नेकपा मकवानपुरले मनायो सहिद रमेश र राजेन्द्रको २० औँ स्मृति दिवस

नेकपा मकवानपुरले मनायो सहिद रमेश र राजेन्द्रको २० औँ स्मृति दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनयुद्धका महान् सहिद रुद्र पाख्रीन ‘रमेश’ र राजेन्द्र नेपालको २० औँ स्मृति सभा कार्यक्रमको आयोजना गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कार्यक्रम बकैया गाउँपालिकाको गरगरेमा भएको हो । जहाँ तत्कालिन शाही सेनाले निशस्त्र रमेश र उनका सहयोद्धा राजेन्द्रलाई आजकै दिन वि.सं. २०५९ पुस २८ गते गोली हानी हत्या गरिएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विवेक घलान, बकैया–४ का वडा अध्यक्ष राजन दङ्गाल, माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्य पर्शुराम गौतम, सहिद रुद्र पाख्रीनका भाई बुद्धि पाख्रीन लगायतको आतिथ्यता रहेको थियो । अतिथि गण र कार्यक्रममा उपस्थित सम्पूर्ण नेताकार्यकर्ताले गरगरेस्थित रुद्र पाख्रीनको शालिकमा माला अर्पण र अविर लगाई ती महान् सहिदप्रति श्रद्धाञ्जलीसहित उच्च सम्मान व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै विशेष अतिथि वाटरले सहिदहरूका सपना पूरा गर्नको लागि एकीकृत जनक्रान्तिको थालनी भएको र दृढतापूर्वक निरन्तर अघि बढिरहेको बताए । त्यस्तै उनले आजभोलि पूर्व माओवादी तथा कम्युनिस्टहरू बीचका एकताको कुरा जसरी बाहिरिएका छन्, त्यसलाई व्यवहारिक बनाउने हो भने संसदवादी कार्यदिशा परित्याग गरि सहिदहरूका सपना साकार पार्ने एकीकृत जनक्रान्तिको कार्यदिशा अङ्गिकार गर्नुपर्ने बताए । कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि नयनले सहिदहरूका रगत र बलिदानको उच्च कदर गर्दै तिनका सपना साकार पार्ने जिम्मेवारी नेकपाले लिएको बताए । संसदवादमा फसेकाले न देश र जनताको मुक्ति दिलाउन सक्छ न त सहिदको सम्मान नै गर्न सक्छन् । त्यसैले अब जनयुद्धको बाँकी कार्यभार एकीकृत जनक्रान्तिले मात्र पूरा गर्ने भएकोले सम्पूर्ण देशभक्त, प्रगतिशील नागरिकहरू एकजुट हुन अह्वान् गरेका छन् ।

यसरी देश र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुती दिएका महान् सहिदका सम्झनामा जिल्ला सचिवालय सदस्य तथा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्यालको सभाध्यक्षतामा आयोजित २० औँ स्मृति सभा कार्यक्रमको सञ्चालन बकैयाँ गाउँपालिका सेक्रेटरी श्याम सेन्चुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :