साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादको राष्ट्रघाती चरित्र

साम्राज्यवादी हस्तक्षेप र दलाल पुँजीवादको राष्ट्रघाती चरित्र

मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविका एकैसाथ सङ्कटमा परेको छ । जबजब दलाल पुँजीवादलाई आफू शक्तिशाली भएको र क्रान्तिकारी, देशभक्त शक्ति कमजोर भएको भान पर्छ, साम्राज्यवादलाई आफ्नो मुलुकमा हस्तक्षेप गर्न आमन्त्रण गर्ने वा त्यसप्रकारको वातावरण निर्माण गर्ने गर्छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसीको राष्ट्रघाती तरबार लिएर नेपालको राष्ट्रियताको घाँटीमाथि झुन्ड्याइरहेको छ र नेपालका राष्ट्रघाती लेन्डुपदोर्जेहरू त्यो तरबार चलाउने ताक छोपेर बसेका छन् भने अर्कातिर निरन्तर नेपालको राष्ट्रियतामाथि धावा बोल्दै आएको भारतीय साम्राज्यवादले नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्रमा अतिक्रमण बढाएर र अझ सडक विस्तार गर्ने ऐलान नै गरेर नेपालको सार्वभौमसत्तामाथि फेरि धावा बोलेको छ । साम्राज्यवादले नेपाली भक्ति थापा, अमरसिंह थापा, भीमसेन थापा र कृष्ण सेन ‘इच्छुक’ हरूका देशभक्त सन्तानहरूलाई जिस्क्याइरहेको छ । दलाल पुँजीवादका बुख्याँचा नेपालका शासकहरूको लेन्डुपीकरण निर्लज्ज रूपले बढ्दै गएको छ र उनीहरू भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपलाई स्वीकार गर्दै मृत्युको मुखमा पुगिसकेको आफ्नो सत्ता र व्यवस्था टिकाउने अन्तिम कसरत गरिरहेका छन् । नेपालका देशभक्त र क्रान्तिकारी शक्ति र जनताको एउटै आवाज छ– दलाल पुँजीवाद र उसका चुनावी नौटङ्कीलगायत सबै षड्यन्त्र मुर्दावाद !, सबैखाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप मुर्दावाद !! साम्राज्यवादका लाचार छाया दलाल शासकहरू मुर्दावाद !!!

भारतीय साम्राज्यवादले फेरि नेपाली भूमिमाथिको अतिक्रमण बढाउँदै लिपुलेक क्षेत्रमा सडक विस्तार गर्ने ऐलान गरेको निन्दनीय घटनाको देशभक्त तथा क्रान्तिकारी शक्तिहरूले विरोध गरिरहेका छन् । नेकपाले यसको सशक्त विरोध गर्दै सरकारलाई कूटनीतिक पहलबाट साम्राज्यवादलाई पछि हटाउन आह्वान पनि गरेको छ । साम्राज्यवाद सितिमिती विरोध र चेतावनीले टेर्नेवाला देखिँदैन किनकि नेपालका शासकहरू यतिबेला अत्यन्त कमजोर छन् र यिनीहरूलाई जस्तोसुकै अवस्था लाद्न सकिन्छ भन्ने उनीहरूलाई परिरहेको छ । दलाल शासकहरू आफ्नो भविष्य जोगाउन दलाल संसदीय व्यवस्थाका विभिन्न निकायका कथित चुनावको तयारी र घोषणा गरिरहेका छन् । उनीहरूलाई ती चुनावका माध्यमबाट आफ्नो गुम्न लागेको सत्ता जोगाउने र साम्राज्यवादको असली नोकर बनेर अझ केही समय तिनका उद्देश्य, योजना र स्वार्थहरू परिपूर्ति गर्ने ध्याउन्न छ । उनीहरू सबैतिर आफ्ना असली उत्तराधिकारीहरू जन्माउने षड्यन्त्र गरिरहेका छन् । नेपाली जनताले विगतमा झैँ क्रान्तिकारी शक्तिको बलमा उनीहरूका चुनावी नौटङ्की र यसप्रकारका षड्यन्त्रलाई परास्त गर्दै तिनका सपनालाई दिवासपना बनाइदिनेछन् र साम्राज्यवादी चाहनालाई कोरियाली जनताले झैँ परास्त गरिदिनेछन् भन्नेमा मालेमावादीहरूबीच दुईमत हुन सक्तैन । साम्राज्यवादको पछिल्लो हस्तक्षेप र अतिक्रमणका विरुद्ध पनि नेपालका क्रान्तिकारी एवम् देशभक्त शक्तिहरू मोर्चा बनाएर लड्ने र विजयी हुनेमा कुनै द्विविधा छैन ।

साम्राज्यवादले जहिले पनि नेपालका शासकहरू कमजोर भएको बेलामा आफ्ना स्वार्थहरू घुसाएर नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि धावा बोल्ने र आफ्नो वर्चस्व स्थापित गर्ने गरेको कलङ्कित इतिहास छ । चन्द्रशेखर पाध्याहरूजस्ता कमजोर प्रशासक र स्त्रीलम्पट शासकहरू भएको समयमा राष्ट्रघाती सुगौली सन्धि लादिएको थियो । सन् १९५० र ६५ का असमान सन्धिहरू जनभावना र राष्ट्रहितविपरीत त्यस्तै कमजोर शासकहरूको हातबाट गराइएको थियो । मोहनशमशेर, बीपी र त्रिभुवनहरूजस्ता पामर शासकहरू भएको समयमा २००७ सालमा दिल्ली सम्झौता गराएर देश र जनतालाई पराजित गराइएको थियो । साम्राज्यवादले नेपाली काङ्ग्रेसका मातृकाप्रसाद कोइरालाजस्ता कमजोर र अपत्यारिला शासक भएको समयमा राष्ट्रघाती कोसी सम्झौता, बीपीको हातबाट गण्डक सम्झौता गराएको थियो भने महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था लादेको समयमा कालापानीमा आफ्ना भगौडा सैनिकको क्याम्प राखेको थियो जुन अध्यापि हटेको छैन । त्यस्तै कृष्णप्रसाद भट्टराईजस्ता हलुका र भारतभक्त शासक भएको समयमा नेपालका सम्पूर्ण सीमा नदीलाई साझा नदी गराएको थियो, गिरिजाप्रसाद कोइरालाजस्ता हठी र कमजोर शासकहरू भएको समयमा राष्ट्रघाती टनकपुर सन्धि गराएको थियो भने शेरबहादुर देउवा, माधव नेपाल र केपी वलीहरूजस्ता अवसरवादी, पदलोलुप र सिद्धान्तहीनहरूलाई प्रयोग गरेर राष्ट्रघाती महाकाली सन्धि गराएको थियो । जनयुद्धबत्राट भागेका बाबुरामहरूलाई बिप्पा र प्रचण्डहरूलाई अपर कर्णालीजस्ता सन्धि–सम्झौता गराएर नेपालको राष्ट्रियता र राष्ट्रिय अस्मितामाथि धावा बोलिएका निन्दनीय घटनाहरूकै बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूअनुकूलका उनै देउवा, पुष्पकमल, माधव नेपाल, बाबुराम भट्टराईहरू नेपालको शासनसत्तामा भएको समय पारेर कालापानीदेखि लिपुलेकसम्म कब्जा गर्दै सडक विस्तार गर्ने ऐलान गरेको छ । देउवाहरू शासनसत्तामा सवार भएको मौसम पारेर साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पियाधुरामा फेरि अतिक्रमण बढाएको छ र नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि फेरि गम्भीर धावा बोलेको छ । साम्राज्यवाद नेपालमाथि भौगोलिक रूपमै हस्तक्षेप गरिरहेको छ तर शासनमा बसेका सुतूरमुर्गहरू अझ निर्लज्ज ढङ्गले कहिले सुजाताहरू जन्माउँछन् र नेपालमाथि अतिक्रमण नभएको हल्ला फैलाउँछन्, गोविन्द गौतम र देवनारायण यादवहरूमाथि दमन गर्दै लेन्डुपहरू जन्माउँछन् र उल्टै साम्राज्यवादको भक्तिगीत गाउन लगाउँछन् ।

यतिबेला साम्राज्यवाद फेरि वली र देउवाहरूको घोडा चढेर एकातिर एमसीसी लादिरहेको छ भने अर्कातिर लिपुलेक, लिम्पियाधुरा र कालापानीहरू निलिरहेको छ । त्यस्तै नेपाली लेन्डुपहरू कुखुराचोर स्यालले आकाशतिर चिल देखाएर भुइँको चल्ला कुदाएझैँ दलाल पुँजीवाद टिकाउन संसदीय चुनाव गराउने प्रपञ्च रचिरहेका छन् । यस्तो अवस्थामा देशभक्त नेपाली जनताले राष्ट्रियताको रक्षा, जनतन्त्र र जनजीविकाको रक्षाका लागि साम्राज्यवादका सबैखाले हस्तक्षेप, दलाल पुँजीवादका चुनावी नौटङ्कीलगायत सबैखाले षड्यन्त्रका विरुद्ध बज्र बनेर प्रहार हुँदै दलाल पुँजीवाद र साम्राज्यवाद दुवैलाई एउटै श्वेतवस्त्र ओढाउनु र अन्तिम संस्कार गर्नु अत्यावश्यक बनेको छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :