फेरि बढ्यो कोरोना सङ्क्रमणको त्रास !

फेरि बढ्यो कोरोना सङ्क्रमणको त्रास !

कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको छ । एकै दिन ६,७३४ जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विश्वभर ओमिक्रोनको असर बढिरहेको छ । विश्वमा दैनिक २० लाखभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् तर लकडाउनभन्दा बाहेक अरू भरपर्दा विकल्प कुनै पनि मुलुकका सरकारले निकाल्न सकेका छैनन् । गतसाता विश्वभर कुल ३० करोड ५१ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तेस्रो भेरियन्टका रूपमा फैलिएको कोरोनाका कारण अधिकांश मुलुकका जनता भयभीत बनेका छन् । पुँजीवादी मुलुकका जनतामा यसप्रकारको भय अझ बढेको छ । आवर वल्र्डइन डाटाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आइतबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या बढेर ३० करोड ५१ लाख ९० हजार पुगेको थियो । पछिल्लो समय विश्वभर दैनिक २० लाखभन्दा बढी कोरोना सङ्क्रमित बढेको पाइएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कहरूले यसअघिका पहिलो र दोस्रो चरणको भन्दा तेस्रो चरणको कोरोना सङ्क्रमणदर उच्च देखिएको छ । तथ्याङ्कअनुसार गत डिसेम्बर १ देखि ७ सम्म अर्थात् एक साताभित्र विश्वभर १ करोड ३५ लाख सङ्क्रमित थपिएका छन् । तथ्याङ्क हेर्दा सुरुमा कुल सङ्क्रमितको सङ्ख्या १० करोड पुग्न १ वर्षभन्दा बढी लागेको थियो त्यस्तै थप १० करोड सङ्क्रमित थपिन झन्डै ८ महिना लागेको थियो तर पछिल्लो समय ५ महिनामै १० करोड नयाँ सङ्क्रमित थपिएका छन् । यसले कोरोनाको तेस्रो भेरियन्ट अझै तीव्र गतिमा फैलिइरहेको छ तर सरकार भने विद्यालय र कलेजहरू बन्द गर्न आदेश दिने निर्णय गरेर कानमा तेल हालेर बसेको छ । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई कोरोनाबाट जनताको जीवन सुरक्षित राख्न प्रभावकारी कदम चाल्न सुझाव दिए पनि सरकारले त्यस्तो कुनै प्रभावकारी कदम चालेको देखिँदैन । यसले सरकारप्रति जनताको विश्वास कम हुँदै गएको छ ।

कोरोनाबाट विश्वमा ५५ लाख ३ हजारभन्दा बढीको जीवन गइसकेको र नेपालमा मात्र ११ हजार ५ सय ९४ जनाको मृत्यु भइसकेको छ । कोरोनाले गत साता ३४ मुलुकमा दैनिक सङ्क्रमितको सङ्ख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको थियो । नेपालमा पनि यसको गति तीव्र रूपमा बढिरहेकाले समयमै सावधानी नअपनाइए महामारीको रूप लिनसक्ने खतरा बढिरहेको छ । कोरोनाको नयाँ ओमिक्रोन प्रमाणित भएयता संसारभर पुनः सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो ।

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण बढाएको पाइएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको पाइएको हो । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रूपमा फैलिएको अनुमान छ । ओमिक्रोन कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्ने देखिएको छ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई भने धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने खतरासमेत रहेको छ । ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने स्वास्थ्यविद्हरूले बताएका छन् । यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिइएको छ । भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटकपटक धुनका लागि सुझाइएको छ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्न पनि सुझाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने र २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठीजस्ता कार्यक्रम बन्द गर्ने निर्णय गरिएको भए पनि प्रभावकारी अनुगमन र सरकारप्रति विश्वास नहुँदा सरकारी निर्णय कार्यान्वयन भएको देखिँदैन । गत पुस १९ गते २.६ प्रतिशतमा रहेको सङ्क्रमणदर पुस २७ गते १८.६ प्रतिशत पुग्नुले यसको भयानकतालाई नै प्रमाणित गर्दछ । यस्तो अवस्थामा सरकारले दलहरूको साथ लिएर प्रभावकारी कदम चाल्नु आवश्यक छ । जनताको जीवन जोखिममा परेको समयमा कथित चुनावको नौटङ्की छोडेर जनस्वास्थ्यमा ध्यान नदिइए पछि पछुताउनुको विकल्प रहनेछैन । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :