कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

जाजरकोट– टालेगाउँ यात्रा २

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

नियात्रा

युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा लस्करै मकैका लागि गाडिएका थाँक्राबाट मकै झिकिसकिएका छन् तर थाँक्राका खाँबाहरू अर्को वर्षका मकै थेग्नका लागि तत्पर भएर बसिरहेझैँ देखिन्छन् । हामी सातजना मात्र छैनौँ आज । क. परमेश्वर शाह, केबी शाह र अरूहरूसमेतको लर्को छ । यो कमरेड पूर्णबहादुर सिंहको घरको आँगनको सानो परिदृश्य हो । आँगन र गारोमा चकटी र गुन्द्रीहरू बिछ्याइएका छन् । दुई दशकभन्दा लामो समयदेखि रोगले गाँजेर शरीर अस्वाभाविक रूपले फुले पनि जुझारु, आशावादी किसान गोरखबहादुर सिंह र भाउजूसँग भलाकुसारी हुन्छ । उहाँहरू कमरेड पूर्णबहादुर सिंहका दाजुभाउजू हुनुहुन्छ । भतिजहरू विनोद र विशालको चहलपहल बढेको छ ।

लेखक : अशोक सुवेदी

उता सँगै जोडिएको पल्लोघर, पूर्णजीका काकाका छोरा अर्थात् सहिद कमरेड गोपालबहादुर सिंह ‘तुफान’ का भाइ कमरेड रामबहादुर सिंह ‘रेडियम’ सँग जनशिक्षा मासिक र एकीकृत जनक्रान्ति पुस्तक प्रकाशन गर्दा काठमाडौँमै परिचय भएको हो । हामीलाई आफ्नो गाउँ र अझै घरकै आँगनमा स्वागत गर्न पाउँदा उनी खुसी देखिन्छन् जस्तो खुसी हिजो कमरेड सदन देखिएका थिए । उनी नेकपाका कुशे गाउँपालिकाका इन्चार्ज र पार्टी जिल्ला सदस्य पनि हुन् । नेकपा कुशे गाउँपालिका यो कार्यक्रमको मुख्य आयोजक पनि हो, जिल्ला पार्टी, अभियान टोली र विद्यालयका साथमा ।

थालीमा राता अछेता र फूलले हामीलाई स्वागत गरिन्छ । भाउजू दुवै हातले अछेता टिपेर निधारमा लगाइदिन र स्वागत गर्न व्यस्त हुनुहुन्छ । पाहुनाहरू र घरकै पनि सदस्यको आगमनपछि रातो टीकाले स्वागत गर्नु यहाँको पुख्र्यौली परम्परा र संस्कार हो । विशेषगरी जनयुद्धपछि यसले संस्थागत रूप लिएको देखिन्छ । बिदा हुने बेला पनि प्रियजनहरूलाई यसैगरी राता अछेता र फूल लगाएर बिदा गर्ने चलन छ । ‘शुभकार्य’ का लागि पनि यसै गर्ने चलन छ । आमा बिन्दासराले कान्छी छोरी जल्दरा सिंह ‘ दीपावली’ र भतिज तुफानलाई यसरी नै राता अछेता र फूलमाला लगाएर जनयुद्ध जितेर आउन बिदाइ गरेकी थिइन् । तुफानले सहिद बनेर र दीपावलीले पुरातनको सिक्री चुँडालेर महान् आमा बिन्दासरा र अरू महान् आमाबाबाको बिदाइलाई सफल पारे । त्यसैले पनि यो भूमि लाललाल र आफ्नोआफ्नो लाग्छ रामेछापको लालभूमिझैँ ।

पूर्णजी जन्मिएको घर अलि तल देखिन्छ तर उहाँलाई सानै उमेरमा बुबा बितु सिंहले यहाँ घर बनाएर सार्नुभएको हो । यहाँबाट विद्यालय जान पनि अलि तेर्सो पर्छ । ‘म जन्मिएको घर ऊः त्यहाँनेरको हो…’, अग्लाअग्ला सल्लाका रूखको बीचबाट पूर्वदक्षिणतिर औँल्याउँदै पूर्णजीले मेरो जिज्ञासा शान्त पार्नुभएको थियो ।

हामी आँगनमा घाम ताप्दै घरमा आएका पाहुनासँग परिचय गर्न थाल्छौँ– मामा, भान्दाइ र दाजुभाइहरू । सबै भोलिको कार्यक्रम सफल पार्न भेला हुनुभएको हो घरमा । रामेछाप–सिन्धुलीका जुनारसँग स्थानीय सुन्तलाको मित लगाउँदै र चाख्दै हामी टालेगाउँको इतिहासमा गहिरिन थाल्छौँ । २०३६ सालमा बितु सिंहले कम्युनिस्टको बिउ रोप्नुअघि यहाँ पञ्चको बिगबिगी थियो । २०४० को दशकमा बितु सिंह जनपक्षीय उम्मेदवार हुनुभयो र २०४३ सालमा टालेगाउँ वडा नं. ७ को वडाध्यक्ष बनेर गाउँको नेतृत्व गर्नुभयो । पचासको दशकमा उहाँले जिम्मेवारी पाएर पनि स्थानीय पूर्णबहादुर सिंह नाउँ गरेका व्यक्तिलाई जिम्मेवारी सुम्पिनुभयो गाउँको र आफू समाजसेवाका अरू काममा जोडिनुभयो । यो उहाँको त्यागको नमुना थियो ।

पूर्वपञ्चहरूलाई नामेट पार्टै २०५४ को स्थानीय निर्वाचनमा यो क्षेत्र ‘वाम किल्ला’ भयो भने २०५६ सालबाट यो माओवादी आधार क्षेत्र बन्यो । अखिल पाँचौँको जिल्ला अध्यक्षबाट विद्रोह गरेर पूर्णबहादुर सिंह अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बन्नुभयो र जनयुद्धमा लामबद्ध हुनुभयो । बुबा बितु सिंह, पूर्णबहादुर सिंह र बहिनी दीपावली प्रत्यक्ष राजनीतिमा संलग्न हुनुभयो भने आमा र दाजुले सहयोग गर्नुभयो । पूरै परिवार राजनीतिमा लाग्यो । गाउँबाट पाँचजना– तेज, तुफान, मण्डल, अपार र सङ्ग्रामको बलिदान भयो ।

चार वर्षपछि घर आएका भाइबुहारी र भाइबुहारीका साथीको स्वागतका लागि दाजु गोरखबहादुर सिंहले एउटा खसी ठीक पार्नुभएको छ । यो पनि यहाँको र विशेषगरी यो परिवारको संस्कृतिजस्तै बनिसकेको छ । भतिजहरू, ज्वाइँहरू परमेश्वर र केबी, हाम्रो टिमका मुकुन्दजीलगायत एउटा सिङ्गो समूह खसीको मर्मत गर्नतिर लागेको छ । कमरेड उषा सिंहको क्रियाशीलता बढाइदिएको छ टालेगाउँले । छोरीहरू सपना, सिर्जना र पूर्णिमाको फर्याकफुरुकको बयान गरी साध्य छैन । काकाकाकी र उहाँहरूका साथीहरूको आगमनले सबैभन्दा धेरै उत्साहित उनीहरूलाई बनाएको छ ।

यहाँ फोन लाग्दैन । नेटको कल्पना गर्नु पनि बढी हुन्छ किनकि टालेगाउँ सत्ताले हेपेको आजको कर्णाली प्रदेश हो । जाजरकोटको यो सुदूरपश्चिमोत्तर गाउँ हो । यसको पश्चिमदक्षिणमा दैलेख, पश्चिममा कालीकोट, उत्तरमा जुम्ला, उत्तर पूर्वमा डोल्पा र पूर्वमा रुकुमपश्चिम जोडिएका छन् । कुशे १ नेकपाका केन्द्रीय सदस्य एवम् नेकपाका वार्ताटोलीका सदस्य युवा नेता उदयबहादुर चलाउने ‘दीपक’ को गाउँ हो । पाँचकटियाबाटै देखिएको हो उहाँको गाउँ । टालेगाउँ निलम (काइनेट) खानीका लागि पनि प्रख्यात छ । खनिजका कारोबारीहरू यहाँसम्म आइपुगेका छन् । पचास हजार प्रतिकिलोग्रामका दरले देशमै र विदेशमा लाखौँ रुपैयाँ पर्ने निलम खानीका कारण पनि टालेगाउँ चर्चित छ । पहिला बितु सिंहले पनि यसको काम गर्नुभयो । पछि व्यापारीहरूले नै खानी कब्जा गरेपछि भने स्थानीयको पहुँच छैन यसमा ।

जाजरकोटमा पानी पर्याप्त छ । खलङ्गादेखि नै पानी नै पानी भेटिरहेका छौँ हामी बाटाभरि । सडक नै हिलाम्मे पार्ने गरी बगेको छ पानी । नदी, गाड अर्थात् खोला, खहरे, झरना, तलाउ यत्रतत्र सर्वत्र देखिन्छन् । सबैतिर पानी नै पानी छ । खानी–ढुङ्गाहरू पनि त्यस्तै चिटिक्क परेका, चौडा, फराकिला । घरको गारोदेखि छानोसम्म ढुङ्गैढुङ्गा । सडक सञ्जालले जोडिएको हुन्थ्यो भने यो पानीदेखि ढुङ्गा, जङ्गल, खनिज, जडीबुटीसम्मका प्राकृतिक सम्पदाले नै जाजरकोटलाई सम्पन्न बनाइदिने थियो । प्रकृतिले साथ दिएर पनि व्यवस्थाले साथ नदिँदा ती प्राकृतिक सम्पदा ‘भिल्लको देशको मणि’ जस्तै हुन पुगेको टिप्पणी स्थानीय बुद्धिजीवीकै छ ।

उत्तरतिर कुशे हिमाल टल्किरहेको छ र त्यसैको न्यानो काखमा छ हिउँ पर्नासाथ टल्किन ठिक्क परेर बसेको पाथीभरा पहाड । पाथीभराको न्यानो काखमा छ कुशे २ टालेगाउँ र हामी टालेगाउँको काखमा प्रियजनको ममतामा लुट्पुटिएका छौँ । पूर्वउत्तरमा बडालेक त्यसैगरी ठिङ्ग उभिएको छ जसरी बाटोमा आउँदा सल्यानको कुमाख वैरीलाई चुनौती दिँदै उभिएको थियो । हुनत सभ्यतालाई नै चुनौती दिँदै मानव जातिको कलङ्क र धब्बाका रूपमा उभिएका भेटिएका थिए नवराज विकलगायत ६ जना सांस्कृतिक विद्रोहीहरूको हत्या गर्ने सोती र भेरीका अवशेषहरू पनि तर जर्ज फ्लोइड र नवराजहरूको बलिदानसँगै नयाँ सभ्यता अर्थात् वैज्ञानिक समाजवादको महान् अभियानमा लागेको हाम्रो गौरवशाली पार्टीको टुकडी पनि तिनै असभ्यताहरूलाई चुनौती दिँदै विद्रोही चेतना बनेर चम्किरहेथ्यो ।

चिया बनाएर खुवाउँदै हुनुहुन्छ कमरेड उषा । उहाँलाई कहिले मुकुन्दले त कहिले उषाकिरण आजादले साथ दिइरहनुभएको छ । परमेश्वर र केबीजीको खटाइ देखेर हामी हेर्ने रमितेहरू नै हैरान हुन्छौँ । हेर्दाहेर्दै खसी तयार हुन्छ । रेडियम र फुपूहरूको घरका लागि भाग लगाएर पठाइन्छ । खाना तयार नहुँदै रक्ती–भित्राँस तयार हुन्छ । दाजुभाउजू पाहुनाहरूको सत्कार गरिरहनुभएको छ । उहाँहरूलाई भ्याइनभ्याइ छ रेडियमहरूले सघाउँदा पनि । भाउजूले ओखलमा कुटेको धानको चामलले मलाई आफ्नै नयाँ घर र सिर्जनानगरको इतिहास सम्झाइदिन्छ । हामी खाना खान्छौँ, सामान्य भलाकुसारी गर्छौं र बिस्तरालाई साथी बनाउँदै निदाउँछौँ ।

आज यात्राको पाँचौँ दिन हो । यो यात्राको आज मुख्य दिन पनि हो । आज बिहानैदेखि जनकल्याण आधारभूत विद्यालय गुमथले झकिझकाउ बनेको छ । बिहानैदेखि जनताका गीतहरू गुन्जिरहेका छन् गुमथलेमा । हामी बसेको घरसम्मै सुनिन्छ विद्यालयमा गुन्जिएको जनवादी गीतसङ्गीत । आज गुमथलेमा ठूलो महोत्सव आयोजना हुँदैछ । जनयुद्धकालीन र एकीकृत जनक्रान्तिका सिलसिलामा लेखिएका/गाइएका क्रान्तिकारी गीतहरूले मानिसको मनदेखि शरीरसम्म सबै जुर्मुराइरहेको अनुभूति हुन्छ । महान् जनयुद्धमा दुनै मोर्चाको तयारी, पिली मोर्चाको समीक्षा र पत्रकार सम्मेलन गरिएको स्थान हुनाले पनि वरिपरि घना जङ्गलले ढाकेको हिमालको काख टालेगाउँ जिल्लाभरिमै चर्चित र ऐतिहासिक स्थान हो । हुनत यस जिल्लामा जनयुद्धको समयमा ठूल्ठूला लडाइँहरू भएका हुन् । पाँचकटिया, लहँ, पिपेलगायत मोर्चा त जनयुद्धकै चर्चित मोर्चाहरूमा पर्छन् ।

बिहान दाजु गोरखबहादुर सिंहसँग बाबा बितु सिंह र आमा बिन्दासरा सिंहका बारेमा कुरा गर्छु । बाबाआमाको सामाजिक उच्च चेतना र दायित्वबोधले भरिएको विचार र कर्मको बखान सुन्दा महान् वर्गसङ्घर्षले जन्माएका महान् बाबाआमाको विशाल हृदय र क्रान्तिकारी विचार सम्झिएर गर्वले छाती ढक्क फुल्छ । जनताका यस्तै महान् आमाबाबा थिए र त त्यो वर्गसङ्घर्ष इतिहासमै गर्व गर्नलायक महान् जनयुद्ध बनेको थियो भन्ने ठानेर मन प्रफुल्ल र गौरवान्वित हुन्छ । सशरीर बाबाआमासँग भेट हुन नसकेको भए पनि मनमनैले बाबाआमालाई सलाम गर्छु र ममतामयी आमा जूनमाया सुवेदीको स्मृतिमा आफैँले लेखेको गीतका लहर गुनगुनाउँछु :

टहटह जूनजस्तै शीतल हाम्री आमा
मन्दमन्द पवनजस्तै शान्त हाम्री आमा
सागरजस्तै विशाल, निश्छल, स्वच्छ हाम्री आमा
चोमोलुङ्मा हिमालजस्तै उच्च हाम्री आमा ।
नीलनील गगनजस्तै व्यापक हाम्री आमा
चमचम गर्ने ताराजस्तै उज्ज्वल हाम्री आमा
हराभरा सृष्टि पार्ने धर्ती हाम्री आमा
सुन्दर संसार देखाउने प्यारी–प्यारी आमा ।
तराईको तातो बाफ हिमालको हुरी
पहाडको दुःखकष्ट सबै एकैसरि
विभेदको अन्त्य खोज्ने न्यामूर्ति आमा
शान्त लाग्ने समुद्रकी ज्वारभाटा आमा ।
दृढताकी प्रतीक आमा ममताकी खानी
दुःखकष्ट पचाएर हाँसखेल गर्ने बानी
छङछङ गर्ने झरनाजस्तै स्वच्छ हाम्री आमा
संसारमै सबैभन्दा असल हाम्री आमा ।

हेर्दाहेर्दै पार्टीको जिल्लाको अभियानटोली आइपुगेको छ टालेगाउँ । जनसेवक, जनकलाकारसहितको टोलीको क्रियाशीलताले मन ढक्क फुल्छ । टालेगाउँ पार्टीका राता मान्छेमय बनेको छ ।

म महान् सहिद तुफानकी आमा, कमरेड रेडियमकी आमा अर्थात् क्रान्तिकारी आमा तुलसा सिंहसँग भेट गर्न हतारिन्छु । तीन तलामाथि बुइँगलमा भान्छामा बसेर आफ्नो छोरा सहिद तुफानका सपना साकार पार्न क्रान्तिमा हिँडेका योद्धाहरूका लागि तरकारी बनाउँदै गरेकी आमासँग कमरेड तुफानको जीवनी खेतल्न थाल्छु जिल्लका पार्टी इन्चार्ज, पार्टी सीसीएम कमरेड सङ्गम आरसीलाई साक्षी राखेर । क्रान्तिमा समर्पित आमाको हृदय न हो, विचारमा करुणा, प्रतिबद्धता र आक्रोश व्यक्त गर्दै भन्नुहुन्छ– मेरो एउटा छोरो जनयुद्धमा बलिदान भयो । मेरो छोरो देश र जनतालाई मुक्त पार्न सहिद बनेको थियो, प्रचण्ड वा बाबुरामलाई प्रधानमन्त्री बनाइदिन वा कुर्सीमा पुर्याइदिन मरेको थिएन । मेरो छोराजस्तै हजारौँ छोराछोरीको रगतको अपमान भयो । मेरो अर्को छोरो पनि क्रान्तिमा छ । यो छोराको रगतलाई अरू कसैले सत्तामा जाने भर्याङ नबनाइदिऊन् । सत्ताका लागि दुरूपयोग नगरिदिऊन्….।’

ओहो ! जनयुद्धले महान् बनाएका आमाहरूका महान् कुरा । महान् विचार र महान् छातीबाट निस्किएका महान् वाणीहरू । त्यसैले आमाहरू महान् छन् । महान् आमाबाबाले आँसु र रगतको भेलले जन्माएका परिवर्तनकामी विद्रोह, क्रान्ति र युद्धहरू महान् छन् ।

क्रमशः

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :