कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

कमरेड माओका आदर्श पछ्याउँदै माओको देशमा

यात्रा डायरी

१८ भदौ, २०७३, बेइजिङ

‘विस्फोटक पदार्थ फेलापर्यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस गर्दै । हामी होेटेलको भाडा सोध्छौँ अलि लापर्बाहीपूर्वक किनकि हाम्रो पहिलो ध्यान सहयात्री माणिक लामाको हातको घाउमा मलमपट्टी गर्नेतिर हुन्छ । टर्मिनलमा ट्रान्जिट समय कटाउन यत्रतत्र सफा भुइँमा सुतिरहेका मान्छेहरूले भारततिरका रेल स्टेसनको पनि झझल्को गराउँछन् । प्राथमिक उपचारकले ५० युआन लिनुअघि घाउ पुछेर एउटा टेप बाँधिदिन्छ र केही टेप पनि थमाउँछ । हामी फर्केर जाँदा पनि होटेलवाला हामीलाई पर्खेझैँ हामीतिरै आउँछ । उसले ३०० युआन भन्छ प्रतिरातको । रातको १२ बजिसकेको छ । हामी उसलाई तीन रात बस्दा प्रतिरात २५० युआनसम्ममा हुन्छ कि भनेर सोध्छौँ । ऊ लोभिन्छ र हामीलाई लिएर होटेलको कोठातिर डोर्याउँछ । हाम्रा झोलाहरू डिक्कीतिर हालिदिँदै हामीलाई सिटमा राखेर २–४ मिनेट समय मागेर अरू २–३ समूह लिएर आउँछ र हामीलाई होटेलतिर बिदा गरेर अलप हुन्छ । होटेलमा आइपुगेपछि थाहा हुन्छ, बिहान ब्रेकफास्ट पाइने भए पनि खानाको व्यवस्था छैन । काउन्टरमा दर्ता गरिसकेपछि आडैको डिपार्टमेन्टल स्टोरतिर देखाइदिन्छे एउटी युवतीले ।

लेखक : अशोक सुवेदी

डिपार्टमेन्टल स्टोरमा गएर १/२ पाउन्ड पाउरोटी र ४ बोतल पानी, एउटा कप आदि लिएर फर्कन्छु । मभन्दा ७/८ वर्ष जेठा माणिक सर थकाइ, तनाव, हातको दुखाइ आदिले लखतरान भइरहेको पाउँछु । मुस्किलले १/२ टुक्रा पाउरोटी चपाएर उहाँ हाँहाँहुँहुँ गर्दै ढल्किनुहुन्छ । पाउरोटीसँग औषधि खाएर म पनि पल्टिन्छु । नेपालको समय १ बजिसकेको छ रातको । बेइजिङको घडीले ३ बजाइसकेको छ ।

बिहान उठ्दा माणिक सरलाई नुहाइधुवाइ तयार र ताजा पाउँछु । बेलुका खाना नखाएकाले माणिक सर भोकले ढल्न मात्र बाँकी हुनुहुन्छ । सामान किन्दाकिन्दै ११ बजिसक्छ । सँगैको होटेलमा गएर दुई ठाउँमा ‘राइस’ र एक ठाउँमा ‘फिस’ मगाउँदै माणिक सरको इच्छाबमोजिम एउटा सानो कोक पिउन थाल्छौँ । माओको देशमा बहुराष्ट्रिय कम्पनीको कोक ? एकछिन सोच्छु तर आजको चीन कहाँ महान् माओको समयको चीन हो र ? आफैँ मन बुझाउँछु । थालभरिको तात्तातो सग्लो माछा आउनासाथ माणिक सरका हातका काँटाचम्चा सग्बगाउन थाल्छन् । भुटेको भात आउन्जेल बिचरो माछाका केही काँडा, टाउको र हाडखोर मात्र बाँकी हुन्छ ।

खाना सकेपछि हामी काउन्टरमा पैसा बुझाउन जाँदा तियानमेन स्क्वायर (जहाँ कमरेड माओ त्सेतुङको शव छ र जहाँबाट माओले जनगणतन्त्र चीनको घोषणा गर्नुभएको थियो) मा जान ट्याक्सी–कारका लागि अनुरोध गर्छौँ । ८०० युआनबाट घटाएर ५०० युआनमा भाउ मिलेपछि माओको शव रहेको भवन, तियानमेन स्क्वायर, ग्रेट हल अफ द पिपुललगायत स्थानका लागि हामी प्रस्थान गर्छाैं । १ बजेतिर तियानमेन भवनमा प्रवेशका लागि टिकट लिएर केही तस्बिर खिचाएपछि हाम्रो प्रस्थान माओको शव रहेको भवनतिर हुन्छ । केही अलमल र सोधपुछपछि हामी माओको शव रहेको स्थलतिर अघि बढ्छौँ । तर ८ देखि १२ बजेसम्म मात्र हेर्न पाइने माओको शव भवन हामी पुग्दा बन्द भएको २ घन्टा भइसेकेको हुन्छ । उता राष्ट्रिय सङ्ग्रहालय पनि बन्द भइसकेको हुन्छ । ग्रेट हल अफ द पिपुलको पास वा भ्रमणका लागि अग्रीम बुकिङ गर्नुपर्ने पनि हामीलाई थाहा हुँदैन । बाहिरबाहिर केही फोटो खिचाउँछौँ ।

माओको शव अवलोकन : जीवनको एक सफल क्षण

१९ भदौ, २०७३, तियानमेन स्क्वायर

होटेल म्यानेजरसँग निकै लामो भलाकुसारी भयो हिजो बेलुका । कमरेड माओप्रति अगाध स्नेह रहेछ उनको पनि । हामी माओवादी हौँ भन्ने थाहा पाएपछि उनी बारम्बार भनिरह्छन्– नो माओ नो चाइना, माओ इज द गड अफ इस्ट आदि । उनी पनि बेइजिङदेखि ५०० माइल पूर्वको एउटा काउन्टीका चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य रहेछन् । रातो खबरको भिजिटिङ कार्डमा रहेको कम्युनिस्ट पार्टीको झन्डा देखेपछि उनले भनेका थिए– हामी सबै कम्युनिस्ट पार्टीका सदस्य । हामी जनगणतन्त्र कोरिया (उत्तरकोरिया) जाँदैछौँ भन्ने थाहा पाएपछि उनले अलि त्रसित बनेजस्तो भाव प्रकट गरे । समाजवादबाट स्खलित चीन र सत्तासीन कम्युनिस्ट पार्टीका सदस्यले त्यस्तो भाव प्रकट गर्नु सामान्य थियो । मेरो जनयुद्धकालीन कथासङ्ग्रह ‘नयाँ बस्ती’ दिएँ । उनले नेपाली भाषा नबुझे पनि नेपालका बारेमा धेरथोर सुनेको बताए । माओप्रतिको हाम्रो लगाव र हामी माओवादी भएको सुनेपछि उनी हामीप्रति धेरै नै आकर्षित भएका थिए । शनिबार पनि उनैले ५०० युआनमा तियानमेन स्क्वायरसम्म जान, घुम्न र फर्किनका लागि ट्याक्सी व्यवस्था गरिदिएका थिए । हामी ढिला भएकाले माओ मेमोरियल हल, सङ्ग्रहालय, बजार आदि घुम्न/हेर्न नपाएको भनेपछि उनी पनि दुःखी देखिए । चिनियाँ कम्युनिस्ट पार्टी, सी जिङ पिङ, तेङ, जियाङ जेमिन, हुजिन्ताओ, चीनको आर्थिक विकास, राष्ट्रपति चयन प्रक्रिया, चीकपाका सदस्यलगायत विषयमा एक–डेढ घन्टा कुरा भएपछि माणिक लामा र उनीसँग तस्बिर खिचाइयो । उनले दिउँँसो हामीलाई घुमाउन लैजाने चिनियाँ युवकलाई भोलि पनि घुमाउन लगिदेऊ भनेर अनुरोध गरे । आजको यात्रा माओको मेमोरियल हलदेखि ग्रेट हल अफ द पिपुल र ग्रेट वालसम्मको थियो । ५५० युआनमा मुस्किलले टुङ्गो लागेको बताउँदै उनले हाम्रो यात्राको सफलताको पनि कामना गरे । उनी आइतबार बिहानै श्रीमती र २ बालबच्चा भेट्न आफ्नो गाउँ जाँदै रहेछन् । उनले आफू पनि केही समयअघि श्रीमती र छोराछोरीलाई लिएर महान् माओको शव हेर्न गएको सुनाए । यो सुनाउँदा उनको अनुहार धेरै नै हँसिलो र मुग्ध देखियो । बिहान उठ्दा ६ः४० बजिसकेको थियो । माणिक नित्यकर्म सकी गुनगुनाउन थालिसक्नुभएको थियो ।

हतारहतार तयार भएर खाजा खान होटेलमा झर्दा ७ः३० भइसकेको थियो । हिजोका चिनियाँ युवक तयार भएर हामीलाई लिन ‘ब्रेकफास्ट’ गर्दै गरेको ठाउँमा आइपुगे । हामी कोदाको भक्कुजस्तै लाग्ने ‘सी फुड’, एउटा उसिनेको अन्डा र माडजस्तो अमिलो झोलको स्वाद लिँदै थियौँ, तमतम्याइँदो मुख पारेर ।

हामी कार चढ्दा ८ बज्न लागिसकेको थियो । हिजो यात्राका क्रममा चालक आफ्नो गाडीमै आराम गरेर बस्न चाहेको थियो, हामीले गाइडका रूपमा प्रयोग गर्दा अलि थकित देखिएको थियो । आज अलि कम फरासिलो देखेपछि माणिकलाई भनेँ– आज ड्राइभर अलि खुसी छैन । हुन पनि उसलाई मैले गाइड बनिदिन अलि निकै नै जोड गरेको थिएँ । पहिलो त ठाउँ पत्ता लगाउने समस्या, दोस्रो फोटो खिचिदिने मानिसको अभाव थियो ।

नभन्दै तियानमेन स्क्वायर काटेर १ किमिजति पर गाडी पार्किङ गरेर माथि उक्लिएपछि उसले रिसाएको लक्षण देखाउन थालिहाल्यो । हिजो हातैबाट झोला मागेर बोकिदिने मानिस आज माणिकले ब्याग दिँदा पनि लिन गाह्रो मानिरहेको थियो । हामी १ किमिजति फटाफट हिँडेर ग्रेट हल अफ द पिपुलको उत्तर दिशातिर दर्जनौँ लाम लगाएर उभिएका हजारौँ मानिसको हूलमा लाम लाग्यौँ । भीड हेर्दा लाग्थ्यो, हाम्रो देशमा पशुपति मन्दिरको ‘दर्शन’ गर्न भक्तजनहरू शिवरात्रीमा लाम लागिरहेका छन् । महान् माओका योगदानहरूको स्मरण र कदर गर्दै दैनिक दसाैँ हजार मानिस माओको शव हेर्न यसरी लाम लागेको ४० वर्ष भइसकेको छ । माणिक र मैले लाममै हिसाब गर्यौँ, ५० करोडभन्दा बढी मानिसले दैनिक यसरी नै लाम लागेर माओको विशालकाय लम्पसार शरीरलाई हेरिसकेका छन् र यो कत्ति रोकिएको छैन । ८० वर्ष कटेका वृद्धवृद्धादेखि बालबालिकासम्म, अपाङ्गता भएकादेखि तरुनातन्नेरीसम्म सबै हातहातमा चीकपाको झन्डा बोकेर मोबाइलमा नेट खोलेर च्याट गर्दै माओको शव हेर्न आतुर भएर लाम लागिरहेछन् ।

सुरक्षा जाँच कडा छ । सैनिक महिला–पुरुषले पोसाक र शरीरका सबै भाग खानतलासी गरिरहेका छन् । झोला र क्यामेरा बोक्न प्रतिबन्ध भएकाले ड्राइभरले बाहिरै राखेका छन् । म भने कवि अतृप्त पाण्डेयको कवितासङ्ग्रह समयसित रुमाल छैन र मेरो सम्पादन/प्रकाशनको ग्रन्थ दोरम्बा हत्याकाण्ड : मुक्तिका लागि बलिदान माओको शव रहेको भवन आसपासको सङ्ग्रहालय÷पुस्तकालयमा प्रदान गर्न हातैमा बोकेर लाम लागिरहेछु । पुस्तक बोकेकाले ममाथिको निगरानी अलि बढी भएको छ । सामान्य परीक्षण नभएर अलि विशेष परीक्षण भएको छ ममाथि अलि पर लगेर । म सफासँग भनिदिन्छु– नेपालबाट आएको साहित्यकार–पत्रकार हुँ । माओ हाम्रा महान् आदर्श हुनुहुन्छ र उहाँको विचार हाम्रो मार्गनिर्देशक विचार । यी दुई पुस्तक उहाँप्रति ‘समर्पण’ गर्न चाहन्छु । माओप्रतिको अगाध श्रद्धाका कारण ती पुस्तक बाहिर जाँच भएको स्थानमा छोड्न सक्तिनँ म, ढिलै गरेर भए पनि लगेरै छाड्छु । मूल ढोकामा फूलका गुच्छाहरू बिक्रीमा राखिएको छ । प्लास्टिकमा सजाइएका ३ वटा गुच्छा २० युआन तिरेर लिन्छु र २ वटा माणिकलाई दिन्छु । एउटा गुच्छा र २ थान पुस्तक च्यापेर भीडमा धकेलाधकेल गर्दै अघि बढ्छु । चिनियाँ सैनिक स्वयम्सेवकहरू माइकिङ गरिरहेछन् । तिनको सक्रियताले भनिरहेछ– झोला, क्यामेरा, मोबाइल केही नबोक र हल्ला नगर । धकेलाधकेल नगर । बिस्तारै जाऊ र मस्त निद्रामा रहेका माओको सुस्तरी ‘दर्शन’ गरेर फटाफट फर्किहाल ।

अब प्रतीक्षाको घडी आउनै लागेको छ । मूल ढोकाबाट भित्र पस्नासाथ महान् माओको विशाल र भव्यतम् सेतो प्रतिमूर्ति देखिन्छ कुर्सीमा थपक्क बसेको अवस्थामा । फूलका गुच्छाहरू त्यहीँ थपक्क मिलाएर राख्नुपर्छ । म गुच्छाहरूसँगै पुस्तक पनि त्यहीँ राख्छु । क. माणिक किम इल सुङ र किम जोङ इलको शव लमतन्न सुताएर राखिएको छ तर माओको शव त बसाएर पो राखिएको रहेछ भन्नुहुन्छ । मलाई भने माओको अनुहार हेर्ने धित मरेकै हुँदैन । सैनिकहरू– औँला मुखमा लगेर ‘स्स्स्स’ गरिरहेछन्, कोही पनि एक शब्द नबोल भनेर । त्यो प्रतिमूर्ति पार गरेर अघि बढेपछि बल्ल आइपुग्छ सिसाको बाकसमा लमतन्न सुताएर राखेको महान् माओकै साक्षात् प्रतिमूर्ति । मलाई घन्टौँ उभिएर शव हेरिहन र संसारका सबै साम्राज्यवादीहरू कागजी बाघ हुन् भनेर ललकार्ने कमरेड माओको शवसँग मौन संवाद गरिरहन मन छ । सेकेन्ड–सेकेन्ड पनि मेरा लागि अत्यन्त महत्वपूर्ण भइरहेका छन् । भीडले धकेलिरहेछ । सबै मौन–मौन हिँड्दै पलभरमै माओलाई धित मरुन्जेल हेरिरहेका छन् । छेउछाउमा मूर्तिवत् उभिएका सैनिकबाहेक भीडवरिपरि उभिएका सुरक्षाकर्मी ‘स्स्स्स्स’ गरिरहेका छन् । मानौँ उनीहरू भनिरहेका छन्, एक शब्द पनि ननिकाली, सियो खसेको पनि चाल पाइने गरी अघि बढ । तिमीले आवाज निकाल्यौ भने गहिरो निद्रामा मस्त सुत्नुभएका माओको निद्रा भङ्ग हुनसक्छ‘ । मलाई भने माओ जुरुक्क उठेर अमेरिकी, बेलायती, जापानी, फ्रान्सेली, भारतीय अर्थात् विश्वसाम्राज्यवादका नाइके, तिनका मतियारहरू र सबैखाले प्रतिक्रियावादलाई हपारेर फेरि एकपटक हायलकायल पारिदिए पनि हुने थियो भन्ने लागिरहन्छ । तर यो त केवल मेरो हवाईकल्पना न थियो । विश्व–सर्वहारावर्गका महान् नेता माओ विश्व–प्रतिक्रियावादलाई ‘कागजी बाघ’ शब्दले सम्बोधन गर्दै खिज्याउने, ह्याकुलाले मिच्ने र देश एवम् जनताका लागि सर्वस्व गुमाउने, छोरा र पत्नीलाई सहिद बन्नसक्ने बनाउने महान् व्यक्तित्व हुनुहुन्थ्यो । म कल्पना गरिरहेको थिएँ– माओसँग आँखा जुधाएर एकपटक गर्विला हात मिलाउन पाए पनि हुने नि ! यसरी तरङ्गित हुँदाहुँदै हामी माओको पैतालातिरबाट शिरतिर पुगिसकेका हुन्छौँ । माओको अनुहर हामीले तस्बिरमा देखेजस्तै धपक्क बलिरहेको देखिन्छ । हल्का सुस्ताएजस्तो । कल्पनामा डुबिरहेको छु म कसरी गद्दारहरूले महान् माओले निर्माण गरेको विचार र विशाल चीनको समाजवादलाई पोलीपकाई खाए ! माओ साँच्चै ब्युँतिएर एकपल्ट चीन र विश्वलाई नियाल्न सक्ने के भन्दा हुन् ? आफ्नै चीनको दुरवस्था देखेर अनि निर्माण हुँदाहुँदै प्रतिक्रियावादी र संशोधनवादीहरूको गठजोडले ध्वस्त बनाइएका समाजवादका काँचुलीहरू देखेर र नेपाल, भारतलगायत मुलुकमा ब्युँतिइरहेको समाजवादी क्रान्ति थाहा पाएर के सन्देश दिँदा हुन् !

म अनायासै ‘महान् माओ लालसलाम !’ भन्दै चिच्याएछु । नजिकै उभिएको सुरक्षाकर्मीले च्याप्प समातेपछि पो झसङ्ग हुन्छु ।

माओको शव अवलोकन गरी बाहिर निस्किने पूर्वी दिशातिर पुगेपछि त्यो भित्री गोजीको मोबाइल निकालेर कमरेड माणिकलाई कर गर्छु तस्बिरका लागि । यहीँबाट भए पनि ५/७ मिटर पर सुस्ताइरहेका महान् माओलाई पुनः लालसलाम गर्छु । माणिक कडा सुरक्षा निगरानी देखेर आत्तिनुहुन्छ तर मेरो ढिपीका सामु उहाँको केही जोर चल्दैन । भीडभित्रै लुकेर उहाँ एउटा तस्बिर खिचिदिएर हतारहतार ओझेल पर्नुहुन्छ । त्यसपछि हामी प्राङ्गणमा पुगेर माओको तस्बिर अङ्कित केही सामान किन्छौँ स्मृतिका लागि ।

माओको शव अवलोकनपछि माणिक सर र मबीच स्वाभाविक बहस निम्तिन्छ, शव अवलोकन उत्प्रेरणा हो कि होइन भन्नेबारेमा । म महान् मान्छेको शव, सालिक, तस्बिर, विचार, हस्ताक्षर, पोसाक, निर्माण अर्थात् चिनोले जहिले पनि अघि बढ्न प्रेरणा दिने बताउँछु तर माणिकको अलि पृथक धारणा छ– मरेपछि त ढुङ्गोसरह भइगयो नि जतिसुकै महान् भए पनि । म यसलाई भौतिकताभन्दा अलि फरक, भावना, विचार, आदर्श र सपनासँग जोडेर हेर्न अनुरोध गर्छु ।

बेइजिङ सहर घुम्दा प्रस्टै देखिन्छ चिनियाँहरूले यतिबेला माओलाई व्यापारको साधन र लोगो बनाएका छन् । हरेक सामानको विज्ञापनमा माओको तस्बिर छ होटेलदेखि सिगरेटका प्याकेटहरूसम्म ! विचार र व्यवस्थाबाट माओलाई जबर्जस्ती विस्थापित गरिएको छ । माओलाई लेनिनवादका सफल प्रयोगकर्ता, माओवादका प्रवर्तक, सर्वहारा, श्रमिक किसान–मजदुरवर्गका नेता, महान् माक्र्सवादी विचारक र नेताभन्दा पनि त्यही होटेलको म्यानेजरले भनेजस्तै ‘गड’ (ईश्वर) बनाइएको छ र केवल तस्बिर, शव र सालिकमा पूजा गरिएको छ । विचारबाट अलग राखेर माओको पूजा गर्नुको के अर्थ छ र सर्वहारा वर्गका लागि !

हामी समाजवाद आएका देशहरूको भ्रमणको आरम्भमा छौँ । चीनमा समाजवाद आएर प्रतिक्रान्ति भइसकेको छ तर पनि उसले अझै आफूलाई समाजवाद नै भनिरहेको छ । हामी अर्को समाजवादी मुलुक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) को यात्रामा छौँ । हामी केही समयमै पूर्वसमाजवादी मुलुक सोभियत सङ्घ (हालको रुस) पनि जानेछौँ र महान् लेनिनले सफल रुपमा मार्क्सवाद लागू गर्नुभएको छ महान् स्टालिनले लेनिनवाद लागू गर्नुभएको भूमिमा पुगेर मालेमावाद जीवित छ भन्ने नारा लगाउँदै संसारभरबाट भेला भएका मार्क्सवादीहरूलाई सुनाउन चाहन्छौँ– नेपालबाट वैज्ञानिक समाजवाद उदाउँदैछ । यसैगरी हाम्रो यात्रा भियतनाम, क्युबा र बोलिभारियन समाजवादी देशहरूमा पनि हुनेछ । हामी त्यहाँ समाजवादका अवशेषहरूको अध्ययन गर्दै उनीहरूलाई नेपाली जनक्रान्तिको सन्देश सुनाउनेछौँ, एकीकृत जनक्रान्तिको सन्देश सुनाउनेछौँ । मार्क्सवाद, लेनिनवाद, माओवाद अमर र अजेय छन् भन्ने सन्देश दिनेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :