माइला लामाको सहिदप्रति समर्पित गीत ‘बमको कालो धुवाँसँगै उडिगयौ प्यारा’

माइला लामाको सहिदप्रति समर्पित गीत ‘बमको कालो धुवाँसँगै उडिगयौ प्यारा’

देश र जनताको मुक्तिका निमित्त हत्केलामा ज्यान राखेर लड्नेहरू, लड्दालड्दै ढलेका सहयोद्धाका हातबाट आलो रगत लतपतिएका राता झन्डा उठाउनेहरू, मरे सहिद जिते संसार भन्दै महासमरमा लामवद्ध क्रान्तिकारी योद्धाहरू फेरि यति बेला आँखाभरि आँसु र मुटुभरि आक्रोश बोकेर गाउँबस्तीमा एकीकृत जनक्रान्तिको राता झन्डा फर्फराइरहेका छन् । पार्टी पुनर्गठनको सातौँ वर्षगाँठसम्म आइपुग्दा राजधानी काठमाडौंलगायत देशैभर दलाल फासिवादी संसदीय व्यवस्थाको जरोकिलो नै हल्लिनेगरी, तिनको मनमुटु नै कम्पायमान हुनेगरी जनसमुदायको व्यापक सहयोग र समर्थनमा नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध सङ्घर्ष गरिरहेको छ । एकीकृत प्रतिरोधले एकातिर दलाल संसदीय व्यवस्थाको आयुलाई ह्वात्तै घटाइदिएको छ भने अर्कोतिर जनताको मनोबल र क्रान्तिकारी उत्साहलाई ह्वात्तै बढाइदिएको छ । यही प्रतिरोधका क्रममा महासमरका योद्धाहरूको उच्च बलिदान पनि भइरहेको छ । यो बलिदानको स्मरण मात्रै गर्दा पनि आँखामा बारुद विष्फोट भएजस्तो, चारैतिर अन्धकारै अन्धारकाले छाएजस्तो, मुटु बेस्सरी चिरिएजस्तो र अनवच्छिन्न समय पनि स्तब्ध भएजस्तो अनुभूति हुन्छ ।

लेखक : खेम थपलिया

प्रचण्डको नेतृत्वमा रहेको माओवादीको एक समूह एमालेमा विलय भयो । त्यसपछि यसो बाहिरबाट हेर्दा उनीहरूलाई ठूलो र शक्तिशाली भएको भ्रम पर्न थाल्यो । सुरु–सुरुमा चाइनिजहरूको नाम खुब भजाइयो, यथार्थतः इन्डो–सीआईएका खास प्रतिनिधिका रुपमा उनीहरूले केही बेचुवा र घिचुवा माओवादीको ढाडमा टेकेर माओवादी आन्दोलनसँगै नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नै पत्तासाफ गर्ने योजनालाई कार्यान्वयन गर्न थाले । २०७५ फागुन २८ गते केपी ओली सरकारले नेपाल कम्युनिट पार्टीमाथि प्रतिबन्ध लगाउनु त्यसैको एउटा कडी थियो । नेपालमा पुनः एकपटक क्रान्ति र प्रतिक्रान्ति आमने–सामनेको अवस्था सिर्जना भयो । पार्टीका कमरेडहरूको सहादत हुनेक्रम बढ्न थाल्यो; जुन देश, जनता र पार्टीको लागि अपूरणीय क्षति थियो । तर पनि अनेकन् दिनहरू उदाउँदै गए, अनेकन् साँझहरू अँध्यारा गर्तमा विलाउँदै गए । अकल्पनीय र भयानक घटना विस्तारै पुराना बन्दै थियो तर पनि पीडाको गहिराइ भने झन्भन्दा झन् बढ्दै थियो । सुन्दर संसार बनाउने महान् अभियानमा हिँडेको सहयोद्धाहरूको सहादत सिङ्गो पार्टी पङ्क्तिका लागि असह्य पीडा बन्यो । सहयोद्धाहरूलाई उक्त पीडा सहन हम्मेहम्मे पर्यो । पार्टीका होनाहार नौजवान सहयोद्धा कमरेडहरूको सहादतले जनताका प्रिय कलाकार माइला लामालाई पनि नछुने कुरै भएन । आखिर कलाकारको मन न हो, कहाँ यसैत्यसै बस्न सक्छ र ! अनि उहाँले ती महान् सहिदहरूको सम्मान र सम्झनामा यसरी एउटा गम्भीर र कालजयी गीतको रचना गर्नुभयो :

बमको कालो धुवाँसँगै उडी गयौ प्यारा
संसार सुन्दर बनाउने छोडी काम अधूरा ।

राजनीति कमान्डर हो । माओले भन्नुभएको थियो– राजनीतिलाई शीर्षासनमा राख । त्यसैले हामीले पनि भनिरहेका छौँ– सबैभन्दा पहिला राजनीतिक समस्या हल गर्नुपर्दछ । अनि साथमा आर्थिक, सांस्कृतिकलगायत सवाल आउँछन् । नेपालमा जनयुद्धको माध्यमबाट एउटा जटिल र लामो राजनीतिक मुद्दाको सम्बोधन गर्न खोजिएकै हो तर तत्कालीन नेतृत्व प्रचण्डले उल्टो बाटो समातेपछि त्यो केहीबेर कतै अलमलियो । तत्कालीन नेतृत्वले अङ्गीकार गरेको उल्टो मार्गलाई सुल्टाउँदै यति बेला नेपालमा जनक्रान्ति अघि बढिरहेको छ । राजनीतिक समस्याको हल गर्न तत्पर हुनुको साटो झन् उल्टै ओली सरकार नेपाल आमाका होनाकार छोराछोरीहरूको रगत पिउन उद्यत भइरहेछ । यति बेला सुन्दर सपना साकार पार्न क्रान्तिकारी योद्धाहरू आफ्ना सीप, श्रम र पसिना लगाएर फासिवादी सत्ताका विरुद्ध लडिरहेका छन् । सरकार पनि दिन–प्रतिदिन बौलट्ठीपूर्ण हर्कतमा उत्रँदै छ । उसले धरपकड, गिरफ्तार, यातना र झुट्टा मुद्दा लगाउने काम मात्र तीव्र बनाउँदै लगेको छैन; झुटो मुठभेडको नाटक रच्दै निःशस्त्र राजनीतिकर्मीहरूको हत्या गरिरहेको छ । प्रस्तुत गीतमा सहादतको उच्च भावलाई अत्यन्त मर्मका साथ गीति–संरचनामा उनिएको छ । सहिदहरू सपनामा आउने गरेको, विपनाका आफ्नी छोरी मात्र भेटिएको र तिनै छोरीलाई क्रान्ति हाँक्ने वीरङ्गना बनाउनेजस्ता उद्दात्त भाव प्रस्तुत गीतमा छचल्किएको छ । सहिदको रगत कहाँ खेर गएको छ र ! जनताले कहाँ हारेका छन् र ! सहिदको महान् सपना साकार हुने दिने आउनेछ । त्यही सपना साकार पार्ने दिनको पखाईको भावार्थ रहेको प्रस्तुत गीतको एक अंश हेरौँ :

सपनामा घरीघरी आउँछौ तिमी रातमा
ब्युँझिएर खोजी हेर्दा छोरी हुन्छे साथमा
क्रान्ति हाँक्ने वीरङ्गना बनाउँछु म यिनलाई
पर्खिबस्छु तिम्रो सपना साकार पार्ने दिनलाई ।

बलिदानको सौन्दर्यात्मक मूल्य हुन्छ । क्रान्ति त्यस्तो प्रश्रवपीडा हो, जसको नकारात्मक परिणाम पनि कैयौँ शिक्षाप्रद हुन्छन् भने सकारात्मक परिणाम बडो आनन्ददायक हुन्छ । यस्तो आनन्दले जनसमुदायमा सुखानुभूति दिलाउँछ । जनताको यो हर्षखुसीको भावलाई गीत–सङ्गीतको माध्यमबाट गरिने प्रस्तुतिले ठूलो अर्थ राख्दछ । गीतसङ्गीतले निराशालाई आशामा बदलिदिन्छ, आशालाई झन् उचाइमा पुर्याउँछ । प्रस्तुतिको शिल्पको कुरा मात्र न हो । नेपालमा पश्चिमाहरूको तुलनामा अलि बढी ताल र भाकाले प्रभावित पारेको देखिन्छ । कतिपय अवस्थामा त सङ्गीत मात्र यति हाबी हुन्छ कि गीतको शब्द नै बुझिँदैन । कहिलेकाहीँ त गीत बज्न थालेपछि कान थुन्नुपर्नेजस्तो पनि हुन्छ । उत्पीडित तथा श्रमजीवीहरूको अभिव्यक्ति जनताका गीतबाट निस्कने भएकाले जनताले नै नबुझ्ने पनि कहीँ जनताको गीत हुन्छ र ? नेपालमा पछिल्ला लोकगीतको हालत पनि त्यस्तै देखिएको छ । यथार्थतः लोकगीत श्रमजीवीहरूको अभिव्यक्ति हो । हामीले जनताका गीतलाई राजनीतिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि प्रयोग गर्नुपर्दछ । गीतसङ्गीतले सामूहिक भावनालाई उजिल्याउनुपर्दछ र यो ऊर्जाशील हुनुपर्दछ । क्रान्तिकारी गीतसङ्गीतमा वर्गीयता र वर्गपक्षधरता हुनैपर्दछ । हामीले यतिबेला पनि फासिवादी ओली सरकारको तालमा नाच्ने र गाउने मान्छेहरू देखिरहेका छौँ । यो पक्षधरताको कुरा हो । क्रान्तिकारी गीतकारले आफ्नो वर्गको हितार्थ यथार्थलाई कलात्मक प्रतिबिम्बन गर्नुपर्दछ । ओली सरकारले जेजे भन्यो, त्यहीत्यही लेख्नु र त्यहीत्यही गाउनु भनेको बालुवाटार र सिंहदरबारको दास बन्नु हो । एकीकृत जनक्रान्ति दासताविरुद्ध पनि परिलक्षित छ । आज विश्वभर विभिन्न स्वरूप र विभिन्न आवरणमा फासिवादी सत्ता मैमत्त भइरहेका छन् । यही पासिवादका विरुद्धको सङ्घर्षमा आफ्नो जीवनको बलिदान दिएका सहिदहरूको सबैतिर खोजी भइरहेको छ । गाउँघरका अग्रजहरू, देशभक्तहरू, मजदुर र किसानहरू सबै क्रान्तिकारी अभियानमा सहादत प्राप्त गर्नेहरूलाई स्मरण गरिरहेका छन् । उन्मुक्त अभिलासा प्रकट भएका प्रस्तुत गीतमा क्रान्तिकारी स्वच्छन्दतावाद मुखरित भएको छ । मार्मिक भाव वहन गरेको प्रस्तुत गीतको अर्को अंश हेरौँ :

गाउँघरका बूढापाका तिमीलाई सोध्छन्
देशको माया गर्ने आजकल तिमीलाई खोज्छन्
मुटु हाम्रो चुँडिलग्यो मजदुर किसान भन्छन्
डाक्टर साहेब पनि तिमै्र बाटो हेरिरहन्छन् ।

नेपालको क्रान्तिकारी गीतको कम्पोजिसनदेखि नृत्यसम्मका काम प्रायः एकाध मान्छेले गरेको देखिन्छ । हुन त नेपालमा क्रान्तिकारी दर्शन, व्यवहार र विचार नै नबुझेको मान्छेले पनि क्रान्तिप्रति सहानुभूति राखेको पाइन्छ । हामीले नेपालमा क्रान्तिकारी गीतसङ्गीतको विशाल फाँटको कुरा त गरिरहेका छौँ तर यथार्थमा यो गम्भीर समीक्षाको विषय बनेको छ । हामीले गीत, नृत्य र सङ्गीतलाई क्रान्तिकारी विचारसित जोड्ने विषयमा गम्भीरताका साथ सोच्नैपर्दछ । यो क्षेत्रमा प्रतिभाहरू जुर्मुराउँदै आउने र भस्याकभुसुक हराउँदै जाने पनि देखिएको छ । जबसम्म कुनै पनि कलाकारले गीतसङ्गीतलाई जीवन बनाउँदैन, तबसम्म यस्ता समस्या आइरहन्छन् । नेपालमा गीत–नृत्यको आकर्षण र प्रभावकारिता बढाउने कुरा त सोचिन्छ तर जनताको तहसम्म त्यसले विचारधारात्मक काम कति गरिरहेका छन् भन्ने कुरामा खासै ध्यान पुगेको पाइन्न । एउटा सांस्कृतिक कार्यक्रममा दसौँहजार मान्छे जम्मा हुन्छन् तर उही र तिनै विषयमा त्यहीँ जुलुस गर्नुपर्दा दशजना मान्छे जुट्न पनि गार्हो हुन्छ, किन ? गीतसङ्गीतको क्षेत्रमा यो असामान्य प्रश्न हो । तसर्थ, हामीले आफ्नो कुरा जनतामाथि लाद्नुहुँदैन, जनताका समस्या जनताकै सामु राखिदिनुपर्दछ अनि मात्र त्यसको समाधानमा जनता आफैँ जागरुक बन्दछन् । हामीले गीतसङ्गीत सामूहिक काम हो भन्ने कुरा कहिल्यै भुल्नुहुँदैन । हामीले माथि बलिदानी सौन्दर्यको कुरा गर्यौँ, नेपालमा गीतसङ्गीतको सौन्दर्यात्मक विवेचना पनि यथेष्ट भएको देखिँदैन । क्रान्तिकारी गीतसङ्गीतको स्पष्ट दिशानिर्देशमा कमी भइरहेको छ । हामीलाई २१ औँ शताब्दीको क्रान्तिकारी गीतसङ्गीतको थेसिस चाहिएको छ । हाम्रो गीतसङ्गीतमा आधुनिकतावाद हाबी हुन थालेको छ । यिनै विषयका आधारमा गीतसङ्गीतको चर्चा हुने गर्दछ, प्रस्तुत गीतको मूल्याङ्कनको सन्दर्भमा पनि कुरा यही हो । क्रान्ति आज सबैको आवश्यकता बनेको छ । विदेशिएका भाइबैनीहरू क्रान्तिकारी सहिद दाजुको आदर्श पछ्याउने गरिरहेका छन् । जति अप्ठ्यारो भए पनि क्रान्तिको महान् बाटो हिँड्नुको कुनै विकल्प छैन । जनतालाई रुवाउने सत्ता फाल्न अबेर भइसकेको छ । मन र मष्तिस्कमा गडेर बसेको क्रान्तिकारी आशावाद र प्रतिवद्धताको व्यक्त गरेको प्रस्तुत गीतको अर्को अंश हेरौँ :

विदेशबाट फर्किएका भाइ पर्खिरहन्थे
अरबबाट बैनी पनि आउँछु भनिरहन्थी
दाजुसँगै त्यही महान् बाटो हिँड्छौँ भन्थे
जनतालाई रुवाउने शासन फाल्छौँ भन्थे ।

सामाजिक रूपान्तरणमा जनताका गीतसङ्गीतको ठूलो भूमिका रहँदै आएको छ । दीर्घकालीन सामन्तवादशासित हुनुले नेपाली गीतसङ्गीतमा पनि त्यही वर्गको बर्चश्व रहँदै आएको छ । नेपालमा जनताका गीतसङ्गीतले केन्द्रीयधारको नेतृत्व गर्न नपाउनुको मुख्य कारण पनि यही हो । समकालीन नेपाली गीतसङ्गीतमा शासकीय र अझ भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादी भावना, विचार र मनोदशाले रगजग तीव्र बन्दै छ । नेपालमा जब पञ्चायतविरोधी भावनाको सल्बलाहट प्रारम्भ भयो, तब जनताका गीतसङ्गीतले समाजको विभिन्न तहमा विस्तारित हुन पाएको हो । सामन्ती उत्पीडनका विरुद्ध जनताका गीतसङ्गीतले मोर्चाबन्दी गर्दै गएपछि यसको विविध पक्षमा बहस सुरु भएको हो । नेपालका गाउँगाउँमा मात्र हैन, काठमाडौंलगायत ठुलाठुला सहरमा क्रान्तिकारी गीतसङ्गीत घन्किए । जनताका गीतसङ्गीतले नेपालको हरेक राजनीतिक परिवर्तनमा अग्राधिकार कायम गर्दै आयो । जनयुद्धमा यसले महान् बलिदानसहित झन् अद्वितीय भूमिका निर्वाह गर्यो । नेपाली जनसङ्गीतको समृद्ध र गौरवशाली विरासत रहँदै आएको छ । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक जागरण र परिवर्तनमा अहम् भूमिका खेल्दै आएको जनताको गीतसङ्गीतको सुनौलो क्षितिजमाथि अहिले कालो बादल मडारिएको छ । यति बेला रगत बगाएर गणतन्त्र ल्याउने उनै क्रान्तिकारी योद्धा र सर्जकहरूमाथि बयलगाडावालाहरूले चर्को दमन गरिरहेका छन् । यो केपी ओली सरकारको जनताको सिर्जनात्मकता, गतिशीलता र आकाङ्क्षामाथिको ठाडो र निर्लज्ज हस्तक्षेप हो ।

क्रान्तिकारी गीतिसिर्जनाको विधि समाजवादी यथार्थवादमा आधारित रहेको छ । गीतसङ्गीत रचनाका केही कठोर नियम हुन्छन् । लेख्दैमा र गाउँदैमा गीत भइहाल्दैन । वीर रसको गीत करुण रसमा गाउँदा त्यसको हालत के हुन्छ होला ! नेपालमा ल अफ हार्मोनी, गीतसङ्गीतको सौन्दर्यशास्त्रीय चर्चा खासै सुनिँदैन । सङ्गीत रत्नाकरले गायन, वादन र नृत्यको सङ्गमलाई सङ्गीत भनेका छन् । माइला लामाद्वारा रचित प्रस्तुत गीतमा शब्द, स्वर र सङ्गीतको अन्तरवस्तु मिलेको छ । प्रस्तुत गीतले करुण रसको बेसमा वीररसलाई जुरुक्कै माथि उठाएको छ । निर्मला घिसिङको स्वर, धिरजनाथको सङ्गीत र नारायण दङ्गालको एरेन्ज रहेको प्रस्तुत गीत कलात्मक साङ्गीतिक प्रतिबिम्बनयुक्त बनेको छ । ६ मिनेट ३८ सेकन्डको आयातनमा संरचित प्रस्तुत गीत नेपाली क्रान्तिकारी गीतसङ्गीतको क्षेत्रमा विशिष्ट प्राप्ति हो ।

२८ कात्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :