नेकपा रूपन्देहीद्वारा पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

नेकपा रूपन्देहीद्वारा पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ : पाल्पाको रिब्दीकोट गाउँपालिकामा आइतबार भएको सडक दुर्घटनाप्रति नेकपा रूपन्देहीले दुःख व्यक्त गरेको छ । नेकपा रूपन्देही सेक्रेटरी विश्वासले आइतबार साँझ एक वक्तव्यमार्फत दुर्घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “हामी उक्त घटनामा मृत्यु हुने सबै नागरिकहरूप्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दछौँ । मृतकहरूका शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । दुर्घटनामा सम्पूर्ण घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”

वक्तव्यमा पटक–पटक दोहोरिरहने यसप्रकारका दुःखद् घटनाहरूको न्यूनीकारण गर्न, नागरिकको जीउधनको सुरक्षाप्रति जिम्मेवार बन्न र स्तरिय गाडीहरू सञ्चालन गरी नागरिकहरूप्रति उत्तरदायी बन्न नेकपाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

आइतबार बिहान १०ः४० बजे पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवास्थित तानसेन–रिडी सडक खण्डमा बुटवलबाट बिरबहादुर रसाइलीको शव अन्त्यष्टीका लागि रिडीतर्फ जाँदै गरेको लु. १ ख ७२७९ को बस दुर्घटना भई ७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । अहिले पाल्पास्थित मिसन अस्पतालमा ७ जना र लुम्बिनी मेडिकल कलेज प्रभासमा ९ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :