अमेरिकामा अश्वेत विद्रोह र क्रान्तिको माग

१.अमेरिकाको अवस्था विस्फोटक बन्दै

अमेरिकाको मिन्नेसोटामा जर्ज फ्लोइड्स नामका एकजना अश्वेत नागरिकको प्रहरीद्वारा घाँटी थिचेर गरिएको अमानवीय, पाशविक र हिंसात्मक हत्याका विरुद्ध आज अमेरिका जलिरहेको छ । अमेरिकाका ४० भन्दा बढी ठूला सहरहरूमा कफ्र्युको घोषणा गरिएको छ तर विद्रोह झन् दन्किरहेको छ । हामीलाई थाहा छ, अमेरिकामा कालाहरूमाथि बर्बर अन्याय, उत्पीडन र थिचोमिचो गरिन्छ । श्वेत र अश्वेतको विभाजनले अमेरिकी समाज लामो समयदेखि आक्रान्त छ । कुनै समय कालो वर्णका नागरिकहरूलाई पशुजस्तै व्यवहार गरिन्थ्यो । आज पनि त्यसको प्रभाव कायम छ । जर्ज फ्लोइड्सको नृशंस र आततायी हत्याका विरुद्ध राष्ट्रपति ट्रम्प मनोरञ्जन लिएर बसे । नियन्त्रणमा रहेका एक युवाको प्रहरीद्वारा नै घाँटी थिचीथिची हत्या गर्नेसम्मको काम गरियो । ‘मेरो सास जानै लाग्यो, घाँटी थिच्न छाडिदेऊ’ भन्दै रोदन गरेको चित्कारले श्वेत प्रहरीलाई छोएन र अन्ततोगत्वा उनको मृत्यु भयो । त्यही घटनाको विरोधमा आज अमेरिका विस्फोट हुँदैछ ।

आज अमेरिकामा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त सामान्य बनेको छ । लुटपाट, आगजनी, तोडफोड र हिंसा सामान्य बनेको छ । सबैलाई थाहा छ, अमेरिकामा न्याय हैन अन्याय छ, समानता हैन असमानता छ । अमेरिकामा शोषण, उत्पीडनको ज्वारभाटाले थिचेको छ । अमेरिका आज मुठीभर खर्बपतिहरूको पञ्जामा छ र गोरा वा श्वेतहरूको मुठीमा छ । राज्यले नै कालाहरूमाथि अपमान गरेको छ । अहिलेको घटना केही दिन, महिना र वर्षको हैन, बर्सौंदेखि विद्यमान उत्पीडन र विभेद एकैचोटि ज्वारभाटा बनेर विस्फोट भएको हो । सारा संसारले स्पष्ट देख्ने गरी जनआक्रोश विस्फोट भएको हो । आज जनआक्रोश देशव्यापी बनेको छ र यो अझै बढ्ने अवस्थामा छ । संसारकै शक्तिशाली भनिने अमेरिका आज शिर निहुराएर बसेको छ । यो हिंसा भड्किँदो छ र राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिले जनआक्रोशलाई झनै भड्काउँदैछ । उनले यो प्रदर्शनलाई आतङ्ककारी सङ्गठन वा प्रतिबन्धित एउटा वाम सङ्गठन एन्टिफासिस्ट मुभमेन्ट ‘एन्टिफा’ नामको प्रतिबन्धित वामपन्थी सङ्गठनलाई आरोपित गरेका छन् । यसबाट प्रस्ट हुन्छ राष्ट्रपति ट्रम्प कतिसम्म असन्तुलित र पागल छन् । अनि उनी कतिसम्म दुनियाँलाई ढाँट्न सक्छन् । सायद राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरूमाथि दमन गर्नका लागि वा ठूलो आमनरसंहार मच्चाउनका लागि यस्तो षड्यन्त्र गर्दैछन् ।

२. ट्रम्प आतङ्ककारी हुन्– प्रदर्शनकारी

हामीले सञ्चार माध्यमबाट प्रदर्शनकारीहरूका आक्रोश, नारा र प्लेकार्ड हेरेका छौँ, जहाँ भनिएको छ– आतङ्ककारी डोनाल्ड ट्रम्प । उनीहरूले भनेका छन् आतङ्ककारी त डोनाल्ड ट्रम्प हुन् र उनले नै अमेरिकाभर आतङ्क मच्चाइरहेका छन् । राष्ट्रपति ट्रम्पसँग कुनै मानवीय संवेदना छैन भन्ने कुराको तथ्य हिजो मात्रै ह्वाइट हाउस वा राष्ट्रपति भवन घेर्न गएका प्रदर्शनकारीलाई भड्काउने गरी भनेका थिए ‘क्रुद्ध कुकुर’ । जब राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूलाई ‘एन्टिफा’ सँंग आबद्ध रहेको आरोप लगाए तब प्रदर्शनकारीहरूले आतङ्ककारी ट्रम्पको प्रत्यारोप गरे । उनीहरूले प्लेकार्डमा ‘टेरोरिस्ट ट्रम्प’ लेखेर प्रदर्शन गरे । प्रदर्शनकारीहरूले थुप्रै गाडीहरूमा आगजनी गरेका छन् । प्रदर्शन आक्रामक बन्दै जाँदा प्रहरीसँग दोहोरो भिडन्त भइरहेको छ । कतिपय स्थानमा प्रहरी अधिकृतहरू पनि प्रदर्शनमा उत्रिएका छन् ।

३. जब राष्ट्रपति डोनाल्ड ट्रम्प नै बङ्करभित्र पुगे

शुक्रबार जब प्रदर्शनकारीहरू राष्ट्रपति भवनबाहिर उग्र रूपमा प्रदर्शन गरिरहेका थिए, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने सुरक्षाकर्मी र सेनाद्वारा बङ्करभित्र राखिएका समाचारहरू बाहिर आएका छन् । वास्तवमा यो राष्ट्रपति ट्रम्पका लागि निकै लज्जाजनक दिन हो । सायद बुद्धिमान् र संवेदनशील राष्ट्रपति भएको भए उनले आफ्नो कार्यकालमा भएको जर्ज फ्लोइड्सको अमानवीय हत्याका लागि माफी माग्न सक्नुपथ्र्यो । उनले आफूले अमेरिकी काला जातिहरूमाथि भइरहेको भेदभावका विरुद्ध केही गर्न नसकेको भन्दै माफी माग्नुपथ्र्यो । उनले भन्न सक्नुपथ्र्यो, ‘यो लडाइँ श्वेत र अश्वेतबीचको लडाइँ हैन, यो त न्यायका लागि र मानवीय अधिकारका लागि भएको लडाइँ हो’ तर अफसोच ! राष्ट्रपति ट्रम्पमा त्यो हिम्मत, साहस र नैतिकता थिएन । उनले त उल्टो दमन र नरसंहार गर्ने बहाना र षड्यन्त्रको खोजी गरे ।

आज अरूलाई प्रजातन्त्र र मानवअधिकारको पाठ पढाउने अमेरिका आफैँ उदाङ्गिएको छ । स्थिति विस्फोटक बन्दैछ र आक्रोशहरू शान्त हुने अवस्था छैन । कफ्र्यु र निषेधाज्ञालाई जनताले अवज्ञा गरेका छन् । अमेरिका जलिरहेको छ, विस्फोट भइरहेको छ तर समाल्ने विवेक भने नेतृत्वसँग छैन । नेतृत्वमा रहेका ट्रम्प त उल्टो प्रदर्शनकारी जनतालाई गाली गर्दै र आतङ्ककारी भन्दै झनै आगोमा घिउ थपिरहेका छन् । प्रदर्शनकारीहरूको आक्रोश र विद्रोहलाई जब राष्ट्रपति ट्रम्पले देखे उनी अत्तालिएर त्यहाँभित्रको बङ्करभित्र घुसे ।

४. ट्रम्पका विरुद्ध विद्रोह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनआक्रोशलाई सुरुदेखि नै नजरअन्दाज गरे । सुरुमा प्रदर्शन शान्तिपूर्ण र शालीन ढङ्गले भएका थिए । जब राष्ट्रपति ट्रम्प यो घटनाप्रति बेखबरजस्तै बसे र उल्टो दमनको बाटो रोजे तब जनआक्रोश ज्वालामुखी बन्यो । आज अमेरिका अग्निकुण्डमा परिणत भएको छ । स्पष्टै छ, अमेरिकामा अश्वेतहरू सिकार बनेका छन् । हालै आएको कोरोना महामारीबाट सिकार हुनेहरू पनि धेरै काला जाति वा अश्वेत परे । वास्तवमा ट्रम्पको मूर्खता, उद्दण्डता, अहंकार र फासिवादी चरित्रका कारण जनआक्रोश विस्फोटक बनेको सहजै बुझ्न सकिन्छ ।

५. प्रदर्शनमा प्रहरी र सेनाको पनि सहभागिता

जब अमेरिकामा भड्किएको जनआक्रोश विद्रोहमा परिणत भयो तब यो भावना देशव्यापी बन्यो । यो काला जातिको जीवनको सबाल बन्यो । वास्तवमा यो प्रदर्शन अन्याय, अत्याचारका विरुद्ध र न्यायका पक्षमा भएको भन्ने जनमत सिर्जना भएको छ । प्रदर्शनमा अश्वेत मात्र छैनन्, श्वेतहरू पनि सहभागी छन् । रमाइलो दृश्य त के छ भने कतिपय राज्यमा प्रहरी, सेना वा सुरक्षाकर्मीहरू पनि घोषित रूपमा नै यो प्रदर्शनमा सहभागी बनेका छन् । बर्दीका प्रहरी र सेनाले नै सार्वजनिक रूपमा नै सम्बोधन र समर्थन गरेका छन् । पछिल्ला घटनालाई हेर्दा आन्दोलन रङ्गभेदविरोधी क्रान्तिमा परिणत हुनसक्ने देखिन्छ ।

६. अमेरिकामा अत्याचार, शोषण र उत्पीडनको पहाड छ

केही वर्ष अगाडिदेखि अमेरिकामा ‘वालस्ट्रेट मुभमेन्ट’ जारी छ । यो आज्दोलनको आशय हो– ‘अमेरिकामा ९९ प्रतिशतका विरुद्ध १ प्रतिशतको सत्ता छ ।’ भनिन्छ, अमेरिका केवल खर्बपतिहरूको देश हो । त्यहाँ सांसद, मन्त्रीदेखि राष्ट्रपति हुनका लागि खर्बपति वा व्यापारी हुनु अनिवार्य छ । भनिन्छ, अमेरिकाका १ प्रतिशत धनाढ्यसँग ९९ प्रतिशत आमनागरिकसँग भन्दा धेरै सम्पत्ति छ । अक्सफामको एक सर्वेक्षणलाई आधार मान्ने हो भने विश्वका शीर्ष १ प्रतिशत धनाढ्यसँग अन्य ६ अर्ब ९० करोड मानिससँग भएको भन्दा दोब्बर सम्पत्ति रहेको छ । त्यसकारण अमेरिकामा दुई प्रकारका ठुला उत्पीडन छन्– पहिलो, श्वेतहरूको कालाहरूमाथिको उत्पीडन वा अर्को शब्दमा रङ्गभेदी उत्पीडन र दोस्रो, धनी र गरिबबीचको उत्पीडन । सारमा भन्दा अमेरिका धनी र श्वेतहरूको सत्तामा परिणत भएको छ । त्यसकारण प्रदर्शनकारीहरूले नारा लगाएका छन्– ‘जहाँ अन्याय हुन्छ, त्यहाँ शान्ति हुँदैन ।’ उनीहरुले भनेका छन्, ‘नो जस्टिस नो पिस ।’ उनीहरूले स्पष्ट भनेका छन्– यसपटक अमेरिकी अर्थतन्त्रको कट्टु फुस्किएको छ । हामीलाई थाहा छ, अमेरिका पुँजीवादको विकृत रूप साम्राज्यवाद हुँदै उत्तरसाम्राज्यवादमा पतन भएको छ । संसारभर उसले गरेका नरसंहारबाट प्रस्टै भन्न सकिन्छ, ऊभन्दा अमानवीय, क्रूर र अलोकतान्त्रिक अर्को कुनै व्यवस्था छैन् । पछिल्लोपटक धेरैले भनेका छन्– अमानवीयता र क्रूरताका कारण अमेरिकाको पतन हुँदैछ । अमेरिकासँगै पुँजीवादको पनि पतन हुँदैछ । शोषण गर्नु, नाफा कमाउनु र भेदभाव गर्नुलाई पुँजीवादले मानवअधिकार ठान्छ । अब बिस्तारै मानवीयताको मुद्दा सार्वभौम बन्दैछ । समानता र स्वतन्त्रताको मुद्दा सबैले खोज्न थालेका छन् । आज वास्तविक स्वतन्त्रता र समानताको मुद्दा जीवन्त बनेको छ । सायद अमेरिकामा अहिले देखिएको जनआक्रोशका पछाडि मुख्य तीनवटा कारण जोडिएका छन् : १. रङ्गभेद वा काला जातिमाथिको अन्याय र भेदभाव, २. गरिब र मध्यम वर्गमाथि धनीहरूको शोषण र ३. राष्ट्रपति ट्रम्पको विवेकहीन र अमानवीय प्रतिक्रिया । आज चीन, इरान, उत्तरकोरिया, भेनेजुयला र क्युबालाई थर्काएजस्तो सजिलो छैन । जब आम अमेरिकीहरू ट्रम्पका विरुद्ध विद्रोहमा उत्रिए, उनलाई नै जीवनको सुरक्षा गर्ने विषय चुनौतीपूर्णं बन्यो । वास्तवमा अमेरिकाभर फैलिएको यो हिंसा कहाँसम्म पुगेर मत्थर होला, त्यो त यसै भन्न सकिँदैन । हामी चाहन्छौँ अमेरिकी सत्ताले घटनाका बारेमा ठन्डा दिमागले विश्लेषण गरेर सही समाधान निकालोस् । पछिल्ला घटनाक्रमबाट स्पष्ट हुन्छ– अबको अमेरिकामा डोनाल्ड ट्रम्पले नेतृत्व गर्ने सम्भावनाको अन्त्य भएको छ ।

७. साम्राज्यवादी अहंकारले विद्रोहलाई आतङ्ककारी र आपराधिक ठान्छ

हामीले इतिहासबाट देखेका छौँ सबै निरङ्कुश र फासिवादी शासकहरू जनताको स्वतस्फूर्त विद्रोहलाई आतङ्ककारी वा आपराधिक देख्दछन् । विद्रोह जनताको नैसर्गिक अधिकार हो भनेर अमेरिका स्वीकार गर्नसक्ने अवस्थामा छैन । जहाँ दमन, उत्पीडन, शोषण र अन्याय हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । भेदभाव सहनु पनि अपराध हो । अहिले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारी जनतालाई लगाएको आरोप गम्भीर छ । उनले हिंसात्मक विद्रोहलाई ‘एन्टिफा’ वा प्रतिबन्धित वामपन्थी सङ्गठनको उपद्रव भनेर आरोपित गरेका छन् । उनले यो प्रदर्शनलाई आतङ्ककारीको आरोप लगाउन खोजेका छन् । यो आरोपले ट्रम्पको फासिवाद वा नरसंहारतर्फको यात्रालाई इङ्गित गर्दछ । के दमनबाट यो विद्रोह साम्य होला ? प्रस्ट छ– दमन बढ्यो भने अमेरिका गृहयुद्घमा अनिवार्य जानेछ ।

८. दमन र नरसंहार भए अमेरिकामा गृहयुद्घ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दमन र नरसंहारको बाटो लिएमा अमेरिका लामो गृहयुद्घमा फस्ने खतरा बढ्दैछ जुन संसारकै लागि दुःखद् र पीडादायी पनि बन्नसक्छ । त्यहाँ रङ्गभेद वा श्वेत र अश्वेतबीचको गृहयुद्घ बढेमा अमेरिका ध्वस्त हुने निश्चित छ । त्यसले अमेरिकाभित्र मात्र हैन, बाहिर पनि जातीय युद्घ अनि धार्मिक युद्घहरूलाई प्रोत्साहित र पुनर्बल प्रदान गर्नेछ । संसारभरि नै अतिवादी शक्तिहरू हाबी हुँदै गरेको तस्बिर ताजै छ । भारतमा हिन्दुवादी नरेन्द्र मोदी, अमेरिकामा क्रिस्चियन र श्वेतवादी डोनाल्ड ट्रम्पजस्ता शासकहरू चर्चामा छन् । त्यसकारण अमेरिकाले अहिले विद्रोहलाई सही ढङ्गले व्यवस्थापन गर्न सकेन भने त्यसले पूरै विश्वलाई तरङ्गित गर्नेछ । साम्प्रदायिक हिंसा र युद्घहरू भड्किने खतरा हुनेछ । राष्ट्रपति ट्रम्प कतिसम्म सङ्कीर्ण छन् भने अहिले जारी हिंसात्मक प्रदर्शनलाई एउटा प्रतिबन्धित वाम सङ्गठनलाई आरोपित गरेका छन् । उनले किन चीन, उत्तरकोरिया, क्युबा वा भेनेजुएलाविरुद्ध अन्धआक्रमणको नीति लिएका होलान् भन्ने कुरा सहजै बुझिन्छ । स्पष्टै छ, अमेरिका कुनै पनि कम्युनिस्ट शक्तिसँग मित्रतापूर्ण सम्बन्ध राख्न सक्दैन । नेपालमा चीनलाई घेर्नका लागि कथित केपी वली नेतृत्वको सरकारी कम्युनिस्ट पार्टीलाई प्रयोग गरिरहेको छ । एमसीसीको माध्यमबाट कथित डबल नेकपालाई पनि फुटाउन सक्नेछ । तिनले वली र दाहालको आत्मसमर्पणलाई केही समय मात्र प्रयोग गर्नेछन् र मौका मिल्नासाथ फ्याँक्ने निश्चित छ । राष्ट्रवाद भनेको आत्मसर्मण हैन्, स्वाभिमान हो ।

९. ट्रम्पलाई प्रदर्शनकारीको जबाफ– हामीले हिंसा तिमीबाट सिकेका हौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जबाफ दिँदै एकजना अगुवा नेत्रीले भनेकी छिन, ‘आज काला नागरिक सरकारप्रति क्रुद्घ बनेका छन् ।’ उनले भनेकी छिन, ‘हाम्रो न्यायका लागि भएको शान्तिपूर्ण प्रदर्शनमाथि कसले हिंसा मच्चायो ? हामीमाथि कसले दमन गर्यो ? हामीलाई कसले आक्रमण गर्यो ?’ हजारौँ नागरिकको ताली र हुटिङका साथ उनले भनेकी छिन्, ‘हामीले हिंसा तिमीबाट सिकेका हौँ । हामीलाई विद्रोह गर्न बाध्य बनाउने तिमी नै हौ । हामीले सबै अमेरिकी नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार मागेका हौँ ।’ यसबाट थाहा हुन्छ, यो आमअमेरिकी जनताको आवाज हो । यो सबै उत्पीडनमा परेका अश्वेत नागरिकहरूको आवाज हो । उनले अगाडि भनेकी छिन्, ‘हामीलाई तिम्रो चेतावनी र धम्की चाहिएको हैन, हामीलाई न्याय चाहिएको हो । न्याय नपाउँदासम्म हामी पछाडि हट्नेछैनौँ ।’

१०. सेना परिचालनको धम्की

छैटौँ रातसम्म प्रदर्शनले झन्पछि झनै उग्र र हिंसात्मक रूप लिएपछि प्रदर्शनको सातौँ रात पनि प्रदर्शन जारी छ । राष्ट्रपति ट्रम्पले शान्तिका लागि आग्रह गरेका छन् । उनले भनेका छन, ‘हामीले सेना प्रयोग गरेरै भए पनि कानुन र विधिलाई स्थापित गर्नुपर्छ ।’ उनले प्रहरी, नेसनल गार्ड र सेनासमेत प्रयोग गरिसकेका छन् ।

११. अमेरिकामा क्रान्तिको माग

वास्तवमा अहिले भएको जनविद्रोहले अमेरिकामा क्रान्तिको माग गरेको छ । सामान्य सुधार र प्रतिबद्घताबाट उत्पीडन, विभेद र असमानताको अन्त्य हुन सक्तैन । यद्यपि अहिलेको जनविद्रोहमा नेतृत्व, विचार र सङ्गठित शक्तिको अभाव छ, । क्रान्तिका लागि यी हतियार अपरिहार्य हुन्छन् । निश्चित छ, अमेरिकी सत्ताले यो विद्रोहलाई दबाउनेछ तर यो विद्रोहले क्रान्तिको माग गरेको छ । एउटा क्रान्तिबिना अमेरिकी अश्वेतहरूले न्याय, सम्मान र समानता पाउने छैनन् । यो अश्वेत विद्रोहले अमेरिकासहितको पुँजीवादलाई थ्रेट गरिरहेको छ । प्रदर्शनको सातौँ रातमा पुग्दा राष्ट्रपति ट्रम्प ह्वाइट हाउस छाडेर चर्चमा गएका छन् । यो त्रास हो । सेना परिचालनको प्रारम्भिक चरणमा पनि प्रदर्शन रोकिएका छैनन् । मान्छेहरूले प्रश्न गरिरहेका छन्– कहीँ अमेरिका गृहयुद्घतिर धकेलिएको त छैन ? परिस्थितिले अमेरिकामा आमूल परिवर्तन र क्रान्तिको माग गरेको छ तर वर्तमान रङ्गभेदी र उत्तरसाम्राज्यवादी सत्ताले यो तथ्यलाई बुझ्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :