मार्क्सवादी स्रष्टाहरूलाई स्वतस्फूर्त नभएर सचेततापूर्वक लेख्न नेकपा नेता सुदर्शनको निर्देशन

मार्क्सवादी स्रष्टाहरूलाई स्वतस्फूर्त नभएर सचेततापूर्वक लेख्न नेकपा नेता सुदर्शनको निर्देशन

काठमाडौँ : नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् मार्क्सवादी स्रष्टा सुदर्शनले जनयुद्ध र क्रान्तिको चापमा सबै सिर्जना सम्भव नहुने भएकाले युद्धका निर्माण, त्याग र लक्ष्यका विषयमा क्रमशः मूर्तीकरण गर्नुपर्ने बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष एवम् अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष रहेकी स्रष्टा शोभा दुलालको ‘धूमिल स्मृति’ संस्मरणसङ्ग्रह लोकार्पण तथा परिचर्चा कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा नेता सुदर्शनले रुसी अक्टोबर क्रान्ति र चिनियाँ जनवादी क्रान्तिको समयमा लेख्न नभ्याइएको साहित्य क्रान्तिपछि लिपिबद्ध गरिएको र त्यसले क्रान्तिलाई ऊर्जा दिइरहेको स्मरण गराए ।

सुधीर शर्मा, रामेश्वर थापा, रुक्माङ्गद कटवाललगायत केही सत्तापक्षीय पात्रको नामै किटेर नेकपा नेता सुदर्शनले जनयुद्धका विरुद्ध भाडामा साहित्य लेखाइएको तर जनयुद्धका वास्तविक सिर्जना आउने क्रम जारी रहेको पनि प्रस्ट पारे । कृतिमाथि परिचर्चा गर्दै नेता सुदर्शनले भने, ‘दुलालको पुस्तक आफ्नै जीवनमा भोगेका अनुभवहरू भएकाले राम्रा छन् । जीवन, जनयुद्ध, पञ्चायतविरोधी आन्दोलन, जनयुद्धका विघटनका घटनासमेत समेटिएकाले पनि यी सिर्जना राम्रा भएका हुन् ।’

मार्क्सवादी स्रष्टाले लेख्दा स्वतस्फूर्ततामा मात्र लेख्नु नहुने विषय प्रस्ट पार्दै नेता सुदर्शनले सचेततापूर्वक लेख्ने कुरामा स्रष्टाले ध्यान पुर्याउनुपर्ने धारणा राखे । स्रष्टा दुलालका रचनाहरू स्वतस्फूर्तताबाट बच्नुपर्ने र आगामी रचनाहरूमा त्यसप्रकारका सीमाहरू रहनु नहुने समीक्षा पनि उनले गरे । सम्पूर्ण मार्क्सवादी स्रष्टाले यसप्रकारका समस्याबाट पाठ सिक्नुपर्ने उनको निर्देशन थियो । पुष्पकमल दाहालमा अनुभववाद र बाबुराम भट्टराईमा वितण्डतावादको समस्या रहेको भन्दै नेता सुदर्शनले जीवनानुभूति मात्र सबै कुरा नहुने र संसार बदल्ने कुरा मुख्य हुने पनि प्रस्ट पारे । जनयुद्धमा मार्क्सवाद, द्वन्द्वात्मक भौतिकवादका कक्षाहरू दिने प्रचण्डले ज्योतिषलाई हात हेराएर भैँसी पूजा गर्नु वैचारिक पतनको पराकाष्टा रहेको उदाहरण दिँदै नेता सुदर्शनले माओ त्सेतुङले सांस्कृतिक क्रान्ति बौलाएर नभई सचेततापूर्वक गरेको पनि बताए । उनले भने, ‘मार्क्सवादी स्रष्टाहरू व्यवहारवाद र रोमान्टिसिज्मबाट सैद्धान्तिक ज्ञानमा उठ्नुपर्छ ।’

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले पुस्तकले काँठ क्षेत्रको जीवन प्रस्तुत गरेको, भावनाको गहिराइ र संवेदना बोकेको, पुस्तकमा विद्रोही चेत रहेको बताए । समाज रूपान्तरणको अधुरो यात्रालाई पूर्णता दिन पनि नेता लामाले आह्वान गरे ।

पुस्तकमाथि बिन्दु शर्मा, समीर सिंह र कृष्णहरि भट्टले समीक्षा गरेका थिए भने कार्यक्रमको सञ्चालन महासङ्घका महासचिव खेम थपलियाले गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता अनिल शर्मा, भरत बम ‘रणवीर’, नेत्री खुमा सुवेदी, राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदी, कुशल बोगटी, आङ्गिक सङ्गठनका संयोजकहरू अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, विवेक सापकोटा, अखिल नेपाल लेखक सङ्घका पदाधिकारीहरू, पार्टीका काठमाडौँ जिल्ला सदस्य र जवस मोर्चाका सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :