बलिदान भएँ भने मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्नँ

साहित्य

बलिदान भएँ भने मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्नँ

‘सर, एउटा कुरा थाहा पाउनुभयो ?’

सहयोद्धा कमरेड अम्बिकाले साँझतिर फोन गरेर सोध्नुभयो ।

केपी–पीके सरकारले प्रतिबन्ध लगाएको चार महिनाभित्र के मात्रै गर्न बाँकी राखेको छ र ? आज फेरि कुनै अर्को नयाँ उपद्रव पो गरेछ कि भनेर मैले सोधेँ, ‘के भयो र आज फेरि कमरेड ? म त अनलाइनमा छैन नि । बरु भन्नुस् न के भयो र ?’

‘सुकेधारा विस्फोटमा गम्भीर घाइते भएर नाम– ठेगानासमेत थाहा पाउन नसकेका युवकको नाउँ र ठेगाना थाहा भयो नि ?’

‘हो र ? कहाँको, को हुनुहुँदो रहेछ कमरेड ?’, मैले एकैसाथ दुईवटा जिज्ञासा राखेँ ।

‘तपाईंकै जिल्लाका रामकुमार श्रेष्ठ नाउँ गरेका कमरेड हुनुहुँदो रहेछ । पूरै ठेगाना भने खुलेको छैन’, उहाँले भन्नुभयो ।

‘थाहा पाउनासाथ मलाई भन्नुहोला है’, मैले भनेँ ।

त्यसपछि अनलाइनमा राख्न समाचार र शीर्षकका बारेमा कुरा भए । बेलुका अरू काममा लागियो । मनमा भने कुरा खेलिरहेको थियो– यत्रो त्याग, शौर्य र साहस देखाउने व्यक्ति मेरो जिल्लाको कहाँको योद्धा होला ?

लेखक : अशाेक सुवेदी

विगत पाँच वर्षदेखि नियमित मङ्गलबार प्रकाशन हुँदै आएको केन्द्रीय प्रकाशन रातो खबरको नयाँ अङ्क प्रकाशित गरेर बुधबार कामविशेषले गृहजिल्ला रामेछाप, मन्थली, सिर्जनानगरतिर लागेको थिएँ म । सहयोद्धा कमरेड अम्बिकालाई म गृहजिल्ला गएको थाहा थियो । त्यसैले पनि उहाँले घोइते योद्धाको जिल्ला र मेरो जिल्ला एउटै हो रहेछ भनेर सामीप्य गराउन चाहेको कुरा बुझ्न मलाई कुनै कठिनाइ परेन । जन्मजिल्ला भनेपछि अलि बढी नै गर्छ भन्ने हिजोदेखि नै साथीहरूलाई पर्दै आएको हो । अरू सामान्य अवस्थामा भन्दा विशेष समयमा, देश, जनता, वर्ग, क्रान्ति र मुक्तिका लागि रामेछाप जिल्लाले निर्वाह गरेको विशेष भूमिका ओझेलमा पर्नु हुन्न र इतिहास धुलोमा पुरिन दिनु हुन्न भन्नेमा म अलि बढी नै सचेत छु । विगत डेढ दशकदेखि इतिहासको सही मूल्याङ्कन, रक्षा र विकासका लागि राजनीतिक योद्धा, स्रष्टा, विद्रोही किसानहरूका नाममा पुस्तकालय, सङ्ग्रहालय, स्तम्भ र सालिक नै बनाएर सिर्जनाअभियान सञ्चालन गरिरहेको छु ।

यद्यपि रामेछापले नेपालको सांस्कृतिक, राजनीतिक, वैचारिक कुनै पनि आन्दोलनमा दोस्रो हुनुपरेको छैन । निरङ्कुश राणा शासकहरूलाई मकैमा लाग्ने कालाटाउके र राताटाउके कीराका साथै बेलायती कुकुरको संज्ञा दिएर विद्रोह बोल्दै नेपालकै प्रथम सांस्कृतिक सहिदमा नाउँ लेखाउने मकैको खेतीका नायक सुब्बा कृष्णलाल अधिकारी, २२ वर्षको उमेरमै राणा शासकलाई ललकार्दै हाँसीहाँसी छातीमा गोली थाप्ने प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ र सबैखाले निरङ्कुशता, अन्याय र अत्याचारबाट मुक्त हुन वर्गसङ्घर्ष थाल्ने उद्घोषका साथ नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलाल जन्मिएको जिल्ला हो रामेछाप । पञ्चायती र संसदीय व्यवस्थाका शासकहरूले दलाली र गद्दारी गरे पनि बेथानमा महान् जनयुद्धको प्रथम सफल फौजी मोर्चा लड्दै तीफदिजस्ता वीरवीराङ्गना जन्माउने जिल्ला पनि त रामेछाप नै हो नि । अझ दिलमाया त जनयुद्धकी प्रथम छापामार सांस्कृतिक–विद्यार्थी–महिला सहिद पनि हुन् । दोरम्बा, सालु, गज्र्याङ चुचुरेलगायत भीषण सामूहिक हत्याकाण्ड खेप्दै जनयुद्धमा ऊर्जा थपेको छ रामेछापले । यसरी रामेछापले इतिहासका खासखास कालखण्डमा विशेष त्याग, शौर्य, साहस र बलिदानका कीर्तिमानहरूकायम गरेको छ । त्यसैले यो भूमिबाट उत्पीडित वर्गको कुनै योद्धा जन्मिएर एकीकृत जनक्रान्तिको भट्टीमा हामफालेको छ भन्नेमा मेरो द्विविधा रहेन ।

शुक्रबार बिहानै अत्यन्त काँपेको तर धारिलो महिला स्वरबाट कसैले मेरो नम्बरमा डायल गर्यो :

‘नमस्कार, अशोक सर बोल्दै हुनुहुन्छ ?’

‘हजूर, म बोल्दैछु । किन होला? कहाँबाट को बोल्नुभयो ?’

‘म सालु, गैराथोकबाट सुनीता श्रेष्ठ बोल्दैछु । सर, म तपाईंलाई चिन्छु तर तपाईंलाई भने मेराबारेमा सम्झना नहुन पनि सक्छ ।’

‘माफ गर्नुहोला, मैले रामेछापमा यो नाम गरेको मानिस चिनेको छैन । तैपनि भन्नुस् न केका लागि होला ?’

‘सर, म तपाईंले सञ्चालन गरेको साहित्यिक– सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भएकी छु र कविता प्रतियोगितामा द्वितीय स्थान नै हासिल गरी पुरस्कृत पनि भएकी छु । तर केही वर्षअघिको कुरा हो । तपाईंले भुल्नुभयो होला ।’

मलाई मेरो सम्झना शक्ति क्षीण हुँदै गएको हो कि भन्नेमा चिन्ता भयो ।

‘ठिकै छ त भुलेको पनि हुन सक्छु । भन्नुस् न के छ होला ? मैले केही सहयोग गर्नुपर्ने छ कि ?’

‘सर, सुकेधारा विस्फोटमा परी घाइते भएर गम्भीर अवस्थामा ओम अस्पतालमा उपचार गराइरहेको रामकुमार श्रेष्ठ मेरो भाइ हो । तपाईं जिल्लाबासी पनि भएकाले जानकारी गराउन फोन गरेकी हुँ ।’

‘ओहो हो र ? हिजो मात्र मलाई फोन आएको थियो, घाइते रामेछापकै हुनुहुन्छ भन्नेबारेमा जानकारी दिँदै तर कहाँको हुनुहुन्छ भन्ने थाहा पाउन सकेको थिइनँ । लः थाहा भयो, राम्रो भयो । उहाँको राम्रो उपचार भइरहेको छ भन्ने सुनेको छु । प्रतिबन्धका कारण हामी भौतिक रूपमा घाइतेलाई भेट्न जान नसकेको भए पनि विभिन्न रूपमा साथीहरू सम्पर्कमा हुनुहुन्छ ।’

मैले उहाँलाई आफूसँग भएका जानकारीहरू दिएँ र आश्वस्त पारेँ ।

घाइतेको अवस्था अत्यन्त गम्भीर नै थियो तर पनि केही सुधार भएपछि भेन्टिलेटरबाट आईसीयूमा सारिएको खबर पाएको थिएँ । त्यो पनि सुनाएँ । म मन्थली, सिर्जनानगरमै छु भन्ने थाहा पाएपछि उहाँले भेट्न आउने आशय राख्नुभयो । मैले हुन्छ, आउनुस् भनेँ । यो बिहानको कुरा थियो । मध्याह्नमा टन्टलापुर घामको वास्तै नगरी उहाँ सिर्जनानगर आइपुग्नुभयो ।

मसँग भेट्नासाथ उहाँ बर्खे भेलजसरी बलिन्द्रधारा हुँदै बर्सिनुभयो धेरै बेरसम्म । मैले उहाँलाई केही सैद्धान्त्कि, केही व्यावहारिक र केही आदर्शका कुराहरू गरेर सम्झाउने प्रयास गरेँ । एउटा संवेदनशील स्रष्टा मन । भाइको त्यस्तो गम्भीर अवस्था । उहाँले मेरो विश्वास मानेर पोखिन खोज्नुभएको थियो, पोखिनुभयो । उहाँले काठमाडौँमा रहेका अर्का भाइसँग मलाई सम्पर्क गराइदिनुभयो । उहाँसँग पनि मैले कुरा गरेँ । भाइ, बुबा र आमाको नम्बर मागेँ, दिनुभयो ।

सुनिता आफैँ मुटुको रोगी हुनुहुँदो रहेछ । भाइ दुर्घटनामा परेको सुन्नासाथ उहाँ घन्टौँसम्म मुर्छा पर्नुभएको रहेछ । उहाँलाई बेहोसीबाट होसमा ल्याउनै मुस्किल भएको रहेछ । लामो समयदेखि सम्पर्कमा नरहेको भाइ सम्पर्कमा आउँदा र त्यस्तो हालतमा रहेको सुन्नुपर्दा स्वाभाविक रूपमै उहाँ व्यथित हुनु कुनै पनि अवस्थामा बढी थिएन । भाइको मुख हेर्न जान्छु भनेर उहाँले बुबासँग जिद्दी पनि गर्नुभएको रहेछ । बुबाले ‘म एकैसाथ दुईदुई छोरा–छोरीको मृत्युपीडा सहन सक्तिनँ’ भनेर उहाँलाई जानबाट वञ्चित गर्नुभएको रहेछ ।

उसै त मुटुकी रोगी, त्यसमाथि बुबा, आमा, भाइ, बहिनी सबैलाई सम्झाउने, बुझाउने, घरमा खरखाँचो टर्ने–पुर्याउने गर्नुपर्दा रोग, शोक र भोकले क्लान्तजस्तो देखिन्थ्यो उहाँको मुहार । तैपनि आँखाहरू जिज्ञासु थिए । शरीर पसिनाले भन्दा आँसुले लछप्पै भिजेको थियो । हामीले झन्डै तीन घन्टाजति रामकुमारका बारेमा कुरा गर्यौँ ।
उहाँले सुनाउनुभयो ः

हामी रामकुमारलाई माया गरेर ‘रामु’ भन्थ्यौँ । उमेर एउटै भएकाले म र रामु दिदीभाइभन्दा पनि साथीभाइजस्ता थियौँ । ठूलो सपना थियो उसको । समाजमा अन्याय, अत्याचार, दुःख, पीडा, कष्ट केही देख्न र सहन सक्तैनथ्यो । पढ्ने, जागिर खाने, कुनै कार्यालयको हाकिम बन्ने वा नेता–मन्त्री–राजदूत बन्ने कुनै सपना थिएन उसको । देशको सेवा गर्ने, जनताको सेवा गर्ने, समाजमा भएको असमानता हटाएर समानतामूलक समाज निर्माण गर्ने यस्तै मात्र कुरा गरिरहन्थ्यो र तिनै काममा समर्पित थियो ।

एकछिन रोकिएर फेरि सुसाउँदै सुनिताले भन्नुभयो– सर, हाम्रो रामुलाई केही त हुँदैन नि ? उसलाई केही भयो भने त हाम्रो घरपरिवार सबै बिल्लीबाठ हुन्छ । ऊसँग घरपरिवारको कुरा पनि हुन्थ्यो कहिलेकहीँ । म भन्थेँ– रामु, अब तिमी ठूलो भयौ । बुबाको कमाइ छैन । ६० वर्ष पुग्न लागिसक्नुभयो । आर्थिक अवस्था अत्यन्त कमजोर छ घरको । ६–६ जनाको परिवार छ । बहिनीले नर्सिङ पढेकी, पैसाको अभावले प्रमाणपत्रसमेत निकाल्न सकेको छैन । तिमीले पढेर जागिर खानुपर्छ । घरको समस्या समाधान गर्नुपर्छ । बुबालाई पालो दिनुपर्छ अब ।

सुनिताले सुस्केरा हाल्दै भन्नुभयो– तर सर, ऊ के भन्थ्यो थाहा छ ? ऊ भन्थ्यो– हो समाजमा यही असमानता छ र त हामीले यसका विरुद्ध लड्नुपर्छ । तिमी कुरै बुझ्दिनौ क्या दिदी । तिमी यति धेरै पढेर पनि कुरा बुझ्दिनौ ।अलि बुझ्ने प्रयास गर न । कसैले कसैमाथि शोषण, दमन, अन्याय, अत्याचार, व्यभिचार नगर्ने हो भने यो समाजमा यस्तो विभेद हुँदैनथ्यो नि होइन ? तिमीले र मैले भनेजस्तो विषय पढ्न नपाउने, नसक्ने । तिमीले पढेर ठूली मान्छे बन्ने सपना देखेकी थियौ नि होइन ? सकिनौ नि ? किन सकिनौ थाहा छ ? किनकि यो राज्यव्यवस्थाले नहुनेलाई होइन, हुनेलाई प्रोत्साहन गर्छ । भोको खान नपाएर मरिरहेको छ । यो व्यवस्था र सरकारले अघाएकाको अगाडि खाना थुपारिदिन्छ । कोही मान्छे खान नपाएर मरिरहेको छ, कोही अजीर्ण रोगले । कोही उपचार नपाएर मरिरहेको छ, कोही विलासमा छ । तिमीले आफ्ना सपना मारेर, आफूलाई खुम्च्याएर र दसतिर ऋणपान गरेर पढाएकी थियौ नि होइन बहिनीलाई नर्सिङ तर देख्यौ नि आज, बाँकी पैसा तिरेर उत्तीर्ण भएको प्रमाणपत्र लिने अवस्थासम्म छैन हाम्रो । यस्तो कसले गरायो ?यसमा के म दोषी छु ? बुबा दोषी हुनुहुन्छ ? तिमी वा बहिनी दोषी छौ ? हामी कोही होइन, यो व्यवस्था दोषी छ । त्यसैले यस किसिमको असमानता र विभेद समाप्त पार्न पनि हामी युवाले क्रान्तिमार्गमा लामबद्ध हुनैपर्छ । लड्नैपर्छ र यो असमानता अन्त्य गर्नैपर्छ । नत्र तिमीहामीले मात्र होइन, यो समाजका अधिकांश मानिसले, केही समयसम्म मात्र पनि होइन, लामो समयसम्म आफ्ना सपनाहरूको हत्या गरिरहनुपर्ने हुन्छ । त्यतिबेला कसैलाई गुनासो गर्ने ठाउँ रहनेछैन ।
सुनिताले सुसाउँदै अझ अगाडि सुनाउनुभयो–

मैले भनेँ, बाबु, यो जोखिमको बाटो हो ।
उसले भन्यो– मैले यो बाटो जानेरै रोजेको हो ।
किन मोल्यौ तिमीले यो जोखिमको बाटो ?– मैले सोधेँ
मैले अन्याय र विभेद सहन सकिनँ– उसले भन्यो ।
वास्तवमै ऊ भूमिगत बनिसकेको रहेछ । कयौँ महिनापछि कहिलेकहीँ ऊ रातिराति आउँथ्यो कोठामा मलाई भेट्न । कहिलेकहीँ साथीहरू पनि लिएर आउँथ्यो । राति नै आएर राति नै फर्किन्थ्यो ।
पछिल्लो बिदाइको क्षण सम्झिएर सुनिता धेरै भावुक बन्नुभयो । उहाँले सुसाउँदै र रोकिँदै सुनाउनुभयो–
हाम्रा लागि मात्र दसैँ, तिहार हुने । उसलाई कुनै मतलबै थिएन । नयाँ र छुट्टै क्रान्तिकारी संसार बनाइसकेको थियो । तँ नआएसम्म हामी भोकै बस्छौँ नि भनेपछि हाम्रा लागि आइदिन्थ्यो दसैँ र तिहारमा एकछिनका लागि, लुकीलुकी । दसैँमा भन्दा पनि तिहारमा दिदीबहिनी रिसाउँछन् भनेर ऊ रातिराति आउँथ्यो । एकछिन रमाउँथ्यो ।हामी टीका र माला लगाइदिन्थ्यौँ । अनि ऊ हतार छ, धेरै काम र जिम्मा छ भन्दै हुरीबतासजस्तै भएर फर्किहाल्थ्यो ।

धेरै महिनापछि भेट भएको थियो यसपालाको तिहारमा । बिदा हुने बेलामा मैले उसलाई रोक्न खोजेँ । घरपरिवारको दुःख र वेदना देखाएपछि उसको मन पग्लिएला कि भन्ने मेरो झिनो आशा थियो । तर उसले हाक्काहाक्की भन्यो– यो व्यर्थको प्रयास नगर । म क्रान्तिको एउटा अङ्ग बनिसकेँ । म फर्किनँ भने क्रान्तिलाई ठूलो घाटा, धोका र गद्दारी हुन्छ । योद्धा, विजेता र सहिद बन्न हिँडेको मानिसलाई गद्दार बनाउने प्रयास नगर ।

मैले अलि झर्किंदै र रिसाउँदै भनेँ– राज्यले खोजिरहेको छ । समाउला, गोली हान्ला । घाइते बनाएर हिरासत र जेलमा सडाउला । हामी कसरी सहन्छौँ ?

उसले भन्यो– अब यी कुरा पुराना भैसके दिदी । म त क्रान्तिमा होमिइसकेँ । पार्टीको जिम्मेवारी समाल्दासमाल्दै राज्यले समात्यो, यातना दियो, हिरासत वा जेलमा राख्यो भने पनि त्यो मेरा लागि सहज हुन्छ । त्यो त मैले स्वीकारेको र रोजेको बाटो हो नि ? तिमीहरूले किन चिन्ता लिने ? सक्छौ, सँगै हिँड, साथ देओ । सक्तैनौ भने बाधा नहाल ।

सरकारले मारिदियो भने ?!– मैले अचानक उसलाई सोधेँ ।

के डराउँछ भन्ठानेकी छ्यौ ? म सहिद हुन्छु, सहिद । देशका लागि सहिद हुने कुरा तिमीले सोचेको भन्दा धेरै ठूलो कुरा हो । सहिद भएँ भने मेरो पार्टीले मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाउँछ । जोकोहीले मृत्युपछि सहिदको दर्जा पाउँछन् ? पार्टीको झन्डा ओढ्न पाउँछन् ? मलाई यो अन्यायमा पिल्सिएर मर्नुभन्दा देश, जनता र वर्गका नाममा सहिद हुन र पार्टीको झन्डा ओढ्नमा ठूलो गर्व छ ।
यति भनिसकेपछि ऊ मेरो हात छुटाएर फुत्कियो र हिँड्यो । अलि पर पुगेपछि फर्किएर उसले के भन्यो सर, थाहा छ ?
सुनीताले काँप्दो स्वरमा बलिन्द्र धारा आँसु चुहाउँदै भन्नुभयो–
मन दुखायो नभन्नू । म क्रान्तिको सिपाही बनिसकेको छु । म जितेर फर्किन्छु कि सहिद बनेर ।
त्यसपछि उहाँ पाँच मिनेटजति हिक्कहिक्क गर्दै मौन हुनुभयो ।
त्यसपछि पनि सुनितासँग कमरेड रामकुमारको उपचार, हेरचाह, पार्टी र अस्पतालले गरेको र गर्नुपर्ने सहयोगका बारेमा धेरै कुरा ए ।
कुरा हुँदाहुँदै अस्पतालबाट फोन आयो– रामकुमारले आँसु झार्नुभयो । मान्छे चिन्नुभयो । अब उहाँलाई सामान्य बेडमा सार्ने कुरा भइरहेको छ ।
मैले यो खुसी सुनितालाई नसुनाइरहन सकिनँ ।
यो सुनेर उहाँ मुख छोपेर फेरि भक्कानिनुभयो– मेरो रामुको होस खुल्यो सर ? साँच्चै हो नि ? के अब मेरो रामु बाँच्छ त ? अपाङ्गै भएर पनि मेरो भाइ बाँच्यो भने म कति कुरा गर्छु ऊसँग । तर प्रहरीले भनेको छ रे होस खुलेपछि पनि रामुलाई छोड्न मिल्दैन । गिरफ्तारीमै राखेर उपचार गराउनुपर्छ । बरु प्रहरीकै घेरामा भए पनि उपचार होओस् र मेरो भाइलाई म देख्न पाऊँ । सुनिताले मुख छोप्दै, रुँदै, मतिर हेर्दै तीनचारपटक आकाशतिर हेर्नुभयो र भन्नुभयो– सर, आजको दिन कति खुसीको दिन रहेछ । मैले तपाईंसँग आएर यति धेरै खुसीको कुरा सुन्न पाएँ ।
उहाँ बालकले जस्तो गुनगुनाउनुभयो– साँच्चै अब मेरो रामु बाँच्ने भयो, मैले भाइ देख्न पाउने भएँ ।
मैले उहाँलाई अस्पतालमा उपचारमा संलग्न र सम्पर्कमा रहेका केही खुला साथीको फोन नम्बर दिएँ ।
त्यसपछि हामी छुट्टियौँ ।
उहाँले त्यस साँझ र भोलिपल्टसम्म पनि मलाई फोन गरेर रामकुमारका बारेमा सोधिरहनुभयो ।
मैले साथीहरू र अस्पताल प्रशासनसँग सोध्दा ‘ उहाँको अवस्था सामान्य हुँदैछ । उपचारमा अस्पतालले धेरै गम्भीर भएर सहयोग गरिरहेको छ’ भन्ने जबाफ आइरह्यो ।
सुनितासँग भेट भएको अर्को शुक्रबार बिहान एक्कासि उहाँले फोन गर्नुभयो र भन्नुभयो– सर रामुलाई फेरि आज भेन्टिलेटरमा सारियो रे । रामुँसँगै भएको भाइले बुबालाई तुरुन्त पठाइदिनू भनेर फोन गर्यो ।
यति भनेपछि उहाँ फेरि भक्कानिनुभयो । मैले केही सम्झाउने प्रयास गरेँ ।
म साथीहरूलाई सोधेर फोन गर्छु है भन्दै मैले फोन राखेँ ।
यता बुझ्दा साथीहरूबाट रामकुमारको स्वास्थ्य फेरि बिग्रियो । चिकित्सकहरूले साठी–चालीस आशावादी रहेको कुरा गरेका छन् भन्ने खबर आयो । मैले सुनितालाई फोन गरेर त्यही सुनाएँ र भनेँ– कमरेड रामकुमार देशका लागि, वर्गका लागि लड्नुभएको हो । उहाँ झुक्किएर दुर्घटनामा पर्नुभएको होइन । हामीले जस्तोसुकै परिणाम पनि बेहोर्न तयार हुनुपर्छ । मन अलि धैर्य र शान्त राख्नुहोला । उपचार र रेखदेखमा कुनै कमी हुनेछैन । पार्टी गम्भीर भएर लागेको छ ।
सुनिता ढुक्क हुनुभयो र भन्नुभयो– हामी परिणाम स्वीकार गर्न तयार छौँ सर तर उपचारमा कमी हुन नपाओस् ।
सुनितासँग यस्तो कुरा भएको भोलिपल्ट शनिबार बिहानै ‘अपशकुन’ को सन्देश आयो– कमरेड रामकुमार एकीकृत जनक्रान्तिको आठौँ र काठमाडौँ विस्फोटको पाँचौँ महान् सहिद बन्नुभयो ।
देशले फेरि एकजना योद्धा गुमायो ।

हामी देश, जनता, वर्ग र क्रान्तिका लागि आवरश्यकताअनुसार सहिद बन्न तयार भएर सचेततापूर्वक वर्गसङ्घर्षमा लागेका मानिसहरू हौँ । कमरेड स्टालिनले भन्नुभएको थियो, कम्युनिस्टहरू भिन्नै धातु अर्थात् इस्पातले बनेका हुन्छन् । हामीले यस्तै भन्दै पञ्चायतकाल, संसदीय शाहीकाल र दलाल संसदीय व्यवस्थासमेत तीनवटा क्रूर, निरङ्कुश तथा अनुदारवादी शासन झेलिसकेका छौँ । दलाल सरकार जोसुकैलाई समातिरहेको छ र भटाभट हिरासत र जेलमा कोचिरहेको छ । नेकपाका स्थायी समिति सदस्य कमरेड सुदर्शनसहित ६ सयभन्दा बढी नेता–कार्यकर्ता यतिबेला वली–प्रचण्ड सरकारको हिरासत र जेलमा बन्दी छन् । तर पनि क्रान्ति तुफानी वेगले अघि बढिरहेको छ । जनयुद्धकालमा तत्कालीन सरकारले देश र जनताका पक्षमा पत्रकारिता र साहित्यको माध्यमबाट विद्रोह गरेको भन्ने कुरा र प्रमाणले मात्र नपुगेर भट्टेडाँडा प्रहरीचौकीमा आक्रमण गरेर प्रहरीको हत्या गरेको आरोपसमेत लगाएर मलाई पनि बेपत्ता बनाएको थियो । अब फेरि अरू कुनै बहाना बनाउँदै होला ।

यति अनुभव हुँदाहुँदै पनि मैले आफूलाई थाम्न सकिनँ । अब यो सन्देश सुनितासम्म मैले कसरी पुर्याउने होला ? मनमा छट्पटी भयो । मैले साथीहरूलाई भनेँ– सुनितासम्म यो सन्देश पुर्याउने शक्ति मसँग छैन, तपाईंहरूले पुर्याउनुहोला ! अनि यो पनि नभुल्नुहोला– देश र जनताको मुक्तिका लागि सहिद बन्ने र आफ्नो शवमाथि कम्युनिस्ट पार्टीको हँसिया–हथौता अङ्कित रातो झन्डा ओढाइनेमा कमरेड रामकुमारलाई पूरै विश्वास थियो । पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । पार्टीका चिनिएका नेता–कार्यकर्ताहरू झन्डा ओढाउन र सहिद घोषणा गर्न जाने अवस्था छैन । यो काम तपाईंहरूले मिलाएर गर्नुहोला ।

नभन्दै कमरेडहरूले सहिद रामकुमार श्रेष्ठको शवमा कम्युनिस्ट पार्टीको रक्तरञ्जित झन्डा ओढाएर लालसलाम गर्नुभएका तस्बिर र भीडीओ मलाई पनि पठाइदिनुभयो । कमरेड रामकुमारको सकेसम्म जितेरै फर्किने सपना पूरा नभए पनि देश, जनता र वर्गका लागि सहिद बन्ने र पार्टीले कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिने विश्वास पूरा भयो ।

नेकपाका महासचिव कमरेड विप्लवले विज्ञप्ति जारी गर्दै कमरेड रामकुमार श्रेष्ठलाई एकीकृत जनक्रान्तिका आठौँ सहिद घोषणा गर्नुभएपछि छाती गर्वले ढक्क भयो ।

इतिहासमा संयोग पनि कस्तोकस्तो पर्छ । सहिद रामकुमार श्रेष्ठ र सहिद गङ्गालाल श्रेष्ठको जीवनका केही कुरा संयोगजस्तै मिलेका छन् । गङ्गालाल रामेछापको भँगेरीमा जन्मिनुभयो र बुबाको जागिरसँगै भाइ पुष्पलाललाई लिएर ओखलढुङ्गा जानुभयो । रामकुमार पनि रामेछाप गैराथोकमा जन्मिनुभयो र ओखलढुङ्गामा हुर्किनुभयो । गङ्गालाल बुबा भक्तलाल, परिवार र आफन्तले कति सम्झाउँदा पनि नमानी, राणा शासकहरूले कति प्रलोभन दिँदा पनि नफसी हाँसीहाँसी नेपालका प्रथम विद्यार्थी सहिद बन्नुभयो । रामकुमार पनि घरपरिवारलाई सम्झाउँदै कि मुक्ति कि सहिदको शपथ खाँदै एकीकृत जनक्रान्तिका लागि रामेछापका प्रथम सहिद हुनुभयो । दुवैको बलिदान काठमाडौँमै भयो ।

(अशोक सुवेदीद्वारा सम्पादित जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनको केन्द्रीय प्रकाशन ‘बलिदान गाथा’ मा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :