हाम्रो पार्टीको आन्दोलनले एमसीसी पारित हुनबाट रोकियो : प्रकाण्ड

हाम्रो पार्टीको आन्दोलनले एमसीसी पारित हुनबाट रोकियो : प्रकाण्ड

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाको आन्दोलनले राष्ट्रघाती एमसीसी पारित हुनबाट रोकिएको बताएका छन् । उनले नेपाली जनताले नेकपाबाट राष्ट्र र जनताको मुक्तिको अपेक्षा गरेको पनि बताए । एकीकृत जनक्रान्तिको माध्यमबाट आफ्नो पार्टीले मात्र जनताको अपेक्षा पूरा गर्ने उनले बताए ।

प्रवक्ता प्रकाण्डले नेपाली जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादभन्दा अर्को विकल्प नभएको पनि बताए । उनले भने, ‘दलाल संसद्‌वादीहरूले नेपालमा एमसीसीजस्तो राष्ट्रघाती सम्झौता थोपरिरहेका छन् । नेपालमा सैन्य अखडा बनाउन अमेरिकालाई आह्वान गरिरहेका छन् । हाम्रो पार्टीको आन्दोलनले एमसीसी पारित हुनबाट रोकिएको छ ।’

नेपालमा २०४६ सालदेखि नेपाली जनतालाई दुःख दिने संसदीय व्यवस्था सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा पनि गरे । उनले संसदीय चुनाव नभएर जनताका लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसङ्ग्रहको चुनाव गर्न संसद्‌वादीहरूलाई आग्रह गरे । प्रकाण्डले नेकपाको काँधमा ऐतिहासिक जिम्मेवारी आएको भन्दै त्यो जिम्मेवारी पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

आज बिहान पार्टी प्रशिक्षणका लागि सुर्खेत आइपुगेका प्रवक्ता प्रकाण्डलाई जिल्लास्थित नेकपाका कार्यकर्ता र जनताले फूलमाला र अबिर लगाएर भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :