महिला : अस्तित्व र आन्दोलन

महिला : अस्तित्व र आन्दोलन

‘महिला’ मानवजातिको स्त्री लैङ्गिक पहिचान जनाउने शब्द । नेपालमा महिलालाई स्त्री, स्वास्नीमान्छे, जनता, आइमाई, नारी आदि शब्दले पनि चिनाउने गरिन्छ । संसारमा प्रचलित अन्य भाषामा पनि महिलालाई चिनाउने एकभन्दा बढी नै शब्द हुन सक्छन् तर नेपालमा नेपाली भाषामा अरू शब्दको तुलनामा ‘महिला’ शब्द नै स्त्री लिङ्गलाई सम्बोधन गर्ने सभ्य र औपचारिक शब्द मानिन्छ ।

महिला मानवसभ्यताको एक अपरिहार्य र अनिवार्य अङ्ग हो जो समाज विकासक्रममा आजन्म साथमा पनि छ र सङ्घर्षमा पनि छ । हेर्दा सामान्य लाग्ने तर जीवनव्यवहारमा फरक देखिने यो समुदाय मानवजातिकै अर्को लिङ्ग, पुरुष जाति र मानव आफैँले निर्माण गरेका सभ्यताबाट हजारौँ वर्षदेखि पीडित छ, दमित छ र आन्दोलित पनि छ । यहाँ यही महिला (लैङ्गिक समुदाय) का बारेमा केही विषयमा चर्चा गर्न खोजिएको छ ।

१. ऐतिहासिक पृष्ठभूमि

चाल्र्स डार्बिनको जीवविज्ञानसम्बन्धी विकासवादी सिद्धान्तअनुसार पृथ्वीमा सुरुमा एककोषीय जीवबाट उत्पत्ति भएको प्राणी करोडौँ विकासक्रममा अनेक रूपमा विकसित र रूपान्तरित हुँदै अहिलेको मानव प्राणीका रूपमा विकास भएको मानिन्छ । उत्पत्तिका प्राकृतिक, भौगोलिक र वातावरणीय जटिलताहरू पार गर्दै स्वयम् शारीरिक र मानसिक रूपमा पनि अनेक सङ्घर्ष गर्दै आएकाले पृथ्वीमा अहिलेसम्म जीवित रहेका सम्पूर्ण प्राणीमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हुन सफल छ । अस्तित्वकालदेखि नै मानव प्राणी दुई फरक लैङ्गिक (महिला र पुरुष) विशेषताअनुसार विकास हुँदै आयो । एउटै विशेषता र गुण भएको प्राणीका दुई विपरीत लैङ्गिक समागमबाट गर्भधारण भई बच्चा उत्पादन हुने र त्यसैबाट उसको अस्तित्व निरन्तरतामा फैलिँदै जाने नियम प्रकृतिप्रदत्त छ । यो प्राकृतिक नियमअनुसार जसले बीजको काम गर्यो, त्यो पुरुष नामले चिनियो र जसले गर्भधारण गरेर बच्चा जन्माउने र हुर्काउने काम गर्यो, त्यो स्त्री (महिला) नामले चिनियो । जैविक हिसाबले यही प्रक्रियाका लागि बनेका केही शारीरिक अङ्गबाहेक ऐतिहासिक रूपले मानवजातिमा महिला र पुरुषबीचमा कुनै भिन्नता छैन । तर समाजको विकासक्रममा एउटै प्राणी तर दुई विपरीत लिङ्गबीच विभेदको रेखा कसरी कोरियो ? असमानताको खाडल कसरी निर्माण भयो ? यो नै महिला अस्तित्वरक्षा र अधिकार प्राप्तिको आन्दोलनको भित्री र आधारभूत बहसको विषय हो । समाज विकासक्रममा यो बहसले अरू कैयौँ विषयवस्तुहरूको पनि उठान गरेको छ ।

२. कसरी सुरू भयो महिलामाथि विभेद र उत्पीडन ?

अरू प्राणीको तुलनामा उन्नत र चेतनायुक्त प्राणी भएको नाताले मानवजातिका क्रियाकलाप आफ्नै सङ्घर्षबाट विकसित हुँदै गएका हुन् । जतिबेला मान्छे जङ्गली युगमा थिए, त्यतिबेला उसलाई आफ्नो अस्तित्वरक्षाका लागि निकै कठिन सङ्घर्ष गर्नुपर्यो । प्राकृतिक रूपमा आइपर्ने ठूला–ठूला विपत्ति, अन्य प्राणीसँगको सङ्घर्ष र आफ्नो समूहको रक्षा त्यतिबेला मुख्य चुनौती थिए मानवका लागि । यी सबै विपत्तिहरूलाई सामूहिक रूपमा सामना गर्दा त्यहाँ विभेदको कुनै गुन्जायस हुने कुरै भएन किनकि त्यो सबैको साझा कर्तव्य हुन्थ्यो । सामूहिक र अस्थायी बसोबास, घुमन्ते जीवनशैली, खानाको प्रबन्ध र समूहको रक्षा साझा काम हुने हुँदा पुरुषले टाढाटाढा पुगेर सिकार गर्ने, कन्दमूल खोज्नेजस्ता खानाको प्रबन्ध गर्ने, महिलाले बच्चा जन्माउने हुर्काउने, समूहको रेखदेख गर्ने र प्राप्त खानाको समान वितरण गर्ने जिम्मवारी हुनु स्वाभाविक हुन्थ्यो । साझा र सामूहिक जीवनका कार्य विभाजन हुने अनि व्यक्तिगत आकाङ्क्षा र निजी प्रबन्धको चेतना विकास नभएकाले त्यतिबेलाका महिलाले प्राकृतिक विपत्ति र कष्टकर घुमन्ते जीवनशैलीबाहेक अरू कुनै विभेदको सामना गर्नुपरेन । बरु त्यतिबेलाको श्रम विभाजनमा महिलाको भूमिका मुख्य हुने हुँदा उनीहरू नै निर्णायक र सम्मानित हुन्थे ।

जब मानव जाति घुमन्ते युगबाट कृषियुगमा प्रवेश गर्यो, उसको जीवनशैली परिवर्तन हुन थाल्यो । उसलाई निश्चित बासस्थानको आवश्यकता पर्यो । कृषिकार्यका लागि औजार र जङ्गली जनावरको आवश्यकता महसुस गरी जङ्गली जनावरलाई बँधुवा बनाउने र कृषि उपजमा प्रयोग गर्न थालियो । तिनीहरूको हेरचाहका लागि महिलाको जिम्मेवारी थपिँदै गयो र उनीहरू घरायसी काममा व्यस्त हुन थाले । जनसङ्ख्या बढ्दै जाँदा गण फरक–फरक समूह बनाएर बस्न थाले । राम्रो ठाउँको छनोटमा गणहरूका बीचमा लडाइँँ पर्न थाल्यो । यस्तो लडाइँँमा जित्ने मालिक र हार्ने दास बने । यही प्रक्रियाबाट दासयुगको सुरुआत भयो । बाहिरी काम र लडाइँँको नेतृत्व गर्ने हुँदा पुरुष मालिक बने भने महिला घरेलु दास । लडाइँँ जित्दै जाँदा पुरुषहरूको महत्वाकाङ्क्षा बढ्दै गयो र उसले आफ्नो वर्चस्व कायम गर्न अरूमाथि कब्जा जमाउन थाल्यो । त्यसको पहिलो सिकार सम्भवतः महिला नै भए । लडाइँमा प्राप्त विजयको शक्तिको प्रभावस्वरूप सामूहिक सम्बन्ध क्रमशः निजीमा परिणत हुँदै गयो । शक्तिशाली पुरुषले महिलालाई निजी भोग गर्न थाले जसबाट वैवाहिक संस्थाको जन्म भयो । त्यसरी जन्मेका बच्चाबाट वंश परम्परा सुरु भयो । त्यो वंशको सुरक्षित भविष्यका लागि निजी सम्पत्तिको प्रचलन र त्यसको विकसित रूप— राज्यको प्रादुर्भाव ।

अस्तित्वकालदेखि नै मानव प्राणी दुई फरक लैङ्गिक (महिला र पुरुष) विशेषताअनुसार विकास हुँदै आयो । एउटै विशेषता र गुण भएको प्राणीका दुई विपरीत लैङ्गिक समागमबाट गर्भधारण भई बच्चा उत्पादन हुने र त्यसैबाट उसको अस्तित्व निरन्तरतामा फैलिँदै जाने नियम प्रकृतिप्रदत्त छ । यो प्राकृतिक नियमअनुसार जसले बीजको काम गर्यो, त्यो पुरुष नामले चिनियो र जसले गर्भधारण गरेर बच्चा जन्माउने र हुर्काउने काम गर्यो, त्यो स्त्री (महिला) नामले चिनियो ।

यी सबै प्रक्रियाको सुरुआतमा पुरुषले महिलाको स्वत्व हरणबाट गरेका थिए भन्ने बुझ्न गाह्रो छैन । आदिमकालमा आफ्नो महत्वपूर्ण भूमिकासहित स्वतन्त्र अस्तित्वमा रहेका महिलालाई नियन्त्रण गरी आफ्नो अधीनमा राख्न वा निजी माल बनाउन पुरुषले कति तिकडम वा बल प्रयोग गर्यो होला ? जङ्गली जनावरलाई बँधुवा बनाउन जेजति तरिका अपनाइयो, सायद त्योभन्दा कैयौँ गुणा बढी कसरत गर्यो होला किनकि महिला त मानवप्राणी न थिए । सुरुमा नाक, कान छेडेर, हातखुट्टामा गह्रौँ धातुका सामान झुन्ड्याइदिएर स्याहार्नै नसक्ने वस्त्र पहिर्याइदिएर, कपाल काट्न बन्देज गरेर जसरी महिलालाई नियन्त्रण गरी आफ्नो बसमा राखियो, कालान्तरमा तिनै चीजलाई गहना र सौन्दर्यको पहिचान बनाएर झुलाइयो ।

यसरी नियन्त्रणका सम्पूर्ण भौतिक तरिका अपनाई निजी पत्नी वा दासी बनाइसकेपछि पनि भोलि कतै स्वतन्त्रता खोज्छन् कि भन्ने भयले धर्म र पापको यस्तो काल्पनिक चित्र प्रस्तुत गरियो जसले पुरुषका लागि कुनै नियम बनाएन तर महिला भने सम्पूर्ण रूपले बाँधिनुपर्ने भयो । यो धर्मको नियमले त पुरुषलाई देउता मात्र बनाएन, महिलालाई मरेको पतिसँगै सती गई जिउँदै चितामा जल्नुपर्ने स्थितिको निर्माणसमेत गर्यो । पुरुषले नेतृत्व गरेको हरेक युगमा महिलामाथि उत्पीडनका स्वरूप बदलिएका छन् तर रोकिएका छैनन् । सामन्ती युगदेखि त झन् यसको गाँठोलाई थप बलियो बनाउन राज्यसत्ता नै लाग्यो । राज्यबाटै महिलाका लागि नियन्त्रणका थप नीतिनियम मात्र बनाइएन, ती उल्लङ्घन गरेमा कठोर सजायको भागीदार बन्नुपर्ने भयो । धर्मसंस्कारका नाममा पवित्रता, सहनशील, चरित्रवान् आदिको जामा भिराएर महिलामाथि पुरुषको पूर्ण आधिपत्य कायम गरियो । सामान्यजनको कुरै छोडौँ, राजा, महाराजा वा शासकको हकमा समेत पुरुषले गरेका गल्तीको सजाय महिलाले नै भुक्तान गर्नुपर्ने स्थितिसम्म भयो । सीता र द्रौपदीले भोग्नुपरेका पीडा त्यसका उदाहरण हुन् ।

सामन्ती उत्पादन सम्बन्धमा फेरबदल ल्याई त्योभन्दा उन्नत र मानवीय जीवनको परिकल्पना गर्दै स्वतन्त्रताका नाममा महिलालाई घरबाहिर ल्याई उत्पादनमुखी काममा लगाई ठूलै सभ्यता खडा गरेको स्वाङ रच्ने पुँजीवादले त झन् महिलाको श्रमको शोषण मात्र गरेन, आफ्नो औद्योगिक उत्पादनको विज्ञापन गर्ने साधनसमेत बनायो । त्यतिले नपुगेर आत्मनिर्भरताका सम्पूर्ण साधन–स्रोतविहीन बनाएर बाँच्नका लागि शरीर बेच्नुपर्ने बाध्यताको स्थितिसमेत उत्पन्न गरिदियो ।

त्यसैले भन्न सकिन्छ— महिला उत्पीडनको सुरुआत पुरुषको सामाजिक वर्चस्वसहितको निजी चेतनाबाट पैदा भएका पुरुषप्रधान संरचना परिवार, निजी सम्पत्ति र राज्यको उदयसँगै महिलाको स्वतन्त्रता हरण भएको थियो जुन मानवसभ्यताका हजारौँ वर्ष पार हुँदासम्म पनि विभिन्न रङ–रूपमा कायमै छन् ।

३. पुरुष मानवसभ्यता र महिला विद्रोह

‘समाज पुरुषप्रधान छ । त्यसैले महिला उत्पीडनमा छन् । राज्यसत्ताको नेतृत्व अधिकांश पुरुषले गरेका छन् । त्यसैले महिला अधिकारविहीन छन् ।’ यो विगतदेखिकै महिला र पुरुष विभेदका सन्दर्भमा सबैको मुखबाट निस्कने चलनचल्तीको भाषा हो तर यो २१ औँ शताब्दी हो । मानवजातिले हजारौँ वर्षदेखि आफ्नो सङ्घर्ष र विवेकका भरमा विविध उत्पादनप्रणाली र त्यसको व्यवस्थापनका लागि राज्यव्यवस्था र मानवसभ्यता निर्माण गर्दै आएको छ । मानवजीवन र समाजलाई उन्नत र विकसित बनाउन आविष्कार भएका विज्ञान र प्रविधिले भौतिक विकास मात्र गरेको छैन, बेला–बेलामा प्रकृतिलाई समेत चुनौती दिने गरेको छ । तर यति धेरै उन्नति र प्रगति गरेको मानवसभ्यतामा त्यही सभ्यताको अभिन्न अङ्ग रहेको एउटा सिङ्गो लैङ्गिक समुदाय (महिला) किन सधैँ आन्दोलित छ ? किन सधैँ शोषण, दमन, अन्याय र उत्पीडनको मात्र होइन, आफ्नो स्वत्वसहितको अधिकार र स्वतन्त्रताको माग गरिरहन्छ ? प्रकृतिलाई चुनौती दिने मानवसभ्यताले किन आफ्नो आधा अङ्गमाथि न्याय गर्न सक्दैन ? के यो सभ्यता भ्रम हो जसले बाहिर सुन्दरताको जलप देखाउँछ र भित्रभित्र मानवीय कुरूपताको भट्टी चलाउँछ ? यी यस्ता सयौँ प्रश्न छन् समाजमा । हरेक सरोकारवालाले यसको सही–सही जबाफ मागेका छन् जबाफदेही निकायसँग । सबैले बुझ्न जरुरी छ । यी ओठे जबाफ पाउन गरिएका प्रश्न मात्र होइनन्, यी त बहसका विषय हुन् र निष्कर्ष खोज्ने आन्दोलन हुन् ।

माथि नै उल्लेख गरिसकिएको छ– महिला उत्पीडन र विभेदको पृष्ठभूमि के हो भन्ने । माथिका प्रश्नको उठान गर्दा सबैले खोतल्नैपर्ने र बुझ्नैपर्ने समाज निर्माणका दुईवटा पाटा छन् : पहिलो, समाज निर्माणमा श्रमिक महिलाले निर्वाह गरेको भूमिका र योगदान, दोस्रो— श्रमिकको श्रमलाई निस्तेज गर्दै मालिक वा शासकलाई नायक बनाएर निर्माण गरिएको पुरुष मानवसभ्यताको भाष्य । मानवसभ्यताको सुरुआत नै श्रमिकको सीप र पसिनाबाट भएको हो । चाहे त्यो प्रत्यक्ष मानवीय भौतिक श्रमबाट निर्माण भएको मिश्रको पिरामिड होस् वा चीनको ग्रेटवाल । आधुनिककालमा निर्माण भएका कल्पनै गर्न नसकिने भौतिक र वैज्ञानिक संरचना बनाउने प्रविधिको निर्माण र आविष्कार पनि आधुनिक शिक्षित श्रमिकबाटै भएका छन् । महिला समुदाय सुरुदेखि नै श्रमिकको भूमिकामा भएकाले संसारमा जति पनि सभ्यता निर्माण भएका छन्; ती सबैमा उसको भौतिक मानवीय उपस्थिति मात्र छैन्, कला र कौशलको पनि भरपूर प्रयोग भएको छ । भौतिक सभ्यताको निर्माणमा पुरुषबराबर योगदान त छँदैछ, त्योभन्दा पनि बढी र पुरुषले गर्न नसक्ने मानवीय सभ्यता निर्माण (बच्चाले जन्मदेखि नै पाउने संस्कार) र व्यवस्थापन कला (घरपरिवारको सूक्ष्म व्यवस्थापन) अतुलनीय छ । यस्तो सीप, कला, क्षमता र योगदानले हरेक युगको मानवसभ्यता विकसित भएको छ । श्रमिक हुनुको नाताले घर, परिवार, समाज, देश र सिङ्गो संसारमा महिलाको भूमिका ज्यामी माहुरीसरह छ । आफू बाँच्दासम्म निःस्वार्थ भावका साथ, जसरी ज्यामी माहुरीले मह जम्मा गरेर भरणपोषण र घारको सुरक्षा गरेका हुन्छन् त्यसरी नै महिलाले पनि घरभित्र होइन, बाहिरका उत्पादन क्षेत्रमा समेत निःस्वार्थ योगदान दिइरहेका छन् तर विडम्बना, डाइनोरूपी (भालेरूपी) पितृसत्तात्मक शासन व्यवस्था र त्यसका संरचनाले समाज निर्माण वा सभ्यता निर्माणको यो सत्यमाथि सधैँ ढाकछोप गरी आफ्नै स्वार्थअनुकूलको भाष्य निर्माण र प्रचार गरी आममानिसमा भ्रमको खेती गरिरहेको छ ।

परम्पराकालदेखि नै संसारभरका जति पनि सभ्यताका विरासत छन्, ती सबैको एउटा भाष्य छ, यो कसले निर्माण गर्यो ? अमूक वीरले, राजाले, सम्राट्ले वा नेताले । उसको पुरुषार्थले आर्जन गरेको सभ्यता (वा राज्य, शासन व्यवस्था) हुनाले बाँकी जनमा शासन गर्ने अधिकार उसैलाई छ । यसरी उठाइएको नायकलाई यसरी स्थापित गरिन्छ, सालिकदेखि वाणीसम्म जनस्तरमा पुर्याएर पूजा गर्न लगाइन्छ । मानौँ, ऊ कुनै मानव होइन, विशेष देवता हो । राज्यशक्तिको भीमकाय संरचनासहित आएको यो भाष्यले श्रमिकजनको पसिना र योगदानको मूल्यलाई क्षणभरमै धुलीसात् बनाइदिन्छ । गोयबल्स शैलीमा प्रचार गरिने यस्ता कार्यले कालान्तरमा जनस्तरमा संस्कृतिकै रूप लिन पुग्छ । अरूले जति नै योगदान गरे पनि फलानो नायक (पुरुष) ले नै यो सब गरेको भन्ने छाप परेपछि महिलाले कसरी आफ्नो योगदानको स्वत्व लिन सक्थे र ? यसले त परम्परागत पूजासंस्कृतिलाई नै मलजल गर्ने भयो ।

भ्रमको यो संस्कृति जति मौलायो, शासकलाई शासन गर्न त्यति सजिलो हुन्छ । भ्रमले जहिले पनि सत्यको ढाकछोप गर्छ । सत्य उजागर भयो भने भ्रमको पर्दाफास हुन्छ । त्यसैले शासकले भ्रमको खेती गर्न नै धेरै लगानी गर्छन् । बाहिर सुशासनको नारा दिने आफ्नो सत्ताको आयु बढाउनका लागि, व्यवहारमा भने गरिबलाई रोजगारी दिनुभन्दा मन्दिरका लागि पैसा बाँड्छन् शासक । यही हो सामन्ती र पुँजीवादी सत्ताको पाखण्ड ।

समयक्रमले जब मानिसलाई सत्य र न्यायको खोजी गर्ने स्थितिमा पुर्याउँछ तब मान्छेले आफ्नो स्थिति पनि विश्लेषण गर्न थाल्छ । समाजमा सत्य, न्याय, स्वतन्त्रता र समानताको नारा लागेपछि जसले आफूलाई ती कुराबाट वञ्चित भएको महसुस गर्छ अनि उसले विद्रोह बोल्छ । महिलाले इतिहासका विभिन्न कालखण्डमा फरक–फरक तरिकाले विद्रोह गर्दै आएका छन् । ती सबै कुनै न कुनै रूपमा सत्य, न्याय र स्वतन्त्रताको खोजीमा भएका छन् । पुरुषमानकमा निर्मित सामाजिक भाष्य र त्यसलाई बल पुर्याउने राज्यसत्ता भएपछि उत्पीडित महिलाले त टाउको उठाउनै पाउँदैनन् भन्ने मान्यताबाट निर्देशित शासकले लोकको लाज मेट्नलाई कहिलेकहीँ महिलालाई शासनसत्ताको सिंहासनमा पुर्याउँछन्, आफ्नो परम्परागत स्वार्थको मूल्यलाई स्वीकार गर्न लगाएर । सत्तामा पुगेकी महिलाले थोरै पनि परिवर्तन ल्याउने चेष्टा गरी भने उसलाई तुरुन्त गलहत्याइन्छ किनकि सत्ताको रिमोट पुरुषकै हातमा हुन्छ ।

पुरुषमानक सभ्यताले कहिल्यै पनि महिलाको भूमिका र स्वत्वलाई बराबरीमा स्वीकार गर्न नसक्नु नै महिला र पुरुषबीचको विभेदको मूल कारण हो । यो सामाजिक मानकलाई राज्यसत्ताले झनै मलजल गर्दै आएको छ । त्यसैले त्यो शासकीय बनेको छ । त्यो प्रवृत्ति र चेतनाले जुन नीति, नियम र संस्कार भुइँ तहसम्म निर्माण गरेको छ यसले महिलालाई सधैँ कमजोर र दोस्रो दर्जाकै देख्छ । उसको भाष्यले सामाजिक जीवनका हरक्षेत्रमा व्यक्त–अव्यक्त रूपमा भनिरहेको हुन्छ– तँ हाम्रो प्रभुत्व स्वीकार गर् र हामीले भनेजस्तै गर्, होइन भने दण्डको भागीदार बन् । आज समाजमा महिला हिंसाका जेजस्ता घटना हुने गरेका छन्, ती कुनै न कुनै रूपमा यही भाष्यद्वारा निर्देशित छन् । शासकदेखि भुुइँ तहसम्मका पुरुषको अभिव्यक्ति र क्रियाकलाप हेर्दा यो सजिलै देख्न सकिन्छ ।

भ्रमको यो संस्कृति जति मौलायो, शासकलाई शासन गर्न त्यति सजिलो हुन्छ । भ्रमले जहिले पनि सत्यको ढाकछोप गर्छ । सत्य उजागर भयो भने भ्रमको पर्दाफास हुन्छ । त्यसैले शासकले भ्रमको खेती गर्न नै धेरै लगानी गर्छन् । बाहिर सुशासनको नारा दिने आफ्नो सत्ताको आयु बढाउनका लागि, व्यवहारमा भने गरिबलाई रोजगारी दिनुभन्दा मन्दिरका लागि पैसा बाँड्छन् शासक । यही हो सामन्ती र पुँजीवादी सत्ताको पाखण्ड ।

एउटा पुरुषले यो अनैतिक र आपराधिक कार्य हो भन्ने जान्दाजान्दै कुनै महिलालाई जबर्जस्ती बलात्कार गर्छ र पोल खुल्ने डरले हत्यासमेत गरिदिन्छ । त्यो उसको तुष्टि मेट्ने चाहना त हुँदै हो तर त्योभन्दा जनावर उसको पुरुष अहम् र बहादुरीको मनोविज्ञान हो । समाजले यतातिर कहिल्यै ध्यान पुर्याउन सकेको छैन । कार्यालयका हाकिमले महिला कर्मचारीसँग गर्ने हिंसाका व्यवहारलाई के भन्ने ? उद्योगीव्यवसायी जसले आफ्नो व्यापार बढाउन होटेल र रेस्टुरेन्टमा यौनधन्दा चलाउँछन्, राज्य सञ्चालक, जनताका जनप्रतिनिधि भनिने खुलेआम सहरी क्षेत्रलाई पर्यटन बढाउन रेड एरिया घोषणा गर्नुपर्ने विचार व्यक्त गर्छन् जसबाट आएको आम्दानीको करबाट आफ्नो भत्ताको जोहो होस् । धन्य सरकार ! पेट पाल्न मुस्किल भएका महिलालाई रोजगारी दिलाएर संरक्षण गर्नुको सट्टा उसको विशेषताको फाइदा उठाएर उसको स्वत्व र आत्मसम्मानलाई खुलेआम बिक्री गरेर खान लाज नमान्ने । यस्तो निच मानसिकताको मनोवैज्ञानिक जरो कहाँ छ ?

त्यति मात्र होइन, राज्यव्यवस्थामाथि प्रश्न उठाउने महिलालाई नानाथरीका दुःख दिई दमन गर्ने कुरा त छँदैछ, त्यसमा थप बलात्कार गरेर हत्या गर्ने कार्य स्वयम् राज्यले गर्ने गर्दछ । नेपालको जनयुद्धको बेला राज्यको अङ्गको रूपमा रहेका सेना–प्रहरीबाट राजबन्दी महिलालाई यस्तो घृणित कार्य गरेका कैयौँ उदाहरण छन् । राज्य र शासकका खराबीका बारेमा बोलेबापत पछिल्ला वर्षमा संसारभर थुप्रै महिला राज्यहिंसाका सिकार भएका छन् । जस्तै केही वर्षअगाडि भारतीय चर्चित पत्रकार एवम् लेखिका गौरी लङ्केशलाई सरकारको गलत क्रियाकलापकको सूचना बाहिर ल्याएबापत गोली हानी हत्या गरियो । हालै टर्कीका कानुन व्यवसायी एवम् मानवअधिकारकर्मी इब्रु तिम्तिकलगायत अन्य चारजना कलाकारलाई उनीहरूको मागको कुनै सुनुवाइ नगरी भौकै मर्न बाध्य पारियो । नेपालमै विद्रोही नेकपाका महिला नेतृत्व उमा भुजेल, बन्धु चन्द, धीरेन्द्रा उपाध्यायलगायतलाई झूट्टा मुद्दा लगाई दर्जनौँ ठाउँका जेल र हिरासतमा बन्दी बनाई मानसिक यातना दिइयो । यसरी सिङ्गो राज्य नै हिंसामा उत्रनुले के सङ्केत गर्छ ? यो समकालीन राजनीतिक, सामाजिक तथा सांस्कृतिक जीवनमा असामान्य प्रश्न हो ।

४. निष्कर्ष

यी सबै घटनाक्रमले के देखाउँछ भने वर्तमान पुँजीवादी शासन व्यवस्था पुरुषप्रधान भाष्यनिर्मित पुँजीमा आधारित अन्याय र अमानवीय शासन व्यवस्था हो । त्यसैले राज्यसत्ताको मुहानदेखि सामाजिक नदीको किनारसम्म महिला विभेदका भेल छन् । यसलाई सफा गर्न महिला अधिकारका एकदुई विषय उठाएर सम्भव छैन । त्यसका लागि धर्म र कथित आदर्शवादी सामन्ती संस्कार बोकेको समाज अनि वर्गीय विभेदको पुरिनै नसकिने खाडल खन्दै महिलालाई एकातिर तृप्ति नै हुन नसक्ने उपभोक्ता बनाउने र त्यसैबाट लुट्ने, अर्कोतिर सम्पूर्ण साधनस्रोतबाट वञ्चित गराई सडकछाप बनाउने अनि बचेको शरीरको पनि व्यापार गरेर फाइदा उठाउनेजस्तो घृणित पुँजीवादी व्यवस्थाको विकल्पको बहस नगरी न महिला सुखी हुन्छन्, न त स्वतन्त्र ।

पुरुषमानक भाष्यको आड लिएर पुँजीवादी सत्ताले जसरी समाजमा रजाइँ गरिरहेको छ, त्यसको जरो उखेल्ने आँट गर्नु आजका महिलाको जिम्मेवारी हो । विगतका आन्दोलनका अनुभवले के सिकाएका छन् भने पुरुषचेतनाले वा उनीहरूको आवश्यकताले निर्माण गरिएको महिला आन्दोलनले केही जागरण र सङ्घर्ष गर्ने चेतना त विकास गर्यो तर महिलालाई मुक्त गर्न सकेको छैन । त्यसैले महिला मुक्तिका लागि महिला स्वयम्ले आफ्नो स्वत्वसहितको सङ्घर्षको बाटो तय गर्नुपर्छ । आफ्नो निर्णय गर्ने अधिकार आफैँमा राख्नुपर्छ । आफ्ना विशेषता र क्षमतालाई पहिल्याउँदै आफ्नै कर्मको भाष्य निर्माण गर्दै त्यसलाई पुरुष समाजमा स्वीकार्य बनाउन अनि सामाजिक र राजनीतिक सङ्घर्षमा सहभागी बनी समानता र स्वतन्त्रतासहितको उन्नत वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नु नै महिला मुक्तिको उज्ज्वल बाटो हो । यही दिशामा सबैले प्रयत्न गरौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :