अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, उपत्यकाको जागरण अभियान उद्घाटन

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, उपत्यकाको जागरण अभियान उद्घाटन

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा आयोजित पूर्व निर्धारित जागरण अभियान उद्घाटन कार्यक्रमहरु सम्पन्न भएका छन् ।  वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक मजदुरहरुको अधिकारका लागि जनमत संग्रह भन्ने मूल नाराका साथ पछिल्लो समय, महासंघ तीन महिने श्रमिक जागरण तथा संगठन निर्माणमा होमिएको जनाइएको छ। यसैक्रममा महासंघको उपत्यका विशेष क्षेत्रले आज काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम गरि अभियान उद्घाटन गरेको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विनोद थापाको प्रमुख आतिथ्यता, महासंघकै उपाध्यक्ष एवम् बागमती प्रदेश समिति इन्चार्ज शिशिर थापाको आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता तथा सञ्चालन महासंघका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष क्षेत्रका इन्चार्ज सरोजले गरेका थिए ।

महासंघका अनुसार उक्त श्रमिक जागरण एवं संगठन निर्माण अभियान न्युनतम तीन महिना र सापेक्षतामा निरन्तर सञ्चालन हुनेछ । अभियान श्रमिकहरुको सम्पूर्ण अधिकारको निम्ति जनमतसंग्रह नारामा केन्द्रीत रहने छ । कार्यक्रममा उपस्थित विभिन्न केन्द्रीय सदस्यहरुबाट प्राप्त जिज्ञासाहरुमा केन्द्रीत रहँदै प्रमुख अतिथि र अतिथिहरुले महत्वपूर्ण दिशानिर्देश तथा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विनोद थापाले श्रमिक जागरण अभियान भव्यतापूर्ण सार्थकतामा जोड दिन विशेष अपिल गरे ।

कार्यक्रममा महासंघको पछिल्लो कार्यनिर्देशिका र भावी कार्यक्रममा ध्यान दिँदै कार्यक्रमका अतिथि शिशिर थापाले श्रमिक कटौती, न्यून ज्याला र विशेष गरि हायर एन्ड फायर विरुद्ध वैचारिक स्पष्टताका साथ सचेत ढंगले संघर्षमा जोड दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा महासंघको उपत्यका विशेष क्षेत्रका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका इन्चार्जहरु विकास थापा, कुमार घिसिङ्ग र अर्जुन प्रसाद लामिछने र महासंघको महत्वपूर्ण पेशागत घटक संघहरु सिलाइ, गार्मेण्ट, ढुवानी, स्वास्थ्य तथा सरसफाइ, ग्रील तथा धातु, यातायात, उद्योग, निर्माण, सेक्युरिटी, सञ्चार तथा छापाखाना, होटल लगायत क्षेत्रका अध्यक्ष तथा इन्चार्जसँगै केन्द्रीय सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
महासंघको कार्यक्रम अनुरुप बागमती प्रदेश अन्तर्गत रहेको उपत्यका विशेष क्षेत्र समिति, अभियान क्रममा उपत्यकाका सबै क्षेत्रहरुमा कार्यरत श्रमिकहरुको बिचमा विभिन्न कार्यक्रमका साथ पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :