विप्लव बनिरहू निरन्तर

कविता

विप्लव बनिरहू निरन्तर
लेखक : सूर्यध्वज नेपाली ‘प्रतिरोध’

आयो महाधिवेशनको लहर
नेपाली राजनीतिको आकाशभरि भर्दैछ रे कुम्भमेला
कात्तिकमा एमाले, मङ्सिरमा काङ्ग्रेस, पुसमा माके नामले
धर्तीमा, माटोमा नटेकेका
हावामा उडिरहेका बेलुनहरू
विदेशी साम्राज्यवादी शक्तिकेन्द्रहरूको विषाक्त काखमा निदाइरहेका हरिलठ्ठकहरू
विदेशी दूतावास प्रायोजित भोजहरूमा
रमाइरहेका देशघातीहरू
राजनीतिक दल नामक, शक्तिकेन्द्रका कठपुतलीहरू
तैरिइरहेछन् बन्द पोखरीभरि
गतिहीन जलमाथिका जलकुम्भीहरू
वासिङ्टन, दिल्ली र युरोपेली युनियनभित्रका मुलुकहरूका
शक्तिसम्पन्न दरबार, महल र भोजनगृहहरूबाट
निर्देशित कठपुतलीहरू
माधवलाई प्रहार गर्यो अरे
केपी सरको खिया लागेको खड्गले पनि
दर्शन सिद्धान्त
रणनीति र कार्यनीतिविहीन
भीम, टङ्क र घनश्यामहरूको स्यालहुइँया
उहिल्यै, पहिल्यै रातो रङ हराएका, गुमाएका
तुलसीलाल र लालबाबुहरूको रोदन
युवराज, सुरेन्द्र, अष्टलक्ष्मी, रघुजीहरूको विरक्ति
भन्नलाई कथित संस्थापन र मूलधार भने पनि
आफैँले आफ्नो स्वाभिमान र आत्मासम्मान बिक्री गरेका
मोहनविक्रम, पुष्पकमल, खड्गप्रसादहरू
आफ्नो नाम र इतिहास मेटेर
गर्विलो रातो अनुहारलाई कालो मुकुण्डोले छोपेर हिँडेका
हराम बाबुरामहरू
जङ्ग उडेका केशरजङ्गहरू
गर्विलो शब्द कम्युनिस्ट
भित्र उम्रेका नेपाली ऐँजेरुहरू
देशभक्तिको नारा लगाउँदै
राष्ट्रघात, देशघात गर्न पल्केका
नेपाली अनुहारका लेन्डुपदोर्जेहरू
माक्र्स र एङ्गेल्स कमरेडको दर्शनभित्रबाट पलाएका
बर्नस्टिन, ख्रुस्चोभ, लिन प्याओ, मनमोहनहरूमाथि प्रहार गर्दै
नामै थाहा नपाएका अज्ञात
इतिहासका महान् सहिदहरूदेखि
संसारैभरि रातो झन्डा बोकेर वैरीहरूसँग लड्दालड्दै सहादत प्राप्त गर्ने
५ करोड बढी सहिदहरू
स्पार्टाकसदेखि भक्ति थापा, लखन थापामगर
भीमदत्त, चारु मजुमदार, रत्नकुमार बान्तावा, कृष्ण सेन, सूर्यनाथ र रामवृक्ष यादव
कुमार, निरकुमारदेखि जगेन्द्र पुन र लली रोक्कासम्मको
रगत, बलिदानको जगमा
मालेमावाद र
पुष्पलाल कमरेडको गर्भबाट जन्मेको
अधुरै छाडिएको नयाँ जनवादी क्रान्तिलाई
पूर्ण रूपले पूरा गर्दै
एकीकृत जनक्रान्तिको बाटोबाटै
फेरि पनि मालेमावादको जगबाट
कमरेड पुष्पलालको गर्भबाट
हुर्काऊ, बढाऊ नेपाली माटोको स्वाधीनतासमेतको
वैज्ञानिक समाजवाद
रहेनछ सक्रिय समर्थन र ऐक्यबद्धता
देशभक्त, वामपन्थी र वास्तविक कम्युनिस्टहरूको
हुनेछैनौँ स्खलित छविलाल दाहालजस्तो
धर्ती रहुन्जेल, धर्तीमा मानवजाति रहुन्जेल
कमरेड विप्लव नै बनेर
बाँचिरहने प्रण गर निरन्तर–निरन्तर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :