भेरी अस्पतालको क्वाटरमा एउटै परिवारका चार जनाको मृत्यु, तीन जना गम्भीर

भेरी अस्पतालको क्वाटरमा एउटै परिवारका चार जनाको मृत्यु, तीन जना गम्भीर

नेपालगञ्ज : भेरी अस्पतालको क्वाटरमा चारजनाको मृत्यु भएको छ । एकै परिवारका उनीहरूको गएराती मृत्यु भएको हो । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उहाँका छोरा, आमा र दिदीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

कालीकोट खडाचक्र नगरपालिका ६ निवासी २३ वर्षीय धनप्रसादसँगै उहाँका तीन महिने छोरा इप्सन, ४५ वर्षीया आमा कोपिला र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो । यस्तै उहाँकी २४ वर्षीया श्रीमति सुशिला, तीन वर्षीय छोरा विवश र १८ वर्षीय भाई नरेन्द्रको अवस्था गम्भीर छ । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे बिहानमात्र थाहा भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । बुधबार देशभर वर्षा हुँदा चिसो बढेको थियो । प्रहरीका अनुसार उनीहरूको निशासीयर मृत्यु भएको हुन सक्छ । त्यहाँ टिनमा कोइला बालेको देखिएको छ । सबै झ्याल ढोका बन्द गरेर सुतेका कारण धुवाले निशासिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनप्रसाद विगत तीन वर्षदेखि भेरीको स्टोर शाखामा कार्यरत रहेको बताइएको छ । परिवारका अन्य सदस्यहरू भेटघाटका लागि कालीकोटबाट आएकाले घटनामा एउटै परिवार परेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :