नचल्ने
यस्तो कुरीत पल्टाउन खोजेकै हो मैले
त्यसैले उनीहरू गरिरहेका छन् शङ्का
मेरो आगमन वा फिर्तीमा ।

निर्धक्क खाएकै हो मैले
चतुरे सार्कीको घरमा पलेटी कसेर–
सिनु उसिनेको कराईमा ओडालेको ढिँडो
र उनकी बाहुनीले पोल्टामा ल्याएर फतलेको सिस्नु
चतुरेले पसिना चुहाउँदै बनाएको घरमा
पङ्खा हम्केर आनन्दले बस्ने उनीहरूले
घरभित्र होइन, दलानमा पनि बस्न दिएका थिएनन् उनलाई
मान्दै मानेन मेरो मनले
एउटा जनैको सिकाले अलग पार्छ भने
मेरो र प्रिय चतुरेबीचको मित्रतालाई
छिनालिदिएको हुँ मैले त्यो जनै नामको डोरो र
फालिदिएको हुँ उनीहरूकै मुखमा ।
चतुरेले बोकेका ढुङ्गाले बनाएका घर र मन्दिर चल्ने
त्यहाँ बस्दा आराम हुने, ‘पूजा’ गर्दा ‘मुक्ति’ हुने
उनको पसिनाले मुछेको माटो चल्ने
उनी नचल्ने !
कसरी स्वीकार्य हुनसक्छ मलाई यो मानवताविरोधी कार्य !

हो, मैले कैले दमाईसँग मित लगाएको पनि हो
अझै पनि म नमस्कार गर्छु भेट्नासाथ
र तपाईं भन्छु, मितज्यू भन्छु
उहाँले सिलाएको लुगा जिउमा चल्ने
उहाँले थुकले भिजाएको डोरोले सिएका धजापताका
तिनका मन्दिर र पूजाथानमा चल्ने
उहाँ नचल्ने कसरी हुन्छ ?
मैले यही प्रश्न उठाएको हो उनीहरूलाई ।

जुनु दमिनी अर्थात् कमरेड जुना परियारलाई
घरमा ल्याएर राखेकै हो मैले
जनकलाकार थिइन्
जनताको आँखाकी नानी थिइन् उनी
म मेरी सहयोद्धा कमरेडलाई पाखा गरेर
पाखण्डको काखमा बस्न नचाहेकै हो
र बहिष्कृत हुन तयार भएकै हो अन्धविश्वासबाट ।

तिनीहरू अर्थात्
पाखण्डहरूले पाउ पखालेको पानी खाने गरेका
समाजका ठालु र शोषकका विरुद्ध
भित्तामा– ‘ठालू र शोषण मुर्दावाद’ को नारा लेखेकै हो मैले
चन्द्रलाल–शिवलाल–हितप्रसाद–जूनमायाहरूको सिको गर्दै
किनकि
तिनै ठालूले गलाएका थिए मेरा पुर्खाको हड्डी
र पानीजस्तै बगाइदिएका थिए रगत–पसिना
खोजेकै हो उनीहरूले पसिना बगाएर
र मुटुमा रगत जमाएर बनाएका खाँदबारीहरू
चुँडालेकै हो मैले लामा जुँगाहरू तिनका मतियारहरूको पनि
भञ्ज्याङका जिम्मल र भँगेरीका शोषकसँगै
झस्किएका हुन्
तिनको पाउ मोलेर
केही कलो र पारितोषिक बुझ्नेहरू पनि ।

मस्तिष्क र हृदयको संवेदनशीलतालाई
बोसोले मोहोरेको छ उनीहरूको
त्यसैले सोध्दैनन् उनीहरू–
तैँले देश, जनता, वर्ग र सङ्घर्ष भन्दै
सिङ्गो जीवन गलाइस्
यतिबिधि किताब, कविता र कथा लेखिस् भनेर
डाड गर्छन् बरु ती किताब राख्ने दराज र
दराज राख्ने कोठा बनाएकोमा
श्रम गर्ने मानिसलाई घृणा गर्छन् र
नभएको निर्जीव देउताको मन्दिर बनाउन हिँड् भन्छन् उनीहरू
म भन्छु–
यो ठाउँमा व्यवस्थित शौचालय बनाउनुपर्छ
जहाँ बटुवाहरूले आरामसाथ मलमूत्र त्याग्न पाउँछन् ।

बाजे, बज्यैहरूले सोतर काटेका कचिया हँसिया, खुर्पा र
तिनले भात पकाएका कसौँडी, दाबिलो खोज्दै हिँडेको छु म
गिल्ला गर्छन् मलाई उनीहरू र
पागलपना बढिरहेको करार गर्छन्
बाजेहरूले सामन्तलाई लखेट्दा बोकेका
घँघारुका आँख्लैआँख्ला भएका लट्ठीहरू खोजिरहेको छु म
तिनले सिकार खेल्ने गरेका
धनुषकाँड र भरुवा बन्दुक खोज्दै हिँडेको छु म
सङ्घर्ष र घर्षणले बनेको न हो समाज
समाज बन्दा निर्माण भएका औजार खोज्दै हिँडेको छु म
उनीहरू बुझ्दैनन् वा बुझपचाउँछन् ।

जिउँदोजाग्दो, सग्लो मान्छेलाई
खान नदिएर, अपमान गरेर मार्ने, मर्न बाध्य पार्ने
र मारिसकेपछि पिण्ड लडाउने, खिर खुवाउने प्रस्ताव छ उनीहरूको
बाँच्दै सम्मान गर
मरेपछि किरिया र सराद्देको नाटक नगर भनिरहेछु म
सराद्दे र किरियाकै लागि मान्छे मार्न हतार भएझैँ लाग्छ उनीहरूलाई
म बचाउनुपर्छ भनिरहेछु
उनीहरू पितृ बनाउन आतुर देखिन्छन्…!

यसरी टकराव र सङ्घर्षमा बितिरहेछ समय
यसरी ठोस निष्कर्ष निकाल्दै अघि बढेको छ समय
यसरी वार कि पार बन्दै गएको छ समय
हो, यही हो मेरो जीवनलक्ष्य
जहाँ अन्धविश्वास र पाखण्डका लागि
एक चिम्टी पनि स्थान हुँदैन
विज्ञान, मानिस र श्रमको पूजा हुन्छ
रूढि र आदर्शवादको छाया हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :